+
+
WC Series
लुम्बिनी लायन्स 2025
35/1 (4.2)
VS
९४ बलमा ९८ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares
एस्प्रेसो :

वृद्धतन्त्रको असह्य भार

हर्क साम्पाङले समेत दुईपल्ट भन्दा बढी चुनिन नपाउने भन्दै हर्कवाद ल्याए । तर हाम्रा मार्क्सवादी र प्रजातान्त्रिक समाजवादीका नाममा दशकौंदेखि दोहन गरिरहेकाहरू वृद्धतन्त्र कायम राख्न प्रतिबद्ध छन् ।

बसन्त बस्नेत बसन्त बस्नेत
२०८२ मंसिर १९ गते १८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शेरबहादुर देउवा र केपी शर्मा ओली शुक्रबार अपराह्न देउवाको महाराजगन्ज निवासमा पत्नी राधिकासहित भेटघाट गर्न पुगेका छन्।
  • एमालेले मंसिरमा र कांग्रेसले पुसमा महाधिवेशन गर्ने तयारी गरिरहेका छन् जसले पार्टीमा वृद्ध नेताहरूको शोषण व्यवस्थामा परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।
  • धरानका मेयर हर्क साम्पाङले 'एक व्यक्ति दुईपल्ट भन्दा बढी चुनिन नपाउने' नियम प्रस्ताव गरेका छन् जसलाई पार्टीहरूले पहिले पनि अपनाएका थिए।

एस्प्रेसो खिचेर प्रकाशित गर्ने बेलामा सम्पादकीय टोलीले ताजा तस्वीर फेला पार्‍यो– शेरबहादुर देउवा र केपी शर्मा ओलीको ।

ओली पत्नी राधिकासहित शुक्रबार अपराह्न देउवाको महाराजगन्ज निवास पुगेका हुन् । जेनजी आन्दोलनअघिसम्म आलोपालो सत्ता सहकार्यमा रहेका देउवा र ओलीबीच त्यसयता भेट सम्भव भएको थिएन । यी दुई नेता सपरिवार भेटघाट गर्नु कुनै प्रश्न उठाइराख्नुपर्ने विषय होइन । प्रश्न चाहिँ यो हो कि उनीहरू बदलिँदो परिवेशमा पनि आ-आफ्नो दलमा शीर्ष कार्यकारी छन् ।

र बुढेसकालमा पनि उनीहरूलाई सकिनसकी राजनीतिक भार बोक्नुपर्ने दबाब छ । ओली त मंसिरको महाधिवेशनबाट तेहरिने तयारीमा छन् जसलाई एमालेको विधानले केही समयअघि अनुमति दिन्थेन । ओलीले आफूलाई पायक पर्ने गरी नीति र विधि नै बदले ।

देउवा चाहिँ पूर्णबहादुर खड्कालाई कार्यवाहक सुम्पिँदै अब थकाइ मार्ने सुरमा देखिन्छन् । कांग्रेसको विधानले उही कार्यकारी पदमा तेहरिन दिँदैन पनि ।

एउटै व्यक्तिलाई सदा सान्दर्भिक मानिराख्ने प्रणाली हाम्रा प्रगतिशील वा लोकतन्त्रवादी भनिने पार्टीमा पहिले थिएन । ठीक यसैबेला दृश्यमा देखा परेका छन् धरानका मेयर हर्क साम्पाङ ।

मार्क्सवाद, लेनिनवाद, माओवाद, प्रजातान्त्रिक समाजवाद, उदारवाद सुन्दै आएका नेपालीजनले अब एकपल्ट हर्कवादको समेत सामना गर्नुपर्ने भयो । हर्क साम्पाङको श्रम संस्कृति पार्टीले तैपनि भन्दियो– एउटा व्यक्ति दुईपल्ट भन्दा बढी चुनिन नपाउने ।

हप्ताको तीन दिन मात्रै पढाउने, श्रम गर्नुपर्ने इत्यादि समेटेर वाद सिद्धान्तको फुँदा जोडिहेरे हर्कले । तर यसमा उनलाई खिसीटिउरी गर्नुपर्ने कारण छैन । खिसी गर्नुपर्ने त पहिलेदेखिका पार्टीलाई हो ।

नपत्याए हेर्नुस् त, एमाले जस्तो पुरानो पार्टीले यसअघि नै दुई कार्यकालभन्दा बढ्ता कार्यकारी पदमा दोहोरिन नपाइने नियम बनाएको थियो । पूर्वराष्ट्रपति विद्या भण्डारीले स्पष्टै भनिसकिन्, अध्यक्ष केपी ओलीको स्वार्थमा त्यो नियम हटाइयो र आफूलाई पदमा आउनबाट रोकियो ।

म यहाँनेर हर्क साम्पाङबारे धेरै भन्न गइरहेको छैन, न त म ओली वा विद्याबारे मात्रै भन्न गइरहेको हुँ । म त खासमा यी सबैबारे एकपल्ट करुणावश केही भन्न खोजिरहेको छु ।

प्रसंग हो, वयोवृद्ध कम्युनिस्ट नेताहरूको एकता सन्देश दिन यसै साता विराटनगर पुगेका प्रचण्ड । कार्यक्रममा आएका दर्शकका कान नेताका लामा–लामा, अनि अनुत्पादक भाषणले टट्टाइरहेका थिए । प्रचण्डको कानमा माधव नेपालले खुसुक्क भने– जम्मै गइसके । अब के गरौं ?

हाम्रा नेतालाई माला लगाएर लामा भाषण गर्न नपाए जिन्दगी बाँचेको जस्तो नै नलाग्ने । प्रचण्ड, माधव, झलनाथ, वामदेव, भीम रावल आफ्नो जीवनमा खुब पाएका व्यक्तिहरू हुन् । तैपनि सुख छैन उनीहरूलाई । उनीहरूको युवाकाल जसरी खेर गयो, बुढेसकाल उसरी नै खेर गइरहेछ ।

राजनीति गर्नेहरूको अभीष्ट हुँदो हो प्रधानमन्त्री बन्ने, राष्ट्रपति बन्ने, मन्त्री बन्ने, राजदूत बन्ने इधरउधर । तर यहाँ यी सबै बनेर पनि कोही खुशी छैनन् ।

बाराक ओबामाले राष्ट्रपति पदमा बहाल भएकै बेला अफ्रिकी सांसदहरूसँग भनेको बहुचर्चित प्रसंग छ, मलाई अमेरिकाको राष्ट्रपतिमा तेस्रोपल्ट चुनिन मन छ । शायद जित्छु पनि होला । तर त्यसो गर्न मलाई मेरो देशको संविधानले दिंदैन ।

ओबामाले घुमाउरो भाषामा भनेका थिए– तिमीहरूको देशमा सिस्टम छैन । त्यसैले शक्तिमा बस्नका लागि सैनिक ‘कु’देखि अनेक अलोकतान्त्रिक हर्कत गरिरहन्छौ । अर्काको देशमा सिधै भन्न मिलेन, उनले आफैंलाई तल पारे जस्तो पारेर कटाक्ष गरे ।

अब यहाँ त भएको सिस्टम समेत एमालेले ओलीको चाहनाका लागि सखाप पार्‍यो भनेर अरू त अरू विद्या भण्डारीले समेत भनिदिइन् । तर याद गरौं, उनै विद्या भण्डारी समेत राष्ट्रपति भइसकेर पार्टी अध्यक्ष बन्ने चाहनामा थिइन् । एमाले छाडेका माधव नेपाल, झलनाथ खनालहरू कोही अध्यक्ष नपाएर, कोही राष्ट्रपति बन्न नपाएर हिंडेका थिए । भीम रावलदेखि अनेक नेताहरूका वैचारिक भाषणका पछाडि पदीय इच्छाहरू छरपस्ट छन् ।

मैले पहिले एकपल्ट लेखेको थिएँ– पितृसत्ताले अन्तत: पुरुष स्वयंको समेत शोषण गर्छ भने झैं वृद्धतन्त्रले अन्तत: यिनै वृद्ध नेताहरूको समेत भरपूर शोषण गरेको छ । यो हिउँदको जाडोमा माधव नेपालले घरको छतमा बदाम, सुन्तला छोडाउँदै खान सक्थे । उनैले दुई वर्षअघि हामीसँग अन्तर्वार्तामा भने झैं किताब लेखेर बस्न सक्थे । वा मन परेका ठाउँमा घुम्न जान सक्थे ।

तर उनलाई एकैनासका पट्यारालाग्दा भाषण दोहोर्‍याउँदै ठाउँ ठाउँमा आशनग्रहण गर्न जानु परेको छ, लामो भाषण अनि अन्तहीन आशनग्रहण ।

प्रचण्डलाई उद्घाटन, भाषण, शिलान्यासको रहर मरेकै छैन । उनी शक्तिमा आए भने त्यो क्रम अझै गतिका साथ गर्नेछन् ।

अहिले एमालेले मंसिरमा महाधिवेशन गर्ने भनेको छ, अनि कांग्रेसले पुसमा । यी महाधिवेशनले वृद्ध पुुराना नेताको शोषण गर्ने व्यवस्था फाल्ने गरी किन नियम नबनाउने ? हुनत विधान अधिवेशनमा नभएको निर्णय नेतृत्वको महाधिवेशनमा होला भन्ने आश छैन ।

क्रिटिकल थ्यौरीमा ह्वाइट म्यान्स बर्डन भन्ने एउटा कथन आउने गर्छ । उपनिवेशकालीन समयमा शोषणकारी राष्ट्रका प्रमुखलाई लाग्दो रहेछ; भारत पनि हेर्नु छ, अफ्रिका पनि, क्यारेबियन पनि । कता कता पो भ्याउनु ।

खासमा उनीहरूले गर्नुपर्ने के थियो भने, जहाँ–जहाँ शोषणकारी उपनिवेश टिकाएका थिए, त्यहाँबाट सरक्क हात झिक्ने । नभएको भार नबोक्ने ।

तर उनीहरूले भार बोकिरहे । त्यहाँका जनताले विद्रोह नगर्दासम्म साम्राज्य र उपनिवेश टिकिरह्यो ।

अब यताकै कुरा । हर्क साम्पाङले समेत दुईपल्ट भन्दा बढी चुनिन नपाउने भन्दै हर्कवाद ल्याए । तर हाम्रा मार्क्सवादी र प्रजातान्त्रिक समाजवादीका नाममा दशकौंदेखि दोहन गरिरहेकाहरू वृद्धतन्त्र कायम राख्न प्रतिबद्ध छन् ।

अब देश बनाउन के चाहिं बाँकी रह्यो, जो उनीहरू पूरा गर्न चाहन्छन् ? नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध मधेश प्रदेशका सांसद रहबर अन्सारीले मंगलबार हामीसँग अनौपचारिक गफमा भनेका थिए– यो उमेरमा बुढाहरू मरितरी त्यही प्रधानमन्त्री पद फेरि एकपल्ट पाइन्छ कि भनेर कुदेका होइन त ?

विगतमा माओवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा आइपुगेका रहबरलाई वृद्ध नेताहरूले कुन बेला फुटेर वा जुटेर कुन साइनबोर्डमुनि हुल्दिने हुन् पत्तो छैन । केन्द्रसँग असहमति जनाउँदै रहबरले प्रदेश सभामै मोसो दलेर चर्चामा आएका थिए । वृद्ध नेताहरूले आफ्नो अनुहारमा कतिपल्ट मोसो दलिसके, तैपनि कार्यकर्ताहरू विद्रोह गर्दैनन् ।

तर यो तथ्य प्रचण्ड र माधवको पार्टीमा मात्रै लागू हुँदैन । यतिबेला कांग्रेस र एमालेको महाधिवेशन आइरहेको छ ।

के हामी कांग्रेस र एमालेका महाधिवेशनबाट त्यो ह्वाइट म्यान्स बर्डन भने झैं ओल्ड म्यान्स बर्डन हटेको सुखद् खबर सुन्न पाउँछौं ? कम्तीमा पुस्तान्तरण नभए पनि हस्तान्तरण भयो है भन्ने सुन्न पाउँछौं ? के उनीहरूलाई आफ्नै महाधिवेशन प्रतिनिधिले नो नट अगेन भनेको सुन्न पाउँछौं ? इनफ इज इनफ जस्ता नारा आन्तरिक लोकतन्त्रको प्रयोगका क्रममा सुन्न पाउँछौं ?

भर पर्ने ठाउँ त फिटिक्कै छैन, तर आशासम्म गर्न सकिन्छ । आखिर हामी नेपालीलाई यतिबेला बचाउने भनेको कारुणिक आशावादले नै त हो । हर्कवादमा मात्रै भर परियो भने फेरि कुन बेला निराशावादमा फसिने हो कि !

त्यसैले आग्रह छ : नेल्सन मण्डेला बन्न हिंडेका हाम्रा नेताहरू कसरी रोबर्ट मुगाबे बन्न पुगे, समीक्षा गरौं । वृद्धतन्त्रको भार बिसाउने चिन्ता बुढा नेताहरूमा देखिएन । त्यो भार अब हामीले यो चुनाव मार्फत लिऊँ र सचेत नागरिक निर्णय गरौं । कुनै पनि ठाउँमा एउटै व्यक्ति निर्विकल्प हुँदैन ।

लेखक
बसन्त बस्नेत

बसन्त बस्नेत अनलाइनखबरका प्रधान सम्पादक हुन् । उनका 'महाभारा' र 'सिमसारा' उपन्यास तथा '७२ को विस्मय : संविधान मधेस र नाकाबन्दी' सामयिक इतिहास गरी तीन किताब प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?