News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले २१ फागुनको प्रतिनिधिसभा चुनावअघि महाधिवेशन गर्नुपर्ने वा नपर्ने विषयमा विवादका कारण केन्द्रीय समिति बैठक स्थगित गरेको छ।
- महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि विशेष वा नियमित महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् भने संस्थापन पक्षले चुनावअघि महाधिवेशन नगर्ने पक्षमा देखिएको छ।
- महाधिवेशन नहुँदा टिकट वितरणमा पूर्वपदाधिकारीहरूको प्रभाव र पार्टी फुट्ने डरका कारण विवाद बढेको छ र १४औं महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन्।
१६ कात्तिक, काठमाडौं । जेनजी विद्रोहका बेला सत्तासाझेदार रहेका नेपाली कांग्रेस पहिलो पार्टी थियो, जसले युवा उभारको भावनालाई उच्च मूल्यांकन गरेको थियो ।
कांग्रेसका थुप्रै नेताहरूको घरमा आगजनी हुँदा, यसका सभापति शेरबहादुर देउवा स्वयम् विध्वंशकारीहरूको भिडमा निर्घात कुटिँदासमेत कांग्रेसले नवयुवाहरूलाई सम्मान दिन कमी राखेन । विध्वंश र वितण्डाको प्रष्ट विरोध, अनि शासकीय नालायकी र कुशासनका विरुद्धमा नयाँ पुस्ताको आक्रामक पहरेदारीलाई कांग्रेसका नेताहरूले क्याबात् भने ।
गगन थापा, विश्वप्रकाश शर्मालगायत शीर्षस्थ नेताहरूले बीचका वर्षहरूमा पार्टीभित्र पर्याप्त दबाब र जागरण पैदा गर्न नसकेकामा आत्मालोचित भए । उनीहरूले आफूहरू ०६२–६३ को चेतनाभन्दा अघि बढ्न सकेनौं कि भनी आत्मसमीक्षा गरे । अनि पार्टीभित्र र बाहिर, समग्र राज्यसंरचनामा नवयुवाहरूको कुरा सुनिनुपर्ने भन्दै त्यसै अनुरुप पार्टीपंक्तिलाई डोर्याउने बाचा गरे ।
देशभित्र बाहिर छरिएको कांग्रेसको ठूलो पंक्तिले त्यो आवाजलाई आत्मसात् गर्यो पनि । त्यसै अनुसार कांग्रेसका पदाधिकारी बैठकका एजेन्डा तय गरिए । अनि केन्द्रीय कार्यसमिति पनि बस्ने घोषणा गरियो ।
कांग्रेस केन्द्रीय समितिको बैठक आह्वान गरेको तीन साता पुग्न लाग्यो । तर हालसम्म बैठकमा एजेन्डा प्रस्ताव गरी छलफल गर्ने वातावरण बनेको छैन । यस्तो लाग्छ, कुनै बेला परिवर्तनको नेतृत्व गरेर आएको यो ठूला पार्टी यति बेला नबदलिन जब्बर छ ।
२१ फागुनको प्रतिनिधिसभा चुनावअघि नियमित वा विशेष महाधिवेशन हुनुपर्ने एक पक्षको अडान र चुनावअघि महाधिवेशन गर्नै नहुने अर्को विचारका बीच कांग्रेस रुमल्लिएको छ । कांग्रेसले यो बुझिरहेको छैन– महाधिवेशन र पार्टी पुनर्गठन उसको आन्तरिक मामिला मात्रै होइन किन्तु यो देशको परिवर्तनको आवाज सुन्ने सामर्थ्य आजका दिनमा यसले राख्छ कि राख्दैन भन्ने प्रश्न पनि हो ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने अडानमा छन् । संस्थापन इतरका नेता डा. शेखर कोइराला पक्षधरले नियमित महाधिवेशनमा जोड दिएका छन् ।
संस्थापनमा मूलतः पूर्वपदाधिकारीहरूको समूह चुनावअघि महाधिवेशन गर्ने पक्षमा नदेखिएको नेताहरूको दाबी छ । नेताहरू ध्रुवीकृत भई आफ्नो विचारबाट टसमस नहुँदा सहमति जुट्न सकेको छैन ।

अर्को प्रतिष्पर्धी पार्टी एमाले र यसका नेताहरूले दिइरहेका अभिव्यक्तिबाट समेत कांग्रेस प्रभावित हुन पुगेको देखिन्छ । एमाले अध्यक्ष केपी ओलीले शनिबारमात्रै आफूले राजनीतिक कांग्रेसलाई सुन्ने तर प्रचारबाजी कांग्रेसलाई नसुन्ने जिकिर गरेका थिए । उनले महामन्त्री थापा र शर्मालगायत पार्टीभित्र सुधार मागिरहेको समूहको खासै उपादेयता नरहेको भन्दै उक्त पार्टीभित्र समेत खेल्न खोजेका छन् ।
र यस ओली रणनीतिको लाभ कांग्रेसभित्रको जब्बर संस्थापनले उठाइरहेको छ ।
कांग्रेसमा केन्द्रीय समिति बोलाउँदै बैठक स्थगित गर्ने क्रम निरन्तर छ । २८ असोजमा आह्वान गरिएको बैठकले कात्तिक १ बाट स्थगित गरी १३ गते एक दिन बसेपछि निरन्तरता पाउन सकेको छैन । गत शुक्रबार र आइतबार (आज) बैठक बस्दै नबसी स्थगित गरिएको छ । अर्को बैठक मंगलबार (१८ कात्तिक)का लागि बोलाइएको छ ।
यसबीचमा औपचारिक अनौपचारिक बैठकहरू श्रृखलावद्ध बसिरहेका छन् । नेताहरूले सहमतिको बिन्दु भने पहिल्याउन सकेका छैनन् । केन्द्रीय समिति बैठक सुरु हुनअघि महामन्त्री गगन थापाले कार्यसम्पादन समितिमा राखेको महाधिवेशन कार्यतालिकालाई आधार बनाएर गत बुधबार अर्का महामन्त्री विश्वप्रकाश शर्माले चुनावअघि महाधिवेशन गर्न सकिने चार बुँदे प्रस्ताव अघि सारे ।
महामन्त्री थापाले मंसिर २७ देखि २९ सम्म नियमित महाधिवेशन हुन नसके त्यही अवधिमा विशेष महाधिवेशन गर्न सकिने कार्यतालिकासहित कार्यसम्पादन समितिको बैठकमा पेस गरेका थिए । महामन्त्री शर्माले नियमित महाधिवेशन पुस १६ देखि १९ सम्म गर्न सकिने विकल्पसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग संवाद गरेका थिए ।
महामन्त्री शर्माले अघि सारेका विकल्पमा कुरा गर्न दुई महामन्त्री बिहीबार बिहान विशालनगरस्थित संस्थापन इतरका नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा पुगेका थिए । उक्त छलफलमा उपसभापति धनराज गुरुङ, दुई सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे पनि सहभागी थिए ।
महामन्त्री थापाद्वारा प्रस्तावित कार्यतालिकालाई लम्ब्याएर १६ पुसदेखि १९ सम्म १५औं महाधिवेशन गर्न सकिने बारेमा शेखर कोइरालाको कार्यालयमा छलफल भएको थियो ।
त्यही दिन (१३ कात्तिक) मा महामन्त्री थापाले कार्यतालिका प्रस्तुत गर्ने तयारी गरेका थिए । महाधिवेशन कार्यतालिका प्रस्तुत गर्नका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग दुई महामन्त्री छलफलमा जुटे ।

गत बिहीबारको केन्द्रीय समिति बैठक सुरु हुनुअघि केन्द्रीय कार्यालयमा महाधिवेशन केन्द्रित गर्ने विषयमा तीन नेताको छलफल भयो । तर सहमति जुट्न सकेन ।
१५औं महाधिवेशनका लागि कार्यतालिका पेस गर्न सहमति जुट्न नसकेपछि महामन्त्री थापा बिहीबारको केन्द्रीय समिति बैठकमा अनुपस्थित रहे । कार्यवाहक सभापति खड्कासँग दुई महामन्त्रीले सभापति शेरबहादुर देउवाले दिएको जिम्मेवारीअनुरूप महाधिवेशनका लागि वातावरण बनाउन आग्रह गरेका थिए ।
‘सभापतिले तपाईंलाई अधिवेशन गराउने जिम्मेवारी दिनुभएको हो। अधिवेशन गर्ने वातावरण बनाउनुस्,’ महामन्त्रीद्वयले कार्यवाहक सभापति खड्कासँग भनेका थिए । जवाफमा खड्काले महाधिवेशनकै पक्षमा रहेको उल्लेख गरेका थिए ।
संस्थापन पक्षका कतिपय नेताहरू चुनावअघि महाधिवेशन गर्न सकारात्मक नरहेको, उनीहरूसँग आफूले छलफल गरिरहेको र उनीहरूलाई मनाउने गरी ‘तपाईंहरू पनि कुरा गर्नु न’ भन्दै दुई महामन्त्रीलाई भनेका थिए ।
केन्द्रीय समिति बैठक स्थगित गरेर कार्यवाहक सभापति खड्का, दुई महामन्त्री थापा र शर्माले शीर्ष तहका नेताहरूसँग छलफल सुरु गरे । शनिबार बिहान ९ बजेदेखि केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले कुनै सहमति पहिल्याउन सकेन ।
आइतबार बिहानदेखि पुनः शीर्ष नेताको बैठक ललितपुरस्थित धोबीघाटमा बस्यो । दुई दिन बसेको बैठकमा आइतबार साँझसम्म सहमति नजुटे पनि संवादहरू सकारात्मक भएको महामन्त्री शर्माले जानकारी गराए ।
शर्माले अनलाइनखबरसँग भने, ‘आज सामूहिकभन्दा पनि साइडलाइन छलफल भए । भोलि फेरि बैठक गर्छौं ।’ महाधिवेशनको मिति चुनावअघि हुने निश्चित गरेर कार्यतालिकामा सहमति जुट्न सक्ने शर्माको विश्वास छ ।
कांग्रेस नेताहरूका अनुसार कार्यवाहक सभापति खड्का चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा देखिएका छैनन् । सभापति शेरबहादुर देउवा पक्षधर नेताहरू भीष्म आङ्देम्बे, रमेश रिजाल, मीन विश्वकर्मा लगायत चुनावअघि गर्ने गरी कार्यतालिका ल्याउनुपर्ने विचारमा असहमत छैनन् ।
आजको बैठकमा प्रवक्ता डा. प्रकाशशरण महतले फागुन र वैशाख अन्तिम गरी दुई वटा कार्यतालिका ल्याउन सकिने प्रस्ताव गरेका थिए । बैठकमा सहभागी एक नेताले दिएको जानकारीअनुसार चुनावअघि महाधिवेशन गर्न नहुने पक्षमा मूलतः पूर्वपदाधिकारीको एउटा समूह छ । पूर्वपदाधिकारी गोपालमान श्रेष्ठ भने उपचारका क्रममा हाल भारतमा छन् ।

सभापति शेरबहादुर देउवालाई विगतमा साथ दिँदै आएका र विगतमा पटकपटक संवादमा जुटेका नेताहरूको समूह महाधिवेशनको पक्षमा नरहेको बैठकमा सहभागी नेताले बताए । उनी भन्छन्, ‘कार्यवाहक सभापति र देउवा पक्षकै धेरै नेताहरू नियमित महाधिवेशनको पक्षमा बोलेका छन् । पूर्वपदाधिकारीको भन्दै एउटा समूह बनाउनेहरू चुनावअघि महाधिवेशनको पक्षमा खुलेका छैनन् ।’
चुनावअघि महाधिवेशनको विपक्षमा पूर्वपदाधिकारीको समूह देखिनुमा चुनावमा बाँडिने टिकटसँग जोडेर पार्टीभित्र चर्चा सुरु भएको छ । तीन तहका निर्वाचनमा टिकट वितरण गर्ने अधिकार स्पष्ट विधानले किटान गरेको छ । तर विधान कार्यान्वयन नहुने र टिकट वितरणमा केन्द्रीय नेताहरू हाबी हुने प्रचलन कांग्रेसमा हुँदै आएको छ ।
कदाचित् चुनावअघि महाधिवेशन भयो भने र टिकट वितरण गर्ने संयन्त्रमा नपरिने चिन्ताले नेताहरूले महाधिवेशन रोक्न खोजेको संसय पार्टीभित्र छ ।
पार्टी विधानअनुसार केन्द्रीय संसदीय समिति (बोलीचालीमा संसदीय बोर्ड भनिने प्रचलन छ)लाई प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गर्ने प्रावधान छ । केन्द्रीय संसदीय समितिमा पदाधिकारी पदेन सदस्य हुनेछन् । उक्त समितिमा सभापतिले समावेशिताका आधारमा केन्द्रीय सदस्यबाट ११ जना थप्न सक्ने व्यवस्था छ ।
हालको विधानअनुसार १४ जना पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीमा थप ११ जना केन्द्रीय सदस्य थपिएर टिकट वितरण गर्ने पार्टी संरचना गठन हुने व्यवस्था छ ।
संघको उम्मेदवारको टिकट वितरण गर्ने विद्यामान व्यवस्था आगामी निर्वाचनमा पनि कायम रहेको अवस्थामा उम्मेदवार छनोट गर्ने संरचनामा आफ्नो स्थान नहुने भयले महाधिवेशन विरुद्धमा पूर्वपदाधिकारीको एक टोली देखिएको संस्थापन इतरका एक नेताले आरोप लगाए ।
उनी भन्छन्, ‘भोलि टिकट वितरण गर्दा आफ्ना मान्छे उम्मेदवार बनाउन पाइएला भन्ने उनीहरूलाई होला । संसदीय बोर्डमा नपर्ने चिन्ताले महाधिवेशनको विरुद्धमा देखिनेहरू छन् । महाधिवेशन भए पार्टी फुट्ने भनेर हल्ला फैलाएर मनोवैज्ञानिक त्रास देखाइरहेका छन् ।’
मंसिरभित्र नियमित महाधिवेशन नभए विशेष महाधिवेशनका गर्नुपर्ने दबाब हस्ताक्षर गर्ने प्रतिनिधिहरूले बढाइरहेका छन् । विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलनका लागि अगुवाइ गर्ने ७ नेताहरूको टोलीले शनिबार कार्यवाहक सभापति खड्कालाई भेटेको थियो । उक्त टोलीमा रहेका नेता मनोजमणि आचार्यले कार्यवाहक सभापति खड्काले विधानअनुसार आफूले काम गर्ने जानकारी गराएको बताए ।

१४औं महाधिवेशनका करिब ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका छन् । नियमित महाधिवेशन हुन नसके विशेषमा जान उनीहरूको जोड छ । देउवा नेतृत्वको कार्यसमिति अवधि थप्ने पक्षमा नरहेका महामन्त्री थापा नियमित हुन नसके प्रतिनिधिहरूको हस्ताक्षरको आधारमा विशेष महाधिवेशन हुने दाबी गर्छन् ।
‘यत्रो ठूलो जेनजी मुभमेन्ट भयो । यसलाई मान्ने कि नमान्ने ? मुभमेन्ट भएको मानेपछि नागरिकसँग टुटेको सम्बन्ध जोड्न पर्दैन ?,’ चुनावअघि महाधिवेशनको विपक्षमा रहेका नेतालाई महामन्त्री थापा भन्छन्, ‘कांग्रेसप्रति जनताको भरोसा जगाउन नयाँ नेतृत्वसहित चुनावमा जानुपर्छ ।’
प्रतिक्रिया 4