काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको यात्रा संस्मरण ‘यात्राको लय’ काठमाडौंमा बुधबार सार्वजनिक गरिएको छ ।
प्रा.डा. लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, प्रमोद प्रधान, डा. सिर्जना शर्मा, लेखनाथ हुमागाईं, छविरमण सिलवाल र नियात्राकार सापकोटा लगायतले कृतिको दोस्रो संस्करण सार्वजनिक गरेका हुन् ।
पुस्तक सार्वजनिक गर्दै प्रा.डा. गौतमले यात्रा संस्मरण या नियात्रा लेख्दा ढाँट्ने छुट लेखकलाई नभएको बताउँदै यसमा प्रदीप इमान्दार भएको बताए । सत्यतथ्यमा आधारित रहेर निबन्धात्मक यात्रा संस्मरण लेखिनुपर्नेमा उनले जोड दिए ।
साहित्यकार तथा समीक्षक प्रमोद प्रधानले सार्वजनिक कृतिको समीक्षा गर्दै यात्रा निबन्ध, नियात्रा र यात्रा संस्मरणबारे चर्चा गरे । उनले यात्रा निबन्धमा चित्रात्मक गति हुनुपर्नेमा जोड दिए ।
अर्का समीक्षक डा. सिर्जना शर्माले कृतिकारले पाठकलाई मेची, महाकाली मात्र नभएर सीमापारिको दार्जिलिङ पनि घुमाएको बताइन् ।
साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नियात्रा यथार्थको जगमा उभिएर लेखिनुपर्ने बताए ।
कार्यक्रम सुनकोशी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको थियो ।
प्रतिक्रिया 4