पर्सा ठोरी गाउँपालिकाका दलबहादुर स्याङ्बोलाई गाउँ–छिमेकले ‘मास्टर साप’ भनी सम्बोधन गर्थे । आधारभूत तहका शिक्षक स्याङ्बोको कर्म उही छ, तर उपमा फेरियो । मान्छेहरू भन्न थाले, ‘डाक्टर सापका बा ।’
यो रुपान्तरणभित्र एउटा रहरलाग्दो कथा छ । कथाको उद्घाटन हुन्छ, स्याङ्बोका तीन भाइ छोराबाट । यी छोराहरू मेलैसँग डाक्टर भए । अनि दलबादुर स्याङ्बो चाहिँ ‘डाक्टरका बा’ ।
भनिन्छ, दुनियाँमा बुबाआमा नै ती व्यक्ति हुन् जसले आफ्ना सन्तानलाई आफूभन्दा ‘ठूलो’ देख्न चाहन्छन् । दलबहादुरलाई लाग्दो हो, छोरोहरू मभन्दा ठूला भए । त्यसैले म भाग्यमानी भएँ । तर, यहाँ भाग्यको मात्र खेल छैन । खासमा त यो कर्मको खेल हो ।
किनभने डाक्टर आफैंमा प्रतिष्ठित पेशा मात्र होइन, उत्तिकै खर्चिलो र कठिन पनि । दिनहुँ कति जना डाक्टर बन्ने दौडमा लाग्छन् ? यसको ठ्याक्कै लेखाजोखा छैन । सानो छँदा फुरुंग हुँदै ‘भविष्यमा डाक्टर बन्छु’ भन्नेहरू त्यही विन्दुमा आएर रोकिन्छन्, जहाँ यसका लागि अधिक खर्च र लगाव जरुरी हुन्छ ।
दलबहादुरका छोराहरू भने त्यो विन्दुमा रोकिएनन् । किनभने उनीहरूसँग बलियो इच्छाशक्तिसँगै दु:ख छिचोल्ने शक्ति थियो । त्यही शक्तिको आडमा तीन छोराले पालैपालो चिकित्सा शिक्षा एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाले ।

जेठो छोरो पूर्ण छात्रवृत्तिमार्फत डाक्टर बनिसकेका छन् । माइलो छोरा एक वर्षपछि डाक्टर बन्दैछन् । कान्छो छोराले हालै चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाबाट पूर्ण छात्रवृत्तिको कोटामा नाम निकालेका छन् ।
जेठो छोरा डा. छिरिङ विशेषज्ञता हासिल गर्न एक वर्षअघि मात्रै बेलायत गए । माइलो छोरा विश्वजित भैरहवामा एमबीबीएसको अन्तिम वर्षको पढाइ गरिरहेका छन् ।
यी त भए सफलताको कथा । तर, हरेक सफलताको पछाडि कठोर संघर्ष लुकेको हुन्छ । एउटा सामान्य घरपरिवार, आधारभूत तहका शिक्षक, सीमित आयआर्जनको पृष्ठभूमिमा तीन छोरो कसरी डाक्टर बने ?
यो प्रश्नले एउटा मार्मिक र प्रेरणादायी कथा खोतल्छ । कथाका केन्द्रमा छन्, दलबहादुर स्याङ्बो ।
000
दलबहादुर स्याङ्बो किसान परिवारमा जन्मिए, जसको जायजेथा भनेकै १० कट्ठा जमिन थियो । मनग्ये खान लाउन पुग्दैनथ्यो, लेखपढ गर्न परको कुरा । तैपनि दलबहादुरले जसोतसो पढे । गाउँको विद्यालयबाट आधारभूत तहको पढाइ सकाए । त्यसबेला गाउँमा अर्को विद्यालय थिएन, जहाँबाट उनले पढाइलाई निरन्तरता दिन सकोस् । माध्यामिक तह पढ्नका लागि पनि गाउँ छाड्नुपर्थ्यो, जिल्ला छाड्नुपर्थ्यो ।
दु:खजिलो गरेर उनी छिमेकी जिल्ला बाराको जितपुर गए र नागोल माविमा भर्ना भए ।

उनका बुबा मिस्त्री काम गर्थे । त्यही काम गरेर जेनतेन पढाइ खर्च पठाइदिन्थे । अभाव र कष्ट झेल्दै उनले २०४८ सालमा एसएलसी पास गरे । पढाइमा उनी तगडा थिए र एसएलसी नतिजामा विद्यालयकै दोस्रो भएका थिए । उनी थप पढ्न चाहन्थे । तर, पढ्ने खर्च थिएन । अब के गर्ने त ?
उच्च तहमा पढ्नका लागि उनी काठमाडौं आए । गलैँचा कारखानामा काम खोजे । त्यहाँ उनलाई कटिङ मास्टरको काम दिइयो । काम गर्दै उनी चावहिलस्थित पशुपति क्याम्पस पढ्न थाले । मानविकी संकायमा प्रमाणपत्र तह (प्लस टु सरह) सकाए ।
त्यसपछि के गर्ने ? पढ्ने मेलोमेसो थिएन । किनभने परिवारको बोझ उनको थाप्लोमा थियो । गाउँ फर्किए । घरजाम गरे । अनि केही टाढा रहेको ओडार स्कुलमा निजी स्रोतमा पढाउन थाले ।
उनको पढाइप्रतिको भोक मेटिएको थिएन । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा स्नातक तहमा भर्ना भए । स्व:अध्ययन गरेर २०५४ सालमा एच्छिक अंग्रेजी विषयमा स्नातक तह पूरा गरे । उनको पढाइ अझै रोकिएन । उनले शिक्षण र अध्ययनलाई सँगसँगै अघि बढाए र एमएसम्मको पढाइ पूरा गरे ।
000
लगाव, संघर्ष र सफलताको यो कथाले उनमा शिक्षाप्रति कस्तो अभिरुची थियो भन्ने त छर्लङ्ग पार्छ । यसले दलबहादुर स्याङ्बोलाई शिक्षित मात्र बनाएन, असल अभिभावक पनि बनाइदियो ।
उनीहरूको कोखबाट तीन छोरा भए । सबै छोरालाई राम्रो शिक्षा दिए, संस्कार दिए । उनले झेलेका दु:ख र भोगेका अभावहरू छोराहरूका निम्ति छुटै पाठशाला बन्यो । छोराहरूले भनेजस्तै पढे । अनि पढेर डाक्टर बन्न चाहे ।
जबकि चिकित्सा शास्त्र पढाउने आर्थिक हैसियतका थिएनन् उनी । त्यसका लागि कति खर्च लाग्छ ? उनी अन्दाज मात्र लगाउन सक्थे ।
यही आइपुगेपछि उनलाई श्रीमती गंगामाया दोङको सार्थक सहयोगले अगाडि बढ्न हौसला दियो । ४ कक्षासम्म मात्र पढेकी श्रीमतीले खसी–बाख्रा–कुखुरा पाल्थिन् । सुर्तीखेती गर्थिन् । उनले खसीबाख्रा बेचेर खर्च जुटाइन् । केही सरसापट गरियो, केही ऋण खोजियो ।

दलबहादुर सम्झन्छन्, ‘बिहे गर्दा माइतीले उन (श्रीमती) को कानमा एक तोलाको सुन झुन्डाइ दिएको थियो । एक पटक छोरालाई खर्च पठाउन कहीँ कतैबाट पैसाको जोहो हुन सकेन । अन्तिममा उनको कानको आधा सुन बेच्नुपर्ने बाध्यता आइपर्यो । त्यही आधा तोला सुन अहिले उनको कानमा झुन्डिरहेको छ । अहिलेसम्म थपेर दिन सकिएको छैन ।’
त्यस अवधिमा उनीहरूले कहिल्यै रमाइलो गरेनन् । जमघटमा, भोजभत्तेरमा सामेल भएनन् । उनी सम्झन्छन्, ‘साथीभाइले रमाइला जमघटमा बोलाउँछन् भनेर ढोका थुनेर घरमै बस्थेँ । साथीहरूको फोन उठाउँदिन थेँ । यस्ता कार्यक्रममा सहभागी हुँदा हुने खर्च जोहो गरेर छोराहरूलाई पठाउँथेँ ।’
आखिर उनीहरूले दु:खलाई जिते । तीन जना छोरो मेलैसँग चिकित्सा शास्त्रको छात्रवृत्तिमा नाम निकाल्न सफल भए । अनि डाक्टर बने ।
सन्तानका खातिर उनीहरूले आफ्नो ‘आज’ त्यागेका थिए । तर त्यही त्याग र संघर्षले मनमा परम सन्तोष र खुसी थपिदिएको छ । अनि थपिदिएको छ, एउटा उदाहरण । अब मान्छेहरू भन्नेछन्, ‘बुबाआमा भनेको त फलानो जस्तो पो ।’
बोनस कथा : सामुदायिक विद्यालयबाटै डाक्टर
दलबहादुर सामुदायिक विद्यालयका शिक्षक हुन् । छोराहरूलाई पनि उनले सामुदायिक विद्यालयमै पठनपाठान गराए ।
जेठो छोरो छिरिङको कथा : जेठो छोरा छिरिङ गाउँकै स्कुल श्री विजयबस्ती माविबाट २०६७ सालमा ७६ प्रतिशत अंकका साथ उत्तिर्ण भए । त्यसपछि उनले चितवनको भरतपुरमा रहेको नारायणी सामुदायिक विद्यालयबाट कक्षा ११ र १२ उत्तीर्ण गरे । ११ र १२ मा समग्रमा ७८ प्रतिशत ल्याएर उनी बोर्ड परीक्षामा विद्यालयकै दोस्रो भए । पढाइमा अब्बल छिरिङ त्यसपछि भने उच्च शिक्षा अध्ययनका लागि काठमाडौं आए । उनले चिकित्सा शिक्षा आयोगले लिने छात्रवृत्ति परीक्षामा नाम निकाले । जनजाति कोटाबाट पूर्ण छात्रवृत्तिमा उनले सिनामंगलको केएमएसीबाट रेगुलर एमबीबीएस उत्तीर्ण गरे ।
माइलो छोरो विश्वजीतको कथा : दाजु छिरिङ चितवनको नारायणी माविमा पढिरहेका कारण माइलो विश्वजितलाई पनि दलबहादुरले त्यही भर्ना गरिदिए । उनी पनि दाजु जस्तै पढाइमा राम्रो थियो । उनले पनि ८२.५ प्रतिशत ल्याएर एसएलसी पास गरे । उच्च मावि परिषद्ले लिने स्कुलरसिपको परीक्षामा पूर्ण छात्रवृत्तिमा उनले नाम निकाले । नारायणगढको बालकुमारी माविबाट पूर्ण छात्रवृत्तिमा विश्वजितले ११ र १२ कक्षा ७३ प्रतिशत अंक सहित पास गरे ।

उनी पनि काठमाडौं आए । चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाबाट पूर्ण छात्रवृत्तिको कोटामा नाम निकाल्न उनी पनि सफल भए । अहिले उनी भैरहवा युनिभर्सल मेडिकल अफ साइन्समा एमबीबीएसको अन्तिम पढाइ गरिरहेका छन् ।
कान्छो छोरो अर्जुनको कथा : ७ कक्षासम्म घर नजिकैको ज्ञानज्योति स्कुल पढेका दलबहादुरका कान्छो छोरा अर्जुनले दुई दाजुले पहिल्याएको बाटो नपछ्याउने कुरै भएन । उनी पनि दाजुसँगै बसेर पढ्न भक्तपुर आए । उनले मध्यपुर थिमी आदर्श माविबाट ए प्लस ग्रेड ल्याएर एसईई पास गरे ।
भक्तपुरकै सामुदायिक ख्वप कलेजबाट ११ र १२ पास गरे । पूर्ण छात्रवृत्तिमा नाम निकालेर एमबीबीएस गर्न उनले पनि घोडा धसेर पढ्न थाले । पूर्ण छात्रवृत्तिमा नाम ननिकाले उनको त्यो सपना पूरा हुने थिएन । किनकी दलबहादुर पैसा खर्चेर छोराहरूलाई एमबीबीएस पढाउने हैसियतमा थिएनन् । यो कुरा उनका छोराहरूले राम्ररी बुझेका थिए ।
अर्जुनको लगनशीलता र मिहेनत, परिवारको हौसलाले अर्जुनले पनि चिकित्सा शिक्षा आयोगले लिने परीक्षामा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाल्न सफल भए । अन्तत: उनी पनि दुई दाजु हिंडेको चिकित्सा शिक्षाको गोरेटोमा पाइला चाल्न योग्य भएका छन् ।
दलबहादुरका तीनै जना छोराले पाएको यो सफलताले सामुदायिक विद्यालयले पनि अब्बल नतिजा दिन सक्छ भन्ने प्रमाणित गरेको छ । यसका लागि विद्यार्थीमा लगनशीलता र अभिभावकको सही मार्ग दर्शन भने आवश्यक हुन्छ । दलबहादुरका छोराहरूले प्रस्तुत गरेको यो उदाहरण समग्र नेपालका सामुदायिक विद्यालयका अभिभावक र विद्यार्थीका लागि एक आशाको किरण बनेको छ । एक सामान्य शिक्षकले देखाएको यो असाधारण अभिभावकीय भूमिका अनुकरणीय छ ।
०००
प्रतिक्रिया 4