News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसले आगामी पुस अन्तिम साता चुनावअघि नियमित महाधिवेशन गर्ने सहमति जुटाएको छ।
- महामन्त्री गगन थापाले १५औँ महाधिवेशनको सभापति उम्मेदवार भएको पहिलो पटक सार्वजनिक रूपमा घोषणा गर्नुभएको छ।
- गगन थापाले पार्टी सदस्यता खुला गरिएपछि सदस्यतामा लफडा नहुने विश्वास व्यक्त गर्नुभएको छ।
करिब डेढ महिना लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा महाधिवेशनको मिति तय भएको छ। महाधिवेशन चुनावअघि कि पछि, र नियमित कि विशेष भन्नेमा मतभिन्नता थियो। अन्ततः आगामी पुस अन्तिम साता चुनावअगाडि नै नियमित महाधिवेशन गर्ने सहमति जुटेको छ। विशेष महाधिवेशनका लागि जोड गरिरहेका दुई महामन्त्री लगायतका नेता पनि अब नियमित महाधिवेशनमा सहमत भएका छन्।
यद्यपि, तोकिएको समयमा महाधिवेशन होला त भन्ने आशंका कायमै छ। हालका सभापति शेरबहादुर देउवाले बिदा लिने पक्का भइरहँदा अब कांग्रेसको नेतृत्व कसले गर्ला? नयाँ नेतृत्वले पार्टीलाई कसरी अगाडि बढाउला? कांग्रेसको चुनावी समीकरण कस्तो हुन सक्ला?
‘जेन्जी विद्रोह’ले सतहमा ल्याएका मुद्दालाई कांग्रेसले कसरी आत्मसात गर्ला? महामन्त्री गगन थापाको भूमिका अब के हुन्छ? उहाँसँग कांग्रेस बदल्ने के एजेन्डा छ?
यस्तै यक्ष प्रश्नहरूको जवाफ खोज्न हिमालय टिभी ‘यक्ष प्रश्न‘मा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग निमेश बन्जाडेले गरेको कुराकानीको सम्पादित अंश:
महाधिवेशनको कार्यतालिका ल्याउन तपाईंहरूलाई ४५ दिन लाग्यो। अब बाँकी करिब ४५ दिनमै महाधिवेशन सक्नुपर्ने छ। त्यो चाहिँ हामीले फेरि बसेर पत्याइदिनुपर्ने छ, होइन?
यसलाई अलिकति अगाडिबाट हेर्नुपर्छ होला। भदौ २३ गतेअगाडि नेपाली कांग्रेस पार्टीको जिम्मेवारीमा बसेका हामीहरू मोटामोटी के कुरामा सहमत थियौँ वा स्वीकार गरेका थियौँ भने हाम्रो अधिवेशन २०८३ मा हुन्छ, त्यो हाम्रो सुविधा थियो। तर, २३ र २४ गतेअगाडिको नेपाल र २४ गतेपछिको नेपाल एउटै रहेन।
२४ गतेपछि जुन परिस्थिति भयो, त्यो परिस्थितिमा नेपाली कांग्रेसले आफूलाई सान्दर्भिक बनाई राख्न अब तत्काल अधिवेशन गर्नुपर्छ। अधिवेशनबाट नीति नयाँ, नेतृत्व नयाँ, सन्देश नयाँ, केही कुराको समीक्षा र केही कुराको संकल्प हुनुपर्छ।
त्यसैले, अधिवेशन तत्काल गरौँ भनेर मलाई अहिले पनि याद छ- मैले असोज ३ गते रहेछ, हिजो मैले फर्केर हेरेँ, यो यो कारणले गर्दा अधिवेशन गर्नुपर्छ भनेर मैले फर्स्ट राखेको। त्यसपछि असोज २७ गते त मैले कार्यतालिकै प्रस्तावित गरेको रहेछु।
असोज २८ गते सभापतिले पनि मंसिरमै अधिवेशन गर्ने भन्ने स्पष्ट बुझिने गरी पार्टीमा लिखित मन्तव्य राख्नुभएको रहेछ। हामीले त्यो बेलामा सरासर ‘ल अधिवेशन गर्छ नेपाली कांग्रेस पार्टीले’ भनेर गएको भए, गर्न पाएको भए- एक, तपाईंले भनेको जस्तो ‘पत्याइदिने’ भनेर हामीलाई गिज्याउने खालको प्रश्न सोध्नु पनि पर्दैनथ्यो।
दुई, नेपाली कांग्रेस पार्टीले यो ४०-४५ दिनको जुन एउटा स्वर्णिम समय गुमायो, त्यो गुमाउनुपर्दैनथ्यो।
किनकि जताततै अन्योल थियो, अलमल थियो, ‘कसले सम्हाल्छ’ भन्ने थियो, ‘कसले गर्छ’ भन्ने थियो।
पार्टीको जीवनमा कांग्रेस ठूलो-सानो भइराख्छ, यो महत्त्वपूर्ण कुरा होइन, कांग्रेसले राष्ट्रिय जिम्मेवारी जहिले पनि निर्वाह गर्छ, गर्नुपर्छ। त्यो राष्ट्रिय जिम्मेवारी निर्वाह गर्ने कुराको सन्दर्भमा जुन महत्त्वपूर्ण समय छ, हामी अधिवेशन गर्ने कि नगर्ने भन्ने यस्तै कुरामा अलमल भयौँ र हाम्रो ४५ दिन एक प्रकारले खेर गयो।
हिजो पार्टीको कार्यवाहक सभापतिले ‘अन बिहाफ अफ सभापति’ (सभापतिको तर्फबाट) प्रस्ताव गर्नुभएको छ। त्यसको आशय के हो भने यो मेरो प्रस्ताव होइन, यो उहाँको प्रस्ताव हो। किनभने, मेरो प्रस्ताव त असोज ३ गते नै थियो, २७ गते नै थियो। जुन बेला बकाइदासँग अधिवेशन गर्न भ्याइन्थ्यो, गर्नुपर्थ्यो। ४५ दिन खेर फालिसकेपछि प्रस्ताव ल्याउनुभएको छ।
तर पनि, यो प्रस्ताव ल्याइसकेपछि अब केन्द्रीय समितिले अनुमोदन गरिसकेपछि यसमा इमानदारितापूर्वक लाग्ने मेरो जिम्मेवारी छ, हाम्रो जिम्मेवारी छ।
तपाईं आफू चोखिनलाई प्रस्ताव त्यसरी नगर्नुभएको त होइन? यो मेरो प्रस्ताव होइन भन्ने पार्नलाई?
होइन, यो चोखिनलाई होइन। यो केबाट चाहिँ हो भने, जसरी अघिल्लो पटक मैले के अनुभव गरेँ कि नेपाली कांग्रेस पार्टी नबुझ्ने मान्छेलाई बाहिर के लाग्यो भने पार्टीभित्र यो कांग्रेस भन्ने पार्टीमा सदस्यता भन्ने एउटा विषय रहेछ, यो विषयको सबै जिम्मा चाहिँ महामन्त्रीको रहेछ। त्यो महामन्त्रीले काम नगरेको कुराले पो समस्या परेको रहेछ भन्ने जस्तो बाहिर त आभास भयो नि त!
पार्टीभित्रका अर्को पक्षका नेताहरूले खुलेआम तपाईंलाई आरोप लगाउनुभएको हो?
हो, त्यो भनियो। तर, त्यो आरोप लगाउनेलाई पनि यो होइन भन्ने थाहा थियो। पार्टीभित्रको साथीले कुरा बुझ्न हुन्छ, बाहिर त नबुझ्ने हुनुभयो।
यो पटक पनि के हो भने मेरो मुखबाट कार्यतालिका प्रस्तावित गर्न लगाए, एक क्षणलाई मानौं- मैले गरेँ। नियत ठिक राखिएन भने त त्यो कार्यतालिका त तीन-चार दिनमै भत्किहाल्छ। आजै मैले तीन-चार जना नेताहरूको अन्तर्वार्ता सुनिरहेको छु बिहान … ।
‘शत प्रतिशत पुसमा महाधिवेशन सम्भव छैन‘ भनिसक्नुभयो।
अझ यो हिजो मैले प्रस्तुत गरेको भए त सायद त्यसमा अरू थप के भनेर भन्नुहुन्थ्यो होला भने,
“महामन्त्रीले ल्याएको कार्यतालिका (कांग्रेसले ल्याएको भनिन्न थियो) यो विश्वसनीय छैन, अगडम-बगडम…” यसरी भन्नुहुन्थ्यो होला ।
त्यही भएर त जोगिनलाई प्रस्ताव गर्नुभएन भन्ने मेरो प्रश्न पनि ठिकै भयो।
जोगिनलाई गरेको होइन । एकपटक इमानदार प्रयास गरौँ भनेर मैले चाहिँ…।
नेपाली कांग्रेस पार्टीको पुरानो कुरा हेर्यो भने, यति छोटो समयमा अधिवेशन सम्पन्न भएको छैन। तर एकपटक गिरिजाप्रसाद कोइराला नेपाली कांग्रेस पार्टीको सभापति हुनुभएको बेलामा, अत्यन्त अप्ठ्यारो पर्यो, राजाको शासन भएको बेलामा करिब-करिब यस्तै टाइट स्केड्युलको बीचमा नेपाली कांग्रेस पार्टीले आफ्नो अधिवेशन गरेको छ।
कति दिन थियो त्यतिबेला ?
त्यस्तै ५५/६० दिन ।
नेपाली कांग्रेस पार्टीको यो अधिवेशनमा एकदमै ठूलो लफडा हुने कुरा चाहिँ हाम्रो पार्टीको मेम्बरशिप (क्रियाशील सदस्यता वितरण) सँग जोडिएको छ। यस पटक हामीले एउटा निर्णय गरेका छौँ। यो निर्णयमा हिजो धेरैको ध्यान गएन। हामीले यो पटक पार्टीको क्रियाशील सदस्यतालाई खुल्ला गर्यौँ।
यदि नेपालमा १० लाख मान्छेले कांग्रेसको क्रियाशील सदस्यता लिन चाहन्छन् भने पनि … खास हुनुपर्ने त्यही नै थियो। ‘म तिम्रो पार्टीको मेम्बर बन्छु’ भन्दै गर्दा पनि योभन्दा पहिलाको हाम्रो प्राक्टिस कस्तो थियो भने ‘यतिभन्दा बढी मेम्बर बनाउँदिन’ भन्ने थियो। यसपटक हामीले खुला गरिदियौं । जति योग्य छन्, जसले चाहन्छ, तपाईं चाहनुहुन्छ भने कांग्रेसको सदस्य बन्न सक्नुहुन्छ ।
तर रोक्ने नेताहरू पनि त होलान् नि त त्यहाँ? तपाईं पक्षका सदस्य थपिन्छन् कि अर्को पक्षका सदस्यहरू थपिन्छन् भन्ने हिसाबकिताब त फेरि तल राम्रै गर्ने होला नि। कांग्रेसको विगत त त्यही हो नि त !
हामीहरू सबै हिजो के कुरामा संलग्न रह्यौँ भने कुनै पनि युनिटमा यतिभन्दा बढी मेम्बर्स बाँड्न पाइन्न भनेर पहिले रेस्ट्रिक्सन (सीमा) नम्बरको राखिदिएपछि थोरै सदस्य संख्या भइसकेपछि त्यो त एक प्रकारले स्कार्सिटी (दुर्लभता) हुने भयो। अब के हुने भयो भने, मैले छानी-छानी दिने भएँ। मेरो वा सबै पक्षको जिम्मेवारी के छ भने किन छानी-छानी दिने भयौं भने, मसँग जम्मा लिमिटेड नम्बर थियो नि त!
यो पटक हामीले त्यसलाई खुल्ला गर्यौँ।
जति आउँछौ आऊ?
हो । आऊ । यदि तल्लो तहबाट तिमीले ‘दिन्न’ भनेर रोक्यौ भने उसले अर्को तहबाट पाउँछ।
त्यहाँ निर लफडा हुने चान्स छैन?
छैन । मेरो ठाउँबाट हेर्दा । यसले नेपाली कांग्रेस पार्टीको जुन महिनौँको समस्या हुन्थ्यो सदस्यता वितरणमा, मेरो अनुमान म गलत हुन पनि सक्छु, तर मलाई यतिखेर के विश्वास छ भने यो पटक सदस्यतामा लफडा हुँदैन। हुन आवश्यकै छैन। यति खुल्ला गरिसकेपछि । त्यसले हामीलाई करिब दुई-अढाई महिनाको समय सेभ (बचत) गर्यो।
अब हामीले छोटो समयमा इच्छाशक्ति हुने हो भने…पार्टीको लिडरशिपको- त्यो लिडरशिप भनेको अहिलेको लागि कार्यवाहक सभापति हुनुभयो जसले हिजो प्रस्ताव पेश गर्नुभयो, (पूर्णबहादुर खड्का) उहाँ र अरू साथीहरू जो हुनुहुन्छ, हामी सबैसँग इच्छाशक्ति हुने हो, हामी बदनियत नराख्ने हो (दुइटा कुरा छ है, बदनियत राख्नुभएन, नियत खराब राख्यो भने त जहाँ लगेर रोक्दिए पनि भयो, झगडा गराइदिए भइहाल्यो) र इच्छाशक्ति राख्यौँ भने बकाइदासँग गर्न सकिन्छ।
थोरै तलमाथि होला। साथीहरूले के टेक्निकल कुरा उठाउनुभएको छ । दिनहरूको ग्याप एकदम कम छ, त्यसलाई अलिकति फराकिलो बनाउनु पर्ला। थोरै तलमाथि होला। सकिन्छ ।
१० दिनभित्रै आठ तहका अधिवेशन पनि सम्पन्न गर्नुपर्ने छ, हैन?
त्यसलाई थोरै तलमाथि होला। कतिसम्म गर्न सकिन्छ भने पार्टीको अधिवेशन गर्ने नियत सफा भयो भने त मैले त मैले त्यो प्रस्तावमा पनि राखेको छु- अहिले तीन तहको मात्र गरे पुग्छ। नेपाली कांग्रेसको जम्मा तीन तहको अधिवेशन भए पुग्छ: तलको वडाको अधिवेशन, त्यसपछि १६५ निर्वाचन क्षेत्रको अधिवेशन, त्यसले हामीलाई भोटर दिन्छ। त्यसले हाम्रो पार्टीको सेन्ट्रल लिडरशिप।
यति गरे पुग्छ। अरू बाँकी रहेको पछि गरे पनि हुन्छ। तर, इट अल डिपेन्ड्स अन (यो सबै निर्भर गर्छ) केमा भनेदेखि भने नियतमा।
अहिले नै आउन थालिसक्यो कि पुसमा महाधिवेशन सम्भव छैन भनेर। तर, तपाईंले बाहिर जति भने पनि, पब्लिकली जति भने पनि, भित्र त फेरि महाधिवेशन सम्भव छैन भन्ने नै होला अन्तरआत्मामा त। अनि यो सहमतिको बिन्दुमा आइपुग्न तपाईंहरू भित्र पनि राम्रै कसरत भए जस्तो लाग्छ। गगन थापाहरूले धम्काए, अर्को पक्षले फकाए। यहाँ खूब राम्रो मिलनबिन्दु पनि भेटिएको हो?
होइन, पटक्कै होइन।
तपाईंले पार्टी फुटाउँछु भन्ने सम्मको धम्की दिनुपर्यो?
नो, नो, नो। जुन कुरा कहिले मनमा छँदै छैन। मनमा हुँदै नभएको कुरा मुखमा आउँदा पनि आउँदैन।
म नेपाली कांग्रेस पार्टीको अहिले नै महामन्त्री छु। पार्टीमा मैले वा अर्को महामन्त्रीले आह्वान गरेको विषयलाई पार्टीकै संरचनाभित्रको अहिले नै पनि बहुमतभन्दा बढी सदस्य साथीहरूले ‘तपाईंहरूले गरेको आह्वानमा उभिन्छौँ’ भनेर भनिराख्नुभएको छ। नयाँ अधिवेशन हुँदै गर्दाखेरि त्योभन्दा पनि धेरै ठूलो संख्यामा साथीहरू ‘अब तिमीहरूले नेतृत्व गर्नुपर्छ’ भनेर विश्वास व्यक्त गरिराख्नुभएको अवस्था छ।
एकछिनलाई अरू कुरा छोडिदिनुस् । मैले एकदमै आफूलाई मात्रै सेन्टरमा राखेर हेरेँ भने पनि मूर्ख हो म ? सबै कुरा आफ्नो अनुकूलताका बीचमा कोही मान्छे मूर्ख हुन्छ र?
समयभित्र १५ औँ महाधिवेशन गरौँ भन्ने कुराको प्रस्ताव मैले गरेको अथवा हामीले गर्दै आएको हुनाले पार्टीको बैठकको चियरबाटै, सभापतिबाटै ‘ल न त म पुस-मंसिरभित्र गर्छु’ भनेर आइसकेपछि, मनमा आशंका छन्, नभएको होइन। दुविधाहरू छन्, नभएको होइन। डाउट छन्, नभएको होइन। तर, ‘होइन, मेरो मनमा संशय छ, तिमीले गर्छौं कि गर्दैनौँ भन्ने कुराको बारेमा मलाई मनमा लागेको छ’ भन्ने आधारमा राजनीतिक निर्णय हुँदैन, विश्वासको आधारमा हुन्छ। अहिले मैले विश्वास गर्छु।
तर, विश्वाससँगै अर्को के पनि राख्छु भने- कांग्रेस पार्टीको केन्द्रीय समितिसँग विधानको एउटा धारा प्रयोग गरेर अधिवेशनको तिथि-मिति तोक्ने अधिकार छ र त्यो अधिवेशन गर्ने अधिकार छ भने, विधानको त्यही धाराको अर्को उपधाराले कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित संख्या पुर्यायो भने विशेष महाधिवेशन माग्ने हक र अधिकार पनि दिएको छ।
त्यो हक र अधिकार हाम्रो केन्द्रीय कार्यालयमा अहिले पनि दर्ज छ। लेट मी मेक इट भेरी क्लियर। र मैले यहाँ मात्र भनेको होइन। अस्ति केन्द्रीय समितिको बैठक सकिने बेलामा मैले पार्टी सभापतिलाई लिखित रूपमा मेरो मत सँगसँगै दर्ज गराएको छु। पार्टीको अभिलेखमा दर्ज छ। मेरो मत हो त्यो। र मेरो औपचारिक मत हो।
त्यहाँ पनि बठ्याइँ गर्नुभएको छ, हैन? फरक प्रस्ताव महामन्त्रीले पेश गर्नुपर्थ्यो त्यहाँनिर?
पार्टीको सभापतिले राख्नुभएको प्रस्तावका सन्दर्भमा मेरो मत के छ, धारणा के छ भन्ने कुरा पार्टीको सभापतिले हिजोको बैठकमा ‘थप यहाँ बोलेर छलफल नगरौँ’ भनिसकेपछि मैले पहिले उहाँलाई भनेको थिएँ। यो कुनै बठ्याइँको कुरै भएन।
‘मलाई बोल्न दिनुहोस्, मेरो मत यहाँ राख्छु’ भनेँ। ‘हैन, आज नबोलौँ’ भनेर भन्नुहुन्छ भने म किचकिच पनि गर्दिनँ, तर मेरो मत त छ नि त। मेरो मत त मैले लिखितमा दर्ज गराउँछु।
मेरो मतको सार के हो भने:
एक, यो अधिवेशनका लागि हामीले ४५ दिन खेर फाल्यौँ। यो खेर फाल्नै हुन्नथ्यो। जतिखेर मैले भनेँ अथवा सभापतिले भन्नुभयो (मैले मात्र भनेको होइन है, सभापति शेरबहादुर देउवाले नै भन्नुभएको हो), यसलाई हामीले मानेको भए आज नेपाली कांग्रेससँग ४५ दिन अगाडि हामीसँग हुन्थ्यो।
दुई, यो नियत सफा राखेर अधिवेशनमा काम गरौँ। यही कार्यतालिकामा थोरै तलमाथि होला, गर्दै गरौँ।
तर, यदि नियत तपाईंले खराब राख्नुभएको हो (तपाईं भनेको कुनै इन्डिभिजुअल भएन, हामीले खराब राखेको हो) र अलि दुई-पाँच-दश दिनपछि, अहिले नेताहरूले बोलेको जस्तै (बोलेको नेता हो भने म धेरै टिप्पणी गर्दिनँ), तर जिम्मेवारीमा बसेकै साथीहरू जो हामीहरू छौँ, त्यहीँबाट बिस्तारै यो त गर्ने होइन, कार्यतालिका मात्रै ल्याएको भन्ने तपाईंहरू कसैलाई लागेको छ भने, विशेष महाधिवेशनको प्रस्ताव ज्यूँका त्यूँ छ।
त्यो जीवित छ। त्यो कसैले मारेर, कसैले टेलिभिजनको अन्तर्वार्तामा आएर ‘यो प्रस्ताव छैन’ भनेर त्यो मर्दैन। त्यो विशेष महाधिवेशन मागेका साथीहरू झोली-कुम्ली केके बोकेर आउनुपर्ने हो, उहाँहरू काठमाडौँ आउनुहुन्छ र विशेष महाधिवेशन गर्न बाध्य बनाउनुहुन्छ।
‘खबरदार‘ भन्ने तपाईंको आशय हो?
नाइँ, नाइँ। खबरदार मैले भन्नै पर्दैन। र त्यो बेलामा महामन्त्रीको रूपमा म कहाँ उभिनुपर्छ? म विधानको पक्षमा उभिनुपर्छ। म अहिले कहाँ उभिएको छु? अहिले पनि विधानको पक्षमा उभिएको छु, अधिवेशन गराउने पक्षमा उभिएको छु।
म केमा विश्वास गर्न चाहन्छु भने, यो पटक कार्यवाहक सभापतिले प्रस्ताव राख्नुभएको छ। यसको पछाडि सभापतिको पनि सदाशयता छ। पार्टीका थुप्रै केन्द्रीय सदस्य साथीहरूले अधिवेशन गर्नुपर्छ भनेर यसमा मेहनत गर्नुभएको छ। हामी सबै लाग्छौँ भन्ने कुराको विश्वास व्यक्त गर्छु।
मलाई यो यति कुरा भन्न पनि मन थिएन। तपाईंले मलाई एक प्रकारले प्रोभोक गर्नुभयो। किन भन्न मन थिएन भने, मलाई एट द भेरी बिगिनिङ भर्खर सुरु भएको छ, भर्खर निर्णय गरेर आएका छौँ। यो बेलामा मलाई आशंका व्यक्त गर्ने मन थिएन।
तर, आशंका तपाईंहरूले नगरे पनि बाहिरबाट पब्लिकली कमन आँखाबाट हेर्दाखेरि पनि त टाइमलाइन एकदमै टाइट छ नि । नपत्याउने खालको छ नि त!
तपाईं पाँच वर्षलाई आएको पार्लियामेन्ट अहिले लोगो घरमा राखेर हामी अर्को पार्लियामेन्ट इलेक्सनमा उम्मेदवार छान्न हिँड्नु परेको छ। यत्रो उथलपुथल भएको छ ।
मैले सुरुदेखि मेरो नेतालाई के कुरा भनेको थिएँ भने, हामी त्यही दुनियाँमा छौँ। हिजो छ महिना लगाएर जे कुरा गरेका थियौँ, डिस्कर्डबाट मान्छेले प्रधानमन्त्री छानिदिसक्यो। हामी छ महिनाअगाडि जसरी गर्थ्यौं वा छ वर्ष योभन्दा अगाडिको अधिवेशन जसरी गर्यौँ, डू वी ह्याभ द्याट लक्जरी (हामीसँग त्यो समय र सुविधा छ)?
युद्धस्तरमा गर्यो भने गर्न सकिन्छ ?
कुनै एउटा युवा मान्छे सोच्नुहोस्- अहिलेको यो जेन-जी युवा समूहको एउटा मान्छे सम्झिनुहोस्, २०-२२-२५ वर्षको मान्छे। ऊ नेपाली कांग्रेस पार्टीको बारेमा धारणा के बनाउने भनेर सोचिरहेको छ। अनि त्यो कांग्रेस पार्टीले के भन्छ भने, ‘अधिवेशन त मैले गर्ने भनेको हो तर मेरोमा सदस्यतामा एकदम धेरै झगडा हुन्छ, पहिला-पहिला पनि हुन्थ्यो। मैले झगडा मिलाउन नसक्ने भएको हुनाले गर्दा र म अत्यन्त बिस्तारै हिँड्ने भएको हुनाले गर्दा मलाई पाँच-छ महिना लाग्छ भाइ हेर, बहिनी हेर, त्यसैले मैले अहिले गर्न सकिनँ’ भने उसले हामीलाई कुरेर बस्छ ? उसले हाम्रो कुरा पत्याउँछ? उसले हामीसँग के एक्स्पेक्ट (अपेक्षा) गरेको छ? अहिले पार्टी/राजनीतिक दलसँग उसको अपेक्षाहरू के छन्?
शेरबहादुर देउवाजीहरू, पूर्णबहादुर खड्काजीहरूलाई तपाईंहरूले कसरी सहमतिमा ल्याउनुभयो? बाहिर के आएको छ भने – यो फागुन २१ मा चुनाव हुँदैन, अनि कता–कता सर्वोच्चले पनि केही निर्णय गरेर संसद पुनर्स्थापना पो गर्दिन्छ कि? त्यो परको समय अझै पर जाने वाला छ। हामीले कार्यतालिका धकेल्दै–धकेल्दै लगौंला। बाहिरको यो जुन हावा चलेको छ, बतास चलेको छ, यसलाई बिस्तारै मिनिमाइज गरौँ, हामीतिर अनुकूल गराउँदै जाउँ भन्ने हो?
मैले बन्द कोठाभित्र कुनै पनि जालझेलका कुराहरूमा म संलग्न छैन। कहिँ पनि। मेरो कुरा बाहिर जे छ, भित्र पनि त्यही कुरा छ।
मलाई पर्सनली मेरो ठाउँबाट हेर्नुहुन्छ भने, म २०८३ सालको अधिवेशन हुने कुरा जुन सामान्य अवस्थामा थियो, म त्यसै मूर्ख जस्तो अहिले आएर ‘तुरुन्त अधिवेशन गर्, तुरुन्त अधिवेशन गर्’… भनौंला ? कति साथीहरूले के एंगलबाट कुरा गर्नुहुन्छ भने, ‘आफू हुनलाई’ भन्नुहुन्छ। अरे बाबा, म हुने वा नहुने कुरा, सम्भावना रहने वा नरहने कुरा त ८३ सालमा पनि त रहन्थ्यो होला नि त!
अथवा तातेको बेला छ, फलाम तातेको बेला छ, गगनहरूले यही बेलामा हान्न खोजिराछन्? पटक्कै होइन, पार्टी नेतृत्वमा आउन र राज्यसत्ताको नेतृत्वमै पुग्न प्रधानमन्त्री हुनका लागि गगन थापाको दौडधुप यहीँ छ। यो मौकालाई पछि पार्यो भने फेरि पछि पर्ने छ भन्ने छ ?
पार्टीको नेतृत्व म गर्न चाहन्छु र नेपाली कांग्रेस पार्टीलाई नागरिकले विश्वास गरेको पार्टी बनाएर त्यो नेतृत्व पार्टीले प्राप्त गर्दै गर्दा म एक पटक नेपालको नेतृत्व गर्न चाहन्छु भन्ने मेरो मनमा छ। अहिले पनि छ, हिजो पनि थियो।
भनेपछि, तपाईं नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिको उम्मेदवार हो?
त्यसमा त कुनै डाउट नै भएन नि ।
आज तपाईं पहिलो पटक भन्दै हुनुहुन्छ?
मलाई योभन्दा पहिला यो प्रश्न सोध्दै गर्दा म जहिले पनि के भन्थेँ भने, “अरे बाबु, अधिवेशनको डेट नै घोषणा भएको छैन, म अहिले किन भन्थेँ?” भनेर भन्थेँ। अधिवेशनको तिथि-मिति घोषणा भएपछि पहिलो पटक म यो सायद अन्तर्वार्तामा बसेँ। त्यसैले, म १५औँ महाधिवेशनको सभापति उम्मेदवार हो।
यही हो घोषणा ?
१५औँ महाधिवेशनको सभापति उम्मेदवार हो। र, मलाई के विश्वास छ भने नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५औँ महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ।
पहिलो पटक सभापतिको उम्मेदवारीको घोषणा गर्नुभयो आज।
सामान्य अवस्था भएको भए म यो घोषणा गर्ने कुरा त मनमा राखेरै बसेको थिएँ। म २०८३ मा जतिखेर अधिवेशनको तिथि-मिति घोषणा हुन्थ्यो, त्यो दिन यसरी तपाईंसँग आएर गर्थेँ होला। मैले अहिले आत्तिएर, हतार-हतार गरेको होइन।
राजनीतिक दल, खासगरी नेपाली कांग्रेसले के कुरा सोच्ने मूर्खता गर्नु हुँदैन भने, कांग्रेस भनेको चाहिँ त्यो सानेपाको कार्यालयमा बस्ने वा देशभरिका पार्टीको जिम्मेवारीमा बस्ने हामी मानिसहरू मात्र होइन। हामी यसका जिम्मेवारी लिएका अधिकारी हौँ ।
पार्टी भनेको के हो? पार्टी भनेको चाहिँ आम रूपमा यसका समर्थक, शुभेच्छुक, मतदाता र आजसम्म कांग्रेसलाई मत नहालेको मान्छेलाई पनि त हामी आम सभामा गएर पर्सि चुनावमा के भन्छौँ? “आउनुहोस्, २१ मा गएर यो पटक हामीलाई भोट दिनुहोस्” भन्छौँ नि!
भोट त नागरिकसँगै माग्छौँ नि। भोट नागरिकसँग पनि माग्न जाने। त्यो बेलामा पार्टी भनेको सार्वजनिक संस्था हो भनेको जस्तो गर्ने। अनि पार्टीको निर्णय गर्नुपर्ने बेला जतिखेर आउँछ, त्यो बेलामा नागरिकहरूले पार्टीसँग के अपेक्षा गरिरहेका छन् भन्ने कुरालाई पूर्ण रूपमा बेवास्ता गर्ने। किन बेवास्ता गर्ने भने,
“हाम्रो पार्टीको कुरा तिमीले गर्न पाउँछौ, यो हाम्रो कुरा हो नि” भन्ने । हामी त्यो बेलामा फेरि हाइरार्की खडा गर्ने।
कांग्रेस आन्तरिक कुरा भन्ने ?
आन्तरिक कुरा… एक्ज्याक्ट्ली! आन्तरिक कुरा भन्ने। पार्टीका बैठकहरू आन्तरिक हुन सक्छन्, छलफलहरू हुन सक्छन्, पार्टीको आफ्नै तरिकाहरू हुन सक्छन्, तर पार्टीका मुद्दाहरू आन्तरिक हुँदैनन्।
हामीहरूले यसलाई रेजीमेन्टेड बनाउँदै, बनाउँदै कसरी बनाउन थाल्यौँ भने, पार्टीभित्र लेबी तिरेर बसेका जो पार्टीका सदस्यहरू छन्, पार्टीको निर्णय गर्ने अधिकार उनीहरूले मात्र राख्छन्, पार्टीका बारेमा मत बनाउने अधिकार उनीहरूले मात्र राख्छन् भन्ने ठाउँमा ल्याएर हामीले सीमित गरिदियौँ।
मैले अस्ति पार्टीको बैठकमा मेरो आफ्नो पिताजीको उदाहरण दिएर भनेँ। मेरो पिताजी जस्ता हजारौँ अरू पिताजीहरू छन् वा मेरो छोरी जस्ता अरू हजारौँ छोरीहरू छन्, जसका निम्ति नेपाली कांग्रेस पार्टी यो पटक मतदान गर्नका निम्ति योग्य पार्टी हुनका निम्ति, उसका कांग्रेससँग केही अपेक्षाहरू छन्, केही गुनासा छन्, केही रिस छन्, केही मागहरू छन्।
‘तिमीले दुइटा कुरामा गल्ती स्वीकार गरेर आउनैपर्छ’ भन्छ उसले हामीलाई। ‘तिमीले दुइटा नयाँ कुराको संकल्प गर्नैपर्छ’ भनेको छ।
अब मैले त्यो अधिवेशनबाट ठूलो स्वरमा मैले उभिएर तर मैले झुकेर उसलाई मैले “मैले दुइटा कुरा तिमीले भनेको कुरा सुनेँ, मैले सुधारेँ। यो दुइटा कुरा तिमीले भनेको कुरा सुनेँ, मैले नयाँ संकल्प गरेँ” भनेर भनेँ भने, “ल ठिक छ” भनेर उसले भन्ला नि। म त्यो केही पनि वास्ता नगरिकन, उसले अघिल्लो पटक रुखमै भोट हालेको थियो, यो पटक पनि ऊ मलाई कुरेर बसिरहेको छ- “कतिखेर कांग्रेस आउला र ढुङ्गामा गएर म त्यसलाई लगेर हालुँला” भनेर कुरेर बसिरहेको छ भन्ने विगतको मान्यता हो? त्यो उसको अपमान हो। त्यो नागरिक मतदाताको अपमान हो।
मैले यसपालिको भदौ २३ र २४ को मुभमेन्टको एउटा पक्ष, एउटा नयाँ पुस्ता आयो। मेरो पुस्ताभन्दा फरक पुस्ता आयो। म नेपाली कांग्रेस किन भएको? मेरो पिताजी कांग्रेस भएकोले भएको। नेपाली कांग्रेस मात्र होइन, नेकपा एमाले पनि त्यही हो, सबैको त्यस्तै-त्यस्तै गरेर।
तर अहिले पछिल्लो समयमा नेपालमा आएको राजनीतिक चेतना, हाम्रो आर्थिक-सामाजिक रूपान्तरण, हाम्रो अर्थराजनीतिमा आएको परिवर्तन, हाम्रो माइग्रेसन, हाम्रो नयाँ जेनेरेसन- यो सबै नयाँ राजनीतिक चेतना बोकेर आएको छ भन्ने कुरालाई पार्टीले बेवास्ता गर्नु हुँदैन।
पार्टी भनेको कस्तो हुनुपर्छ भने, समाजमा के भइरहेको छ भन्ने कुरालाई बुझेर त्योभन्दा अगाडि दौडेर उसलाई डोहोर्याउनुपर्छ । डोहोर्याउन सकेन भने पनि कम्तीमा सँगसँगै हिँड्नुपर्छ। समाज अघि हिँडिसक्यो, त्योभन्दा पछाडि हिँड्यो भने चाहिँ पार्टी टिक्दैन ।
त्यसैले, हामीले अधिवेशनबाट कम्तीमा पनि अहिले हामी अगाडि गएको देखाउन नसके पनि, ‘हामी तिमीसँगै छौँ है, सँगसँगै हिँड्न चाहन्छौँ है’ भनौँ भन्ने कोसिस गरेको मात्रै हो।
तर, तपाईंले अब यो जेन-जीको विद्रोहलाई आत्मसात गर्छौँ, अहिलेका यो आन्दोलनमा उठेका मागहरूलाई हामीले सम्बोधन गरेर अगाडि जान्छौँ, पुरानो कांग्रेस होइन, अब हामी नयाँ कांग्रेस तपाईंहरूले खोजेको जस्तो बनाउँछौँ भनेर सभापतिको उम्मेदवारी घोषणा गरेर अगाडि आइरहँदाखेरि, त्यो जेन-जी विद्रोहले त नेपाली कांग्रेसको गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलहरूलाई पनि त अनुमोदन गरेको होइन नि, गगन जी? ‘गगन आऊ देश बनाऊ’ भनेको होला। तपाईंहरू आफैँ झुक्किनुभएको त छैन नि?
छैन, पटक्कै छैन। २०-२१ वर्षको केटाकेटीहरू जब म अहिले आजभोलि भेट्छु, नेपाली कांग्रेस पार्टीसँग उनीहरूका तमाम मैले अघि भनेको जस्तो चाहिँ रिस छ, बेवास्ता छ, थुप्रै कुराहरू छन्।
मैले यस्तो चरण एकपटक २०५९-६० सालको सेरोफेरोमा पनि भोगेको थिएँ । हामी जतिखेर विद्यार्थी आन्दोलनमा थियौँ। त्यो बेला हामीले मुद्दाहरूबाट कांग्रेस फेरि सान्दर्भिक छ भन्ने कुरा स्थापित गर्यौँ।
त्यो बेलामा सोसाइटीमा एउटा चेन्ज खोजिएको थियो नि त। थाकेको थियो त्यो बेलामा। सोसाइटीमा फटिक थियो। सरकार बदल्ने, पुरानो पार्टी थोत्रो भए यस्तै थियो ।’ हामीले त्यतिखेर त्यो स्पन्दनलाई हामीले थाहा पायौँ र हामीले त्यो बेलामा अगाडि आएर भन्यौँ, ‘यो बेलाको चेन्जको जुन कुरा खोजेको छ, हामी गर्छौँ’ भन्यौं ।
अब अहिले त्यो बेवास्ता गरेको मान्छेलाई कांग्रेसले मैले अधिवेशन एउटा समारोह सम्झौँ- त्यो समारोहबाट उसले के भन्यो भने, उसले जे सुन्न चाहेको छ वा उसले जस्तो देख्न चाहेको छ, उसले उसको मनमा जे कुराहरू छन्, हामीले त्यो कुराहरू ‘म तिम्रो कुरा मैले सुनेको छु, म तिमीलाई डोहोर्याएर लिएर जान सक्छु’ भन्ने कुरा भन्यो भने, एकपटक त फर्केला नि त, एकपटक त हेर्ला नि त! त्यसपछि बल्ल उसँग संवाद सुरु होला नि।
म ‘जे छु ठिक छु, म भदौ २३ अगाडि पनि ठिक थिएँ, अहिले पनि ठिक्छु। तिमी बरु गलत हो। तिमी सडकमा आउने गलत हो, तिमी आन्दोलन गर्ने गलत हो, हामीलाई मुर्दाबाद भन्ने तिमी गलत हो, म पो ठिक हो त’ भनेर बसिरहेँ भने, उसले त मलाई हिजोई मुर्दावाद भनिसक्यो नि! म सँग किन कुरा गर्छ ऊ? मेरो कुरा किन सुन्छ?
म त नयाँको मात्र होइन के, मलाई त चिन्ता त, जसले योभन्दा अगाडि निशर्त हामीलाई सहयोग गर्दै गर्दै आएको ठूलो एउटा पंक्ति छ, उसको पनि रिस बढेको छ, उसका पनि प्रश्नहरू छन्। उसँग पनि कुरा गर्नुपर्छ।
तपाईंसँग एउटा विश्वास छ। अहिलेको परिवर्तित आकाङ्क्षा जे छ, चाहना जे छ जनस्तरमा, त्यसलाई सम्बोधन गर्ने ल्याकत अझै पनि हामी राख्छौँ भन्ने तपाईंलाई त्यो कन्फिडेन्स छ ?
एकदमै छ। पार्टीको भ्यालुज हुन्छ, पार्टीको प्रिन्सिपल हुन्छ, त्यसपछि पार्टीका प्रोग्राम हुन्छन्, पार्टीको लिडर्स हुन्छन्।
म नेपाली कांग्रेस । मलाई कांग्रेसमा के केले तानेको ? यसले बेसिकली व्यक्तिको फ्रिडम (स्वतन्त्रता) लाई सबैभन्दा बढी महत्त्व दिन्छ। म व्यक्तिको फ्रिडम सबैभन्दा ठूलो कुरा भन्ने मान्छु। अहिले नयाँ जेन-जीको एउटा केटा, एउटा केटी हेर्यो भने, मलाई के लाग्छ, उसको लागि सबैभन्दा ठूलो कुरा फ्रिडम हो।
तर, मेरो कार्यक्रम, मेरो अनुहार, मेरो नीति, मेरो बोली, मेरो यो दुई-चार-पाँच वर्षका मेरा हर्कतहरू देखेर उसले ‘यस्तो भ्यालु बोक्ने पार्टी हो’ भन्ने कुरा नै मेरा हर्कतहरूले ढाकेको अवस्था भयो । मैले त्यो ऐना पुछेर हुन्न, मेरो अनुहार भित्र भएको मैले सफा गरेँ भने त, खास के हो भनेर देख्ला नि त उसले। यसको आधारमा विश्वास छ।
प्रतिक्रिया 4