भनिन्छ– कांग्रेस हुन पढ्नुपर्दैन । कम्युनिस्टहरू पढ्छन्, तर आफ्नै किताब मात्र । तिनले मार्क्स, एंगेल्सलाई यस्तरी पढ्छन्, मानौं ती पुस्तक होइन, धर्मशास्त्र हुन् ।
त्यसैले अहिले भर्खरै नेपालमा भएको जेनजी विद्रोह के हो भन्ने बारेमा बीसौं शताब्दीका पुस्तक चहार्दैमा भेउ पाउन सकिंदैन । तिनको आधार भने पक्कै लिन सकिन्छ । आजको समयको विश्लेषण गर्न आजकै यथार्थसँग आमनेसामने हुनुपर्छ । त्यसै अनुसारका सामग्रीमा पुग्नुपर्ने हुन्छ ।
यतिबेला संसारले खोजेर पढ्नेमध्येका एक विश्लेषक तथा पत्रकार छन्, फरिद जकारिया । भारतीय मूलका फरिद अमेरिकामा बसेर सीएनएन शो ‘फरिद जकारिया जीपीएस’ बनाउँछन् । पुस्तक तथा स्तम्भ लेख्छन् । यिनै फरिदले अघिल्लो वर्ष लेखेको ‘एज अफ रेभलुसन्स्’ पुस्तकले अहिले विश्वभरि भइरहेका युवा विद्रोहहरूको बारेमा सटिक व्याख्या गर्दै भनेको छ : चार वटा मूल्यहरूले यी नयाँ युगका विद्रोहलाई परिभाषित गर्छन् ।
पहिलो– यी विद्रोहहरू पार्टी मुख्यालयको निर्देशनबाट होइन, छरिएका सामाजिक सञ्जालको माध्यमबाट घोषणा गरिन्छन् ।
दोस्रो – यी विद्रोहहरू पहिलेभन्दा बढ्ता हिंसात्मक भएर आउँछन् ।
तेस्रो – यी विद्रोहहरूको स्वरुप लिडरलेस, अर्थात् नेताविहीन भएर आउँछ ।
र, चौथो – सामान्यतया यस्ता विद्रोहले समस्याको पहिचान गरेर सामूहिक आक्रोशमा परिणत गर्न चाहिं सक्छन्, दीर्घकालीन समाधान भने दिन सक्दैनन् ।
रोचक के छ भने रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी अभियोगमा फेरि जेल पर्दै गर्दा पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेले उनलाई यो किताब किनेर उपहार दिएका थिए । रविले पक्कै पढे होलान् । पढेका भए मैलेभन्दा राम्रो व्याख्या कुनै दिन उनैले गर्लान् ।
मैले यो किताबको सन्दर्भ किन लिएको हो भने फरिदले आफ्नो पुस्तकमा आजको युगका समस्या पहिल्याउँदा पहिलो पेजमा कार्ल मार्क्स र एंगेल्सका विचारहरू सापटी लिएका छन् । उनले कम्युनिस्ट घोषणापत्रको कुरा गर्दै विद्रोहले जमेर बसेका उत्पादन सम्बन्धहरू खुुकुल्याइदिनेछ भनेका छन् । फरिदले युरोपमा, मध्यपूर्वमा र अन्यत्र चलेका आन्दोलनहरूको विश्लेषण गर्दै यो समय क्रान्तिको हो भनेका छन् ।
फरिद मार्क्सवादी होइनन् ‘सेन्ट्रिस्ट’ हुन्, तर उनी मार्क्सको कुरा गर्छन् । जसरी उनले अहिलेको विश्वका समस्या बताउन मार्क्सको सहारा लिएर, हामी पनि आजको नेपाली परिवर्तन बुझ्न फरिदको सहारासम्म लिन सक्छौं । तर हामी यहाँका समस्यामा छिर्न निकै वस्तुगत र गतिशील हुनैपर्छ ।
तर हाम्रा मूलधारका भनिने पार्टीहरू त्यो वस्तुगत र गतिशील दुनियाँ बुझ्न समर्थ छन् त ? कांग्रेसलाई हेरौं न । आफ्नो समर्थनमा पोहोर असारमा बनेको ओली सरकारले भदौमा सोसल मिडिया बन्द गराएसँगै जुन युवा विद्रोह भयो, त्यो राष्ट्रिय युवा उभार थियो वा उत्पात थियो ? कांग्रेस यो विन्दुमा अलमलिएको छ ।
कांग्रेसभित्र दुई महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मालगायत नेताहरूले यतिबेला पार्टीभित्र सुधार र पुनर्गठनको अपिल गरिरहेका छन् । जेनजी विद्रोहलगत्तै सबैजसो नेताहरूले वाणी गुमाएका बेला उनीहरूको आवाज निर्विकल्प स्थापित थियो । विद्रोहपछिको विशेष परिस्थितिमा विशेष महाधिवेशन बोलाएर पार्टीभित्र बदलिएको सामाजिक रूपान्तरणको छाप देखाउने उद्देश्य उनीहरूको थियो । सिंगो पार्टी पंक्ति त्यसका लागि तयार छ भन्ने सन्देश बाहिर गएको थियो ।
तर जति समय लम्बिंदैछ, कांग्रेसको संस्थापन त्यति नै जब्बर भएर परिवर्तन रोक्न उभिएको छ । कांग्रेस त्यही पार्टी हो, जसका सभापति शेरबहादुर देउवाले समयको पदचाप सुन्ने निर्णय गर्दै कार्यवाहक सुम्पेका थिए । तर यतिबेला पार्टी पंक्ति नै अलमलमा छ, के देउवाले साँच्चिकै छाडेका हुन् । या उनी सिंगापुरमा स्वास्थ्यलाभसँगै थप शक्ति सञ्चय गरेर फर्कन लागेका हुन् ?
कांग्रेसले यतिबेला निर्णय गर्नुपर्नेछ– केही नेताहरूलाई बलियो बनाइराख्ने मूल्यमा पार्टीको संस्थागत शक्ति धुलोमा पुर्याउने कि पुनर्जागृत हुनका लागि जे–जे गर्नुपर्छ, त्यो गर्न तयार हुने ? निर्णय गर्ने वा नगर्ने, कांग्रेस पंक्तिको कुरा हो, तर ऊसँग निर्णय गर्नका लागि समय धेरै छैन । हामीले यसअघि नै भनिसकेका छौं– दलहरू आवश्यक छन्, अपरिहार्य होइन ।
कांग्रेसले नयाँ परिस्थितिलाई बुझ्न नसक्नु जति विडम्बनापूर्ण छ, त्योभन्दा बढ्ता विडम्बनापूर्ण एमालेको अवस्था छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौको युवा विद्रोहलाई ‘प्रतिक्रान्ति’ भनेका छन् । त्यसअघि कत्ति न क्रान्ति भइराखेको थियो जस्तो गरी उनले युवा बलिदानलाई अवमूल्यन गरेका छन् ।
ओली भन्छन्– नेतृत्व सोसल मिडियाले होइन, कार्यकर्ताले छान्छन् । तर आजको दुर्भाग्य यो छ कि ती आफूलाई छान्ने कार्यकर्ता को हुन् भनेर स्वयं उनले छान्छन् ।
ओली प्रधानमन्त्री सुशीला कार्की आउने परिस्थितिलाई आफूले सहज गराइदिएको यथार्थ छोप्छन् । बरु कार्कीलाई झापामा आफूसँग चुनाव लड्न चुनौती दिन्छन् । ओलीले राज्यका महत्वपूर्ण शक्तिहरू आफू सत्तामा रहेका बेला प्रधानमन्त्री कार्यालयमा एकत्रित गरेका थिए । तर ती संरचनाहरूले आफूलाई सही समयमा सही सूचना र आकलन दिंदा पनि किन ध्यान पुर्याउन सकिएन भनेर किञ्चित आत्मालोचना गरेका छैनन् । युवामाथि राज्यले मच्चाएको रक्तपातको नैतिक जिम्मेवारी त परै छ ।
ओली दुर्गा प्रसाईं र अरू ‘सोम’ हरूका बारेमा तारन्तार बोलिरहेका हुन्छन् । दुर्गा प्रसाईंको लहडबाजी र उद्दण्ड राजनीतिलाई विगतमा आफूले मलजल बिर्सन्छन् । एमालेको सौराहा महाधिवेशन सम्झौं त– ओलीले कसरी आफूभन्दा बढ्ता अर्थात् १७ वर्ष जेल बसेका नरेश खरेलको नाम केन्द्रीय समितिबाट च्वाट्ट काटेका थिए, अनि लगत्तै काठमाडौं बसेको बैठकबाट दुर्गा प्रसाईंलाई सिधै केन्द्रीय सदस्य बनाएका थिए ।
यस्ता दर्जनौं विषय छन्, जसको समीक्षा पनि नगर्ने । ठोरीका रामको खोजीदेखि दक्षिणपन्थी एजेन्डालाई लालझन्डामुनि बसेर क्रियान्वयन गर्ने, अनि आज युवाहरूले सडकमा गोली खान तयार हुँदै गरेको विद्रोहलाई प्रतिक्रान्ति भन्दिने ?
यो प्रश्नको जवाफ ओलीले दिंदैनन्, दिने छैनन् । त्यसैले अब प्रश्न ओलीको होइन । प्रत्येक चेतनशील एमाले सदस्यले यी प्रश्नको जवाफ खोज्न तयार हुनुपर्छ । तर निर्धारित समय अगावै ती प्रश्नहरूको तेजोबध हुने सम्भावना बढ्ता छ । मुखमा टेप टाँसेर विद्रोहमा ओर्लिएकी रामकुमारी झाँक्रीलाई समेत उनले ध्रुवीकरणभन्दा अगावै सहवरण गराइसकेका छन् ।
अब नेकपा समाजवादी नामको अर्को ठुटे पसल थाप्दै गरेका प्रचण्ड, माधव नेपालहरूको खासै कुरा गरिएन । (मंगलबार यो भिडियो बनाउँदै गर्दा प्रस्तावित नाम बदलिएर नेपाली कम्युनिस्ट पार्टी भइसकेको छ ।) एस्प्रेसो शटसँगै हुने संक्षिप्त गफमा सबैथोक गरिभ्याउन सम्भव पनि त हुँदैन ।
खिइँदै गएका कम्युनिस्टहरू विघटनको अघिल्लो दिनसम्म पनि पुनर्गठन गरिरहने छन् । बाबुराम भट्टराईले शायद यो कुरो पहिल्यै बुझेका थिए । त्यसैले उनी रास्वपा इत्यादिसँग छलफलमा छन् । कम्युनिस्ट भएर बिजोग हुने कि, कम्युनिस्ट छाडेर बिजोग हुने भन्ने विकल्पमा उनले दोस्रो बाटो रोजे ।
चुनाव अब कतिसम्म अपरिहार्य भइदियो भने विप्लवले समेत दल दर्ता गरिसके । विगतमा एकीकृत जनक्रान्तिका नाममा किन खुनखराबा गरियो, उनले जवाफ दिने छैनन् । नेपालमा जवाफ नदिनु नै राजनीतिक संस्कृति बनिसकेको छ ।
यति हुँदाहुँदै पनि प्रचण्डलाई प्रश्न– २०७४ सालमा वाम एकताको नाममा छाडेको माओवाद किन अहिले फेरि छाड्नुपर्यो ? राजाले भन्दा लामो शासन चलाउन एउटै माओवाद प्रचण्डले कतिपल्ट छाडिरहने ? शायद यसको जवाफ माओ त्सेतुङका लेक्चरहरूमा भेट्न सम्भव छैन ।
हामीले यसका लागि चाहिं पंकज मिश्रले लेखेको अर्को किताब ‘एज अफ एंगर’ पढ्नुपर्ने हुन्छ– जहाँ रेभलुसनरी इन्डिभिजुअलिज्मलाई ‘सेल्फी इन्डिभिजुअलिज्म’ ले प्रतिस्थापित गरिदिएको वृत्तान्त पढ्न पाइन्छ । तर दु:ख उही छ, उनले यो किताब पनि पढ्ने छैनन् । भनिहालें नि, कांग्रेस हुन पढ्नुपर्दैन । कम्युनिस्टहरू पढ्छन्, तर आफ्नै किताब मात्र ।
प्रतिक्रिया 4