News Summary
Generated by OK AI. Editorially reviewed.- क्याल्सियम शरीरमा बन्दैन र यसको सोस्न भिटामिन डी र प्याराथाइरोइड हर्मोन आवश्यक हुन्छन् ।
- बुढेसकालमा केवल क्याल्सियम मात्र खाँदा हड्डी बलियो हुँदैन र औषधि तथा व्यायाम आवश्यक हुन्छ ।
एक ६५ वर्षीय आमाले आफ्नो भाँचिएको नाडीको हड्डीमा प्लास्टर लगाउँदै गर्दा सोध्नुभयो, “डाक्टर’साब, म त सधैं क्याल्सियम खान्छु। छोरीले अस्ट्रेलियाबाट पठाइदिएकी छिन्। तैपनि मेरो हड्डी कसरी कमजोर भयो र भाँचियो ?”
आमाको यो प्रश्नले एउटा अहम् तथ्य र त्यस विषयमा जनमानसमा रहेको भ्रमलाई स्पष्ट पार्दछ– क्याल्सियम जीवनका लागि अपरिहार्य हो तर के सबै क्याल्सियम र पूरक औषधि खाँदैमा हड्डी बलियो बन्छ त ?
क्याल्सियम र भिटामिन डी : के हाम्रो बुझाइ सही छ ?
क्याल्सियम शरीरमा पर्याप्त मात्रामा पाइने एक खनिज पदार्थ हो, जसले हाड र दाँतको ९९ प्रतिशत भाग ओगटेको हुन्छ। क्याल्सियमको महत्त्व हाम्रो शरीरमा त्यतिमा मात्र सीमित नभई मांसपेशी, स्नायु प्रणाली, मुटुको चाल र रगत जम्ने प्रक्रियामा समेत विशेष छ। यद्यपि क्याल्सियम हाम्रो शरीरमा भने बन्दैन।
हामीले खाने माछा, मासु, दुग्धजन्य पदार्थ र हरियो सागपात यसका प्रमुख स्रोत हुन्। यिनै खाद्य पदार्थहरूले हाम्रो आवश्यकता परिपूर्ति गरिरहेको हुन्छ । यो खनिज सानो आन्द्रामा भिटामिन डीको मद्दतले सोसिएर प्याराथाइरोइड ग्रन्थिबाट (याद रहोस्, प्याराथाइरोइड ग्रन्थि थाइरोइड ग्रन्थिको पछिल्लो भागमा रहने स–साना ग्रन्थिहरू हुन् र व्यावहारिक रूपमा यसको थाइरोइड ग्रन्थिसँग कुनै सम्बन्ध छैन) निस्कने प्याराथाइरोइड र क्याल्सिटोनिन हर्मोनद्वारा परिचालित हुन्छ ।
सरल भाषामा भन्दा क्याल्सियमको यौगिक इँटा हो भने भिटामिन डी, प्याराथाइरोइड र क्याल्सिटोनिन गाह्रो लगाउने मिस्त्री र इँटालाई जोड्ने मसला जस्तै हुन्।
हाम्रो हड्डी संरचनागत आधार दिने स्थिर खम्बा मात्र नभई एक गतिशील तन्तु हो। यसमा नयाँ कोष बन्ने र पुराना हराएर जाने क्रम निरन्तर चलिरहेको हुन्छ। हड्डी बन्नका निम्ति केवल क्याल्सियम मात्र पर्याप्त भने छैन, विभिन्न प्रकारका प्रोटिन र अन्य सूक्ष्म खनिज तत्वहरूको पनि आवश्यकता पर्दछ। अधिकतम हाड घनत्व (पिक बोन मास) ले कुनै पनि हड्डीको बललाई निर्धारण गर्छ, जुन हरेक मानिसको बाल्यकालदेखि ३० वर्षको उमेरसम्ममा बढ्छ।
बाल एवं युवावस्थामा राम्रो पोषण, पर्याप्त व्यायाम, प्रशस्त खेलकुद र पर्याप्त सूर्यको प्रकाश (भिटामिन डीको स्रोत) भएमा बुढेसकालमा हड्डी सजिलै कमजोर हुन पाउँदैन । यो प्रक्रियामा भिटामिन डी बाहेक ग्रोथ हर्मोन, टेस्टोस्टेरोन, इस्ट्रोजन, प्याराथाइरोइड लगायत विभिन्न हर्मोनहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।
सरल भाषामा तपाईंले युवा अवस्थामा कमाएको पैसा बुढेसकालमा खर्च गरे झैं, उमेर बढ्दै जाँदा नयाँ हड्डी बन्ने प्रक्रिया सुस्त हुँदै जान्छ भने हड्डी क्षय हुने प्रक्रिया बढ्दै जान्छ।
महिलाहरूमा रजनोवृत्तिपछि र पुरुषहरूमा सरदर ७० वर्षको उमेरपछि हड्डी एकदम छिट्टै कमजोर हुँदै जान्छ। यो प्रक्रियाले हड्डी कमजोर हुनुलाई हामी ओस्टियोपोरोसिस भन्दछौं र यसले हड्डी भाँचिने जोखिमलाई अत्यधिक बढाउँछ। तसर्थ, उमेर बढ्दै गएका महिला र वृद्ध पुरुषहरूमा नाडी, पाखुरा, कम्मरको गेडी र मेरुदण्डको हड्डी भाँचिनु सामान्य हुँदै जान्छ।
बुढेसकालमा सबैले क्याल्सियम खानैपर्छ ?
दैनिक आहारबाट पर्याप्त मात्रामा क्याल्सियम प्राप्त भइरहेको छ भने पूरक क्याल्सियम चक्कीको आवश्यकता पर्दैन । बुढेसकालमा केवल क्याल्सियम मात्रै खाएर हड्डी बलियो हुँदैन । विभिन्न अनुसन्धानात्मक लेखहरूको समीक्षाबाट यो तथ्य सिद्ध नै भइसकेको छ । भिटामिन डी र क्याल्सियम एकसाथ खाँदा अति न्यून (१-२ प्रतिशत) मात्रामा हड्डी बलियो भएको देखिए तापनि यसले हड्डी भाँचिने सम्भावनामा भने खासै प्रभावकारी फरक नपारेको शोधहरूले देखाउँछ ।
बुढेसकालमा देखिने ओस्टियोपोरोसिसको उपचार क्याल्सियमले मात्रै हुँदैन । यसको उपचारका निम्ति बिस्फोस्फोनेट, टेरीप्याराटाइड, डेनुसुमाभ लगायत विशेष औषधिहरू उपलब्ध छन् । चिकित्सकहरूले हड्डीको घनत्व मापन (डेक्सा स्क्यान) गरी आवश्यकता अनुसार यी औषधिको प्रयोग गर्न सल्लाह दिन्छन् । यस्ता औषधि प्रयोग गर्दा भने क्याल्सियमसँगै सेवन गरेमा त्यसको प्रभावकारिता बढी हुने देखिएको छ।
के भाँचिएको हड्डी निको पार्नका लागि छुट्टै क्याल्सियम खानुपर्छ ?
भाँचिएका हड्डीको प्लाष्टर वा अप्रेसन गरी उपचार गरेपश्चात् हड्डीको जोडिने प्रक्रियाका निम्ति क्याल्सियमको आवश्यकता पर्छ। हालसम्म प्राप्त वैज्ञानिक अध्ययनहरूले शारीरिक रूपले स्वस्थ व्यक्तिमा थप क्याल्सियम खुवाउँदा हड्डी छिटो जोडिन्छ वा निको हुन्छ भन्नेखाले कुनै स्पष्ट प्रमाण दिनसकेको छैन ।
ओस्टियोपोरोसिसको कारण भाँचिएका हड्डीको निको हुने प्रक्रियामा पनि केवल क्याल्सियम मात्रै खाँदा कुनै विशेष फाइदा भेटिएको छैन। हड्डी जोडिने शरीरको प्रक्रियामा तब मात्र असर हुन्छ जब शरीरमा भिटामिन डी, क्याल्सियम वा अन्य सूक्ष्म खनिजको कमी हुन्छ।
बजारमा सजिलै पाइन्छ, खाएर फरक पर्छ र ?
आवश्यकताभन्दा बढी र लामो समयसम्म क्याल्सियमको प्रयोग गरेमा यसले पेट सम्बन्धी समस्या जस्तै– कब्जियत, पातलो दिसा आदि हुनसक्छ। केही शोधहरूले हृदयघातको सम्भावनामा वृद्धि गर्ने तथ्यहरू फेला पारे पनि यसमा अधिक अनुसन्धानको आवश्यकताहरू भने औंल्याएका छन्। भिटामिन डी र क्याल्सियमको बढी प्रयोगले मिर्गौलाको पत्थरीको सम्भावना समेत बढाउने देखिएको छ।
यसका साथै क्याल्सियमले कैयौं सामान्य रूपमा प्रयोग हुने सुगर, प्रेसर, थाइरोइड, छारे रोगका औषधि र विभिन्न एन्टिबायोटिकलाई समेत असर पारी ती औषधिको क्षमतामा ह्रास ल्याउन सक्छ। क्याल्सियमको प्रयोग गर्दा अन्य औषधिहरू बीच दुई, तीन घण्टाको अन्तराल राख्न र आफ्नो चिकित्सकहरूसँग सल्लाह गरी औषधिको मात्रा समायोजन गर्न पनि आवश्यक हुन सक्छ।
साथै खाद्यपूरकका रूपमा पाइने यस्ता औषधिहरूमा चिकित्सकीय दृष्टिकोणले चाहिने भन्दा अति न्यून मात्रामा क्याल्सियम र भिटामिन हुने गर्छ। त्यसैले बजारमा सजिलै पाइने पूरक औषधि खानुअघि, आफूलाई सो आवश्यक छ कि छैन भन्ने कुरा चिकित्सक वा विज्ञको सल्लाह लिएर खाँदा उत्तम हुन्छ।
त्यसो भए के कसैलाई पनि क्याल्सियम आवश्यक छैन त ? क्याल्सियम सामान्यतया भिटामिन डीको कमीबाट हुने रिकेट्स, ओस्ट्योमालासिया लगायत हड्डीका अवस्थाहरूमा आवश्यक पर्दछ। थाइरोइडको अपरेसनपश्चात् विशेष जटिलता आएका र दीर्घकालीन मिर्गौलाका बिरामीमा पनि क्याल्सियम लामो समयसम्म आवश्यक पर्दछ।
वृद्ध, रजनोवृत्ति भएका महिला, गर्भवती, स्तनपान गराइरहेका महिला, लामो समयसम्म स्टेरोइड खाएका बिरामी, पेट र आन्द्राको विशेष समस्या र पोषण नपुगेका बिरामीमा आवश्यकता अनुसार क्याल्सियम चलाउनुपर्ने हुन्छ।
हड्डी बलियो बनाइराख्न के गर्ने ?
प्राकृतिक स्रोतबाट प्राप्त हुने प्रोटिन र क्याल्सियमयुक्त पोषक एवं सन्तुलित आहार खानु सबैभन्दा सुरक्षित र प्रभावकारी उपाय हो। सुर्तीजन्य पदार्थले हड्डीको क्षय गराउने र मदिराले क्याल्सियमको सोस्ने प्रक्रियालाई अवरोध गर्ने र हड्डी जोडिने प्रक्रियामा समेत असर गर्ने भएकाले, चुरोट र रक्सीबाट टाढा रहनु हड्डीको लागि मात्र नभई समग्र स्वास्थ्यका लागि पनि लाभदायक छ ।
सूर्यको किरणको स्पर्शले तपाईंको छालामा भिटामिन डी बनाउने हुँदा घाम ताप्नु तपाईंको हड्डीका लागि आवश्यक छ। बिहानको घामले विशेष फाइदा हुन्छ भन्ने जनबुझाइ भएतापनि हालका नयाँ तथ्यहरूले मध्यदिनको घामलाई नै बढी राम्रो मानेको पाइन्छ। तसर्थ आफ्नो व्यस्त र बन्द कोठामा सीमित जीवनशैलीबाट केही समय निकालेर घाम ताप्नु उचित हुन्छ।
भारवहन गरेका र चलायमान हड्डीहरू बढी बलिया हुन्छन्। सबै उमेर समूहले छिटो हिंड्ने, सामान्य दौडिने, योग लगायत नियमित व्यायाम गर्नु आवश्यक छ। हाम्रा स-साना बालबालिका र युवालाई खुला मैदानमा खेल्न, दौडिन, उफ्रन प्रेरित गर्नुपर्दछ किनभने प्रारम्भिक जीवनको शारीरिक गतिविधिले दीर्घकालीन हड्डीको स्वास्थ्यलाई एकदम धेरै असर गर्छ।
खाद्यपूरक क्याल्सियम निष्फिक्री सेवन गर्ने भन्दा पनि आवश्यकता र चिकित्सकको सल्लाह बमोजिम मात्रै क्याल्सियम र भिटामिन डीको प्रयोग गर्नुपर्छ। औषधिकै रूपमा उपलब्ध यी खनिजका पनि आ–आफ्नै गुण र अवगुण छन् भन्ने हेक्का राख्नुपर्छ। स्वस्थ जीवनशैली, शारीरिक सक्रियता, नियमित व्यायाम र उचित पोषणले हड्डीलाई दह्रो बनाउँछ। क्याल्सियम शरीरका लागि आवश्यक त हो, तर हड्डी बलियो बनाउने रामबाण उपचार भने पक्कै होइन।
(डा. काफ्ले हाडजोर्नी विशेषज्ञ हुन्।)
प्रतिक्रिया 4