+

कुन उमेर पछि गर्ने ल्याब परीक्षण ?

२०८२ पुष  ८ गते १९:२४ २०८२ पुष ८ गते १९:२४

रोग लागेपछि उपचार गर्नु भन्दा, रोग आउनुअघि नै पत्ता लगाउनु नै साँचो स्वास्थ्य सचेतना हो । यसमा रगत परीक्षणले महत्वपूर्ण भूमिका खेल्छन् ।

Shares
कुन उमेर पछि गर्ने ल्याब परीक्षण ?

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आधुनिक जीवनशैलीले शारीरिक निष्क्रियता र असन्तुलित खानपानका कारण मधुमेह, उच्चरक्तचाप र कलेजो समस्याजस्ता मौन रोग बढाइरहेका छन्।
  • विश्व स्वास्थ्य संगठनले रोग लाग्नु अघि नै नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको बताएको छ र ल्याब परीक्षणलाई 'अलार्म सिस्टम' भनेको छ।
  • उच्च जोखिम समूहले २० देखि २५ वर्षदेखि र सामान्य व्यक्तिले ४० देखि ४५ वर्षपछि नियमित ल्याब परीक्षण गराउनुपर्ने चिकित्सकीय सिफारिश छ।

अहिलेको जीवनशैली । ‘सुविधा’ धेरै छ । लामो दूरी हिँडेर कतै जानुपर्दैन । सवारी साधनले ढोका–ढोकासम्म पुर्‍याउँछ । लुगा आफैं धुनु पर्दैन, घरमा वासिङ मेसिन नभए चोक-चोकमा ड्राई क्लिनर्स छन् । खेतबारीमा पसिना बगाउनु पर्दैन । त्यो ठाउँमा अहिले कंक्रिटका महल उभिएका छन् ।

घरायसी कामदेखि अफिससम्म, सबै कुरा ‘बटन थिच्दा’ हुने भएको छ । पैसा कमाउने, करियर बनाउने, घरजग्गा जोड्ने लक्ष्यको भागदौडमा हामीले स्वास्थ्यलाई पछाडि छोडिरहेका छौं, समयसँग दौडिरहेका छौं । दैनिकी सजिलो भएको छ, तर यो सजिलोपनसँगै एउटा अदृश्य खतरा पनि भित्रिएको छ, त्यो हो मौन रोग ।

शारीरिक निष्क्रियतासँगै असन्तुलित खानपान, प्रशोधित खानेकुरा र जंक फुडको सेवन, लामो समय कुर्सीमै बस्ने बानी, शारीरिक क्रियाकलापको कमी यिनले हामीलाई समस्यामा धकेलिरहेको छ । यी सँगै अत्यधिक तनाव, धूम्रपान र मदिरा सेवनले मौन रोग मधुमेह, उच्चरक्तचाप, कलेजो र मिर्गौलाका समस्या जस्ता रोगहरू पत्तै नपाई शरीरमा प्रवेश गरिरहेका छन् । यही कारण, आजभोलि यी रोगहरू कम उमेरमै देखिन थालेको छ ।

अझ चिन्ताको कुरा के हो भने, यी रोगहरूले सुरुमा कुनै स्पष्ट लक्षण देखाउँदैनन् । मानिस आफूलाई पूर्णरूपमा स्वस्थ ठानिरहन्छ, तर भित्र–भित्रै रगतमा ग्लुकोज बढिरहेको हुन्छ । रक्तचाप असन्तुलित भइरहेको हुन्छ । कलेजोमा बोसो जम्दै हुन्छ । मिर्गौलाको कार्यक्षमता घट्दै जान्छ ।

अझ चिन्ताको कुरा के हो भने, यी रोगहरूले सुरुमा कुनै स्पष्ट लक्षण देखाउँदैनन् । मानिस आफूलाई पूर्णरूपमा स्वस्थ ठानिरहन्छ, तर भित्र–भित्रै रगतमा ग्लुकोज बढिरहेको हुन्छ । रक्तचाप असन्तुलित भइरहेको हुन्छ । कलेजोमा बोसो जम्दै हुन्छ । मिर्गौलाको कार्यक्षमता घट्दै जान्छ ।

जब लक्षण देखिन थाल्छ, तबसम्म धेरै क्षति भइसकेको हुन्छ । यही कारणसमयमै स्वास्थ्य परीक्षण गर्न आवश्यक छ ।

किन आवश्यक छ ? डब्लुएचोले के भन्छ ?

ल्याब परीक्षणले रोगको पत्ता लगाउने मात्र होइनन्, यो त रोग सुरु हुनु अघिकै ‘अलार्म सिस्टम’ हो । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले पनि यही भन्छ । डब्लुएचओका अनुसार शारीरिक, मानसिक, सामाजिक र भावनात्मक रूपमा पूर्ण सन्तुलन दीर्घकालसम्म कायम राख्न नियमित परीक्षण अत्यन्तै आवश्यक हुन्छ ।

रोग लागेपछि उपचार गर्नु भन्दा, रोग आउनुअघि नै पत्ता लगाउनु नै साँचो स्वास्थ्य सचेतना हो । यसमा रगत परीक्षणले महत्वपूर्ण भूमिका खेल्छन् । मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल बढ्ने, कलेजोमा बोसो जम्ने (फ्याटी लिभर), मिर्गौला कमजोर हुने जस्ता समस्या वर्षौंसम्म लक्षणविहीन रहन्छन् ।

जब लक्षण देखिन्छ, जस्तै थकान, टाउको दुख्ने, खुट्टा सुन्निने । तबसम्म शरीरमा धेरै क्षति भइसकेको हुन्छ । समयमै ल्याब टेस्ट गरे रोगको सुरुवाती संकेत थाहा हुन्छ । यसले औषधि खानुपर्ने अवस्थाबाट बचाउँछ, जीवनशैली परिवर्तनले नै रोग नियन्त्रण गर्न सकिन्छ । महँगो उपचार, अस्पताल भर्ना र जटिलताबाट जोगिन सकिन्छ ।

त्यसोभए ल्याब परीक्षण कहिले गराउने त ? के परीक्षण गर्ने ?

उच्च जोखिम समूह

यदि परिवारमा मधुमेह, उच्च रक्तचाप, मुटु रोग, पक्षघात वा मोटोपनको इतिहास छ भने तपाईं उच्च जोखिममा पर्नुहुन्छ । यस्तो अवस्थामा आनुवंशिक कारणले रोगहरू छिट्टै देखिने सम्भावना हुन्छ । त्यसकारण यस्ता व्यक्तिहरूले २० देखि २५ वर्षको उमेरबाटै आधारभूत ल्याब परीक्षण सुरु गर्नु उचित हुन्छ ।

सामान्य व्यक्तिहरूका लागि कहिले सुरु गर्ने ?

यदि परिवारमा खासै गम्भीर रोगको इतिहास छैन वा आफूलाई कुनै समस्या छैन भने पनि ४० देखि ४५ वर्षपछि नियमित स्वास्थ्य जाँच र ल्याब परीक्षण सुरु गर्नु उपयुक्त हुन्छ । किनकि, यो उमेरमा आइपुग्दा शरीरको मेटाबोलिज्म सुस्त हुन्छ, तौल बढ्ने सम्भावना बढ्छ, शारीरिक क्रियाकलाप घट्छ र हर्मोनजन्य परिवर्तनहरू सुरु हुन्छन्, जसले रोगको जोखिम स्वाभाविक रूपमा बढाउँछ।

के परीक्षण गर्ने ?

कम्पलिट बल्ड काउन्ट (सीबीसी)

सीबीसीले शरीरको रगत प्रणालीको समग्र अवस्था जनाउँछ । यो परीक्षणले शरीरको प्रत्येक कोषिकामा अक्सिजन पुर्‍याउने, रातो कोषिका, संक्रमण, एलर्जी र रक्त क्यान्सरको संकेत दिने सेतो रक्तकोषिका, चोटपटक वा रक्तस्राव हुँदा रगत जमाउन मद्दत गर्ने प्लेटलेट्सको बारेमा जानकारी दिन्छ ।

लिपिड प्रोफाइल

रगतबाट नमूना लिएर गर्नै पर्ने अर्को परीक्षण हो, लिपिड प्रोफाइल टेस्ट । एलडीएल (खराब कोलेस्टेरोल), एचडीएल (राम्रो कोलेस्टेरोल) को मापन यसले गर्छ । साथै रगतमा बोसोको मात्रा ट्राइग्लिसराइड्स पनि यसमा परीक्षण हुन्छ ।

कोलेस्टेरोल र ट्राइग्लिसराइड्सले रक्तनलीको भित्तामा जमेर लेउ जस्तो थुप्रो बनाउँछ । त्यो थुप्रोको दवाव सहन नसकेर रक्तनली फुटेमा हार्ट अट्याक तथा मतिष्कघातको जोखिम बढाउँछ ।

बढी एलडीएलले मुटुका नसाहरू साँघुरो बनाउदा रक्तचाप पनि बढ्न सक्छ । यो अवस्था हेर्नका लागि लिपिड प्रोफाइल जाँच आवश्यक छ ।

थाइराइड

थाइराइड ग्रन्थीको मुख्य काम शरीरको मेटाबोलिजम नियन्त्रण गर्नु हो । यसका हर्मोनहरूको निश्चित स्तर हुन्छ, जसलाई टी३, टी४ र टीएसएच भनिन्छ । यी हर्मोनको मात्रा सन्तुलनमा छ कि छैन भन्ने कुरा बुझ्न थाइराइड परीक्षण गरिन्छ ।

विशेषगरी महिलाहरूमा थाइराइडसम्बन्धी समस्या बढी देखिने गर्छ, तर पुरुषहरूमा पनि जोखिम भएमा परीक्षण आवश्यक हुन्छ । अत्यधिक थकान महसुस हुनु, तौल असामान्य रूपमा बढ्नु वा घट्नु, कपाल झर्नु, मुड बारम्बार परिवर्तन र जस्ता लक्षण देखिएमा थाइराइड परीक्षण गराउन ढिला गर्नु हुँदैन । कहिलेकाहीं बिनालक्षण, सब किल्निकल अवस्था हुनसक्छ । त्यसैले, बेलाबखतमा थायराइड परीक्षण गराउनु आवश्यक छ ।

ब्लड सुगर टेस्ट (फास्टिङ ब्लड सुगर र एचबीए१सी)

यो मधुमेहको सुरुवाती अवस्था पत्ता लगाउन गरिन्छ । फास्टिङ ब्लड सुगर खाली पेटमा गरिन्छ र एचबीए१सीले विगत ३ महिनाको औसत सुगर स्तर देखाउँछ । एचबीए१सीले मधुमेह भएनभएको पत्ता लगाउन मद्दत गर्छ । यो परीक्षण रगतबाट नमूना लिएर गरिन्छ ।

साथै, मधुमेह भएमा मिर्गौला क्षति हुने सम्भावना भएको हुँदा युरिन माइक्रोअल्बुमिनको नामक परीक्षण गराउनु उचित हुन्छ ।

किड्नी फंक्शन टेस्ट

यसमा युरिया, क्रिएटिनिन, युरिक एसिड, सोडियम र पोटासियम समावेश हुन्छ । डायबेटिज र उच्च रक्तचापले मिर्गौलालाई पत्तै नपाई बिगार्छ । मिर्गौला बिग्रिएपछि सुधार गर्न कठिन हुन्छ, त्यसैले पहिले नै पत्ता लगाउनु आवश्यक छ । यो परीक्षण पिसाब र रगत दुवैको नमुनाबाट गरिन्छ ।

लिभर फंक्शन

कलेजोको अवस्था थाहा पाउन गरिने परीक्षण हो, लिभर फंक्शन टेस्ट । यसले एएसटी, एएलटीले कलेजोको कोषमा कुनै क्षति पुगेको छ कि छैन त्यो कुरा जाँच्छ ।

यसमा अर्को परीक्षण एएलपी भन्ने छ । एएलपीले परीक्षणले पित्तनलीमा अवरोध छ कि छैन भन्ने जानकारी दिन्छ । जीजीटी परीक्षणले मदिरासँग सम्बन्धित कलेजो क्षति भए नभएको पत्ता लगाउँछ ।

एलबुमिन र टोटल प्रोटिनको परीक्षणले कलेजोको प्रोटिन उत्पादन गर्ने क्षमता कत्तिको राम्रो छ भन्ने देखाउँछ । बिलुरुबिन परीक्षणले कलेजोको क्षतिको स्तर वा रातो रक्तकोष टुट्ने अवस्थाको जानकारी दिन्छ ।

समयमै थाहा पाएमा खाना र तौल नियन्त्रणले कलेजो सुधारिन्छ ।

भिटामिन डी ३

भिटामिन डी ३ परीक्षण गराउनुको मुख्य कारण हो, शरीरमा भिटामिन डीको कमी पत्ता लगाउनु । यो कमीले हड्डी कमजोर हुने, जोर्नी दुख्ने, बारम्बार रोग लाग्ने, मांसपेशी कमजोर हुने र रोग प्रतिरोधी क्षमता घट्ने समस्या निम्त्याउछ ।

विशेष गरी सूर्यको प्रकाश कम पाउने, शाकाहारी, वृद्धवृद्धा र मिर्गौला-कलेजोका बिरामीले यो परीक्षण गर्नु उपयुक्त हुन्छ ।

हड्डी दुख्ने, कमजोर हड्डी, अत्यधिक रिस उठ्नु, मांसपेशी कमजोर हुने, थकान लाग्ने संकेत देखिएमा पनि परीक्षण गराउनु आवश्यक हुन्छ ।

युरिक एसिड

युरिक एसिड मेटाबोलिजमबाट बन्ने अनावश्यक तत्व हो । शरीरमा प्युरिन धेरै बन्ने वा मिर्गौलाले राम्रोसँग फोहोर ननिकाल्दा युरिक एसिड रगतमा जम्मा हुन्छ । यो बढ्दा खुट्टाको औंलामा अचानक तीव्र दुखाइ, जोर्नी सुन्निने र मिर्गौलाको क्षति हुनसक्छ ।

जोर्नीमा बारम्बार दुखाइ वा सुन्निने भएमा, परिवारमा पहिले कसैलाई यो समस्या भएमा रक्सी÷मासु धेरै खाने, मोटोपन, मधुमेह वा उच्च रक्तचाप भएमा, केमोथेरापी वा मिर्गौलाको समस्या भएमा परीक्षण गराउनु आवश्यक छ ।

४० वर्षपछि किन विशेष ध्यान दिनुपर्छ ?

४० वर्ष जीवनको महत्वपूर्ण मोड हो । किनकि यसपछि शारीरिक गतिविधि घट्छ, काममा व्यस्तता धेरै हुन्छ, व्यायामको समय कम हुन्छ । लामो समय बस्ने बानी बढ्छ । तौल र पेट बढ्न थाल्छ, पेटको बोसोले मुटु र कलेजोलाई असर गर्छ ।

मुटुका नसामा बोसो जम्न थाल्छ, कोलेस्टेरोल नसामा जम्दै जान्छ र रक्तसञ्चार अवरुद्ध हुन थाल्छ । कलेजो र मिर्गौला कमजोर हुन थाल्छन्, फ्याटी लिभरको जोखिम बढ्छ र मिर्गौलाको फिल्टर क्षमता घट्ने सम्भावना हुन्छ ।

यी सबै समस्या सुरुमा लक्षणमा नदेखिएर ल्याब रिपोर्टमा मात्र देखिन्छन् । त्यसैले, आफ्नो स्वास्थ्यको अवस्था थाहा पाउन बेला बखतमा माथि उल्लेखित आधारभूत स्वास्थ्य परीक्षण बेलाबखतमा गर्नु उपयुक्त हुन्छ । ताकि, बेलैमा सचेत हुन सकियोस् ।

ल्याब परीक्षण
डा. जीवन अधिकारी
लेखक
डा. जीवन अधिकारी
कन्सल्टेन्ट प्याथोलोजिस्ट, नेशनल प्याथ ल्याब

डा. अधिकारी नेशनल प्याथ ल्याबका विभागीय प्रमुख हुन्। प्याथोलोजीमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर ९७९३ हो ।      

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय