+

सूर्यस्नान : प्रकृतिको नि:शुल्क औषधि

सूर्यस्नानको सोझो अर्थ हो, घाम ताप्नु । घाम किन ताप्ने ? त्यसको विधि के हो  ? लाभ के हो ?

सूर्य स्नान भनेको शरीरलाई नियन्त्रित रूपमा सूर्यको किरणमा राख्ने प्रक्रिया हो ।  प्राचीन कालदेखि नै  यसलाई शरीरका लागि लाभदायक प्रक्रियाका रूपमा लिइन्छ ।

Advertisement

जब घामको किरण छालामा पर्छ, तब छालामा भएको डिहाइड्रोकोलेस्ट्रोल भन्ने पदार्थले रासायनिक प्रतिक्रिया गरेर भिटामिन डी३ कोलेक्याल्सिफेरोल बनाउँछ । यो प्रक्रिया कलेजो र मिर्गौलामा पूरा भएपछि सक्रिय भिटामिन डी बन्ने प्राकृतिक चिकित्सक प्रतिक्षा पाण्डे बताउँछिन् ।

१५–२० मिनेट घाम ताप्दा गोरो छालाले १० हजारदेखि २० हजार आइयू भिटामिन डी बनाउँछ । सामान्य गहुँगोरो/खैरो छालाले ८ हजारदेखि–१५ हजार आइयू भिटामिन डी बनाउँछ । क्याप्सुलमा जम्मा ४०० देखि २ हजार आइयू मात्र भिटामिन हुन्छ । त्यसैले प्रकृतिको क्याप्सुल लाखौँ गुणा शक्तिशाली हुने पाण्डेको भनाइ छ ।

नेपालमा गरिएका अध्ययनहरू नेपाल मेडिकल कलेज जर्नल २०२१ र काठमाडौँ विश्वविद्यालय मेडिकल जर्नल २०२२ अनुसार काठमाडौँका ८० प्रतिशत मान्छेमा भिटामिन डी को कमी छ ।

विशेषगरी दिनभर अफिसमा बसेर काम गर्नेहरू, महिला, बालबालिका र वृद्धहरूमा भिटामिन डीको कमी देखिन्छ ।

भिटामिन डी कमी हुँदा हड्डी कमजोर ‘ओस्टियोपोरोसिस’, दाँत कमजोर, बारम्बार रुघा लाग्ने, डिप्रेसन, चिडचिडापन, अल्छी लाग्ने, जोर्नी दुख्ने, मधुमेहको जोखिम बढ्ने, मुटुरोग, क्यान्सरको जोखिम बढ्ने डा. पाण्डे बताउँछिन् ।

प्राकृतिक चिकित्सा र आयुर्वेदमा सूर्य स्नानको महत्त्व

सूर्य स्नान अर्थात् शरीरलाई नियन्त्रित रूपमा सूर्यको किरणमा राख्ने विधिलाई यी दुवै विधामा अत्यन्त महत्त्वपूर्ण उपचारात्मक तथा रोग निवारक साधन मानिन्छ । आयुर्वेदमा सूर्यलाई संसारको औषधि भनिएको छ ।

सूर्य स्नान गर्ने विधि

बिहान ७ देखि १० बजेसम्म वा साँझ ४ देखि ६ बजेसम्म सूर्य स्नान गर्नु लाभदायक हुन्छ । सूर्य स्नान गर्दा सुरुमा ५–१० मिनेट, बिस्तारै ३०–४५ मिनेटसम्म गर्न सकिन्छ। टाउको छोपेर, खाली खुट्टा जमिनमा रहेर सूर्यस्नान गर्नुपर्छ ।

भिटामिन डी का लागि क्याप्सुलभन्दा घाम किन राम्रो ?

बजारमा भिटामिन डीका क्याप्सुल र ट्याब्लेट सजिलै पाइन्छन्, तर त्यस्ता क्याप्सुल भन्दा प्राकृतिक रूपमा सूर्यको किरणबाट प्राप्त हुने भिटामिन डी कैयौँ गुणा प्रभावकारी र सुरक्षित मानिन्छ ।