News Summary
Generated by OK AI. Editorially reviewed.- अर्चना पोखरेलको शरीरमा महिला भन्दा पुरुष हर्मोन बढी रहेछ, जसका कारण उनी महिनावारी नभएको र स्तन विकास नभएको डाक्टरले बताए।
- नेपालमा अन्तरलिंगी व्यक्तिहरूले जन्मदेखि नै विभेद भोगिरहेका छन् र कानुनी मान्यता अपूर्ण भएकाले शिक्षा र रोजगारीमा समस्या हुन्छ।
- अर्चनाले आफ्नो अनुभवबाट अन्तरलिंगी अधिकारका लागि सक्रिय भएर समुदायलाई बलियो बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेकी छिन्।
अर्चना पोखरेल जन्मँदा महिलाको शरीर लिएर जन्मिइन् । तर, किशोर अवस्थामा पुगेपछि अन्य महिलाजस्तो महिनावारी भइनन् । घरमा उनीभन्दा अगाडि–पछाडिका दिदी–बहिनीहरू महिनावारी हुन थाले, तर उनमा भएन । परिवारलाई चिन्ता लाग्यो । १२ कक्षा पढिसकेपछि मात्र मेडिकल जाँच गराइयो । डाक्टरले भने– ‘महिला हर्मोन कम, पुरुष हर्मोन बढी छ, यसैले महिनावारी भएन ।’
अस्पताल पुगेर सम्पूर्ण जाँच गर्दा पत्ता लाग्यो अर्चनाको शरीरमा महिला भन्दा पुरुष हर्मोन बढी रहेछ । क्रोमोजोम भने एक्सएक्स महिला नै रहेछ । यसकारण उनमा कहिल्यै महिनावारी भएन, स्तनको विकास पनि भएन ।
यो उनको शरीरको प्राकृतिक विविधता हो, तर समाजले यस्तो विविधतालाई अहिलेसम्म स्वीकार गर्न सकेको छैन । अन्तरलिंगी अवस्था भनेको जन्मजात यौन विशेषताहरू जस्तै क्रोमोजोम, हर्मोन, अंगहरूले सामान्य पुरुष वा महिला वर्गीकरणमा नपर्ने स्थिति हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा करिब १.७ प्रतिशत व्यक्तिहरू अन्तरलिंगी हुन्छन्, जसलाई अझै पनि धेरै देशहरूमा चिकित्सकीय रूपमा ‘डिसअर्डर अफ सेक्स डेभलपमेन्ट’ भनेर हेर्ने गरिन्छ, तर यो प्राकृतिक विविधता मात्र हो ।
हाम्रो समाज परम्परादेखि नै दुईवटा यौन विशेषता मात्र मान्य छन्। छोरी जन्मिए निश्चित साइजको योनि, पछि स्तन वृद्धि, महिनावारी र सन्तान जन्माउने क्षमता हुनुपर्छ ।
छोरा जन्मिएका भने निश्चित साइजको लिङ्ग, मोटो स्वर, दारी–जुँगा र सन्तान उत्पादन क्षमता हुनुपर्छ । यो द्विआधारी सोचले अन्तरलिंगी व्यक्तिहरूलाई बहिष्कृत गर्दछ, जसले गर्दा उनीहरूले मानसिक, शारीरिक र सामाजिक चुनौतीहरूको सामना गर्नुपर्छ ।
यी दुईबाहेकका सबै विविधतालाई समाज, चिकित्सा जगत् र राज्यका नीति–संरचनाले समेट्न सकेका छैनन् । फलस्वरूप अन्तरलिंगी व्यक्तिहरूले जन्मदेखि नै विभेद भोग्नुपर्छ । त्यही विभेदको केही हिस्सा अर्चनाले पनि भोगिन् । नेपालमा अन्तरलिंगी अधिकारका लागि कानुनी मान्यता अझै अपूर्ण छ, जसले गर्दा जन्मदर्ता, शिक्षा र रोजगारीमा समस्या हुन्छ ।
सुनसरीमा जन्मिएकी अर्चनालाई सानैदेखि सर्ट, फ्रक भन्दा सर्ट, पाइन्ट लगाउन सहज लाग्थ्यो । त्यसैले उनी स्कुलमा फ्रकको सट्टा पाइन्ट लगाउँथिन् । छोरी भएर छोराको जस्तो पाइन्ट लगाएको भनेर साथीहरूले जिस्क्याउने गर्थे । तर, उनी साथीहरूको कुरामा ध्यान नदिइ पढाइमा केन्द्रित हुन्थिन् । उनका बुबा शिक्षक थिए । त्यसैले पनि उनको ध्यान बढी पढाइतिर नै धेरै थियो । यसले उनलाई बलियो बनायो र चुनौतीहरूको सामना गर्न सिकायो ।
प्लस टु पढ्ने बेला छात्रवृत्तिमा पहिलो नम्बरमा नाम निस्कियो । तर कलेजेमा छोरीले कुर्ता सुरुवाल र छोरीले सर्ट पाइन्ट लगाउनुपर्ने थियो । अर्चनालाई कुर्ता सुरुवाल लगाउन सहज लाग्दैन थियो । त्यसैले उनी सर्ट पाइन्ट नै लगाएर जान्थिन् । यस्ता ड्रेस कोडहरूले लैंगिक विविधतालाई ध्यान नदिई व्यक्तिगत स्वतन्त्रतालाई सीमित गर्दछन् ।
एक दिन उनी सर्ट पाइन्टमा नै कलेज पुगिन् तर छोरीले ‘कुर्ता–सुरुवाल लगाउनुपर्छ’ भनेर गेटबाटै फर्काइयो । उनको सानोबुबा, जो त्यही कलेजमा शिक्षक थिए उनले प्रशासनसँग कुरा गरेपछि मात्र कक्षामा पठाइयो । त्यसपछि पनि साथीहरूले बुलिङ गरे ‘यो छोरी हो भने कुर्ता किन लगाउँदैन ?’ यस्तो बुलिङले उनको मानसिक स्वास्थ्यमा केही न केही असर गरिरहेको हुन्थ्यो ।
ब्याचलर पढ्ने क्रममा पनि विराटनगरका धेरै कलेजले ‘लुगा तोकिएको छ’ भन्दै भर्ना लिएनन् । अन्तमा एक निजी कलेजकी प्रिन्सिपलले ‘जे लगाउन मन लाग्छ, लगाऊ’ भनेर भर्ना लिइन् ।
त्यहाँ पनि साथीहरूको बुलिङ उस्तै । यसले उनको पढाइमा पनि असर गर्यो । पहिलो वर्ष ब्याक लाग्यो । दोस्रो वर्षदेखि कोठा लिएर एक्लै बसेर पढिन् । सबै विषय एकैचोटि पास गरिन् । तेस्रो वर्षमा ‘फस्ट डिभिजन’ ल्याइन् । यो सफलताले उनलाई आत्मविश्वास दियो र संघर्षबाट सिक्ने मौका मिल्यो ।
महिनावारी नहुने समस्या त छँदै थियो अरू पनि स्वास्थ्य जाँच र सल्लाहका लागि उनी अस्पातल पुगिन् । डाक्टरले फिमेल हर्मोन खान सुझाए । उनले सोधिन् ‘महिनावारी भयो भने बिहे गर्नुपर्छ, सन्तान जन्माउनुपर्छ भन्ने दबाब आउँछ । मलाई सन्तान जन्माउने क्षमता छैन भनेर थाहा छ, त्यसो भए हर्मोन किन खाने ?’ यो प्रश्नले चिकित्सकीय सल्लाहमा सामाजिक दबाबको प्रभावलाई उजागर गर्दछ ।
उनले हर्मोनको सेवन गरिरनन् । सोचिन् प्राकृतिक रूपमा म जस्तो छु त्यस्तो नै ठिक छु ।
आफू के हुँ थाहा पाइन्
अर्चना १५–१६ वर्षकी हुँदा एकजना आफन्त डाक्टरमार्फत भारतबाट आएका विशेषज्ञसँग जाँच गराउँदा डाक्टरले भनेका थिए ‘यो शारीरिक विविधता मात्र हो, सबै मानिसमा हुन्छ ।’
पछि काठमाडौं आएर मास्टर्स पढ्दा रेडियोमा ‘तेस्रो लिंगी’ भन्ने सुनेर उनलाई आफू त्यो समुदायको हो कि भन्ने शंका लाग्यो । त्यसैले उनी यौनिक तथा लैंगिक अल्पसंख्याक संस्थामा गइन्, त्यहाँ पनि ‘तपाईं जस्तो कोही छैन’ भनियो ।
धेरै वर्षपछि ब्लू डायमण्ड सोसाइटीमा उनको एक जना आफू जस्तै विभिधता भएको साथीसँग भेट भयो, त्यसपछि मात्र थाहा भयो उनलाई आफू अन्तरलिंगी हुँ भनेर । यस्ता धेरै साथीहरू छन् भनेर पनि थाहा पाइन् । यो भेटले उनलाई समुदायको महत्व बुझायो र अधिकारका लागि लड्ने प्रेरणा दियो ।
अन्तरलिंगी व्यक्तिहरूले भोग्ने मुख्य समस्या
‘जन्मदेखि नै देखिने शारीरिक विविधता, अस्पष्ट अंग, एउटा मात्र अण्डकोष, सानो लिंग वा ठूलो क्लिटोरिस आदि लाई समाजले सामान्य मान्दैन । यस्ता विशेषताहरूले गर्दा धेरै अन्तरलिंगी बच्चाहरूलाई अनावश्यक शल्यक्रिया गराइन्छ, जसले दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउँछ ।
बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने कानुनी प्रावधान छ, तर ३५ दिनमा बच्चाको लैङ्गिक पहिचान वा सेक्सुअल ओरिएन्टेसन थाहा नहुने उनी बताउँछिन् । नेपालको संविधानले लैंगिक अल्पसंख्यकलाई अधिकार दिएको छ, तर अन्तरलिंगीका लागि स्पष्ट नीति छैन ।
आफ्नो शारीरिक विविधताकै जीवनका हरेक पाइलामा संघर्ष गर्नुपरेको उनको गुनासो छ । ‘पढाइ, जागिर जीवनका हरेक मोडमा जति संघर्ष गरें, त्यो सब मेरो शारीरिक विविधताका कारणले हो’ अर्चना भन्छिन् । उनी जस्ता हजारौं अन्तरलिंगी बालबालिका अझै पनि स्कूल–कलेज, परिवार र समाजमा उपेक्षित भइरहेका छन् । विश्वव्यापी रूपमा, अन्तरलिंगी अधिकारका लागि संयुक्त राष्ट्रसंघले पनि आवाज उठाइरहेको छ ।
२१औं शताब्दीमा पनि हाम्रो समाजले यौन विशेषताको विविधतालाई स्वीकार गर्न सकिरहेको छैन । यो विविधता प्रकृतिको नियम हो’ उनी भन्छिन्, ‘मानिसमा मात्र होइन, जनावर, बिरुवामा पनि हुन्छ । जबसम्म सबै तहमा यो बुझाइ आउँदैन, तबसम्म अन्तरलिंगी व्यक्तिहरूले विभेद भोगिरहन्छन् ।’
अर्चना आफ्नो अनुभवबाट सिकेर अन्तरलिंगी अधिकारका लागि सक्रिय भएकी छिन् । उनको यो योगदानले नेपालमा अन्तरलिंगी समुदायलाई बलियो बनाउँदै छ र समाजमा सकारात्मक परिवर्तन ल्याउने आशा जगाएको छ । यसबाट प्रेरित भएर अन्य अन्तरलिंगी व्यक्तिहरू पनि आफ्नो आवाज उठाउन थालेका छन्, जसले गर्दा भविष्यमा यो विविधतालाई स्वीकार गर्ने समाज निर्माण हुन सक्छ ।
प्रतिक्रिया 4