नेपाली कांग्रेसले डेढ महिना बढी समय लगाएर १५औं महाधिवेशनको मिति तय गरेको छ । पार्टी पुनर्गठन सहित चुनावमा जानुपर्ने मत एक पक्षले उठाउँदा अर्को पक्ष चुनाव अघि महाधिवेशन गर्नै नहुने पक्षमा रह्यो ।
चुनावअघि महाधिवेशन गरेर नयाँ नेतृत्व सहित चुनावमा जानुपर्ने विचार राख्ने नेताहरूको नेतृत्वकर्ता मध्ये महामन्त्री विश्वप्रकाश शर्मा एक थिए । नियमित हुन हुन नसके पार्टी विशेष महाधिवेशनमा प्रवेश गर्ने बताउँदै आएका महामन्त्री शर्मासँग कार्यतालिका कार्यान्वयन प्रति उठेको आशंका, आसन्न महाधिवेशन, पदीय आकांक्षा लगायतमा रहेर अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी :
डेढ महिना समय लगाएर नियमित महाधिवेशनको कार्यतालिका निकाल्नुभयो । महाधिवेशनका लागि अब समय डेढ महिना पनि छैन । कांग्रेसभित्र र बाहिर पनि यो छोटो अवधिमा महाधिवेशन कांग्रेसले गर्न सक्ला भन्ने संशय छ । तोकिएकै अवधिमा महाधिवेशन गर्न सक्नुहुन्छ ?
सकिन्छ । नसकिने कुरै छैन । विगतमा तीन महिनामा गरिएको उदाहरण पनि छ । आरामसँग समय लिएर चार महिना पाँच महिना लगाइएको उदाहरण पनि छ । त्यसबेला जुन गतिमा काम गरियो, त्यो भन्दा अहिले गति बढाउनुपर्छ । मुलुकको परिस्थिति नै त्यस्तो छ ।
छोटो समयमा मुलुकले रुपान्तरण खोजेको छ । दुई दिनमा जेनजीको प्रदर्शनले त्यत्रो ठूलो रुपान्तरणमा पुयार्यो । व्यवस्थित ढंगले संगठित ढंगले मेची महाकालीको सबै तहका साथीहरू गति बढाउनुभएको छ । सकिन्न भन्ने कोणबाट सोच्यौं भने सकिन्न ।
अंग्रेजीमा एउटा भनाई छ इफ यू थिंक यू क्यान, यु क्यान, इफ यू थिंक यु क्यान नट, यु क्यान नट’ भन्छ । यदि तिमी सक्छु भनेर सोच्छौ भने, तिमी सक्छौ । यदि तिमी सक्दिन भनेर सोच्छौ भने, तिमी सक्दैनौ । त्यसकारण सकिन्छ भन्ने कोणबाट लागेर भिडेर जानुपर्ने हाम्रो जिम्मेवारी छ ।
तर विगतको अवस्था हेर्ने हो भने महाधिवशेशनका लागि ६ महिना लामो कार्यतालिका निकाल्ने र पछि पटक-पटक संशोधन गर्ने प्रचलन थियो नि ? अहिले यति छोटो अवधिमा हुने आधार के हो ?
पहिलाको भन्दा फरक के छ भने, पहिला क्रियाशील सदस्यता नवीकरण गर्नको लागि जे जस्तो प्रकारको तरिका हुन्थ्यो, अहिले बदलिसक्यो । क्रियाशील सदस्यता यसपटक सजिलै नवीकरण हुन्छ ।
मृत्यु, कांग्रेस परित्याग, अनुशासनको कारबाहीमा परेका र कसैले नवीकरण गर्दिन भन्ने बाहेक नवीकरण हुन्छ । बैठक सकिएकै दिनमा ७७ जिल्लामा सर्कुलर पुगिसक्यो । केन्द्रीय कार्यालयबाट ७७ जिल्ला सभापति, सातै प्रदेशमा फोन सम्पर्क र सर्कुलर पछि बैठकहरू बस्न सुरु भइसके ।
दोस्रो कुरा, नयाँ लिनका लागि पनि पहिला हामीले कुनै वडामा ५० प्रतिशत दिने भन्थ्यौं । अहिले कुनै वडामा ५० प्रतिशत मात्रै हुन्छ त्यति नै हुन्छ । कुनै वडाले २०० प्रतिशतले लिन चाहन्छन् भने त्यो पाउँछन् । पहिला सदस्यता लिन सहज थिएन । अब खुला छ । नवीकरणमा अब कम समस्या हुने भयो । यो च्याप्टर सक्नु नै मुख्य कुरा हो ।
पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गरौं भनेर तपाईंले कार्यवाहक सभापतिलाई भन्नु भएको पनि थियो । त्यही अनुसारको प्रस्ताव अर्को महामन्त्री गगन थापाले केन्द्रीय समितिमा राख्नुभयो । डेढ महिना केन्द्रीय समिति लम्व्याउनुको कारण महाधिवेशनको मिति १० दिन पर सार्नुको लागि मात्रै भएको देखियो नि ?
यो प्रश्नको उत्तर चाहिँ मसँग ठ्याक्कै छैन । यही निर्णयमा पुग्नु थियो भने डेढ महिना अगाडि किन नगरेको भनेर सोध्ने प्रश्न मलाई भन्दा नि अरुलाई हो । तर, अरुलाई पनि म यो प्रश्न अब नगरौँ भन्छु ।
साथीहरूलाई आम निर्वाचन भन्दा अगाडि महाधिवेशन गर्दा त्यसले चुनावमा पार्टीलाई असर गर्छ भन्ने लाग्यो होला । जो नेताहरूले त्यो भन्नुभयो, उहाँहरूलाई विश्वासमा लिनको लागि डेढ महिना गयो । हामीलाई के लाग्यो भने चुनावमा जानु अगाडि नै नीति, नेतृत्वको सन्दर्भ यी सबै कुरा महाधिवेशन मार्फतबाट टुंग्याएर जानुपर्छ हामीलाई लाग्यो ।
हामीले लागेको कुरालाई बुझाउन, समन्वय गर्न,समय लाग्यो । त्यसैले तपाईंले भने जस्तो ढिलो भयो तर ढिलो भएपनि सर्वोत्तम कुरा के भयो भने सर्वसम्मत भयो । एकताबद्ध भएर निर्णय भयो । मेरो विमति थियो हुनुहुँदैन थियो भनेर कसैलाई छ भनेपनि उहाँहरू पनि जिम्मेवार भएर आउनुभयो ।
केन्द्रीय समितिबाट निर्णय गर्दा एउटा विषयमा भने निर्णय नगरी छोडेको देखियो । नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भयो भने पार्टी विशेष महाधिवेशनमा जान्छ ?
पहिलो कुरो कार्यतालिका कार्यान्वयन नहोला भन्ने कोणबाट म सोच्दिन । दोस्रोकुरा, कार्यतालिका जस्ताको त्यस्तै कार्यान्वयन हुनेछ भन्न म भन्दिन ।
कार्यतालिका कार्यान्वयनमा एक दुई वटा अप्ठ्यारा छन् । जिल्ला अधिवेशन जुन दिन सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट प्रदेश अधिवेशन भनेका छौं ।
जस्तो महोत्तरीको साथीलाई भोलिपल्ट जनकपुर पुगेर प्रदेश अधिवेशनमा भाग लिन कठिन हुँदैन । तर डोल्पाको साथीलाई प्रदेश अधिवेशन भाग लिन सुर्खेत आइपुग्न त समस्या हुन्छ ।
त्यसमा पनि जिल्ला अधिवेशनमा सर्वसम्मत भयो भने त ठिक छ । भएन र चुनाव भयो भने ? मतगणना गर्न समय लाग्छ । मतगणना पनि चाँडो सकेर रिजल्ट आयो भने त ठिक छ । मतगणनामा पनि ५० प्रतिशत कुनै उम्मेदवारले ल्याएनन् भने फेरि भोट गर्नुपर्ने हुन्छ ।
कम्तिमा पनि दुई देखि तीन दिनको समय अगाडि पछाडि तानेर बीचमा मिलाउनु पर्ने एउटा अवस्था छ ।
अर्को विकल्प के हुन सक्ने अवस्था हुनसक्छ भने संघीय निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन भन्दा अगाडि हुने प्रदेश निर्वाचन क्षेत्रीय अधिवेशनकोलाई कार्यतालिका हटाऔं । सात प्रदेशको अधिवेशनलाई पनि हटाउँ ।
यो दुइटा हटाउने हो भने अरु सबै कुरा मिलाउन सजिलो हुन्छ । केन्द्रीय महाधिवेशन गर्नलाई वडा, पालिका, संघीय क्षेत्र, जिल्लाको गरेर केन्द्रीय महाधिवेशन पनि गर्न मिल्यो । अहिलेलाई मैले यो ठ्याक्कै यस्तो हुन्छ भन्दा पनि सम्भावनाको कुरा हो ।
कार्यतालिका भित्र केही अव्यवहारिक कुराहरू छन् भन्ने भयो भने महाधिवेशनको मितिलाई असर नपर्ने संवादबाट समझदारी पूर्वक मिलाउँछौं ।
विशेष महाधिवेशनको मागका लागि भएको प्रस्ताव अनुसार त्यसको अवधि २८ पुसमा सकिन्छ । कुनै कारणवस नियमित महाधिवेशनको कार्यतालिका कार्यान्वयन नहुने अवस्था बन्यो भने विशेष महाधिवेशनमा पार्टी प्रवेश गर्छ ?
नियमित महाधिवेशन निर्णय गर्दैगर्दा त्यसले विशेष महाधिवेशन माग्ने साथीहरूलाई पनि कहिँ न कहिँ त्यसले सम्बोधन गरेको छ एक हदसम्म । विशेषमै जाऔं भनेर सभापतिलाई हाम्रो आग्रह थियो । तर सभापतिले आफैं के भन्न तिर लाग्नु भयो भने ‘म छोड्छु नै भनेको छ, छोड्न तयार छु ।’ केही नेताले विशेषको मागलाई फिर्ता गराएपछि मात्रै मिलाउने कि पनि भन्नुभयो ।
कतिपयले नियमितको कार्यतालिका ल्याएर यसो ठेलठाल गरेपछि विशेषको पनि समय गुज्रिन्छ भन्ने पनि लागेको होला । विशेषलाई सम्बोधन हुने गरी नै नियमित महाधिवेशन आएको हो । नियमित महाधिवेशन त्यसले विशेष महाधिवेशनको विषय आफैँ नै सकिइहाल्छ ।
शीर्ष तहका केही नेताले विशेषको औचित्य सकियो भन्नुभएको छ । कतिपयले केन्द्रीय समितिमा प्रस्तावका रूपमा विशेष नआएको भन्दै नेताहरूले नियमित हुन नसकेको अवस्थामा पनि विशेष हुँदैन भन्ने अभिव्यक्ति दिनुभएको छ । औचित्यता नभएको उहाँहरूको टिप्पणीप्रति तपाईं के भन्नुहुन्छ ?
बिल्कुलै त्यस्तो होइन । ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको यथार्थ हो । कार्यवाहक सभापतिले माग गरिएको प्रस्ताव केन्द्रीय कार्यालयले बुझिसकेपछि त्यो त एउटा एजेण्डा हो नि । केन्द्रीय समितिमा राखेको एजेन्डा मात्रै पास भएर जाने हो भने त पारित भएको महाधिवेशनको कार्यतालिका महामन्त्री गगन थापा र विश्वप्रकाश राखेको प्रस्ताव त होइन नि ।
गगनजीले आफ्नो धारणा कार्यतालिका प्रस्ताव गर्नुभयो । सहमहामन्त्री महेन्द्र यादवजीले अर्को प्रस्ताव धारणाको रूपमा राख्नुभएको थियो ।
त्यसकारण केन्द्रीय समितिभित्र लिखितम प्रस्तावको रूपमा गएको विषय मात्रै पारित हुन्छ भन्ने होइन । लिखितम प्रस्ताव गएको चिज चाहिँ सम्बोधन हुन्छ अरु हुँदैन भन्ने होइन ।
विधानले १७ (२) बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधि हस्ताक्षर गरेर बुझाएपछि बोलाउनुपर्छ भन्छ । केन्द्रीय समितिमा कसैले विशेष महाधिवेशन गर्नुपर्दछ भन्नुभयो । कसैले गर्नु हुँदैन भन्नुभयो । कसैले नियमित गर्नुपर्छ भन्नुभयो ।
विशेष महाधिवेशनको हस्ताक्षर गराउन दुई महामन्त्रीले अग्रसरता लिएको नेताहरूले भन्दै आउनुभएको छ । नियमित हुनै नसक्ने अवस्था आए तपाईंहरू विशेषतिर पार्टीलाई लानुहुन्छ ?
विशेष महाधिवेशनको माग गर्दा कतिपयले पार्टी फुट्छ भने । पार्टी कहाँ फुट्यो त? विधान अनुसार नै पार्टी फुट्ने भए त्यो दफा किन राखेको त ? विधानको सहि धाराले पार्टी फुटाउँदैन व्यक्तिको गलत पाराले पार्टी फुट्ने हो ।
विधानको सहि धारा कार्यान्वयन गर्दा पार्टी एकताबद्ध रहन्छ । त्यसकारण यसलाई अगुवाई गर्ने या नगर्ने भन्ने विषय अहिले जानुहुन्न । अहिले महामन्त्रीका रूपमा मेरो कर्तव्य भनेको नियमित महाधिवेशन गराउनेतिर हुन्छ ।
विशेष माग गरेर हस्ताक्षर गर्ने ५४ प्रतिशत साथीलाई पनि हस्ताक्षर नगरेर बस्ने ४६ प्रतिशत साथीलाई पनि गाँसेर जाने भन्ने कुरा मुख्य कुरा हो ।
नियमित महाधिवेशन हुन्छ । समयमा गर्न/ गराउन लाग्ने हो । एउटा लक्ष्यका लागि अगाडि गइसक्यौं भने यो साधनले लक्ष्यमा पुगिँदैन भनेर अर्को साधनतिर के गर्ने भनेर अलमलिनु हुँदैन । सिधा नियमित महाधिवेशन गर्छौ भनेर जाने हो । नियमित महाधिवेशन गर्न सक्दा विशेष महाधिवेशनको विषय आफैं नै निष्क्रिय हुन्छ ।
एउटा निर्णय नियत नै खराब राखेर आयो भनिएको छ । २६ पुसबाट महाधिवेशन गरेर नयाँ नेतृत्व आउँछ भने माघको अन्तिमसम्म वर्तमान समितिको किन अवधि बढाउनु भयो ?
२६ गते उद्घाटन, २७ गते बन्द सत्र, २८ गते नोमिनेसन भयो भने २९ गते मतदानको समय पुग्छ । डेलिगेट मिलाउँदा त्यो दिन मतदान नभएर माघ १ गते हुनुक्ला ।
केन्द्रीय समितिको बैठक बसेर माघ १ गते सम्म एक दिनलाई थप्ने भन्ने त हुँदैन नि । सात दिन थप्ने हो भने माघ भरि राख्दा पनि भयो भनेर थपिएको हो । एउटा कारण त्यसमा आशंका राख्नै हुँदैन ।
म्याद नथप्ने हो भने वैधानिकताको प्रश्न आउन सक्छ । निर्वाचन आयोग, संविधान, अदालत, कानुन सबै हेरेर निर्णय गर्नु पर्छ ।
नयाँ कार्यसमितिको मतगणना गर्न समय लाग्न सक्छ । अर्को कुरा, मानि लिउँ, फागुनमा हिमाली क्षेत्रमा हुने चिसो, जेलबाट भागेका कैदी, लुटिएका हतियार लगायतले फागुन २१ मा चुनाव हुन सकेन भने पुसको तालिकालाई माघ १६ गतेसम्म पुर्याउन पाउने भयौं नि । त्यसकारण माघ मसान्तसम्म राखिएको सहजताको लागि राखेको हो ।
फागुनमा जाडो भएर निर्वाचन हुन नसक्ने तर पुसमा भने कांग्रेसले हिमाली जिल्लाका अधिवेशन कसरी सक्छ ?
विगतमा पनि हामीले माघको पहिलो हप्तामा महाधिवेशन गरेका हौं । गाउँ–गाउँ, हमाल हिउँको बीचमा गएर प्रचार गर्नुपर्ने कुरा होइन । पार्टी कार्यकर्ता पंक्ति जुटिने कुरा हो नि । सदरमुकाममा एक ठाउँमा जुट्ने कुरा हो । तर आम निर्वाचन भनेको त सदरमुकाममा आएर हुँदैन नि ।
क्षेत्रीय अधिवेशन क्षेत्रको सदरमुकाममा होला । पालिकाको पालिकाको सदरमुकाममा होला । जिल्लाको जिल्ला सदरमुकाममा होला । सात प्रदेशको सातवटा प्रदेशको सदरमुकामतिर होला ।
पुनर्गठन भएको कांग्रेस सहित चुनावमा जाने तपाईंले भन्दै आउनु भएको छ । वर्तमान नेतृत्व लिएर चुनावमा जान सकिन्न पनि भन्दै आउनु भएको छ । चुनावअघि महाधिवेशन नहुने अवस्था बन्यो भने यही नेतृत्वसहित चुनावमा जान परे उम्मेदवार बन्नुहुन्न ?
यो कोणबाट अहिले नसोचौं । महाधिवेशन गराउँछौ । कांग्रेस पनि बदल्छौं । निर्वाचनमा जान्छौं ।
कांग्रेसलाई एउटा महाधिवेशन सकिनासाथ अर्को महाधिवेशन लागिहाल्छ । महाधिवेशन केन्द्रित समीकरण बन्छन् । नेताहरूको समूहमा अदलवदल हुन्छ । आसन्न महाधिवेशनमा तपाईंलाई कुन पदको उम्मेदवार देख्न पाइन्छ ?
जहिले पनि हाम्रो समाज, राजनीति र मिडियामा चासो के हुन्छ भने कुनै पनि दलको महाधिवेशनले तत्कालीन समाजको विषयवस्तुहरूलाई गहनतापूर्वक कत्तिको लिन्छ भन्ने कुरामा चासो कम राखिएको हुन्छ ।
गलत अभ्यासहरू गरिरहेका छौं । कांग्रेसको महाधिवेशन हुँदा होस् या अर्को दलको महाधिवेशन हुँदा होस् त्यो दलहरूले जेनजीको विद्रोहलाई कसरी हेर्छ ? त्यसका पछाडि वर्षौं देखिका असन्तुष्टि के छन् ?
३४ वर्षमा ३० वटा सरकार किन बने ? ३० वटा सरकार मध्ये कुनै एउटा सरकार हुँदा पनि किसानले ढुक्कले मल पाउने अवस्था किन भएन ?
सीडीओ कार्यालयमा गएको नागरिक अहिले पनि किन लाइनमा बस्नु परेको छ ? किन विश्वविद्यालय, राजदूतमासम्म पनि भाग बण्डा गर्ने संस्कृति चलिराखेको छ ?
किन भौतिक पूर्वाधार निर्माणको काम एकदम ढिलो भइरहेको छ ? किन पूँजीगत बजेट खर्च जहिले पनि माघ फागुन पुग्दै गर्दासम्म जम्मा २०–२५ प्रतिशत मात्रै हो? असारे विकासका रूपमा किन अन्धाधुन्द खर्च गरिन्छ ?
किन लहडका परियोजनाहरू बनाउन तिर लागिन्छ ? किन बजेटको विनियोजन गर्दै गर्दा खेरि केहि निश्चित क्षेत्रमा बढी गयो भन्ने खालको अवस्था हुन्छ ?
नागरिकको प्राथमिकता भन्दा अरू विषय किन प्राथमिकतामा पर्छन ? नेपालको सामाजिक मनोविज्ञानलाई कसरी विश्वासमा लिने ? विदेशमा रहेको नेपालीको धन मात्रै हैन मन पनि नेपालसँग कसरी गाँस्ने?यस्ता यावत विषयहरूमा प्रवेश गरेर पार्टीहरू जान जरुरी छ ।
२० वर्ष अगाडि हाम्रो नेतृत्वमा विद्रोह भयो । ६२–६३ को आन्दोलन भयो । देशलाई त्यो विद्रोहबाट गणतन्त्रमा लग्यो । २० वर्ष पुगिसक्दा अर्को विद्रोह भयो । अबको २० वर्ष पछि आज जेन्जीले विद्रोह गरेको जस्तो अल्फा जेनेरेसनले विद्रोह गर्दैन भन्ने अवस्था आउन कसरी नदिने ? यस्ता विषयमा अहिले प्रवेश गर्नुपर्छ ।
जहाँसम्म रह्यो विश्वप्रकाश शर्माको कुरा । म यहाँसम्म आइपुगे यो नै मेरो लागि पर्याप्त छ । मलाई यति पुग्यो भनेर भन्नुपर्यो भनेपनि मलाई गाह्रो छैन । जनताले विश्वास गरेर मत दिएर सांसद बनाई हाल्नुभयो ।
मन्त्री बन्ने आकांक्षा बिल्कुलै थिएन । त्यसपछि पार्टीको दुइटा टिमले होइन हुँदैन भन्दै गर्दा प्रतिनिधिहरूले महामन्त्री बनाउनुभयो ।
मैले यतिमै चित्त बुझाएर म सम्मानजनक पहिले गमन लिन्छु भन्दा पनि हुन्छ । तर साथीहरूको बीचमा संवाद हुँदा जम्मेवारी लिएर बस्नुपर्छ, अहिले तँ घर जाने बेला भएको छैन भन्नुभयो भने अगाडि जाने हो । कसरी जाने ? कुन जिम्मेवारीमा जाने ? भन्ने कुरा चाही सल्लाह र समझदारीबाट निश्चित गर्ने हो ।
अहिले तपाईंले सम्हालिरहेको पद कार्यकारी पद हो । उपसभापति कार्यकारी पद भएन । अघि बढ्न खोज्दै गर्दा कार्यकारी पदको सर्वोच्च पद सभापतिमा यसैपटक प्रतिस्पर्धा गर्ने सोचमा हुनुहुन्छ ?
पार्टीको प्रवक्ता भएको एक महिना पछि देखि नै मिडियाका साथीहरूले अहिले प्रवक्ता हुनुभयो अब तपाईं महामन्त्री हैन भन्नुहुन्थ्यो ।
प्रवक्ताकै रूपमा मलाई काम गर्न दिनुस्, यो जिम्मेवारी सकेसम्म राम्रोसँग निभाउने प्रयास गर्छु भन्ने गर्दथे । म भित्र भने महामन्त्री लड्नेमा क्लियर थिएँ । तर क्लियर भएपनि मुखले भन्दिन थिएँ । अहिले पनि म केही कुरामा क्लियर छु । अहिले नै भन्न अलि हतार हुन्छ ।
मैले सकेसम्म समन्वय गरेर उचित निर्णयमा पुर्याउनुपर्छ साथीहरू सबैलाई । त्यसकारणले मैले बोल्नु भन्दा सोच्नु पर्छ। र उपयुक्त निर्णयका लागि उपयुक्त चाहिँ दृष्टिकोण राख्नका लागि समय अलिकति परिपक्व बन्नुपर्छ ।
१५ औं महाधिवेशनले पुरानै शैली सहितको नेतृत्व भन्दा पृथक नेतृत्व आउनेमा कांग्रेससँग आम नागरिक विश्वस्त हुने आधार छ ?
कांग्रेसमा रुपान्तरण मुख्य जरुरी छ । पुस्तान्तरण सहितको रुपान्तरण हुन्छ । तर मानिलिउँ पुस्तान्तरण चाहिँ भयो तर रुपान्तरण भएन भने फेरि त्यो प्रश्न उठ्छ । तर रुपान्तरण प्रधान कुरा हो ।
नयाँ शैली अपनाउने नेतृत्व आउँछ । नयाँ हुन्छ र नयाँ हुनुपर्छ । हामीले हरेक कालखण्डमा नयाँ बनाउँदै प्रयास गर्यौ कांग्रेसलाई । २००७, ०१५, ०४६, ०६२–६३ कांग्रेस रुपान्तरण हुँदै आयो ।
अब अहिले आइपुग्दै गर्दा ०८२ ले सुशासनको कार्यभार छोडेको छ । २००७ सालले स्वतन्त्रता सुरु गरेर ल्याएको देशलाई अहिलेको जेन्जीले हामीलाई छोडेर गएको कार्यभार भनेको बोक्नुपर्छ । कार्यभार भनेको सुशासन हो ।
नेतृत्व निरन्तर बग्दो नदी जस्तो हुनुपर्छ । जमेको पोखरी जस्तो होइन । त्यसकारण त्यो बोक्न सक्ने, त्यसलाई बुझ्नसक्ने खालको नेतृत्व, त्यो खालको सम्भावनालाई लिएर जाने हो ।
अर्को कार्यशैलीमा रुपान्तरण हो । सहभागिता आफूभित्र बढाउने सन्दर्भको रुपान्तरण हो । सांसद, मन्त्री प्रधानमन्त्री बन्ने तर काम फेरि पनि उही, उस्तै लहड्का लडका योजना, पूँजीगत खर्च न्यून, उस्तै भ्रष्टचार भयो भने केही फरक भएन ।
त्यसले के गर्छ भने अबको अर्को दशक डेढ दशक पछाडि अल्फा जेनेरेसनलाई विद्रोहमा लिएर जान्छ । देशमा झन् घरघोर निराशा बनाएर लान्छ । झन् अहिलेको चाहिँ मुभमेन्टले दिएको चाहिँ सन्देश के हो भने सबै बदलियौं, बदलिएर जानुपर्छ ।
देशमा सुशासन स्थापित हुनुपर्छ । समुन्नतिको यात्रामा गति बढाएर जानुपर्छ । त्यो विषयलाई आत्मसात् नेपाली कांग्रेसले गरेको छ र गर्दछ ।
हामीले शासनमा रहँदै गर्दा जे कमि कमजोरी हामीबाट भयो होला । विनम्रतापूर्वक आत्माआलोचना गरेका छौं । जिम्मेवार दलले भन्छ कि हामीबाट गल्ती कमजोरी भएको नागरिकलाई लागेको अवस्थामा हाम्रो व्यवहार हाम्रो कर्मका कारण नागरिकको हृदय दुखेको छ भने हामी क्षमा चाहन्छौं भनेर भन्छौं ।
आफूलाई नयाँ समय अनुसारको नयाँ बनाएर जान्छ । नयाँ बनाउँदै जाँदा संसदीय लोकतान्त्रिक पद्धतिको बाटोबाट सामाजिक न्यायसहित उदार अर्थव्यवस्था बाटोबाट काममा गति बढाउने सुशासन दिने हो । डेलिभरी क्षमता बढाएर जाने हो । नेपाल देशलाई समुन्नत बनाउने हो ।
भिडियो/तस्वीरः आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4