
चीनमा एकजना महिलाले ६ महिना भित्रमा २० जना पुरुषसँग डेट गरिन् । ती सबैसँगबाट उनले उपहारमा आइफोन मागिन् । अनि ब्वाइफ्रेण्डहरूले दिएका ती सबै आइफोन बिक्री गरिन् । आइफोन बिक्रीबाट प्राप्त भएको रकमबाट उनले आफ्ना लागि एउटा घर खरिद गरेकी छिन् ।
यो अनौठो लाग्ने रोचक कहानी एउटा पछिल्लो भाइरल काण्डको खुलासा पश्चात् निकै चर्चामा छ । चिनियाँ सोसल मिडियामा यस विषयमा ठूलै बहस भइरहेको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार चीनमा हालै क्रस-ड्रेसिङ्ग स्क्याम नामक काण्डको खुलासा पछि सन् २०१६ को ती महिलाको अर्को काण्डले पुन: चर्चा पाएको हो ।
पछिल्लो क्रस-ड्रेसिङ्ग काण्डमा एकजना मानिस महिला बनेर धाराबाहिक रुपमा पुरुषहरुसँग डेट गर्दछ अनि उनीहरुको पैसा ठग्दछ । सो व्यक्ति सिस्टर हंगको नामबाट चीनमा भाईरल बनिरहेको छ । सिस्टर हंगको काण्डले चीनमा मानिसहरुको ध्यान ती महिला संलग्न एउटा पूरानो घटनातर्फ खिँचेको छ ।
सिस्टर हंगको काण्डसँगै चर्चामा आयो यी महिलाको कहानी
सिस्टर हंगको जस्तै, अझ धेरै अचम्ममा पार्ने अर्को काण्ड चीनमा करिब ९ वर्षअघि भएको थियो। जसमा एकजना महिलाले केही पुरुषहरुसँग डेट गरेर उनीहरुबाट महँगो आइफोन गिफ्टमा लिन्छिन् । अनि ती सप्पै आइफोन बिक्री गरेर प्राप्त भएको रकमबाट घर खरिद गर्छिन् । सिस्टर हंगको काण्ड हालै सार्वजनिक भएपछि मानिसहरुले ९ वर्ष पूरानो उक्त घटनाको स्मरण गरिरहेका छन् र ती महिलालाई सिस्टर हंगको पनि गुरु भनिरहेका छन् ।
प्रेमको जालमा फसाएर आइफोन प्राप्ति
यो कहानी मानिसहरुलाई निकै रोचक लागिरहेको छ । किनकि ती महिलाले मात्र ६ महिनामा २० जना पुरुषसँग डेटिङ गएर उनीहरुबाट उपहारमा आइफोन हात पारेकी थिइन् । त्यसपछि उनले सबै आइफोन बिक्री गरेर १७ हजार डलर बराबरको रकम जम्मा गरिन् र त्यसबाट आफ्नै फ्लाट खरिद गर्न बैना भुक्तानी गरिन् ।
समाचार अनुसार नाम गोप्य राखिएकी ती महिला सेन्जेनस्थित एक कम्पनीमा निकै कम तलबमा कनिष्ठ सहायक कर्मचारीको रुपमा काम गर्दथिन् । उनले जब आफूले आफ्नै गृहनगरमा फ्लाट खरिद गरेको कुरा सोसल मिडियाबाट खुलासा गरिन्, तब उनलाई चिन्ने मानिसहरु तिनछक परे ।
यसरी पत्ता लाग्यो कर्तुत
तत् पश्चात् केही समयभित्रै उनका सहकर्मीहरुले ती महिलाको कर्तूत पत्ता लगाए । उनले ६ महिनाभित्रमा २० जना पुरुषसँग डेट गरेको खुलासा भयो । आफूले डेट गरेका एकपछि अर्को पुरुषसँग उनले आइफोन उपहार मागिन् र सबैसँगबाट गरी २० वटा आइफोन हात पारिन् । उनले ती फोनहरु अनलाइनमा बिक्री गरेकी थिइन् । विद्युतीय उपकरणको व्यापार गर्ने प्लाटफर्ममा काम गर्ने एक कर्मचारीले ती महिलासँग फोन खरिद गरेको पुष्टि गरेका छन् ।
उनका अनुसार ती महिलासँग बिक्रीका लागि २० वटा नयाँ आइफोन ७ उपलब्ध थिए । ९ वर्षअघि आइफोन ७ भनेको निकै नयाँ मोडेलको फोन थियो । ती आइफोनमध्ये अधिकांस प्याकेट नै नखोलिएका वा पूर्णत: नयाँ हालतका फोन थिए । ती सबै फोन करीब ६ हजार युआन मूल्यमा बिक्री भए । अर्थात् उनले फोन बिक्रीबाट १ लाख २० हजार युआन भन्दा धेरै रकम हात पारेकी थिइन्, जुन फ्लाट खरिदका लािग पर्याप्त थियो ।
प्रतिक्रिया 4