१७ मंसिर, काठमाडौं । माओवादी प्रदेश संसदीय दलको नेताबाट आज बिहान मात्रै राजीनामा दिएका राजकुमार शर्मालाई प्रदेश सभा सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गरिएको जानकारी दिए ।
‘प्रदेशसभा सदस्यबाट समेत हटाउनका लागि केन्द्रीय समितिमा सिफारिस गर्ने आजको बैठकले निर्णय गरेको छ,’ उनले भने ।
शर्माले दिएको राजीनामा पनि स्वीकृत भइसकेको छ । संसदीय दलको बैठकले छिट्टै दलको नेता तोक्ने निर्णय गरेको छ ।
नेता शर्माले दलका सचेतक जिसीलाई सम्बोधन गरेर उनकै ह्वाट्स एपमा राजीनामा पठाएका थिए । उनले राजीनामा दिनको कारण भने खुलाएका छैनन् । ‘म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँद छु,’ शर्माले राजीनामा पत्रमा लेखेका छन् ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत हरेका शर्मा रुकुम पश्चिम (ख)बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी जनार्दन शर्माका भाइ नाता पर्छन् ।
पछिल्लो समय प्रचण्डको साथ छोडेका जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि उनले दलको नेताबाट राजीनामा दिएको माओवादीका एक सांसदले बताए ।
प्रतिक्रिया 4