विभिन्न आन्दोलनमा सहिद हुनुभएका ज्ञात-अज्ञात सहिदप्रति सम्मान व्यक्त गर्दछु। आज तपाईंहरूको भाषण सुन्ने मुड देखिरहेको छैन। आज भाषण दिऊँ कि नदिऊँ ? म काम गर्ने मान्छे हुँ, काम गरेर देखाउँछु। मलाई काम गर्न दिनुहोस्, जसरी काठमाडौं महानगरवासीले मलाई काम गर्न दिए र मैले काम गरेर देखाएँ। त्यसरी नै मलाई काम गर्न दिनुहोस्।
आजभन्दा करिब डेढ महिनापहिले म यहाँ रामजानकी विवाह महोत्सव मनाउन आएको थिएँ। त्यतिबेला एउटा कुरा याद आयो, एउटा कुराले मनमा धेरै बिझायो।
विश्वकै सबैभन्दा प्रसिद्ध जोडी राम-जानकीको विवाहस्थलमा विवाह हुन्छ, तर आज हामी मधेशी र नेपालीहरू ‘डेस्टिनेशन वेडिङ’ (विवाह उत्सव) का लागि जयपुर जान्छौँ ।
जहाँ स्वयं रामचन्द्रको विवाह भयो, त्यो मिथिलालाई छोडेर हामी बालीमा किन जान्छौँ ? किन यहाँ डेस्टिनेशन वेडिङ हुँदैन ? यो सरकारको कस्तो नीति हो ? मिथिलाको व्यवस्थापन, सरसफाइ र आकर्षण किन बढाइँदैन ? यो कुन नीति हो ?
आज म दुईवटा कुरा प्रष्ट पार्न चाहन्छु। पहिलो कुरा— मधेशमा पहिलो पटक सबै जातजातिका मानिसहरू एकै ठाउँमा देखिएका छन् । कुनै एउटा जातको मात्र मानिस देखिरहेको छैन, सबै जातका मानिसहरू यसरी मधेशमा पहिलो पटक जुटेका छन्।
दोस्रो कुरा— जनकपुर एउटा कुराका लागि धेरै प्रसिद्ध छ। देशको विकास जनकपुर बोर्डको जस्तै हुनुपर्छ। मधेशको विकास यस्तो हुनुपर्छ कि सबै जाति खुसी होऊन् र सबै जातिको विकास होस्।
धेरैले मलाई काठमाडौंमा र यहाँ जनकपुरमा पनि सोध्नुभयो ‘राष्ट्रिय स्वतन्त्र पार्टीको संघीयता र प्रदेशप्रतिको धारणा के हो ?’ म यो भन्न चाहन्छु, प्रदेशलाई अझ बलियो बनाउनुपर्छ।
प्रदेशको काम एउटा वडामा गएर ५० हजारको धारा जोड्ने होइन । प्रदेशको काम कम्तीमा तीन-चारवटा पालिकालाई जोड्ने हुनुपर्छ।
अहिले जनकपुरको मेयरले प्रमुख प्रशासकीय अधिकृत फेर्नु पर्यो भने काठमाडौं जानुपर्छ। किन ? जनकपुर प्रदेशको राजधानी होइन र ? राजधानी हो भने काठमाडौं किन जानुपर्ने ? सबै काम यहीँ किन नहुने ? त्यसैले प्रदेशलाई बलियो बनाउनुपर्छ ताकि काठमाडौं जानु नपरोस् ।
यहाँ यस्तो व्यवस्था होस् कि काठमाडौं अधिकार माग्न होइन, घुम्नका लागि मात्र गइयोस् । पशुपतिनाथ र स्वयम्भू दर्शन गर्न मात्र काठमाडौं गइयोस्, अधिकार माग्न जान नपरोस् ।
काठमाडौंको मेयरका रूपमा पदमा बसेको लगभग चार वर्ष भयो । तर आत्मिक रूपमा मलाई एउटा कुराले सधैं पोल्छ। सधैं माइतीघर मण्डलामा उखु किसानको आन्दोलन हुन्छ, मिटरब्याज पीडितको आन्दोलन हुन्छ। म मूकदर्शक बनेर कसरी बस्न सक्छु ? काठमाडौंको मेयरका रूपमा मैले केही गर्न नसके पनि उनीहरूलाई भेट्न त सक्छु ।
तपाईंहरू आफैं सोच्नुहोस्, काठमाडौंमा बसेर मैले ३५ वटा पालिकाका लागि एम्बुलेन्सको व्यवस्था गर्न सकें। यदि म संघ सरकारमा पुगें भने कति गर्न सकूँला ?
अहिले सबैजना समाजवाद र लोकतन्त्रका कुरा गर्छन् । तर समाजवाद कहाँ छ ? काठमाडौं महानगरपालिकाले हरेक वर्ष २०,००० विद्यार्थीलाई छात्रवृत्ति दिन्छ । महँगा कलेजहरूमा निःशुल्क पढ्न पाउँछन् । बिना भिसा, बिना टिकट, विदेश नगइकन स्वदेशमै महँगा कलेजमा २०,००० विद्यार्थी निःशुल्क पढ्नु नै ‘समाजवाद’ हो । महँगा अस्पतालमा विपन्नका लागि १०% बेड निःशुल्क हुनु नै ‘समाजवाद’ हो ।
जुन समाजवाद काठमाडौं महानगरमा छ, त्यही समाजवाद सातै प्रदेश र ७५३ वटै पालिकामा चाहिन्छ । चाहिन्छ कि चाहिँदैन ? राम्रोसँग भन्नुहोस्, चाहिन्छ कि चाहिँदैन ?
काठमाडौंमा बसेर हामीले मन्दिर, पाटीपौवा, पोखरी र फल्चाहरूको संरक्षण गर्यौं । तर आज मिथिला र जनकपुरका पोखरी, मन्दिर र पाटीपौवाहरू कसैले आएर संरक्षण गरिदेला कि भनेर पर्खेर बसेका छन् ।
त्यो ‘कोही’ भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो । यहाँका मन्दिर र भूमिको संरक्षण रास्वपाले गर्नेछ ।
मैले आज पहिलो पटक यहाँ भाषण दिँदैछु। किनभने मेयरको पदले गर्दा चार वर्षसम्म म काममा व्यस्त थिएँ, अहिले फुर्सद मिलेको छ। त्यसैले आज बोल्दैछु।
मिथिलाको यो पावन भूमिमा एउटा कुरा भन्न चाहन्छु— पूरा देशमा वार्षिक जम्मा १० लाख पर्यटक आउँछन्। तर भारतको अयोध्यामा वर्षमा १० करोड पर्यटक पुग्छन्। जानकी मातासँग एक्लै १ करोड पर्यटक तान्ने क्षमता छ।
तपाईंहरू सबैलाई धेरै धेरै धन्यवाद। यहाँ धेरै जिल्ला र पालिकाबाट मानिसहरू आउनुभएको छ। आज दुईवटा कुरा भयो— एउटा त हामी सबैको मिलन भयो, अर्को जानकी माताको पूजा र दर्शन पनि भयो।
अन्तिममा एउटा सानो कुरा भन्न चाहन्छु। अब एउटा मधेशी छोरा प्रधानमन्त्री बन्नका लागि, एउटा मधेशी ‘पीएम’ बन्नका लागि सही मान्छे आउनुपर्छ र सही समयमा ‘घण्टी’ मा भोट हाल्नुपर्छ। सबैलाई फेरि मनैदेखि धन्यवाद ।
(जनकपुरको सभामा बालेन्द्र शाहले मैथिलीमा दिएको भाषणको अनुवादको सम्पादित अंश)
प्रतिक्रिया 4