News Summary
Generated by OK AI. Editorially reviewed.- मेनोपोजपछि इस्ट्रोजन हर्मोनको कमीले जोर्नी दुख्ने समस्या बढ्छ, जसले हड्डी कमजोर र मांसपेशी सुन्निने गर्छ।
- जोर्नी दुखाइ रोकथामका लागि व्यायाम, क्याल्सियम र भिटामिन डी युक्त खानपान, र सक्रिय जीवनशैली अपनाउनुपर्छ।
- धुम्रपानले हड्डी जोडिने प्रक्रिया ढिलो पार्छ र भिटामिन डीका लागि मध्यान्हको घाम आवश्यक हुन्छ।
महिनावारी सुकेपछि महिलाहरूले झेल्ने शारीरिक परिवर्तनमध्ये जोर्नी दुखाइ सबैभन्दा सामान्य समस्या हो । विशेष गरी घुँडा दुख्ने, बिहान उठ्दा जोर्नी जकडिने र सानो काम गर्दा पनि असहज हुने गुनासो मेनोपोजपछि बढ्दै जान्छ । यो समस्या उमेरकै असर हो कि हर्मोनसँग जोडिएको स्वास्थ्य संकेत हो ? महिनावारी सुकेपछि महिलाहरूमा किन जोर्नी दुखाइ बढ्छ ? यसका कारण, लक्षण, रोकथाम र उपचारका उपाय के-के छन् ? यी विषयमा केन्द्रित रहेर हाडजोर्नी तथा जोर्नी प्रत्यारोपण विशेषज्ञ डा. ऋषि बिष्टसँग गरिएको कुराकानी:
महिलाहरूमा मनोपोज (रजनाेवृत्ति) पछि घुँडा दुख्ने समस्या भएको धेरै सुनिन्छ । यसको अवस्था र कारणबारे बताइदिनुहोस् न ?
मेनोपोज भनेको महिलाहरूमा महिनावारी सुक्ने अवस्था हो, जुन सामान्यतया ४५ देखि ५५ वर्षको उमेरमा हुन्छ । यसपछि जोर्नीहरू दुख्ने समस्या बढी देखिन्छ । मुख्य कारण भनेको इस्ट्रोजन हर्मोनको मात्रा घट्नु हो ।
इस्ट्रोजनले तीन मुख्य काम गर्छ कुर्कुरे हड्डी ‘कार्टिलेज’ जोगाउने, हड्डीको घनत्व ‘बोन डेन्सिटी’ कायम राख्ने, र जोर्नी वरिपरिका मांसपेशीहरू सुन्निन रोक्ने । इस्ट्रोजन घटेपछि कुर्कुरे हड्डी घट्छ, जोर्नी खिइन्छ, हड्डी कमजोर हुन्छ र मांसपेशीहरू सुन्निने समस्या बढ्छ । यसले जोर्नीहरू जाम हुन्छन्, उठ्न गाह्रो हुन्छ, र दुखाइ बढ्छ ।
यस्तो बेला दुखाइ हुने घुँडामा मात्र हो कि अन्य जोर्नीहरूमा पनि दुख्छ ?
मुख्य रूपमा घुँडामा देखिन्छ, तर हातका औँलाहरू, कम्मर र हिपको जोर्नेमा पनि समस्या हुन सक्छ ।
मेनोपोजकै कारण जोर्नी दुखेको हो भनेर महिलाले कसरी थाहा पाउने ? चिकित्सककहाँ जानुअघि कुनै लक्षणहरू छन् ?
जब महिलाहरू मेनोपोजको उमेर ‘पेरिमेनोपोज वा मेनोपोजपछि’ पुग्छन् र जोर्नी दुख्छ भने, सम्भवतः मेनोपोजकै कारण हो भनेर सोच्नुपर्छ । ओस्टियोआर्थ्राइटिसका लक्षणहरू कुर्कुरे हड्डी घर्षण मेनोपोजपछि बढ्छन् । उमेर बढ्दै जाँदा दुखाइको थ्रेसहोल्ड घट्छ, अर्थात् सानो दुखाइ पनि बढी महसुस हुन्छ । यस्तो भएमा चिकित्सकको सल्लाह लिनुपर्छ।
यसमा उपचार के हुन्छ ?
कारण पत्ता लगाएर उपचार गरिन्छ । यदि मेनोपोजकै कारण हो भने रोकथाममा जोड दिन्छौं । रोकथाममा तीन मुख्य उपायहरू अपनाउन सकिन्छ । जस्तै: व्यायाम – रेजिस्टेन्स एक्सरसाइज ‘सानो तौल उठाउने’, लो इम्प्याक्ट एरोबिक्स ‘हिँड्ने, जोगिङ, स्विमिङ’, र मोबिलिटी व्यायाम ‘योगा, पिलाटेस’ । यसले मांसपेशी र हड्डी बलियो बनाउँछ।
खानपान : क्याल्सियम र भिटामिन डी युक्त खानेकुरा दूध, दही, माछा, लिभर, एन्टिअक्सिडेन्ट फलफूल जस्तै: स्याउ, सुन्तला, तरकारी जस्तै: काउली, बन्दागोभी र ओमेगा एसिडयुक्त खानेकुरा खानुपर्छ ।
जीवनशैली : चलायमान रहने, सक्रिय रहने गर्नुपर्छ । यदि दुखाइ बढ्यो भने, क्याल्सियम/भिटामिन डी जाँच र ‘डिइएक्सए’ स्क्यान गरेर औषधि वा सप्लिमेन्ट दिन सकिन्छ ।
यी उपायहरू अपनाएमा मेनोपोजपछि जोर्नी दुखाइबाट कति प्रतिशत बच्न सकिन्छ ?
ठ्याक्कै प्रतिशत भन्न सकिन्न, तर अधिकांशमा यी रोकथाम उपायहरू नै पर्याप्त हुन्छ । यदि दुखाइ रहिरह्यो भने चिकित्सकमा जाँच गराउनुपर्छ ।
जोर्नी दुखाइ महिलामा मात्र होइन, पुरुषमा पनि हुन्छ । दुवैमा हुने साझा कारण चाहिँ के हो ?
मुख्य कारण प्राइमरी ओस्टियोआर्थ्राइटिस हो । उमेर बढ्दै जाँदा कुर्कुरे हड्डी घट्ने र जोर्नीभित्र तरल पदार्थको पानी बढ्ने हुन्छ यसलाई ‘घुँडा खिएको’ भनिन्छ । दोस्रो कारण ओस्टियोपोरोसिस हड्डी कमजोर हुने, जुन सामान्यतया साइलेन्ट हुन्छ र फ्र्याक्चर भएपछि मात्र दुख्छ ।
यदि धुम्रपान गर्नेहरूको हड्डी भाँचियो भने छिटो जोडिँदैन भन्ने सुनिन्छ । यसमा कत्तिको सत्यता छ ?
धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनले हड्डी जोडिने प्रक्रिया ढिलो गर्छ वा जोडिनै नसक्ने ‘नन–युनियन’ बनाउँछ । यसले घाउ निको हुने प्रक्रियालाई पनि प्रभावित गर्छ । त्यसैले सम्पूर्ण स्वास्थ्य र हड्डीको स्वास्थ्यका लागि पनि धूम्रपान गर्नुहुँदैन ।
भिटामिन डी हड्डीसँग जोडिएको महत्वपूर्ण विषय हो, यसले कसरी काम गर्छ ?
भिटामिन डीले क्याल्सियमलाई हड्डी र मांसपेशीमा लैजाने काम गर्छ । भिटामिन डीको मुख्य स्रोत घाम हो । मिडडे सन् अर्थात् १० देखि ३ बजेको घामको अल्ट्राभाइलेट किरनहरूले छालामा भिटामिन डी उत्पादन गर्छ । त्यसैले यो समयमा घाम ताप्नुपर्छ ।
भिटामिन डि का लागि बिहान÷बेलुकाको घाम कम प्रभावकारी हुन्छ । गोरो छालावालालाई १०–१५ मिनेट, गहुँगोरो नेपाली जस्तोलाई २०–३० मिनेट घाम चाहिन्छ । अक्षांश र उचाइले पनि प्रभाव पार्छ । नेपालको घाम यसका लागि पर्याप्त हुन्छ ।
खानामा दूध, दही, माछा, कलेजोबाट भिटामिन डी पाउन सकिन्छ । एउटा वयस्कलाई दैनिक २० हजार आइयू भिटामिन डी चाहिन्छ । यदि घाम÷खानपानबाट भिटामिन डी नपुगेमा सपिल्मेन्ट पनि लिन सकिन्छ ।
सनस्क्रिनले युभी रेज रोक्छ, जसले भिटामिन डी उत्पादन रोक्छ । त्यसैले भिटामिन डीका लागि घाम ताप्ने बेला सनस्क्रिन नलगाई १०–३० मिनेट बस्ने, पछि लगाउने गर्न सकिन्छ । सप्लिमेन्ट सधैं जाँच गरेर मात्र लिनुपर्छ । बढी भए विषाक्त ‘टक्सिसिटी’हुन्छ ।
युवा अवस्थामा पनि जोर्नीको समस्या हुन्छ ?
वृद्धविद्धामा मात्र हैन युवामा पनि हुन्छ । बालबालिकामा रिकेट्स, युवामा ओस्टियोमलेसिया जस्ता समस्या हुन सक्छ । जाँच गरेर समयमै उपचार गरे निवारण गर्न सकिन्छ ।
चिसो मौसममा जोर्नी दुखाइ बढ्छ भनिन्छ, कारणहरू के हुन् र यसबाट बच्ने उपायहरू ?
यो विषयमा वैज्ञानिकहरू एकमत छैन, तर केही तथ्यका अनुसार चिसोमा वायुमण्डलीय दवाब घट्छ, जसले मांसपेशीहरू फैलिन्छन् र दुख्छ । चिसोमा जोर्नीको तरल पदार्थ (साइनोभियल फ्लुइड) गाढा हुन्छ । नसाहरू बढी संवेदनशील हुन्छन् र मांसपेशीहरू खुम्चिन्छन् त्यसको कारण पनि दुखाइ बढ्छ । साथै जाडोमा हामी कम चलायमान हुन्छौं जसको कारण पनि दुखाइ हुन्छ । जाडोमा जोर्नीको दुखाइ बढ्न नदिन जोर्नीलाई न्यानो राख्ने, वार्मअप व्यायाम गर्ने, र चलायमान रहने गर्नुपर्छ ।
समग्रमा जोर्नी स्वस्थ्य राख्न के गर्नुपर्छ ?
मेनोपोजपछि जोर्नी दुखाइ भएमा ‘अप्ठ्यारो दिन सुरु भयो’ भनेर सोच्नु हुन्न बरू सक्रिय जीवन सुरु भयो भन्ने सोच्नुपर्छ ।
जोर्नीलाई स्वस्थ्य राख्न मुख्य रूपमा सक्रिय जीवनशैली अपनाउनुपर्छ । त्यसका लागि हिँड्ने, भर्याङ चढ्ने कुरामा जोड दिनुपर्छ । मांसपेशी कसरत जस्तो विशेष अंगका लागि व्यायाम वा फिजियाेथेरापी गर्नुपर्छ ।
मांशपेशी स्वास्थ राख्नका लागि भिटामिन डी युक्त खानेकुरा, प्राकृतिक र ताजा खानेकुरा खानुपर्छ । प्रशोधित तथा अस्वस्थ खानेकुराबाट टाढा रहनुपर्छ । यसले जोर्नी जोगाउँछ ।
प्रतिक्रिया 4