१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारविरुद्धको कारबाही नरोकिने बताएका छन् ।
जेनजी आन्दोलनको मर्मअनुसार सरकारले काम गरिरहेको र निर्वाचनको तयारीसँगै भ्रष्टाचारविरुद्धको कारबाही पनि सँगसँगै अघि बढिरहेको उनले स्पष्ट पारिन् ।
नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी काम गर्न नै आएको हो। जे सकेको गरिरहेका छौँ । युवाले बलिदानी दिएर गरेको विद्रोहको मर्मअनुरुप जसरी पनि हामीले काम गर्नुछ । यो वा त्यो बहाना गरेर पन्छिने छुट छैन । हामी रोकिँदैनौँ ।’
निर्वाचनको तयारी र सुशासनको जग बसाल्ने काम सँगसँगै गरिरहेको पनि उनले बताइन् ।
भ्रष्टाचारका विषयमा छानबिन गर्न राज्यका स्थापित संरचनाहरू नै धेरै रहेको अवस्थामा थप अर्को आयोग नबनाइएको पनि उनले प्रस्ट्याइन् ।
‘हामीकहाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । केन्द्रीय अनुन्धान ब्यूरो छ । विगतमा ती निकायलाई प्रभावकारी रुपमा काम गर्न नदिइएको हुन सक्छ,’ दलीय प्रभाव परेको हुन सक्छ । हामी कुनै प्रकारको दबाब दिँदैनौँ । ती निकायले पूर्ण स्वतन्त्रताका साथ काम गरुन्। प्रभावकारी ढंगले चल्न सकून् । समानान्तररुपमा धेरै संरचना बनाएर मात्र पनि नतिजा आउने होइन । मूल कुरा काम गर्ने वातावरण दिनु अहिलेको आवश्यकता हो ।’
अहिले अख्तियारले पनि आफ्नो रफ्तार बढाइरहेको उनले बताइन् ।
‘तपाईंहरूले समाचारमा पढिरहनुभएकै होला । केही ठूला भ्रष्टाचारका विषय र प्रभावशाली व्यक्ति जोडिएका काण्डमा सम्बन्धित निकायहरूले कदम चालेका छन्,’ उनले भनिन् ।
सबै क्षेत्रको अति दलीयकरण हुँदा पनि मुलुकले प्रगति गर्न नसकेको टिप्पणी पनि उनले गरिन् ।
‘यहाँ किसानका नाममा पनि राजनीति भयो । किसानले मल पाउँदैनन् तर किसानको नेता देश–विदेश घुमिरहेको हुन्छ । मन्त्री–सांसद बनिरहेको हुन्छ। कार्यकर्ता अघिपछि लगाइरहेको हुन्छ । सहुलितको मल, बिउ, ऋणसमेत उसैले एकलौटी गरिरहेको हुन्छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अरु व्यवसाय गर्नेहरूका नाममा पनि राजनीति भयो । आफ्नो पेसा–व्यवसाय गर्न छाडेर नेतागिरी गर्दै हिँड्ने प्रवृत्ति नै बनेको रहेछ । भ्रष्टाचारको जड यहाँ पनि छ । यस्तो वातावरणमा कसरी देशले उन्नति गर्छ ?’
यस्तो अवस्था अन्त्यका लागि नै युवाले आवाज उठाएको बताउँदै उनले आउँदो चुनावमा युवालाई नै संसदमा पठाएर परिवर्तन संस्थागत गर्नुपर्ने धारणा राखिन् ।
प्रतिक्रिया 4