+
+
Shares

पालुङटारमा अटो चलाउन रुट निर्धारण, भाडादर पनि तोकियो

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १९:४२
फाइल तस्वीर

१७ मंसिर, गोरखा । गोरखाको पालुङटार नगरपालिकामा तीन पाङ्ग्रे सवारी (अटो) सञ्चालनका लागि रुट निर्धारण भएको छ । आठ वटा स्थानबाट विभिन्न ठाउँमा जाने गरी पालिकाले रुट निर्धारण गरेको हो ।

पालिकाका अनुसार ठाँटीपोखरीबाट ओख्ले, धाराचौतारो, लुइँटेल, ग्राउण्ड प्रहरी विट र पौवाटारमा अटो सञ्चालन हुने छ । पौवाटारबाट सेरा, बिमलनगर र बिरुवाटार चल्ने छ । बिरुवाटारबाट फेदी जुडीखोला, रातमाटे, दुबार र नयाँपुल पुग्ने छ भने रातमाटेबाट बन्चरे दुबार नयाँपुल, अकला, सत्रसय, बिरुवाटार र मूलावारीसम्म अटो सञ्चालन हुने नगर प्रमुख विवश चिन्तनले बताए ।

सेराबाट पौवाटार र बिर्दी जाने उनले जानकारी दिए । ‘ढुङ्गेटारीबाट सेरा, सातदोवाटो, दश किलो र भट्टवेशीसम्म अटो चल्छ,’ उनले भने, ‘सातदोवाटोबाट पाउरोटी भण्डार, जोगी डिही, ढुङ्गेटारी, छेपेटार पुल र जोर्ती चौतारासम्म जाने गरी रुट निर्धारण गरेका छौ ।’ जोर्ती चौताराबाट वडा नम्वर १ को कार्यालय, बिमिरे र सातदोबाटोसम्म अटो चल्ने उनले बताए ।

भौगोलिक हिसावले सहज ठाउँलाई समेटेर रुट निर्धारण गरिएको उनको भनाइ छ ।

‘बढी उकालो र दुर्घटना जोखिम क्षेत्रमा रुट कायम गरेका छैनौ,’ उनले भने ।

अटो सञ्चालनका लागि पालिकाले कार्यविधि बनाएर सञ्चालन तथा व्यवस्थापन समिति पनि गठन गरिएको छ । भाडा निर्धारण समेत भइसकेको पालिकाले जनाएको छ ।

पालिकाका अनुसार पक्की सडकको हकमा तीन किलोमिटरसम्म प्रति व्यक्ति ३५ रुपैयाँ र त्यस पश्चात प्रति किमि १० रुपैयाँका दरले थप हुँदै जाने गरी भाडा तोकिएको छ । कच्ची सडकको हकमा भने तीन किमिसम्म ४५ रुपैयाँ र त्यो भन्दा बढी भएमा प्रति किमी १५ रुपैयाँका दरले भाडा थपिँदै जाने बताइएको छ ।

रुट इजाजतका लागि सूचीकृत गर्न भन्दै पालिकाले सूचना जारी गरेको छ । सूचीकृत हुन आएकाहरूलाई रुट पर्मिटका लागि पालिकाले यातायात कार्यालयमा सिफारिस गर्ने मेयर चिन्तनले बताए ।

‘रुट पर्मिट हामीले दिन मिल्दैन यातायात कार्यालयले दिने हो,’ उनले भने, ‘हामीले सूचीकृत हुन आएकाहरूलाई सिफारिस गरेर यातायात पठाउँछौं, त्यही आधारमा यातायातले रुट पर्मिट दिन्छ ।’

नगरभित्र कुल ५० वटा अटो सञ्चालन गर्ने लक्ष्य रहेको उनले जानकारी दिए ।

रुटका गाडी धेरै नचल्ने भएकाले पनि अटो आवश्यक रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?