८ पुस, काठमाडौं । नेपालमा डेंगुभन्दा निकै घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर चिन्ताजनक रूपमा बढिरहेको विज्ञहरूले बताएका छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका अनुसार पछिल्लो एक वर्षमा संक्रमितमध्ये झन्डै ३३ प्रतिशतको मृत्यु भएको छ ।
शाखा प्रमुख डा. अभियान गौतमका अनुसार गत पुसदेखि हालसम्म १७९ जनामा संक्रमण पुष्टि भएकोमा ३५ जनाको मृत्यु भइसकेको छ । सन् २०२३ मा ७ जनाको मृत्यु भएकोमा सन् २०२४ मा यो संख्या बढेर २५ पुगेको छ ।
‘जेईको बढ्दो मृत्युदरले खतराको घन्टी बजाइरहेको छ,’ डा. गौतमले भने ।
हरेक तीन संक्रमितमध्ये एकको मृत्यु
जापानिज इन्सेफलाइटिस भाइरसबाट हुने रोग हो । यो भाइरस क्युलेक्स जातको लामखुट्टेले सार्छ, जुन बिहान र बेलुका बढी सक्रिय हुन्छ । संक्रमित चराचुरुङ्गी र सुँगुरलाई टोक्दा लामखुट्टे स्वयं संक्रमित हुन्छ र त्यसले मानिसलाई टोक्दा संक्रमण सर्छ ।
डा. गौतमका अनुसार विशेषगरी तराई क्षेत्रमा जेईको संक्रमण बढी देखिएको छ । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै ५५ जनामा संक्रमण देखिएको छ भने ११ जनाको मृत्यु भएको छ । जिल्लागत रूपमा चितवनमा सबैभन्दा बढी संक्रमण पुष्टि भएको छ ।
नेपालमा जेई संक्रमण पुरानो भए पनि यसको औपचारिक निगरानी भने ढिलो सुरु भएको हो । डा. गौतमका अनुसार भारतको गोरखपुरमा सन् १९९० को दशकमा ठूलो प्रकोप देखिए पनि नेपालमा यस रोगको इतिहास अझ पुरानो छ ।
सन् १९७८ तिर रुपन्देहीमा संक्रमण देखिएको अनुमान छ । त्यतिबेला प्रयोगशाला पुष्टि गर्ने सुविधा नभएकाले लक्षणका आधारमा मात्र जेई भएको अनुमान गरिएको उनले बताए ।
सन् २०१४ मा जेई संक्रमणका कारण ४ जनाको मृत्यु भएको थियो । त्यसपछि केही समय मृत्युदर न्यून रह्यो । तर पछिल्ला तीन वर्षयता मृत्युदर तीव्र गतिमा बढेको तथ्यांकले देखाएको छ ।
डा. गौतमका अनुसार जापानिज इन्सेफलाइटिस डेंगुभन्दा घातक रोग हो ।
उनका शब्दमा, ‘डेंगु सार्ने लामखुट्टे दिउँसो टोक्छ भने जेई सार्ने लामखुट्टे राति टोक्छ । तथ्यांकले देखाउँछ-प्रत्येक तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुन्छ, एक जना अपांगता बोकेर बाँच्छन् र एक जना मात्र सामान्य अवस्थामा फर्कन्छन् ।’
यस वर्ष ८ हजार २६२ जनामा डेंगु संक्रमण हुँदा ६ जनाको मृत्यु भएको छ ।
४० वर्षमाथिका व्यक्तिमा बढ्दो जोखिम
जापानिज इन्सेफलाइटिस फ्लेभी भाइरस समूहअन्तर्गत पर्ने भाइरसजन्य रोग हो । विश्व स्वास्थ्य संगठनका अनुसार एसियामा बर्सेनि झन्डै एक लाखमा लक्षणसहितको संक्रमण देखिन्छ । यसको अधिकतम मृत्युदर ३० प्रतिशतसम्म हुन सक्छ ।
डा. गौतमका अनुसार नेपालमा जेईको जोखिम ढाँचा अन्य देशभन्दा फरक देखिएको छ । सामान्यतया १५ वर्षमुनिका बालबालिकामा बढी देखिने यो रोग नेपालमा पछिल्ला वर्षहरूमा ४० वर्षमाथिका व्यक्तिमा बढी संक्रमण र मृत्यु गराइरहेको छ ।
‘संक्रमितमध्ये ९१ प्रतिशतले खोप नै नलगाएको पाइएको छ,’ उनले भने ।
भाइरसमा केही प्रकारको परिवर्तन भएको हुन सक्ने आशंका पनि गरिएको छ । यद्यपि यसबारे ठोस निष्कर्ष आउन बाँकी रहेको उनले बताए ।
उच्च मृत्युदरबारे थप अध्ययन भइरहेको भन्दै डा. गौतमले भने, ‘प्रारम्भिक अध्ययनले स्क्रब टाइफस जस्ता अन्य रोगसँगको संयोजनका कारण पनि मृत्युदर बढेको हुन सक्ने देखाएको छ ।’
धान खेती र पशुपालन क्षेत्रमा बढी जोखिम

जेई संक्रमण साउन–भदौ महिनामा बढी देखिन्छ । धान खेती हुने क्षेत्र तथा सुँगुर र हाँस पालन गरिने ठाउँमा जोखिम उच्च रहने विज्ञहरू बताउँछन् ।
संक्रमितमध्ये करिब ५० प्रतिशत कृषिमा आबद्ध व्यक्ति हुनु पनि यसको प्रमाण भएको डा. गौतमको भनाइ छ । धानखेतमा पानी जम्ने भएकाले लामखुट्टे प्रजननका लागि अनुकूल वातावरण बन्ने गर्छ । त्यस्तै, सुँगुर र हाँसमा भाइरस तीव्र रूपमा बढ्ने भएकाले संक्रमणको चक्र तीव्र हुन्छ ।
संक्रमित लामखुट्टेले सुँगुर वा हाँसलाई टोक्दा भाइरस हजारौं गुणा बढ्छ । त्यसपछि अर्को लामखुट्टेमार्फत मानिसमा संक्रमण सर्छ ।
लक्षण र दीर्घकालीन असर
धेरैजसो संक्रमितमा लक्षण सामान्य हुन्छ वा देखिँदैन । तर करिब २५० संक्रमितमध्ये एक जनामा स्नायु प्रणालीमा गम्भीर समस्या देखिने कडा अवस्था विकास हुन्छ ।
उपचारपछि बच्न सके पनि झन्डै ५० प्रतिशतमा जीवनभर असर पर्ने अपांगता देखिने विज्ञहरू बताउँछन् ।
कम्पन भइरहने, सुन्ने वा हेर्ने क्षमता गुम्ने, बोल्ने र स्मरणशक्ति कमजोर हुने, हातखुट्टा लुला हुनेजस्ता समस्या देखिन सक्छन् ।
संक्रमण भएको ४ देखि १४ दिनभित्र लक्षण देखिन थाल्छ । उच्च ज्वरो, टाउको दुखाइ, घाँटी कडा हुनु, अन्योल, मांसपेशी कडा हुनु, अचेत अवस्था र उपचारमा ढिलाइ भए मृत्यु समेत हुन सक्छ ।
खोप नै मुख्य सुरक्षा उपाय

जेईको प्रभावकारी नियन्त्रणको प्रमुख उपाय खोप हो । नेपालमा शिशुलाई १२ महिनाको उमेरमा जेईको खोप दिइन्छ । यो भाइरसजन्य रोग भएकाले यसको विशेष औषधि वा एन्टिभाइरल उपचार छैन ।
नेपालले विगत तीन दशकदेखि उच्च जोखिम क्षेत्रमा खोप अभियान सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवा विभागले देशभर उपचारसम्बन्धी गाइडलाइन जारी गरी चार हजार स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जनाएको छ ।
उपचार लक्षण र जटिलतामा आधारित हुन्छ । ज्वरो, कम्पन, टाउको दुखाइ लगायतका समस्याअनुसार उपचार गरिन्छ । प्रतिरोधात्मक क्षमता बलियो भएका व्यक्तिमा समयमै उपचार पाउँदा अवस्था सुधार हुने गर्छ ।
तर एचआईभी संक्रमित, मधुमेह भएका र प्रतिरक्षा प्रणाली कमजोर व्यक्तिमा जोखिम बढी हुन्छ । समयमै उपचार नपाए ज्यान जाने सम्भावना उच्च रहने चिकित्सकहरू बताउँछन् ।
बच्ने उपाय
जेईबाट बच्न लामो बाहुलाको लुगा लगाउने, घर वरिपरि सरसफाइ कायम राख्ने, लामखुट्टे धपाउने झुल वा क्रिम प्रयोग गर्ने र पानी जम्न नदिने उपाय अपनाउनुपर्छ ।
साथै सुँगुर, हाँस लगायत पशुपंक्षीको खोर मानिस बस्ने घरभन्दा टाढा राख्न चिकित्सकहरूले सुझाव दिएका छन् ।
प्रतिक्रिया 4