+
+
Shares

बोको चढाउने कि शल्यक्रिया गर्ने ? अन्धविश्वास र विज्ञानको दोधारमा एक बालकको जीवन

नेपाली समाजमा अन्धविश्वास स्वास्थ्यको ठूलो शत्रु हो । धेरै केसहरूमा बिरामीलाई सुरुमा धामीझाँक्री कहाँ लगिन्छ । हामीकहाँ आउँदा रोग जटिल भइसकेको हुन्छ ।

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ पुष ७ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेढ वर्षअघिको घटनामा पाटन अस्पतालमा ६–७ वर्षका बालकलाई हाइड्रोसेफालस रोगको शल्यक्रिया गरियो, जसले उनको जीवन बचायो।
  • बालकको परिवारले अन्धविश्वासका कारण उपचारमा ढिलाइ गर्यो तर चिकित्सकहरूले शल्यक्रिया आवश्यक भएको भन्दै परिवारलाई राजी गराए।

प्रसंग डेढ वर्षअघिको हो । करिब ६–७ वर्षका बालकलाई उनकी दिदीले बेहोस अवस्थामा पाटन अस्पताल ल्याएकी थिइन् । बालकलाई टाउको दुख्ने, बारम्बार बान्ता हुने र हिँड्न नसक्ने समस्या थियो । यो समस्या एक–डेढ महिनादेखि बढ्दै गएर बेहोस हुने अवस्थासम्म पुगेको थियो ।

आमा थिइनन्, बाबु भारतमा काम गर्थे । परिवारको आर्थिक अवस्था निकै कमजोर थियो । सुरुमा दिदीले बालकलाई धामीझाँक्रीबाट उपचार गर्ने सोचेकी थिइन् । उनी भन्थिन्, ‘कालो बोका चढाएर पूजा गरे भाइ निको हुन्छ ।’

अस्पतालका चिकित्सकले मस्तिष्कसम्बन्धी समस्या भएको शंका गरेर तत्काल सिटी स्क्यान गरे । रिपोर्टले देखायो बालकको दिमागमा पानीको घर ‘भेन्ट्रिकल्स’ अस्वाभाविक रूपमा ठूलो भएको छ । यो ‘हाइड्रोसेफालस’ थियो, जसलाई नेपालीमा ‘दिमागको पानी बढ्ने रोग’ भनिन्छ ।

यो रोगले दिमागमा चाप बढाउँछ, जसले बालकको अवस्था गम्भीर बनाएको थियो । यदि समयमै उपचार नगरेको भए चेतना घट्दै गएर मृत्यु हुन सक्थ्यो । तर परिवारको अन्धविश्वासले उपचारमा ढिलाइ भइरहेको थियो । ‘धामीझाँक्रीले रोग निको पार्न सक्दैनन्, यो वैज्ञानिक समस्या हो जसलाई शल्यक्रिया गर्नुपर्छ भनी चिकित्सकहरूले धेरै सम्झाए। अन्ततः परिवार राजी भयो ।

हाइड्रोसेफालस भनेको के हो ?

पाटन अस्पतालका न्युरो सर्जन डा. रुपेश राउतका अनुसार यो एक गम्भीर न्यूरोलोजिकल अवस्था हो । यसमा दिमागमा सेरेब्रोस्पाइनल फ्लुइड नामक तरल पदार्थ असन्तुलित रूपमा जम्मा हुन्छ । यो तरललाई बोलचालमा ‘दिमागको पानी’ भनिन्छ ।

यो पानी दिमागलाई भिजाउने, सुरक्षित राख्ने, पोषण प्रदान गर्ने र फोहोर पदार्थहरू निकाल्ने काम गर्छ । सामान्य अवस्थामा यो पानी दिनमा करिब १५० मिलिलिटर उत्पादन हुन्छ र दिमागबाट मेरुदण्ड हुँदै तल–माथि घुमिरहन्छ । यो उत्पादन हुने सोस्ने र बग्ने पक्रिया चलिरहन्छ । तर जब यो प्रक्रियामा सन्तुलन बिग्रिन्छ, पानी जम्मा भएर भेन्ट्रिकल्स सुन्निन्छन्, जसले दिमागमा चाप बढाउँछ । बालबालिकामा यो रोग हुँदा टाउको अस्वाभाविक रूपमा ठूलो हुन्छ ।

कारण

हाइड्रोसेफालसका मुख्य कारणहरू तीन प्रकारका हुन्छन् । पानीको अत्यधिक उत्पादन, यो बग्ने बाटोमा अवरोध र सोसाइमा समस्या । ट्युमरहरूले पानी बढी उत्पादन गराउन सक्छन् । पानी बग्ने बाटोमा झिल्ली, ट्युमर वा अन्य अवरोधले बन्द हुन सक्छ ।

डा.राउतका अनुसार यी बालकको केसमा पानी बग्ने बाटोमा अवरोध थियो, जसले माथिल्लो भेन्ट्रिकल्स सुन्निएका थिए । संक्रमण वा रक्तस्रावले सोसिने ठाउँमा फोहोर जम्मा भएर पानी सोसिन नसक्दा पनि यो समस्या हुने उनको भनाइ छ ।

लक्षणहरू

यो समस्यामा टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, हात–खुट्टा राम्ररी नचल्ने, आँखा तलतिर झर्ने, टाउको ठूलो हुने जस्ता लक्षण देखिन्छन् । एक-डेढ वर्ष भन्दा कम उमेरका बच्चाहरूमा अस्वभाविक रूपमा टाउकोको साइज बढ्दै जान्छ । यदि समयमै उपचार नगरे चेतनाको स्तर घट्दै गएर कोमा जाने वा मृत्यु हुन सक्छ ।

डा. राउतका अनुसार ती बालकमा यी लक्षणहरू बढ्दै गएका थिए, तर परिवारको अन्धविश्वासले अस्पताल पुग्न ढिला भएको थियो ।

नेपाली समाजमा अन्धविश्वासको जड किन गहिरो छ ?

यसको पछाडि शिक्षाको कमी, सांस्कृतिक विश्वासहरू र आर्थिक कठिनाइहरू छन् । धेरै परिवारहरू अस्पतालको खर्च डराएर वा ‘देवता खुसी पारेर निको हुन्छ’ ठानेर घरेलु उपचारमा लाग्छन् । तर यस्ता विश्वासहरूले जीवन गुमाउने खतरा बढाउँछ ।

डा. राउत भन्छन्, ‘आस्था र विज्ञानलाई सँगसँगै लैजान सकिन्छ, तर जीवन बचाउने ठाउँमा विज्ञानलाई प्राथमिकता दिनुपर्छ ।’बालकको सिटी स्क्यानले हाइड्रोसेफालस पुष्टि भएपछि इमर्जेन्सी शल्यक्रिया आवश्यक थियो । त्यसैले भेन्ट्रिकुलो–पेरिटोनियल शन्ट शल्यक्रिया गरियो । यसमा दिमागको भेन्ट्रिकलमा ट्युब राखेर पानीलाई छालामुनि हुँदै पेटमा निकालिन्छ । यो अप्रेसन सजिलो र तत्काल गर्न सकिने हुन्छ।

शन्टको मूल्य बजारमा १४–१५ हजार पर्छ, तर अस्पतालले कम्पनीसँग कुरा गरेर १०–११ हजारमा उपलब्ध गरायो र थप छुट दियो । तर परिवारलाई यो रकम पनि जुटाउन गाह्रो थियो । पैसा अभाव भए पनि अस्पतालको सोसल सर्भिस र पेडियाट्रिक्सका रेजिडेन्ट डाक्टरहरूले रकम उठाएर अप्रेसन सम्भव भयो । अप्रेसनपछि बालकको अवस्था क्रमशः सुधारियो। सुरुमा बोल्न नसक्ने र सन्तुलन गुमाएका थिए, तर केही दिन र हप्तामा बोल्न थाले, हिँड्न सक्ने भए ।

डेढ वर्षपछि फलोअपमा ती बालक आएका थिए । अब उनी सामान्य जीवन जिउन सक्छन् । हिँडडुल, बोलचाल र दैनिक क्रियाकलापहरू स्वतन्त्र रूपमा गर्छन् । डा. राउतले जिस्क्याउँदै सोधेका थिए, ‘शल्यक्रिया नगरेर बोका चढाएको भए के हुन्थ्यो ?’ बालककी दिदी हाँसिन् मात्र, केही जवाफ दिन सकिनन् ।

डा. राउत भन्छन्, ‘नेपाली समाजमा अन्धविश्वास स्वास्थ्यको ठूलो शत्रु हो । हामीले देखेका धेरै केसहरूमा परिवारहरू धामीझाँक्रीबाट फर्केर आउँछन्, तर तबसम्म रोग जटिल भइसकेको हुन्छ । विज्ञान र आस्थालाई सन्तुलनमा राख्नुपर्छ, तर जीवन बचाउने कुरामा विज्ञानलाई पहिलो प्राथमिकता दिनु आवश्यक छ ।’

यो घटनाले नेपाली समाजमा व्याप्त अन्धविश्वासलाई उजागर गर्छ । आस्था राम्रो हो, तर उपचार सम्भव भएको ठाउँमा चिकित्सा उपचारलाई प्राथमिकता दिनुपर्छ । दुवैलाई सँगसँगै लैजान सकिन्छ । यो बालकको जीवन समयमै वैज्ञानिक उपचारले बच्यो।

नेपालमा यस्ता घटना धेरै हुन्छन्, जहाँ अन्धविश्वासले स्वास्थ्य सेवालाई प्रभावित पार्छ । शिक्षा र जागरणबाट यसलाई घटाउन सकिन्छ । यो कथा प्रतिनिधिमूलक मात्र हो, जसले देखाउँछ कि अन्धविश्वासको जालबाट मुक्ति पाएर वैज्ञानिक उपचारले कसरी जीवन बचाउँछ । यदि समयमै अस्पताल पुग्ने हो भने हाइड्रोसेफालस जस्ता रोगहरूबाट बच्न सकिन्छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?