+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

जनस्वास्थ्यविद्लाई वन मन्त्रालयको जिम्मेवारी

जुम्लाको कुष्ठरोग अस्पतालमा ८ वर्ष काम गरेका नवनियुक्त मन्त्री चौलागाईंले झन्डै १० वर्ष कर्णालीमा स्वास्थ्यकर्मी भएर काम गरे । पछिल्लो २० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सेवामा विषय विज्ञका रूपमा काम गरिरहेका छन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०८२ मंसिर २६ गते २१:२३
Photo Credit : चन्द्रबहादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनस्वास्थ्यविद् माधव चौलागाईंले राष्ट्रपति रामचन्द्र पौडेलबाट वन तथा वातावरण मन्त्रीको शपथ लिए।
  • प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेट विस्तारमा विवादित नामहरू हटेर चौलागाईं मन्त्री बन्न सफल भए।
  • चौलागाईंले २५ वर्षभन्दा बढी जनस्वास्थ्य क्षेत्रमा काम गरेका छन् र कर्णालीको सामाजिक-सांस्कृतिक उत्थानमा सक्रिय छन्।

२६ मंसिर, सुर्खेत । जनस्वास्थ्यविद् माधव चौलागाईंले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी पाएका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा वन मन्त्री बनेका चालागाईंले राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार शपथ लिए ।

कार्की नेतृत्वको सरकार बने लगत्तै कर्णालीबाट मन्त्री बन्ने चर्चामा रहेका चौलागाईंलाई कार्की क्याबिनेटमा छिर्न भने करिब तीन महिना लाग्यो । गत असोज पहिलो साता नै काठमाडौंमा रहेका कर्णालीका विज्ञ र युवाहरूले भूगोलको प्रतिनिधित्व गराउँदै मन्त्री बनाउन तीन जनाको नाम सिफारिस गरेका थिए ।

जसमा विज्ञहरूको तर्फबाट नरबहादुर कार्की र माधव चौलागाईं थिए भने जेनजी युवाको तर्फबाट प्रकाश खड्काको नाम सिफारिस गरिएको थियो । तर त्यो बीचमा तीन पटक क्याबिनेट विस्तार हुँदा यी तीनै नाम गुमनाम रहे । त्यति बेला हुम्लाकी टासी ल्हान्जोम र दलित अभियन्ता दैलेखका खगेन्द्र सुनारलाई मन्त्री बनाउने तयारी भएको थियो ।

तर, यी दुवै जना विवादमा परेपछि प्रधानमन्त्री कार्कीले शपथ ग्रहण अगाडि उनीहरूको नाम हटाएकी थिइन् । शुक्रबार चोथो पटक मन्त्रिपरिषद् विस्तार हुँदा चौलागाईं भने मन्त्री बन्न सफल भए ।

चौलागाईं सुधन गुरुङ समूहको सिफारिस र सहयोगमा नै मन्त्री बनेको गुरुङ निकट एक युवाले बताए । ‘उहाँको नाम सुरुदेखि चर्चामा थियो । बीचमा केही व्यक्तिहरूको नाम आउँदा विवादित पनि भयो,’ ती युवाले भने, ‘कर्णालीका जेनजीको समर्थन र सुदन समूहको सिफारिसमा मन्त्री बन्नुभएको हो ।’

प्रधानमन्त्री कार्कीले नियुक्त गर्न खोजेका कर्णालीका दुई पात्र विवादित बनेपछि पछिल्लो समय जेनजीको सल्लाहअनुसार नै चौलागाईंलाई मन्त्री बनाइएको युवाहरू बताउँछन् । उनका अनुसार कुनै पनि विवादित छवि नभएका, राजनीतिक दल र अन्य सङ्गठनहरूमा पनि खुलेर नलागेकाले चौलागार्इंलाई मन्त्री बनाइएको हो ।

समाजशास्त्रका विद्यार्थी चौलागाईंसँग साढे दुई दशक लामो जनस्वास्थ्य क्षेत्रको अनुभव छ । लेखक, सर्जक र समालोचकको रूपमा आफ्नो परिचय बनाएका उनी युवा पुस्ताको उत्प्रेरक रूपमा समेत  चिनिन्छन् । ‘सपादलक्ष्य कर्णाली’ नामक पुस्तकका लेखक चौलागाईं अनुसन्धानकर्ता, लेखक र कर्णालीको इतिहास तथा संस्कृतिका अध्येता हुन् ।

देशको नेतृत्व गर्ने ऐतिहासिक अवसर पाएका राजनीतिक दलका नेताहरूले मूल्यवान समय खेर फालेको भन्दै केही समय अगाडिसम्म चर्को आलोचना गर्ने चौलागार्इंले नै अब वन मन्त्रालयको नेतृत्व गर्नेछन् ।

को हुन्, माधव चौलागाई ? 

जुम्ला तातोपानी गाउँपालिका‐५, लाम्राका चौलागाईं मध्यमवर्गीय परिवारमा हुर्के, बढे । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र दुई छोरी छन् । लाम्राकै तत्कालीन दुर्गा निम्न माध्यमिक विद्यालयबाट औपचारिक शिक्षाको थालनी गरेका उनले चन्दन माविबाट ८ कक्षा उत्तीर्ण गरे ।

त्यसपछि २०५१ मा सालमा जुम्लाको हिमशिखर माध्यमिक विद्यालयबाट एसएलसी पास भए । २०५४ मा सीटीईभीटी अन्तर्गत रहेको कर्णाली टेक्निकल स्कुल, जुम्लाबाटै कम्युनिटी मेडिकल असिस्टेन्ट (सीएमए) अध्ययन गरे ।

उनले २०५८ सुर्खेत शिक्षा क्याम्पस वीरेन्द्रनगरबाट स्वास्थ्य तथा शारीरिक शिक्षामा स्नातक गरेका छन् । सन् २००३ मा थाइल्यान्डको चुलालोङ्गकोर्ण विश्वविद्यालयबाट पब्लिक हेल्थमा स्नातकोत्तर गरेका चौलागाईंले सन् २०११ मा त्रिभुवन विश्वविद्यालयबाट ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् ।

पछिल्लो समय उनी त्रिभुवन विश्वविद्यालयमा मानवशास्त्रमा एमफिल गरिरहेका छन् । जागिर खाँदै उनले आफ्नो पढाइलाई निरन्तरता दिएका थिए । चौलागाईं सीएमए पढेर सकेपछि केही समय स्वास्थ्य सेवामा होमिए । स्थायी जनस्वास्थ्य अधिकृत भएर जुम्ला र हुम्लामा समेत काम गरे ।

जुम्लामा रहेको आईएनएफ अर्थात् कुष्ठरोग अस्पतालमा ८ वर्ष काम गरेका उनले झन्डै १० वर्ष कर्णालीमा स्वास्थ्यकर्मी भएर काम गरे । पछिल्लो २० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय स्वास्थ्य सेवामा विषय विज्ञका रूपमा काम गरिरहेका छन् ।

उनीसँग विकासका क्षेत्रमा २० वर्षभन्दा बढी काम गरेको अनुभव छ । उनले रणनीतिक सूचना, परियोजना अनुगमन, मूल्याङ्कन तथा सिकाइ, निगरानी तथा अनुसन्धान, परियोजना डिजाइन र कार्यान्वयनका क्षेत्रमा समेत काम गरेका छन् ।

नेपालका विभिन्न राष्ट्रिय नीति र रणनीतिहरू, राष्ट्रिय गाइडलाइन, डाटा विश्लेषण र मोड्युल–विकासमा समेत उनले महत्त्वपूर्ण योगदान रहेको छ । सुशासन र सुरक्षाको क्षेत्रमा समेत काम गरेका चौलागाईंले विभिन्न तहका सरकार, दातृ निकाय र बाह्य विकास साझेदारसँग सहकार्य गरेर काम गरेका छन् ।

चौलागाईंले आफ्ना लेखमार्फत कर्णालीको ऐतिहासिक, भाषिक, सामाजिक–सांस्कृतिक विविधताको उत्थान गर्दै आएका छन् । उनी वातावरणमैत्री उपायहरूको माध्यमबाट जनकेन्द्रित दिगो शहर तथा गाउँ निर्माणको पक्षमा वकालत गर्छन् ।

चौलागाईंले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थामा आबद्ध भएर अध्ययन तथा अनुसन्धानको काम गर्दै आएका छन् । उनले लामो समय काठमाडौं बसेर कर्णाली र लुम्बिनीका विभिन्न जिल्लामा स्वास्थ्य नीति अनुगमनको काम समेत गरे ।

पछिल्लो समय चर्चित बनेको ‘जुरुक्कै कर्णाली’ गीतका लेखक पनि हुन्, चौलागाईं । उनी कर्णालीमा हुने नीति संवाद ‘कर्णाली उत्सव’ कुडा कर्णालीका र ‘कर्णाली साहित्य महोत्सव’का आयोजक पनि हुन् । उनको सक्रियतामा हरेक महिना काठमाडौंमा ‘कर्णाली डिस्कोर्स’ समेत सञ्चालन हुँदै आएको छ ।

चौलागाईंले पहिलो पटक २०७७ मा जुम्लाको लाम्रा अर्थात् आफ्नै गाउँमा गाउँ केन्द्रित ‘लाम्रा संवाद’ थालेका थिए । लाम्रा संवादले गाउँका कुरा, बुढापाकाका अनुभव र गाउँ निर्माण तथा विकासको किंवदन्ती सङ्कलन गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको उनको दाबी छ ।

जुम्लाको पहिलो म्यागेजिन पत्रिका ‘कर्णालीको उत्सक पाइला’मा समेत काम गरेका चौलागाईंले केही समय पत्रकारिता पनि गरेका थिए । उक्त पत्रिकाको प्रकाशन गर्दा उनले संयोजनको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनले ‘खुट्किलो’ हाते पत्रिका प्रकाशित गरे । त्यसबाहेक उनीसँग रेडियोमा प्रस्तोता भएर कार्यक्रम चलाएको अनुभव पनि छ ।

जिल्लामा पत्रपत्रिका निकाल्ने र लेख रचना छाप्नेदेखि रेडियोमा बोल्ने अनुभवसमेत सँगालेका उनीसँग आफैंले लेखेका कविता, मुक्तक, गजल, कथा पनि थुप्रै छन् । तर ती प्राय: प्रकाशित छैनन् ।

चौलागाईं मानव अधिकार तथा शान्ति समाजले प्रदान गर्ने स्रष्टा सम्मान २०८२ बाट समेत सम्मानित भएका थिए । कर्णालीको उत्थानमा क्रियाशील व्यक्तिको रूपमा चयन गरेर चौलागाईंलाई पुरस्कृत गरिएको थियो ।

यस्तो छ, पेसागत अनुभव 

थाइल्यान्डबाट फर्केपछि चौलागाईंले नेपालको जनस्वास्थ्य क्षेत्रमा करिब साढे २ दशक काम गरे । सन् १९९६ मा उनले ‘इन्टरनेसनल नेपाल फेलोसिप’ अन्तर्गत जुम्लामा वरिष्ठ पारामेडिकल वर्करको रूपमा काम सुरु गरे । त्यस समयमा उनले क्षयरोग र कुष्ठरोग परियोजनामा ५ वर्ष बिताए ।

दुई पर्ष सोही संस्थामा ‘सामुदायिक स्वास्थ्य सुपरभाइजर’ का रूपमा समेत उनले जुम्लाका दुर्गम गाउँहरूमा पुगेर स्वास्थ्य सर्वेक्षण र तालिमहरू सञ्चालन गरे । यो ८ वर्षको अवधिमा उनले कर्णालीको गरिबी, अभाव, रोग र भोगलाई नजिकबाट नियाले ।

जुम्लाको अनुभवपछि उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा नेतृत्वदायी भूमिकामा देखिए । यूएसएआईडीको ‘स्वास्थ्यका लागि प्रणाली सुदृढीकरण’ परियोजनाअन्तर्गत उनले कर्णाली १० जिल्ला र लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ गरी १०५ पालिकामा काम गरे । त्यहाँ उनले मातृ, शिशु तथा प्रजनन स्वास्थ्य सेवाको गुणस्तर सुधार र पहुँच बढाउनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

उनले करिब तीन वर्ष ‘नेपाल परिवार स्वास्थ्य कार्यक्रम’ मा फिल्ड अफिसरको रूपमा काम गरे । त्यहाँ उनले परिवार नियोजन, सुरक्षित मातृत्व र बाल स्वास्थ्य सुधारका लागि ‘व्यवहार परिवर्तन सञ्चार’ अनुभव बटुले । त्यस्तै एफएचआई ३६० मा उनले करिब ८ वर्ष काम गरे । उक्त परियोजनामा उनले ‘टिम लिडर’ भएर काम गरेका थिए ।

चौलागाईंले यूएसएआईडीद्वारा सञ्चालित ‘आशा’ र ‘साथ–साथ’ परियोजनामा एचआईभी/एड्स नियन्त्रण तथा अनुगमन र मूल्याङ्कनको क्षेत्रमा नेतृत्व गरे । करिब एक वर्ष ‘सेभ द चिल्ड्रेन’ अन्तर्गत ‘ग्लोबल फन्ड’ कार्यक्रममा रणनीतिक सूचना विशेषज्ञको रूपमा काम गरेका थिए ।

उनले नेपाल सरकारको ‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र’लाई प्राविधिक सहयोग समेत उपलब्ध गराए । त्यस्तै दुई वर्ष ‘आरटीआई इन्टरनेसनल’मा वरिष्ठ अनुगमन तथा मूल्याङ्कन विशेषज्ञका रूपमा काम गरेका चौलागाईंले स्वास्थ्य मन्त्रालयलाई प्रमाणमा आधारित नीति निर्माणमा सघाएका थिए ।

उनले ‘नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१६–२०२१)’ ‘राष्ट्रिय एचआईभी रणनीति (२०१६–२०२१)’ र ‘राष्ट्रिय अनुगमन तथा मूल्याङ्कन निर्देशिका’ तयार पार्न मस्यौदाकार र विज्ञको रूपमा समेत काम गरेका थिए ।

सन् २०१८ को ‘स्वास्थ्य संस्था तयारी सर्वेक्षण’ र सन् २०१६ मा सम्पन्न एचआईभीसम्बन्धी विभिन्न ‘आईबीबीएस सर्वेक्षण’ हरूमा समेत उनले सहप्रमुख अनुसन्धानकर्ताका रूपमा काम गरेका छन् ।

लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?