+
+
Shares
स्थलगत- जनकपुर :

मधेशीलाई आशा जगाउँदै भोट माग्न थाले बालेन

निर्वाचनपिच्छे भरोसा गर्ने नेताहरू फेरे पनि दुखका दिन फेर्न नसकेका मधेशका नागरिकले यसपटक बालेनको अनुहार हेर्न खोजेको आभास मिल्छ ।

बिनु सुवेदी शैलेन्द्र महतो बिनु सुवेदी, शैलेन्द्र महतो
२०८२ माघ ५ गते २२:२०

५ माघ, जनकपुरधाम । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरूमध्ये एक हुन्- पुरूषोत्तम यादव । सोमबार मधेशको राजधानी जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको उद्घोष सभामा उनै यादव थिए पहिलो वक्ता ।

आफ्नो छोटो मन्तब्यमा यादवले सबैभन्दा पहिले सम्झिए मधेश । अनि सम्झिए भदौको उही आन्दोलन । त्यसपछि भने- हामी रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन यहाँ आएका हौं ।

त्यसपछि लस्करै बोल्ने सबैको भाषणको लय पुरुषोत्तमकै जस्तो भयो । काठमाडौं महानगरको प्रमुख पदबाट राजीनामा दिएर प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्न गएका बालेन शाहमै सबैको ध्यान केन्द्रित भयो ।

कार्यक्रमका अन्तिम बक्ता रहेका रास्वपा सभापति रवि लामिछानेले पनि उही कुरा दोहोर्‍याए , ‘राज्यले मलाई जेल पुर्‍याउला कुनै परवाह छैन । किनकि देशले अब बालेन पाएको छ ।’

सभामा भाग लिन आएकाहरुले मञ्चमा अरू नेताहरूले भाषण गरिरहँदा पनि एकोहोरो बालेन, बालेन भन्दै नारा लगाइरहे । माघ ६ गते मंगलबार प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता हुँदै छ । रास्वपाका वरिष्ठ नेता बालेनले झापा ५ बाट प्रतिष्पर्धा गर्दै छन् ।

उम्मेदवारी दर्ताको अघिल्लो दिन पारेर रास्वपाले मधेशमा उदघोष सभा गरेको हो । ०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपा नयाँ दल थियो ।

यो पार्टीको चुनावी अभियान शहरकेन्द्रित थियो । राज्यको शासकीय स्वरूपबारे रास्वपा स्वयम् पनि त्यसबेला प्रष्ट भइसकेको थिएन । २०६२/६३ को जनआन्दोलनपछि संघीयताका लागि सबैभन्दा धेरै बलिदानी दिएको र संघीयतालाई प्रेमसहित अपनत्व लिने प्रदेश मधेशले संघीयताका सवालमा अलमलमा रहने दलहरूलाई स्वीकार गर्ने सम्भावना थिएन ।

अघिल्लो चुनावमा रास्वपाको हकमा पनि त्यही सावित भयो । त्यसैको फलस्वरूप रास्वपाले करिब ३४ लाख मतदाता रहेको मधेशबाट एक लाखमात्रै मत पाउन सक्यो । त्यसैले पनि मधेशमा धेरै मेहनत गर्नुपर्ने रास्वपालाई लागेको हुनुपर्छ । यसमा अर्को एउटा संयोग पनि जुर्‍यो रास्वपाले प्रधानमन्त्रीका रूपमा अघि सारेका बालेन स्वयम् मधेशका हुन् ।

मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा मधेशले मनाउँदै आएको बलिदानी दिवसको अवसर पारेर कार्यक्रम गर्नु संयोगमात्रै होइन ।

समानुपातिक समावेशिता, पहिचानसहितको संघीयतालगायतको मुद्दामा अघि सारेर भएको मधेश आन्दोलनका बेला सहिद बनेका महतोको शालिकमा माल्यार्पण गर्नु बालेनले संघीयताप्रति आफ्नो प्रतिवद्धता व्यक्त गर्नु पनि हो । करिब १० मिनेटको मैथिली भाषाको संबोधानमा उनले आफूलाई संघीयता पक्षधर सावित गर्न बारम्बार कोशिस गरे ।

‘धेरैले मलाई काठमाडौंमा र यहाँ जनकपुरमा पनि सोध्नुभयो ‘राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयता र प्रदेशप्रतिको धारणा के हो ?’ म यो भन्न चाहन्छु, प्रदेशलाई अझ बलियो बनाउनुपर्छ,’ उनले भने, ‘प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन । प्रदेशको काम कम्तीमा तीन-चारवटा पालिकालाई जोड्ने हुनुपर्छ।

अहिले जनकपुरको मेयरले प्रमुख प्रशासकीय अधिकृत फेर्नु पर्‍यो भने काठमाडौं जानुपर्छ। किन ? जनकपुर प्रदेशको राजधानी होइन र ? राजधानी हो भने काठमाडौं किन जानुपर्ने ? सबै काम यहीँ किन नहुने ? त्यसैले प्रदेशलाई बलियो बनाउनुपर्छ ताकि काठमाडौं जानु नपरोस् ।’ मञ्चबाट बालेन जसै बोल्न रोकिन्थे,चौरमा जम्मा भएका नागरिकले भनिहाल्थेः अबकी बार बालेन सरकार ।

नेताहरूले देखाएका हजार सपनाहरूकै भुलभुलैयामा मधेशका नागरिक यसअघि पनि नपरेका होइनन् । प्रत्येक निर्वाचनपिच्छे एउटा एउटा नेताबाट अपेक्षा गर्ने र कालान्तरमा धोका पाउने मधेशको नियतिजस्तै नै बनेको छ ।

२०६४ सालको संविधानसभा निर्वाचनमा मधेशले तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरम समक्ष ठूलो अपेक्षा राखेको थियो । तर संविधानसभाले संविधान बनाउन सकेन, मधेशी नागरिकको अपेक्षा पुरा भएन । ०७० सालको निर्वाचनमा मधेशमा फेरि कांग्रेस ठूलो पार्टी बनेर आयो तर मधेशको समस्या बदलिएन । ०७४ सालको निर्वाचनमा राजपा नेपाल र संघीय समाजवादी फोरमले अगाडि आएका थिए तर मधेशका आर्थिक सामाजिक सुचकांक अघि आउन सकेन ।

०७९ को निर्वाचनमा मधेशी मतदातामध्ये धेरैले फेरि सिके राउत नेतृत्वको जनमत पार्टीलाई अनुमोदन गरे । चुनावअघि उक्त पार्टीले किसानका पक्षमा बोलिरहेको कुरामा मधेशका नागरिकले विश्वास गरे । चुनाव जितेर गएपछि राउतले पनि मधेश सम्झिएनन् । मधेश प्रदेशमा चुनाव जितेको उनको पार्टी आन्तरिक द्वन्दमै फस्यो । रास्वपाले प्रधानमन्त्री नै घोषणा गरेपछि मधेशका नागरिकले एकपटक फेरि बालेन शाहको अनुहारमा आफ्ना समस्या समाधानको उपाय भेटे । उनले मधेशका समस्यामा आफू साथमै रहेको उद्घोष गर्न पनि बिर्सिएनन् ।

‘म करिब ४ वर्ष काठमाडौंको मेयरको रुपमा बसेँ । कोही मान्छेको भेट पनि गरिनँ । दैनिक माइतीघरमा मण्डलामा उखु किसानको आन्दोलन भयो, मिटरब्याज पीडितको आन्दोलन भयो । हामी मुकदर्शक भएर बस्नुपरेको थियो ।’

उनीहरुलाई बालेनले बिहानै जानकी मन्दिरमा दर्शन गरेको, मधेश आन्दोलनका पहिलो सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेको, मैथिली भाषामा संबोधन गरेको सबै मन पराएका छन् । बालेनबाट आश गरेका छन् ।

बालेनको भाषण सुन्न स्वतस्फुर्त मैदानमा

जनकपुरधाममा रास्वपाको परिवर्तनको उदघोष सभामा धनुषाको हंसपुर नगरपालिका–५ सुगा निगासका ७० वर्षीय रामफल साह सोनर सहभामा स्वतःस्फूर्त सहभागी भई बालेन साहको भाषण सुन्न आएका थिए । उनले विगतमा नेपाली कांग्रेस, मधेशवादी दल, माओवादी हुँदै नेकपा एमालेसम्मलाई मत दिएको बताए । तर पटक–पटक आश्वासन पाए पनि अपेक्षित काम नभएकाले यसपटक बालेन साहलाई मत दिने मनस्थिति बनाएको उनको भनाइ छ ।

‘म आफैँ बालेनलाई हेर्न र सुन्न आएको हुँ । विगतमा सबै दललाई हेरेँ । २०७९ को निर्वाचनमा एमालेलाई मत दिएको थिएँ । तर यसपटक युवाहरूको चाहना देखिन्छ । एकपटक बालेनलाई हेरौँ, केही गर्छन् कि भन्ने आश छ,’ उनले भने ।

त्यस्तै, सर्लाहीको चन्द्रनगर गाउँपालिका–४ बाट आएका युवा अनिल सिंह पनि बालेनको भाषण सुन्न सभामा सहभागी भएका थिए । बालेनको मैथिली भाषणबाट प्रभावित भएको बताउँदै उनले यसपटक बालेनलाई मत दिने निर्णय गरेको बताए । ‘म वैदेशिक रोजगारीमा थिएँ । धेरै नेता आए–गए, तर देशलाई भ्रष्टाचार र कुशासनको अखाडा बनाए । अब यसपटक बालेनलाई मत दिन्छु,’ उनले भने ।

सभामा सहभागी महोत्तरीको एकडारा गाउँपालिका–४ चकवाका ६७ वर्षीय रामविनोद सुक्ला बालेनको पुर्ख्यौली गाउँकै बासिन्दा हुन् । बालेन राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेपछि आफू पनि सोही पार्टीमा आबद्ध भएको उनले बताए । विगतमा मधेशवादी दललाई मत दिए पनि यसपटक बालेनकै कारण घण्टीमा मत दिने उनको भनाइ छ ।

‘चुनावका बेला मधेशवादी दलहरू गठबन्धन गर्छन्, जितेपछि फुट्छन् । खासै केही गरेनन् । यसपटक हाम्रै पुर्ख्यौली गाउँका बालेनलाई मत दिन्छु । काठमाडौं महानगरपालिकाको मेयर भएर उनले राम्रो काम गरेर देखाएका छन् । देशका लागि केही गर्छन् भन्ने विश्वास छ,’ उनले भने ।

धनुषाको नगराइन नगरपालिका–४ फुलगामाकी शिवकुमारी देवी चार जना महिला साथीसँगै सभामा सहभागी भएकी थिइन् । रास्वपा नेताको आग्रहमा सहभागी भएकी उनी मिटरब्याज पीडित हुन् ।

‘हामी मिटरब्याज पीडितले काठमाडौंसम्म पैदल मार्च गरेर आन्दोलन गर्‍यौँ । तर समस्या समाधान भएन । यसपटक रास्वपाका नेताले समस्या समाधान गर्ने आश्वासन दिएपछि सभामा सहभागी भएका हौं,’ उनले भनिन् ।

यसअघिको निर्वाचनमा जसपा नेपाललाई मत दिएका सिरहाको कर्जन्हा नगरपालिका–७ का हरेन्द्र प्रसाद मण्डलले यसपटक कुनै भ्रममा नपरी बालेनलाई काम गर्ने अवसर दिनुपर्ने बताए ।

‘म आफैँ यहाँ आएको हुँ । सबैलाई आग्रह गर्छु, कुनै भुलभुलैयामा नपर्नुहोस् । यसपटक बालेन सरकार बन्नुपर्छ । उनले भाषण मात्रै होइन, काम गरेर देखाइसकेका छन् । उनको भिजन स्पष्ट छ,’ उनले भने ।

बालेनको प्रतिबद्दताले संघीयता र राष्ट्रिय राजनीतिबारे स्पष्टता दियो : चन्द्रकिशोर

मधेशको राजधानी जनकपुरधाममा रास्वपाको परिवर्तनको उदघोषसभामा बालेनसहितका नेताहरुले राखेको धारणाले धेरै भ्रमहरू स्पष्ट भएको विश्लेषण भइरहेको छ ।

राजनीतिक विश्लेषक चन्द्रकिशोरले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पछिल्लो राजनीतिक उपस्थितिले उनको भूमिकाबारे रहेका धेरै भ्रमहरू स्पष्ट भएको उनको टिप्पणी छ ।

चन्द्रकिशोर, राजनीतिक विश्लेषक ।

स्वतन्त्र रूपमा राजनीति गर्दै आएका बालेनले अब पार्टी स्वीकार गर्नुले उनको राजनीतिक यात्रामा नयाँ मोड आएको चन्द्रकिशोरको विश्लेषण छ ।

चन्द्रकिशोरका अनुसार तीन तहको सरकारमध्ये स्थानीय तह सबैभन्दा नजिकको सरकार भएकाले त्यहाँ राम्रो काम गर्न सके व्यक्ति प्रधानमन्त्रीसम्म बन्न सक्ने सम्भावना रहन्छ । ‘बालेनले ‘म काम गर्छु, बोल्दिन’ भन्ने कुरा स्पष्ट रूपमा भनेका छन्,’ चन्द्रकिशोरले भने, ‘उनको यो भनाइले काममुखी नेतृत्वको सन्देश दिन्छ । हुन त अहिले प्रस्तावित हुन् । तर संदेश दिएको छ ।’

बालेनले मजबुत संघीयता र अधिकार सम्पन्न संरचनामा काम गर्ने प्रतिबद्धता जनाएको उल्लेख चन्द्रकिशोरको बुझाइ छ ।

उनका अनुसार बालेनको भाषणपछि नेपालमा पछिल्लो समय देखिएको ‘पोस्ट जेन–जी’ बाट प्रदेशमाथि भइरहेको अनावश्यक आक्रमणप्रति लागेका आक्षेपहरू स्पष्ट भएका छन् । ‘आजको चुनावी राजनीतिमा संघीयता कमजोर होइन, झनै मजबुत हुने सन्देश गएको छ, र मधेशमै त्यसको स्पष्ट कमिटमेन्ट देखियो,’ उनले भने ।

धार्मिक नारा ‘हरहर महादेव’ राजनीतिक कार्यक्रममै गुञ्जिनु सांस्कृतिक कार्यक्रम नभई राजनीतिक उपकरणको रूपमा प्रयोग भएको चन्द्रकिशोरको टिप्पणी छ । उनले देशमा राजनीतिलाई पनि ‘सफ्ट कर्नर’ देखाउने धार्मिक स्लोगनको प्रयोगका रूपमा व्याख्या गरे ।

बालेनले लगाएको सेतो पोसाक र भाषणका क्रममा फहराइएका राजनीतिक झण्डाले ‘पाउँ मधेश तर राजनीति देशको’ भन्ने सन्देश दिएको चन्द्रकिशोरको भनाइ छ । मैथिली भाषामा गरेको भाषण आम सर्वसाधारणले बोल्ने मैथिली भएकाले त्यसमा कथित उच्च जातीय लबज नदेखिएको बताए ।

बालेनप्रति रहेको अविश्वास र संघीयताप्रति उनले के गर्छन् भन्ने अन्योल अब हटेको चन्द्रकिशोरको निष्कर्ष छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर

लेखक
बिनु सुवेदी

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?