+

जाइफलका ८ फाइदा, कसरी प्रयोग गर्ने ?

भान्साका कतिपय मसलाहरू औषधीय गुणले भरीपूर्ण हुन्छन् । ती मध्ये एक हो- जाइफल । धेरैले यसलाई मसालाको रूपमा प्रयोग गर्छन्, तर यसका औषधीय गुणहरूबारे धेरैलाई थाहा हुँदैन ।

१. चिसोबाट बचाउँछ

चिसो मौसममा रुघाखोकी, ज्वरोबाट बच्न जाइफलको सानो टुक्रा मुखमा राखेर चुस्न सकिन्छ । एक–दुई दिनको फरकमायसो गर्दा शरीरमा प्राकृतिक ताप प्रदान गर्छ र चिसोको कारण हुने समस्याबाट बचाउँछ । बच्चाहरूलाई चिसोबाट बचाउन जाइफल घोटेर छातीमा मालिस गर्न सकिन्छ ।

Advertisement

२. अनुहारको दाग, धब्बा हटाउँछ

अनुहार वा छालामा भएका दाग धब्बहरू हटाउन यो प्रभावकारी उपाय हो । जाइफललाई पानीसँग सिलौटामा घोटेर लेप बनाउने र दाग भएको ठाउँमा लगाउँनुपर्छ । यसबाट दागहरू कम हुन्छन् र छालामा चमक पनि आउँछ ।

जाइफलको पाउडरलाई महसँग मिसाएर पेस्ट बनाई अनुहारमा लगाउँदा अनुहार सफा हुन्छ । यसले डण्डिफोरको दाग पनि हटाउँछ । यो राम्रो फेसप्याक हो ।

३. पाचन तन्त्रलाई ठीक राख्छ

दैनिक खानामा जाइफल समावेश गरियो भने पाचन सहज हुन्छ । फाइबरयुक्त भएकाले यसले पाचन प्रणालीको कामलाई सुधार गरी पेटका अन्य समस्या जस्तै झाडापखाला, एसिडिटी, कब्जियत आदि ठीक गर्छ । बच्चाहरूमा प्रायः पाचनसम्बन्धी समस्या हुन्छ । उनीहरूलाई नियमितरूपमा दूधमा थोरै जाइफल मिसाएर दिदाँ यस्ता समस्या हट्छन् ।

४. निद्रा नलाग्ने समस्या हटाउँछ

आजकल तनाव र भागदौडका कारण अनिद्रा सामान्य समस्या बनेको छ । यदि राति निद्रा नलाग्ने समस्या छ भने जाइफलको सेवन निकै फाइदाजनक हुन्छ । सुत्नुअघि एक गिलास तातो दूधमा एक चिम्टी जाइफल मिसाएर पिउँदा राम्रो निद्रा लाग्छ ।

यसले तनाव घटाउने र दिमागमा रक्तसञ्चार सुधार गर्ने काम गर्छ । साथै एकाग्रता पनि बढाउँछ र चिन्ताबाट पनि राहत दिन्छ ।

५. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ

स्वस्थ रहन राम्रो इम्युनिटी आवश्यक छ । धेरैलाई मौसम फेरबदल हुँदा नै रुघाखोकी लाग्छ किनकि इम्युनिटी कमजोर हुन्छ । पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम जस्ता मिनरल्स, भिटामिन्स र फाइबरका कारण जाइफलले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

६. आर्थराइटिसमा फाइदा

उमेर बढ्दै जाँदा महिलाहरूमा हड्डी कमजोर हुन्छ र गठियाको समस्या पनि आउँछ । बाथमा दुखाइ र सुन्निने सामान्य हुन्छ । जाइफलको सेवन वा यसको तेल लगाउँदा गठियाको सुन्निने र दुखाइबाट राहत मिल्छ ।

यसमा एन्टी–इन्फ्लेमेटरी गुण हुन्छन् जसले बाथमा फाइदा गर्छ । यसको तेलले हात–खुट्टाको दुखाइमा पनि आराम दिन्छ ।

७. मधुमेहमा फाइदाजनक

मधुमेह आजभोलि निकै सामान्य रोग बनेको छ । यो पहिले बुढ्यौलीको रोग मानिन्थ्यो, तर अब यो जीवनशैलीको रोग बनेको छ र युवा तथा बच्चाहरूलाई पनि छिट्टै प्रभावित गर्छ । जसको समयमै नियन्त्रण गर्न जरुरी छ ।

८. कोलेस्टेरोल घटाउँछ

शरीरमा कोलेस्ट्रोल बढ्दा थकान, हृदयघातको जोखिम, मिर्गौलाको समस्या आदि आउँछन् । जाइफलको सेवनले यसमा भएको इथेनोलिक एक्सट्र्याक्टले खराब कोलेस्ट्रोल घटाउँछ र यस्ता धेरै रोगबाट बचाउँछ ।