News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय सभा अध्यक्षको ६ वर्षे कार्यकाल सकिएपछि गणेश तिमिल्सिनाले एमालेको राजनीतिमा सक्रिय हुने अभिप्रायसहित पार्टी सदस्यता नवीकरण गरेका थिए।
- एमालेको ११औँ महाधिवेशनमा तिमिल्सिनाले प्रतिनिधि बन्न आवेदन नदिएकाले प्रतिनिधि बन्न सकेनन् र उनले व्यक्तिगत रूपमा उम्मेदवार हुन दिनुपर्ने सुझाव दिएका छन्।
- तिमिल्सिनाले महाधिवेशनमा गुटबन्दी र लिस्ट बाँड्ने काम बन्द गर्नुपर्ने र व्यक्तिगत प्रतिस्पर्धा गर्न दिनुपर्ने बताएका छन्।
राष्ट्रिय सभा अध्यक्षको ६ वर्षे कार्यकाल सकिएलगत्तै एमालेको राजनीतिमै सक्रिय हुने अभिप्रायसहित पार्टी सदस्यता नवीकरण गरेको बताउने गणेश तिमिल्सिना एमालेको ११औँ महाधिवेशन प्रतिनिधि नै बन्न सकेनन् । कसरी सिर्जना भयो यो अवस्था ?
जवाफमा उनले भने, ‘‘आवेदन दिन गइनँ, पछिल्लो पुस्ता कस्तो छातीले चल्नुहुन्छ, त्यो राम्रोसँग देखियो ।’ अहिलेसम्म महाधिवेशन प्रतिनिधि हुने सुनिश्चित नभएका उनले अभिभावकीय सुझाव दिए, ‘दुवै अध्यक्षका उम्मेदवारले लिस्ट बाँड्ने काम नगरून्, व्यक्तिगत रूपमै उम्मेदवार हुन दिऊँ ।’
महाधिवेशन प्रतिनिधि बन्न नपाएपछि ‘जाडोमा आगो तापेर बसिरहेको‘ बताउने तिमिल्सिनाले एमाले महाधिवेशनलाई कसरी हेरिरहेका छन् ? यस विषयमा अनलाइनखबरका लागि अमृत सुवेदीले गरेको कुराकानी:
एमालेका नेता–कार्यकर्तालाई अहिले महाधिवेशन लागिरहेको छ, तपाईं कतै देखिनुभएको छैन, तपाईंलाई चाहिँ खास के लागिरहेको छ ?
म आयोजक पनि होइन। महाधिवेशन प्रतिनिधि पनि छैन। त्यसैले जाडोमा आगो तापेर बसिरहेको छु।
जेनजी आन्दोलनपछि एमालेले डाकेको महाधिवेशनले पूर्वप्रधानमन्त्रीदेखि पूर्वराष्ट्रपतिसम्म रापतापमा छन्, राष्ट्रिय सभाका पूर्वअध्यक्ष चाहिँ किन आगो तापेर बस्ने अवस्था आयो ?
कहिलेकाहीँ चुपचाप बस्न पनि राम्रो हुने रहेछ। अहिले सबैतिर कठिन परिस्थिति छ। राजनीतिक हिसाबले देशकै परिस्थिति नाजुक अवस्थामा छ। यसको लामो व्याख्या-विश्लेषण गर्नुपर्ला। म पार्टीको भूमिकामा नरहेका कारण पनि शान्त भएर जाडोमा आगो तापेर बसेको हुँ।
तपाईं पर्वतबाट महाधिवेशन प्रतिनिधि हुने चर्चा थियो, सर्वसहमतिमा छनोट भनिएको सूचीमा तपाइँको नाम छैन, किन पर्नुभएन ?
आयोजक नभएको हुनाले स्वाभाविक हिसाबले निर्वाचन क्षेत्रहरूबाटै नाम आउनुपर्ने होला। एमाले जिल्ला कार्यसमिति पर्वतले सूचना जारी गरेरै इच्छा जाहेर गर्न भन्यो। इच्छा जाहेर गरेर अरूसँग चुनाव गरेर जानु मलाई उपयुक्त लागेन। या त नेपाली कांग्रेसमा जस्तो सबै नेताहरू तलबाट चुनिएर आउने प्रावधान भए स्वाभाविक हुन्थ्यो।
हाम्रोमा त जिल्ला, प्रदेश र केन्द्रबाट पनि राखिने हुँदा जिल्लाका नेताहरूले राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई यहाँबाट सर्वसम्मत पठाउनुपर्छ भन्ने लागे पठाउन सक्ने हुन्थ्यो। तर, त्यो लागेन। उहाँलाई आफैं नेता हुने, आफैं जाने इच्छा जाग्यो। केही मानिसहरू त पार्टीमा रोक्न खोज्नेहरू भइहाल्छन् र रोकियो होला।
भनेपछि तपाईंको पनि प्रतिनिधि बन्ने रहर थियो तर आफैं उपस्थित भएर इच्छा जाहेर नगरेकै कारण रोकियो हो ?
मलाई रोक्ने डिजाइन के बन्यो भने आफैं उपस्थित भएर इच्छा जाहेर नगरेकाहरूलाई नपठाउने भन्ने बनाएर रेडिमेट तयारी गरेको बुझियो। त्यस्तो अस्वस्थ कुरामा म लाग्न आवश्यक ठानिनँ र महाधिवेशन प्रतिनिधि भएर आउन पाइनँ।
२० फागुन २०८० मा राष्ट्रिय सभा अध्यक्षको कार्यकाल सकिएसँगै राजनीतिमा सक्रिय हुने बताउनुभएको थियो, किन सक्नुभएन ?
मेरो कार्यकाल सकिएपछि स्वाभाविक ढङ्गले पार्टीमा जोडिने र पार्टीमा मैले जुन भूगोलबाट प्रतिनिधित्व गर्थें त्यहीँ जोडिने कुरा राम्रो हो। मैले पर्वतबाटै स्थानीयदेखि संसदीय राजनीतिमा होमिएको थिएँ। तर, पार्टीगत हिसाबले भूमिकामा थिइनँ। अधिवेशन, महाधिवेशन भए न जिम्मेवारी पाउने हो। कम्युनिष्ट पार्टीमा जिम्मेवारीमा नभएपछि कमिटीगत कामहरूमा संलग्न हुन नमिल्ने हुन्छ। पार्टीका बैठक, भेला सञ्चालन गर्ने, जाने कुरा हुँदैन।
पार्टीको भूमिका र जिम्मेवारीका विषयमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्नुभएन ?
आवश्यक छ पार्टीलाई भने कुनै जिम्मेवारी दिने हो भने दिनुस्, काम गर्छु। होइन, अरूअरू आएका छन्, ठीकै छ अहिलेलाई भन्ने हो भने म अप्ठेरो पार्दिनँ भनेको थिएँ।
के भन्नुभयो त अध्यक्ष ओलीले ?
ठीकै छ अनुकूल समय हेरेर जिम्मेवारी दिउँला भन्नुभएको थियो। विशेष परिस्थितिले महाधिवेशन अगाडि नै भयो नि त ! कुनै भूमिका दिनेबारे सोच्नुभएको थियो होला। निर्वाचन क्षेत्र हुँदै जिल्ला र प्रदेशबाट केन्द्रमा प्रतिनिधि सिफारिस हुन्छ। जहाँ अरू नै भइसक्नुभएको छ। पार्टीकै केन्द्रीय विभागहरूबाट पनि प्रतिनिधि बन्ने व्यवस्था छ। केन्द्रीय कमिटीको स्वतः हुनेबाहेक विज्ञबाट मनोनित पनि गर्न सकिन्छ।
केन्द्रीय विभाग वा विज्ञबाट महाधिवेशन प्रतिनिधिमा मनोनित हुन पाउँछु कि भन्ने लागेको छ ? के छ सम्भावना ?
केन्द्रबाटै मनोनित हुने सम्भावना छ। मनोनित गर्ने भन्ने कुरा पनि आएको छ। २७ गतेतिर मात्रै थाहा लाग्ला। त्योभन्दा अगाडि नै प्रतिनिधिको नाम मनोनित गर्दा मेरो नाम पनि आउन सक्ला।
तलदेखि केन्द्रसम्मै नेताहरूको गुटबन्दी र स्वार्थका कारण कतै सहमति त कतै भागबण्डा र कतै निर्वाचन भए तर धेरै प्रतिनिधि हुन सक्ने व्यक्तिहरू छुटे भन्ने छ, के भन्नुहुन्छ ?
मैले चाहेको भए जिल्लामै मनोनयन दर्ता गर्न सक्थें। जिल्लामा नेतृत्व गर्ने र त्यहाँबाट प्रतिनिधित्व गरेर काम गर्ने पछिल्लो पुस्ताको तरिका के रहेछ, त्यो हेरौं, उहाँहरू कस्तो छातीले चल्नुहुन्छ भनेर हेरौं भन्ने थियो, त्यो राम्रोसँग देखियो।
एमालेको प्रतिनिधि छनोटदेखि एघारौं महाधिवेशनले दिन सक्ने परिणामलाई कसरी हेर्नुभएको छ ?
पार्टीलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउने अवसर पनि हो। नेतृत्वको नवीकरण गर्ने, नेतृत्व र विचारमा अपडेट गरेर लैजाने नियमित प्रक्रिया हो। जनताको बहुदलीय जनवादलाई आत्मसात् गरेर अगाडि बढेको एमालेले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन खुला प्रतिस्पर्धा पनि गर्न सक्छ है भन्ने स्पष्टसँग राखेको छ।
पार्टीमा योग्यता क्षमता भएका व्यक्तिहरू हुँदा र जिम्मेवारी लिन चाहँदा प्रतिस्पर्धाको तहमा पनि आउन सक्नुपर्छ।
अहिले आन्तरिक जिम्मेवारी लिने र प्रतिस्पर्धाबाटै श्रेष्ठता हासिल गर्ने कुरालाई अलि अस्वस्थ ढङ्गले, अलि गुटबन्दीका हिसाबले भएजस्तो देखिन्छ। यसले अन्ततः पार्टीलाई कमजोर बनाउने तहमा लैजाने खतरा पनि छ। कामरेड्ली एकताको भावना पनि हराएर दुश्मनको जस्तो व्यवहार गर्ने परिस्थिति पनि आउन थाल्यो, त्यो राम्रो होइन।
आसन्न महाधिवेशनको तयारी हेर्दा प्यानलै बनाएर नेतृत्वसहित पदाधिकारीको चुनाव हुने देखिएको छ, यो प्रतिस्पर्धामा पनि कति निषेध त कति अस्वस्थ हुनेजस्तो पनि एमाले नेताहरूले नै बताइरहेका छन्, तपाईं चाहिँ के भन्नुहुन्छ ?
एमालेमा अहिलेमात्र होइन, विगतमा पनि मतदान हुँदै आएको हो। पाँचौं महाधिवेशनसम्म केही असहमति रहे पनि सर्वसम्मतिले भएको थियो। छैठौं महाधिवेशनबाट मतदान भइराखेकै हो। अहिले आवश्यकता खास गरी भदौ २३ र २४ गतेको घटनापछि पार्टीमा अभूतपूर्व एकताको खाँचो छ। किनकि चौतर्फी एमालेमाथि आक्रमण भइराखेको छ। यो आक्रमणको सामना गरी पार्टीलाई फेरि जनतामा पुनर्स्थापित गरेर लाने, प्रमाणित गर्ने भनेको अबको चुनावहरू हुन्। ती चुनावहरू हाँक्न पार्टीमा एकदमै ठूलो एकताको खाँचो छ। तर, जब नेता विभाजित हुन्छन्, तब त्यसको असर तलसम्म पुग्छ। त्यसैले सहमति गरेर जान सके राम्रो हुन्थ्यो।
सहमति हुन सकेन र चुनाव हुने भए पनि प्यानलगत होइन कि स्वतस्फूर्त रूपमा उम्मेदवारी दिएर जानुपर्ने हो। अध्यक्षमा कति जना उठ्न चाहनुहुन्छ उठ्ने, बाँकी यो मेरो उम्मेदवार हो नभन्ने। प्यानल नबनाउने त भनिन्छ तर लिस्ट नै बाँड्ने काम हुन्छ। त्यस्तो लिस्ट बाँड्ने कुरालाई शतप्रतिशत बन्देज लगाउने, दण्डनीय बनाउने र व्यक्तिगत प्रतिस्पर्धा गर्ने हो भने स्थायी रूपमा गुट भन्ने हुने थिएन। त्यो हुँदा पार्टी बलियो हुने थियो तर त्यता जान सक्ने अवस्था देखिँदैन, हेर्नुपर्ने छ। पूर्वराष्ट्रपतिको सदस्यताको सन्दर्भमा फेरि भविष्यमा समीक्षा होला।
एमाले नेताहरू कार्यकर्ताहरू नेतृत्वको निरन्तरता कि विकल्पमा जाने भनेर विभक्त छन् तर त्यहीअनुसार कित्तामा पनि उभिइरहेका छन्, के परिणाम देखिएला ?
विधान महाधिवेशनले एउटा म्याण्डेट दिएपछि उठ्ने कुरा नेताहरूको इच्छा-आकांक्षा हुने कुरा पनि भइहाले र अरू नेताहरूको पनि आकांक्षा हुने भइ नै हाल्यो।
पहिलो कुरा, कुनै पनि कुरालाई अतिरञ्जित गर्नुहुँदैन। दोस्रो, आफ्नै नेता, आफ्नै सहकर्मीहरूलाई लाञ्छित गरेरै जाने, पहिले चाटाचाट गर्ने अनि यसो केही भइहाल्यो भने काटाकाट गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ। गणतन्त्रपछिको मात्रै कम्युनिष्ट आन्दोलन हेर्ने हो भने एमाले–माओवादीको सहकार्य, एकता नै भएर नेकपा बन्यो, फेरि अलग भयो। फेरि मिल्ने स्थिति पनि आयो। त्यतिबेला हेर्नुस् त नेताहरूले बोल्नुभएका कुराहरू।
एकले अर्कालाई कसरी बोल्नु भयो र फेरि आज के गर्दै हुनुहुन्छ ? यो कुरा कहिले सोच्ने ? यस्तो हुँदा पार्टी नेता, आम कार्यकर्ता र नागरिकलाई पनि के पर्छ त ? नेताहरूले बोलेकै कारण वितृष्णा आउने र धारणा बिग्रने पनि त्यही कारणले हो । त्यसैले कुनै पनि नेताहरू चाहे अध्यक्षका दाबेदार हुन्, चाहे महासचिव वा अन्य पदका व्यक्तिहरूले तल्लोस्तरमा झरेर टीकाटिप्पणी नगरौं।
आन्तरिक रूपमा बलियो भए मात्र देशको बलियो शक्ति बन्न सक्छ। आन्तरिक रूपमा बलियो नभएको पार्टी र नेतृत्वले बाहिरी रूपमा प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्न झनै गाह्रो हुन्छ। त्यसैले महाधिवेशनको मुखमा म धेरै टीकाटिप्पणी गर्दिनँ। अहिले नै परिणामका विषयमा बोल्दा हतार हुन्छ।
तर, एमाले अध्यक्ष ओलीले नै लिस्ट बनाउँदै हुनुहुन्छ र उहाँको लिस्टमा परिन्छ कि परिँदैन भन्ने गण्डकीबाटै पदाधिकारीमा उठ्ने आकांक्षी नेताहरूमा पनि संशय देखिन्छ, यस्तो कसरी भयो होला त ?
दशौं महाधिवेशनमा केही उम्मेदवारी परे पनि अधिकांश लिस्टबाटै छानिए। त्यो बेलाको परिस्थितिमा धेरै साथीहरू बाहिर गइसकेको हुँदा फेरि मतदान गरेर जान हुँदैन भन्ने कुरा धेरै उठेकाले पनि त्यसो भएको थियो होला। अहिले अध्यक्षमा २ जना प्रतिस्पर्धी देखिनुभयो। अरू पदमा पनि धेरै जना आकांक्षी हुनुहुन्छ भनेर सुनिरहेको, हेरिरहेको छु।
त्यसैले लिस्ट पढ्ने र अरूले ताली ठोक्ने भन्ने हुँदैन। पक्कै पनि अध्यक्षज्यूले त्यो गराउनुहुन्न, चाहनेहरूलाई प्रतिस्पर्धामा आउन दिनुहुन्छ। यद्यपि सर्वसहमतिका लागि लिस्ट पढेर प्रस्ताव गर्ने कुरालाई अन्यथा लिनुभएन। तर, त्यो स्वीकारिएन भने त मतदानमा जान्छ। त्यो अवस्थामा व्यक्तिगत हिसाबले प्रतिस्पर्धामा जाने, टिम नबनाइदियो भने त्यसले भोलिका दिनमा एक ढिक्का बनाएर लैजानका लागि मद्दत पुर्याउँछ भन्ने मेरो धारणा हो।
जिम्मेवारीमा आउन चाहनेहरूले सजिलै आउन पाइन्छ भने अप्ठ्यारो बाटो खोज्दैनन्। त्यसैले नेतृत्वसहितको लिस्टमा परिन्छ कि परिँदैन भनेर हेरिराखेको हुन सक्छ। ओलीकै नेतृत्व अहिलेको व्यापक आवश्यकता हो भन्ने कुराहरू आएका हुन्।
त्यसमा उहाँको लिस्टमा परियो भने सजिलै पदाधिकारी बन्न पाइन्छ भन्ने लाग्या होला तर लिस्ट नै बाँडिदिनुभएन भने त व्यक्तिगत रूपमा प्रतिस्पर्धामा जान पर्यो नि।
मेरो धारणा के हो भने लिस्ट बाँड्ने काम नगरौं। व्यक्तिगत रूपमै उम्मेदवार हुन दिऊँ भन्ने हो। यहाँ त नेताको नजिक बन्नका लागि उचाल्ने, भएभन्दा बढी रिपोर्टिङ गर्ने प्रवृत्ति धेरै देखिएको छ। अध्यक्षका उम्मेदवारहरूले पनि तपाईंहरू सबै हाम्रै हो जो जो आउनुहुन्छ, उहाँ मेरो हो स्वस्थ प्रतिस्पर्धा गरेर आउनुस् भनिदिने भए कति मीठो हुने थियो होला ? यो मीठो कल्पनाजस्तो मात्रै हुन्छ तर आजको आवश्यकता त्यही हो।
प्रतिक्रिया 4