विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) भन्छ, ‘महिलाको लागि सन्तान जमाउने उपयुक्त उमेर २० देखि ३५ वर्षसम्मको अवधिलाई मानिएको छ ।
समयमै सन्तान योजना किन आवश्यक ?
सन्तान जन्माउने प्रक्रिया केवल गर्भ बसाउने मात्र नभई त्यसलाई सुरक्षित रूपमा पूर्ण अवधिसम्म धान्न सक्नु र स्वस्थ शिशु जन्माउने क्षमता पनि हो । शरीरको जैविक घडी सधैं हाम्रो अनुकूल हुँदैन ।
महिलाको उमेर र प्रजनन क्षमताको सम्बन्ध
महिलाको प्रजनन प्रणाली हर्मोन प्रोजेस्टोरोन र एस्ट्रोजेनबाट नियन्त्रित हुन्छ । १३ देखि १९ वर्षको उमेर समूहलाई किशोरावस्था भनिन्छ । यो समयमा अझै शारीरिक तथा हर्मोनल प्रणाली पूर्णरूपमा परिपक्व भएको हुँदैन ।
यो अवधिमा गर्भ रहनुले गर्भवतीलाई मात्र नभई गर्भमा रहेको शिशुलाई पनि विभिन्न जोखिम पुर्याउँछ । यो अवस्थामा पाठेघर अझै स्थिर नभएकाले महिनावारी चक्र अनियमित हुन सक्छ, जसले गर्भाधानमा समस्या ल्याउने सम्भावना रहन्छ ।
शरीर पनि परिपक्व भइसकेको छैन । साथै, गर्भ रहेको खण्डमा पनि बच्चा अस्वस्थ हुने, समयअघि नै जन्मिने वा जन्मेपछि विभिन्न स्वास्थ्य समस्या देखापर्ने सम्भावना उच्च रहन्छ ।
त्योसँगै महत्वपूर्ण अर्को पक्ष हो, गुणस्तरयुक्त अण्डा । गर्भ रहन र जटिलता आउन नदिन स्वस्थ अण्डा निषेचन हुन जरुरी छ । प्रकृतिले छोरी बच्चा जन्मिदैै निश्चित अण्डा दिएको हुन्छ ।
२० देखि ३५ वर्षको उमेर उपयुक्त
गर्भधारणलाई सहज, सुरक्षित र सफल बनाउन उमेर एक निर्णायक पक्ष हो । महिलाको हकमा २० देखि ३५ वर्षको उमेर र पुरुषको हकमा २० देखि ४० वर्षको उमेरलाई प्रजननको लागि आदर्श मानिन्छ ।
यो उमेरलाई उपयुक्त मानिने प्रमुख कारण भनेको सो अवधिमा महिलाको अण्डाशयबाट निस्कने अण्डाको गुणस्तर उत्कृष्ट हुनु हो । बच्चा स्वस्थ हुन स्वस्थ र गुणस्तरीय अण्डा चाहिन्छ ।
जुन महिनामा एकपटक निष्कासन हुन्छ । त्यो अण्डामा डिम्ब निषेचन भएमा स्वस्थ बच्चा जन्मिन्छ । अनि त्यो स्वस्थ र गुणस्तरीय अण्डा हुने समय भनेको २० देखि ३५ वर्षको उमेर हो ।
३५ वर्ष पार गरे पछि के हुन्छ ?
३५ वर्ष पार गरेपछि अण्डाको परिपक्वता घट्दै जान्छ, र अण्डा निषेचन भए पनि क्रोमोजोम सम्बन्धी त्रुटिहरू देखिन सक्छन् । त्यस पछि त प्राकृतिक रुपमा बच्चा बस्न मात्र होइन, मुस्किलले बसेकोमा पनि स्वस्थ नहुने जोखिम हुन्छ ।
पुरुषको उमेर र शुक्राणुको गुणस्तर
पुरुषको हकमा सन्तान राम्रो हुन शुक्राणुको संख्या र गुणस्तर राम्रो हुनुपर्छ । उनीहरुमा ४० वर्ष पार गरेपछि शुक्राणुको गुणस्तरमा उल्लेखनीय ह्रास आउँछ ।
सामान्य रूपमा शुक्राणुको जीवन अवधि ४८ देखि ७२ घण्टा हुन्छ । यदि ती शुक्राणुहरू पर्याप्त गतिशील भएनन् भने, अण्डासँगको मेल समयमै नहुन सक्छ, जसले गर्भधारणमा कठिनाइ ल्याउँछ ।