+
+
Shares

आइफोनको क्यामेरा नजिकै भएको गोलाकार कालो धब्बा के हो ? के काम गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २४ गते १९:४३
Listen News
0:00
0:30
🔊

तपाईंले कहिल्यै आफ्नो आइफोनमा क्यामेराको नजिकै भएको एउटा सानो कालो वृत्त ख्याल गर्नुभएको छ ? विशेषगरी तीनवटा क्यामेरा भएका प्रो मोडेलका आइफोनमा रहने उक्त कालो घेरा लुकेको क्यामेरा पो हो कि भन्ने तपाईंलाई लागेको हुनसक्छ।

तर वास्तवमा त्यो कुनै क्यामेरा होइन। त्यो त एउटा विशेष प्रकारको सेन्सर हो जसलाई LiDAR स्क्यानर भनिन्छ ।

तथापि धेरैजसो आइफोन प्रयोगकर्तालाई त्यस शक्तिशाली सेन्सर र त्यसको क्षमताबारे जानकारी नै हुँदैन ।

लिडार सेन्सर के हो ?

आइफोनका प्रो मोडेलहरूको क्यामेरा प्रणालीसँग एप्पलले लामो समयदेखि उपलब्ध गराउँदै आएको LiDAR स्क्यानर निकै उपयोगी फिचर हो । यो लेजर प्रविधिको प्रयोग गरेर अगाडि रहेको वस्तुको दूरी र आकार नाप्ने सेन्सर हो । यसबाट अत्यन्तै तीव्र प्रकाश किरणहरू निस्कन्छन् जुन हामी नाङ्गो आँखाले देख्न सक्दैनौँ ।

जब यी किरणहरू अगाडि रहेको वस्तुसँग ठोक्किएर फर्किन्छन् तब सेन्सरले त्यसको दूरी र बनावट अर्थात आकार पहिचान गर्छ । क्यामेराको छेउमा रहेको यो कालो गोलो भागले फोटो र भिडियो अझ राम्रो बनाउनुका साथै थ्री डी म्यापिङ, कोठाको सही मापन, राम्रो अटोफोकस, एआर इफेक्ट्स र कम उज्यालोमा उत्कृष्ट फोटो-भिडियो खिच्न मद्दत गर्छ ।

सरल भाषामा भन्नुपर्दा यस सेन्सरको सहयोगबाट फोनले कुनै वस्तुहरूलाई झण्डै त्यही तरिकाले ‘हेर्न’ सक्छ जसरी हामीले आफ्नो आँखाले देख्न सक्छौँ । अब LiDAR स्क्यानर प्रयोग गरेर के के गर्न सकिन्छ त ?

अँध्यारोमा फोटो खिच्न

सामान्यतया अँध्यारोमा मोबाइलबाट राम्रो फोटो खिच्न गाह्रो हुन्छ । तर LiDAR स्क्यानरको सहयोगमा अँध्यारोमा पनि गज्जबको तस्वीर खिच्न सकिन्छ । उक्त सेन्सरको मद्दतले हाम्रो आइफोनले छिटै तथा सजिलै अटोफोकस गर्न सक्छ । एप्पलका अनुसार LiDAR सेन्सर प्रयोग हुँदा क्यामेराले करिब छ गुणासम्म छिटो अटोफोकस गर्छ । विशेष गरी हामीलाई तुरुन्तै कुनै वस्तुको फोटो खिच्नुपरेको बेला यो निकै उपयोगी हुन्छ ।

आइफोनमा प्रयोग हुने यो सेन्सरको अर्को विशेषता भनेको यसलाई फोनमा छुट्टै सक्रिय पार्नु पर्दैन । क्यामेराबाट फोटो खिच्दा यो सेन्सर आफैं सक्रिय भएर फोटोको गुणस्तर अझ राम्रो बनाइदिन्छ ।

वस्तुहरूको आकार नाप्न

LiDAR सेन्सरको सहयोगले तपाईँले वरपरका वस्तुहरूलाई अत्यन्तै सटीक रूपमा मापन गर्न सक्नुहुन्छ । खासगरी वस्तुको आकार मापन गर्ने कुनै उपकरण नहुँदा यो फितर निकै उपयोगी हुन्छ । यसका लागि तपाईं आइफोनमै भएको मिजरमेन्ट एप प्रयोग गर्न सक्नुहुन्छ ।

LiDAR सेन्सर भएका आइफोनहरूले वस्तुको दूरी, उचाइ र चौडाइ निकै सटीक रूपमा मापन गर्न सक्छन्, जसले दैनिक कामलाई अझ सजिलो बनाउँछ ।

भीआर गेमको आनन्द लिन

LiDAR सेन्सर भएका आइफोनहरू गेमिङ प्रेमीका लागि निकै उपयोगी साबित हुन्छन् । वास्तवमा यसको सहयोगले विभिन्न भर्चुअल रियालीटी अर्थात भिआर गेमहरु खेल्न सकिन्छ । लिडार सेन्सरका कारण अनलाइन गेमहरू अधिक वास्तविक देखिन्छन् । सामान्य फोनमा VR गेम खेल्दा विभिन्न समस्या देखिन सक्छन् । तर LiDAR सेन्सर भएको आइफोनमा भिआर गेमिङ्ग अनुभव निकै गज्जब र सहज हुन्छ ।

कोठा स्क्यान गर्न

LiDAR सेन्सरको मद्दतले तपाईँ आफ्नो कोठा स्क्यान गरेर त्यसको थ्री मोडेल पनि बनाउन सक्नुहुन्छ । यसका लागि तपाईंले Canvas: LiDAR 3D Measurements नामको एप प्रयोग गर्नुपर्छ ।

यो एप प्रयोग गरेर तपाईँ सजिलै कुनै पनि वस्तु वा सम्पूर्ण कोठा स्क्यान गरी त्यसको विस्तृत थ्री डी मोडेल तयार गर्न सक्नुहुन्छ । यसले कोठाको डिजाइन, सजावट योजना र नापजाँचका कामलाई निकै सजिलो बनाउँछ।

घरमा फर्निचर ‘ट्राइ’ गर्न

यदि तपाईं घरका लागि फर्निचर वा अन्य सामान किन्ने सोचमा हुनुहुन्छ भने, फोनमा रहेको LiDAR सेन्सरको मद्दतले त्यो सामान तपाईंको घरमा कस्तो देखिन्छ भनेर पहिले नै हेर्न सक्नुहुन्छ ।

अमेजन जस्ता कतिपय इ कर्मश एपहरूमा सामानको थ्री डी मोडेल आफ्नो कोठामा राखेर हेर्न सकिने फितर हुन्छ । त्यस काममा LiDAR सेन्सर निकै उपयोगी हुन्छ । LiDAR सेन्सरले कुनै पनि थ्री डी वस्तु तपाईंको कोठामा कस्तो फिट हुन्छ र कस्तो देखिन्छ भन्ने कुरा अत्यन्तै सटीक रूपमा देखाइदिन्छ ।

-एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?