+
+
Shares

आइफोन प्रयोगकर्ताको बैंक खातामा एप्पलले किन पठाउँदैछ १४ अर्ब ?

एप्पलले उक्त आरोपको सम्बन्धमा कुनै गल्ती स्वीकार नगरेपनि जरिवाना तिरेर मुद्दामा मिलापत्र गर्न सहमति जनाएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १३ गते १७:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले सिरीको गोपनीयता विवादमा ९ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति रकम आइफोन प्रयोगकर्तालाई वितरण गर्दैछ।
  • सन् २०१४ देखि २०२४ सम्म सिरी सपोर्ट गर्ने एप्पल डिभाइस भएका प्रयोगकर्ताले बैंक खाता वा डिजिटल पेमेन्टमार्फत रकम पाउन सक्छन्।
  • एप्पलले सिरीले अनुमतिबिना निजी कुराकानी रेकर्ड गरेको आरोप स्वीकार नगरे पनि जरिवाना तिरेर मुद्दा मिलाएको थियो।

अमेरिकामा धेरैजना आइफोन प्रयोगकर्ताका बैंक खातामा पछिल्लो समय अचानक रकम जम्मा हुन थालेको छ । आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको हो ।

समाचारअनुसार आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित कानुनी विवादमा भएको सम्झौताअनुसार कम्पनीले उक्त रकम वितरण गरेको हो।

एप्पलले उक्त मुद्दाको सम्झौताका लागि ९ करोड ५० लाख अमेरिकी डलर अर्थात करिब १३ अर्ब ८० करोड रुपैयाँ आइफोन लगायतका एप्पल डिभाइसका प्रयोगकर्तालाई वितरण गर्दैछ । उक्त रकम लक्षित आइफोन प्रयोगकर्ताले आफ्नो बैंक खाता वा डिजिटल पेमेन्ट एपमार्फत प्राप्त गर्न थालेका छन् ।

एप्पलमाथि आफ्नो भ्वाइस एसिस्टेन्ट सिरीको माध्यमबाट प्रयोगकर्ताहरूका विभिन्न जानकारी संकलन गरेको तथा अनुमतिबिना नै निजी कुराकानी रेकर्ड गरेको आरोप लागेको थियो ।

सिरीले कहिलेकाहीँ आफैं सक्रिय भई आइफोन प्रयोगकर्ताका संवेदनशील कुराकानीसमेत सुन्ने गरेको दाबीका आधारमा सन् २०१९ मा एप्पलमाथि उक्त गोपनीयताको मुद्दा दायर गरिएको थियो ।

तर एप्पलले उक्त आरोपको सम्बन्धमा कुनै गल्ती स्वीकार नगरेपनि जरिवाना तिरेर मुद्दामा मिलापत्र गर्न सहमति जनाएको थियो । जसअनुसार एप्पलले सन् २०२५ को मध्यतिर त्यस्ता प्रभावित आइफोन प्रयोगकर्ताबाट क्षतिपूर्ति दाबी संकलन गरेको थियो । अहिले सोही सेटलमेन्ट रकम वितरणको प्रक्रिया अघि बढाइएको छ ।

प्रविधि समाचार वेबसाइट नाइन टू फाइभ म्याकका अनुसार, समयमै दाबी पेश गरेका र प्रत्यक्ष बैंक खाता वा डिजिटल पेमेन्ट विकल्प छनोट गरेका प्रयोगकर्ताको खातामा रकम जम्मा हुन थालेको छ । तर वैकल्पिक भुक्तानी विकल्प रोज्ने प्रयोगकर्ताले चाहिँ अझै केही समय कुर्नुपर्ने बताइएको छ ।

समाचार अनुसार एप्पलको त्यस्तो क्षतिपूर्ति रकम प्राप्त गर्न प्रयोगकर्तासँग सन् २०१४ को सेप्टेम्बर १७ देखि २०२४ को ३१ डिसेम्बर सम्मको अवधिमा सिरी सपोर्ट गर्ने कम्तीमा एउटा एप्पल डिभाइस भएको हुनुपर्नेछ । साथै सो अवधिमा प्रयोगकर्ताको इच्छाबिना सिरी सक्रिय भएको प्रमाण समेत दिएर कम्पनीले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने थियो ।

स्मरण रहोस् एप्पलको भ्वाइस असिस्टेन्टको रूपमा रहेको सिरीले प्रयोगकर्ताले आवाजबाट दिएका कमाण्डका आधारमा काम गर्दछ ।

आइफोन, आइप्याड, म्याक, एप्पल वाच तथा होमपोड लगायतका डिभाइसमा यसको प्रयोग गरिन्छ । सिरीको माध्यमबाट कल गर्ने, सन्देश पठाउने, अलार्म तथा रिमाइन्डर सेट गर्ने, संगीत बजाउने, मौसमको जानकारी लिनुका साथै स्मार्ट होम डिभाइसहरू समेत नियन्त्रण गर्न सकिन्छ ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?