हेर्दाहेर्दै असान्दर्भिक भए शेखर कोइराला । एकातिर परिवर्तनको शंखघोष गर्ने गगन थापा र विश्वप्रकाशहरू, अर्कातिर पुरानै सत्ताशक्ति जसरी पनि बचाइराख्ने शेरबहादुर देउवा । यी दुइटाको झगडा बीच कांग्रेसलाई एकताबद्ध राख्ने प्रयास सफल हुन नसकेको उनको दाबी छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय तानाबाना बुनेर कांग्रेसलाई कमजोर पारिएको रे, उनको वक्तव्य माघ १ गतेको मितिमा प्रकाशित छ ।
मध्यमार्गको नाममा शेखरले आफूलाई यसरी अप्रासंगिक बनाए कि, अब त उनीसँग देउवा र गगनसँग छलफल गर्ने आधार पनि छैन । देउवासँग ४० प्रतिशत भाग मागेर केको मध्यमार्ग ? गगनसँग घात–अन्तर्घातका शृंखला रचेर केको संवाद सहमति ? तैपनि शेखरले आफ्नो जिद्दी छाडेका छैनन् ।
शेरबहादुर देउवा पनि यस्तै ठान्छन्, बाह्य तत्वले नै फुटाउन लागेको हो भने त कांग्रेस फुट्छ, फुट्छ । उनी यस्तै केही भन्दै थिए पुस २९ गते । देउवालाई वामपन्थीहरू अमेरिकीसँग नजिक भनेर यत्रो वर्षसम्म आरोप लगाइरहन्थे । न त देउवाले कुनै जवाफ दिए, न त आरोप पुष्टि हुन सक्यो । अचेल देउवा नै विदेशी देखाउन थाले बा !
देउवा आफूले पार्टीभित्र सुधार र परिवर्तनको आवाजलाई सधैं येनकेन बहानामा रोकिराखे । सुशील कोइराला, रामचन्द्र पौडेलहरूले निर्णय गर्न सकेनन्, म निर्णय गर्छु भन्थे देउवा । सभापति भएपछि देउवाले निर्णय त गरे, तर अनेकौं गलत निर्णय ।
गगन पुस्ताले उठाएको बुलन्द आवाजलाई उनले सर्लक्क पन्छाइराखे, अहिले आफ्ना कमजोरी छोप्न चाहिं विदेशी तत्व देखाउँछन् उनी ।
यस्तै वक्तव्य दिंदैछन्, केपी शर्मा ओली । भूराजनीतिक षड्यन्त्रका कारण आफू प्रधानमन्त्रीबाट हट्नुपरेको कारुणिक विलौना छ उनको । चुनावका बेला राष्ट्रियताको एजेन्डा उनी त्यसरी नै जोडतोडले उठाउनेवाला छन्, जसरी उनले २०७४ को चुनावका बेला उठाए । तर ओलीको नारा उही होला, यो समय उही आठ वर्षअघिको समय होइन ।
यो लेखक जन्मिनुभन्दा पहिलेदेखि नै राजनीतिमा सक्रिय बुढाखाडाहरूले देशी–विदेशी देखाउँदा नपत्याउँ भन्ने आधार त छैन । तर आफू वर्षौंयता शासन शक्तिमा रहँदा गरेका कमजोरीको सामान्य जिम्मेवारी पनि नलिने, अनि दोष चाहिं यहाँ देखा नै नपर्ने भूराजनीतिक शक्तिलाई दिंदा कति उचित पर्ला ?
ओली अहिले प्रधानमन्त्रीबाट हट्दा जुन तत्वलाई देखाउँदै सन्तोष लिंदैछन्, त्यस्तै तत्वलाई देखाउँथे कुनै बेला प्रचण्ड । विदेशी प्रभु रे, विस्तारवादी रे, साम्राज्यवादी रे ! हामीले यस्तै शब्दावली सुन्दासुन्दा बानी पर्दै हुर्केको हो ।
भन्नलाई गिरिजाप्रसाद कोइराला पनि भन्ने गर्थे, ग्र्यान्ड डिजाइन । प्रधानमन्त्री छँदा कहिल्यै खोजेनन्, प्रतिपक्षी हुँदा कहिल्यै खोलेनन् । तैपनि भनिरहन्थे ग्र्यान्ड डिजाइन ।
वर्षौंदेखि यी नेताहरू भनिरहेथे– कुनै पनि घटना घट्नुमा आन्तरिक पक्ष प्रधान हुन्छ, बाह्य पक्ष सहायक । तर अस्ताउने बेलामा जुनसुकै पार्टीकाहरू पनि विदेशी पो देखाउन थाले ।
यो नेपाल देशमा स्मल कन्ट्री सिन्ड्रम धेरै भयो । यसपालिको चुनावमा यही बिक्नेवाला छ । रास्वपा भन्ने पार्टी खोलेको, बालेन त्यसमा प्रवेश गरेको, कुलमान पनि गएको, फेरि निक्लेको इधरउधर सबै विदेशी शक्तिको प्रभाव भन्दिने । हामी त गर्दैथियौं, विदेशीले दिएन भन्दिने । कुनचाहिं विदेशीले दिएन भनेर सोध्यो भने तैं चुप मै चुप बस्दिने ।
देखिने दुस्मनसँग भिड्न डराउने, नदेखिने दुस्मनको बारेमा षड्यन्त्रका तिलस्मी कथा रचेर बस्दिने । यस्तो अन्धविश्वास रचेपछि जिम्मेवारी पनि कसैले लिनुपरेन ।
यस्तो गर्नेमा यहाँका वामपन्थीहरू त्यत्तिकै छन् । रोचक के छ भने इतिहासमा यी सबै यस्तै षड्यन्त्रबाट आफू समेत कुनै न कुनै रूपमा पीडित थिए । प्रदीप नेपाल बितेर गए । तर तिनैले घनश्याम भुसाललाई अमेरिकाबाट सञ्चालित एजेन्ट भनी आरोप लगाउँथे । घनश्यामले कसैलाई यस्तो आरोप लगाए कि लगाएनन्, उनै जानुन् । तर नेपालमा कुनै पनि आन्दोलन यस्सै हुँदैन, अरूले गराइदिन्छ भनी पत्याउनेहरू धेरै छन् ।
इरशाद कामिलले लेखे जस्तो तु कोई और है गीतलाई नेपाली राजनीतिमा ल्याएर बुझ्ने हो भने छुट्टै कुरो । हामी आफैं केही गर्न सक्छौं, हामीलाई बाह्य पक्षले धेरथोर प्रभावित पार्न सक्छ, तर निर्णय यहाँ आफ्नै पहलकदमीमा हुने हो भनेर पत्याउन अझै कति समय लाग्ने हो ? कहिलेसम्म नदेखिने विदेशीलाई दोष दिएर आफूचाहिं जिम्मेवारीच्यूत भइरहने हो ?
शासन चलाउने अनेकौं मौका फोकटका उद्घाटन, शिलान्यास, पुस्तक विमोचन, नचाहिंदा भ्रमणमा बिताउने, प्राथमिकता नचिन्ने अनि अहिले चुनावका बेला विदेशीलाई देखाउने ?
हामीले आफ्ना काम ठिकठाक गर्यौं भने हामी नै योग्य बन्छौं, हामी नै बलियो । आफ्नो थैलो राम्ररी नबाँध्ने, छिमेकीलाई चोरदोष लगाएर हुन्छ र भन्या ? अवकाश उन्मुख नेताहरूले बुझ्ने कुरो के हो भने, मतदाताहरू धेरै शिक्षित र सचेत भइसके । अब उनीहरूलाई पहिले झैं खालि अमेरिका, चीन, भारत, जापान, कोरियालाई दोषारोपण गरेको भरमा उल्लु बनाउन सकिन्न । दिल्ली वा बेइजिङमा पानी पर्यो भनेर यहाँ छाता ओढ्ने कुरा त मिलेन ।
प्रतिक्रिया 4