+
+
WC Series
पोखरा एभेन्जर्स 2025
2/0 (0.3)
VS
११७ बलमा १९२ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares
टिप्पणी :

भोलेन्टियर फोर्स बनाएर कोसँग लड्ने ओलीजी? 

जेनजी विद्रोहपछि सत्ताच्युत ओलीले कुनै बेला माओवादीको प्रतिकार गर्दै शक्ति–सञ्चय गरेका थिए । यसपालि जेनजी नाति–नातिनाका रगतको टाटो सुक्न नपाउँदै उनले पुनः भोलेन्टियरको प्रतिकार मार्फत शक्तिमा फर्किन चाहेका छन् ।  

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०८२ मंसिर ५ गते १८:०१

५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पुगेको छ । शान्ति सम्झौताका कतिपय नसुल्झिएका मुद्दा यथावत् छन् । द्वन्द्वपीडितहरूमध्ये सबैभन्दा संवेदनशील युद्धका बलात्कार पीडित महिलाहरूले अहिलेसम्म पीडितको पहिचान समेत पाएका छैनन् । उनीहरूको असाध्यै कष्टप्रद र पीडादायी जीवन पढ्न थाल्नुभयो भने तपाईं आफैं अभिघातमा फस्ने अवस्था छ । 

संयोग नै भनौं १९ वर्षपछिको सोही मितिमा आज शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माइतीघरबाट नेशनल भोलेन्टियर फोर्स घोषणा गरेका छन् । 

यो एमालेकै निर्णय हो कि ओली समूहको ? स्पष्ट भन्न मुस्किल छ किनकि बिहीबार राति बसेको सचिवालय बैठकमा अधिकांश सचिवालय सदस्यले यसले देशलाई नयाँ द्वन्द्वमा लैजाने भन्दै विरोध गरेको समाचार बाहिरिएको छ ।  

यसअघि पनि ओलीले पटक–पटक सुरक्षा दस्ता बनाउने र प्रहरीको समेत सुरक्षा गर्ने बताइसकेका छन् । सुव्यवस्था खल्बल्याउन नभई कायम गर्न फोर्स गठन गरेको जतिसुकै जिकिर गरे पनि यसअघि पटक–पटक प्रधानमन्त्री बनिसकेका ओलीको बोली–व्यवहारले विधिको शासनमाथि चुनौती दिएको छ । 

प्रतिकारबाटै शक्ति–सञ्चय

त्यसो त, लडभिड र प्रतिकार ओलीको विशेषता नै हो । १५ जेठ २०८२ मा राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा जनआन्दोलन सुरु गर्ने घोषणा गरेको थियो । 

त्यसबेला प्रधानमन्त्री रहेका ओलीले एमालेको प्रशिक्षणमा निर्देशन दिंदै भने, ‘जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ ।’

विश्लेषकहरूले प्रधानमन्त्रीले प्रतिकारको राजनीतिक संस्कृतिलाई प्रोत्साहन गर्दा संस्थागत शासन र लोकतन्त्रमा क्षति पुग्ने टिप्पणी गरेका थिए । तर, ओलीले आफू कसैको सल्लाह सुझाव सुन्नुपर्ने, मान्नुपर्ने मान्छे नै होइन जस्तो गर्दै आए । 

जुनसुकै बहाना देखाएर भए पनि संसदीय लोकतन्त्रमा सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनेको थियो । यो निर्णयको साक्षी एमालेका पनि दोस्रो-तेस्रो पुस्ताका नेताहरूसँगै गगन-विश्वप्रकाश लगायत पनि भए । प्रतिपक्ष कमजोर बन्यो । आक्रोश, निराशा प्रस्फुटन हुन सकेन । समाजको गर्भमुनि असन्तुष्टिको लाभा उम्लिन थाल्यो । 

टाढा क्षितिजसम्म पनि आशा र परिवर्तनको कुनै संकेत थिएन । ओली शासन बेहोरिरहेका नागरिकका लागि विकल्पमा आउनेवाला थिए, शेरबहादुर देउवा । 

सँगै, २०८१ को अन्तिमतिरैबाट मिसन २०८४ को नारा लाग्न थालिसकेको थियो । 

सामान्य अवस्था रहेमा २०८४ को चुनावबाट को आउने ? फेरि ओली र देउवाहरू । दाहाल र नेपाल/खनालहरू । नागरिकलाई अत्यास लगाउन यिनै दुई चार अपरिवर्तनीय जस्ता लाग्ने अनुहारहरु काफी थिए ।

यही अत्यासलाग्दो निराशाको बीचमा सरकारले सामाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाइदियो । समाज थुप्रिएको असन्तुष्टि र आक्रोशको लाभा विस्फोट हुने कमजोर जमिन फेला पर्‍यो । र, भयो जेनजी विद्रोह । 

भदौ २३ र २४ को उक्त विद्रोहले दलभित्र निकम्मा बनेको प्रश्नविहीन दोस्रो पुस्ता र त्यही बाटोमा अग्रसर तेस्रो पुस्तालाई पनि बाहिर राखेर जेनजी अर्थात् हाम्रो सन्दर्भमा चौथो पुस्ताले विद्रोहको नेतृत्व गर्‍यो ।

विद्रोहपछि सत्ताच्युत भएका ओलीले सेनाको संरक्षणमा ज्यान जोगाए । माओवादीको प्रतिकार गर्दै शक्ति–सञ्चय गरेका उनले जनताको विद्रोहबाट सत्ताच्युत भएपछि सेनाको शरणमा बसेर ज्यान जोगाउने संसदीय प्रधानमन्त्री बनेर इतिहास रचे । 

विद्रोहको रापताप सेलाउँदै गएपछि, आफ्नै हठले सडकमा बगेको नाति–नातिनाको रगतको टाटो सुक्न नपाउँदै, घाइतेका घाउ निको नहुँदै उनले पुनः प्रतिकार राजनीतिको नयाँ संस्करण सुरु गरेका छन् ।   

उल्टो समय : हजुरबा-नातिनीको फरक अवतार 

सिमरा घटनालाई संकेत गर्दै बुधबार ओलीले भने, ‘पहिले जेनजी भन्ने, आगो लगाउने तोडफोड गर्ने लुटपाट गर्ने आतंककारीहरूलाई नियन्त्रण गर ।’  

आक्रोशित देखिएका ओलीले भने, ‘पछि हट्ने होइन, भिड्ने हो, दिने हो (पिट्ने इशारा गर्दै)।’  

यही घटनामा जेनजी अगुवा रक्षा बमको सार्वजनिक अपिल फरक छ । ‘अहिले संयम अपनाउनुपर्ने समय हो । देशको भलो नचाहने तत्त्वहरू हामीसँग मुठभेड गर्न, हामीलाई अत्याउन, हौस्याउन र हामीलाई आवेगमा ल्याउन चाहन्छन् । तर हामीले त्यसो गर्नुहुँदैन’ उनी भन्छिन्, ‘हामी जो र जस्तो प्रवृत्तिसँग लड्दैछौं, हामी त्यस्तै बन्नुहुँदैन। अहिलेको समयमा संयम र धैर्य नै हाम्रो शक्ति हो।’

उनी थप्छिन्, ‘साथीहरू, हामीले बुझ्नैपर्छ, विद्रोहपछि विवेक महत्त्वपूर्ण छ । यो रणनीतिक समय हो । हामी उनीहरूको रणनीतिको सिकार बन्नुहुँदैन।’

सबैले मानेको कुरा हो – सामान्यतः युवा पुस्तासँग जोस (आवेग) हुन्छ र वृद्धसँग होस (विवेक) ।’ तर, अहिले नेपाली राजनीतिको रङ्गमञ्चमा यो सामाजिक मान्यता नराम्ररी भत्किएको छ। हामी एक यस्तो ऐतिहासिक विरोधाभासको साक्षी बनिरहेका छौं, जहाँ हजुरबा पुस्ताको ‘शासकीय अहंकार’ सडकमा मुठभेड खोजिरहेको छ भने नाति/नातिना पुस्ताको ‘विद्रोही चेत’ संयम र विवेकको पाठ पढाइरहेको छ।

यस्तो लाग्छ, ‘हजुरबा’ प्रवृत्ति अन्तिम बर्बराहटमा छ ।  

पार्टी कार्यकर्ताको एउटा हिस्साले बा भनी बोलाउने गरेका केपी ओली उमेर र अनुभवले ‘राजनेता’ को भूमिकामा हुनुपर्ने हो, उनी आज आन्दोलनकारी जेनजीलाई ‘आतंककारी’ र नयाँ पुस्ताको विद्रोहलाई प्रतिगमनको संज्ञा दिंदै छन्। सार्वजनिक रूपमा ‘पछि हट्ने होइन, भिड्ने हो, दिने हो’ भन्दै हिंसाको सांकेतिक आह्वान गर्नु केवल आवेग मात्र होइन, यो ‘हेजेमोनिक एन्जाइटी’ अर्थात् आफ्नो शक्ति गुम्ने डरले सिर्जना गरेको मनोवैज्ञानिक त्रासको प्रतिफल हो । 

राजनीतिशास्त्रको सामान्य नियम हो- जब शासकले तर्क र विवेक गुमाउँछ, उसले भय र बलको सहारा लिन्छ। हजुरबा पुस्ताको यो आक्रोशले अनुभवको परिपक्वता होइन, बरू समयको पदचाप बुझ्न नसकेको ‘जडसूत्रवादी दम्भ’ अभिव्यक्त गरिरहेका छन् । 

उता, एउटै घटना र उही समयमा जेनजी विद्रोहकी एक अगुवा रक्षा बमको प्रतिक्रिया हेरौं । 

सामान्यतः रक्षाको पुस्ताबाट आवेगको अपेक्षा गरिन्थ्यो, तर यहाँ रक्षा एक दार्शनिक योद्धाको रूपमा प्रस्तुत भएकी छिन्। उनलाई फ्रेडरिक नित्सेको एउटा शक्तिशाली भनाइले डोर्‍याएको हुनसक्छ । उनले आफ्नो कृति वियोन्ड गुड एण्ड इभिलमा भनेका छन्, ‘विध्वंसकारी (राक्षस) सँग लड्नेले आफैं राक्षस बनिन्छ कि भनेर ख्याल गर्नुपर्छ ।’ 

रक्षा भन्छिन्, ‘हामी जो र जस्तो प्रवृत्तिसँग लड्दैछौं, त्यस्तै बन्नुहुँदैन।’

तत्काल सत्ताच्युत भए पनि ओली यो देशका शासकका प्रमुख प्रतिनिधि हुन् । युद्ध रणनीतिको सामान्य नियम हो- शासकले सधैं प्रदर्शनकारीलाई उत्तेजित बनाएर हिंसामा धकेल्न चाहन्छन् ताकि दमन गर्न सजिलो होस् ।’ 

रक्षा बम पुस्ताको ‘संयम नै शक्ति हो’ भन्ने उद्घोषले ओलीको रणनीतिक पासो (स्ट्राटेजिक ट्र्याप) लाई तोडिदिएको छ । 

यस्तो लाग्छ- ओली र रक्षाको यी अभिव्यक्तिको भिन्नता दुई युग बीचको दार्शनिक द्वन्द्व हो । एकातिर, अनुभवी वृद्ध पुस्ता उत्तेजना र हिंसाको भाषा बोल्दै आफ्नो नैतिक धरातल गुमाउँदैछ । अर्कोतिर, सडकमा उत्रिएको नयाँ पुस्ता आवेगमाथि विजय प्राप्त गर्दै विवेक र रणनीतिक धैर्यको कवच लगाएर नैतिक शक्ति आर्जन गरिरहेको छ  ।  

नयाँ पुस्तामा विद्रोहपछि विवेक महत्त्वपूर्ण हुन्छ भन्ने देखिनु नै नेपाली राजनीतिको पुनर्जागरणको संकेत हो। कुनै बेला यो चेत प्रचण्डसँग थिएन र उनी नयाँ संविधान बनाउने मतादेश कुल्चिएर विद्रोहद्वारा सत्ता कब्जामा लाग्दा न सत्ता पाए, न फेरि जनमत । बरू मरीच चाउरिए जस्तै चाउरिंदै गए । अहिले केटाकेटी जस्तै टालाटुली बटुली, कति राम्री पुतलीको खेल खेल्दै रमाइरहेका छन् । उमेर ढल्कँदै गएपछि मानिस फेरि एकपटक बच्चा हुन्छ भन्छन् । सायद त्यही भएको होला ।

ओलीले ‘आतंककारी’ भनेका नयाँ पुस्ता ‘बुद्ध’ को भाषा बोलिरहेछन् तर  ‘संरक्षक’ भनिएका अभिभावक पुस्ता ‘युद्ध’ को भाषा बोलिरहेका छन् । राजनेताबाट आफूलाई प्रतिकार समितिको अध्यक्षमा झारिरहेका छन् । 

मन लागे पनि, नलागे पनि यसको सन्देश हामीले स्वीकार्नै पर्छ – अब सत्ताको पुरानो संरचना ढल्दैछ र नयाँ चेतनाको उदय हुँदैछ । सायद यही हो समयको शक्ति र भाषा । नुबझ्नेहरू सच्चिन्नन् र त सक्किन्छन् ।  

रक्षाको पुस्ताले दिइरहेको शक्तिशाली सन्देश हो – राजनीति (क्रान्ति) भनेको तोडफोड र प्रतिकार मात्र होइन, यो त चरित्र र चेतनाको उचाइ पनि हो ।   

कोसँग लड्ने ओलीजी ? 

जेनजी विद्रोहबाट नचेतेका ओली पछिल्लो पटक मधेशमा लिएको निर्णयबाट पनि चेतेनन् । 

मधेशमा छापामार शैलीमा मुख्यमन्त्री नियुक्त गर्दा प्रदेश प्रमुख र सभामुख दुवै पद गुमायो । मुख्यमन्त्री आफैं अदालतको कठघरामा पुगेका छन् । कांग्रेससँग अचाक्ली कृतघ्न देखिएको एमालेसँग गठबन्धन मात्र टुटेन, सातदलीय गठबन्धन बन्दा एमाले एक्लिएको छ । 

यो त देखिने परिणाम हुन् । पार्टीलाई पुगेको रणनीतिक क्षति त कति हो कति । 

मधेशको मुख्यमन्त्री प्रकरणको परकम्प बाँकी रहँदै ओलीको प्रतिकारको निर्देशन पालना गरेर स्थानीय जेनजी अगुवालाई एमालेका स्थानीय नेतृत्वले कुटपिट गर्दा सिमरामा हिंसा भड्किएको छ । 

सिमरा त एउटा प्रतिनिधि घटना हो । समाजलाई अराजकता र भिडन्ततिर लैजान खुल्लमखुला आह्वान गर्ने हो भने प्रतिकारको कारखानाबाट यस्ता धेरै सिमरा घटनाहरू देशभरि देखिन सक्नेछन् ।

ओलीलाई पक्कै थाहा छ- प्लेटोले व्याख्या गरेको मोबोक्रेसी अर्थात् भिडतन्त्रको सिद्धान्त । हिजो नेपाल बंगलादेश हुन्छ भनेर उक्साउनेहरूको पनि घर जल्यो । भोलि भिडतन्त्र चर्काइरहँदा कुनै भिडले ओली स्वयंलाई पनि नचिन्न सक्छ । 

सधैं शरण दिन सेना तयार नहुन पनि सक्छ । 

ओलीको यो कदमलाई लोकले के भन्छ, पछिको कुरा । बिहीबार बसेको बैठकमा एमालेका ६ सचिवालय सदस्यले त नेशनल भोलेन्टियर फोर्सको औचित्यमाथि प्रश्न उठाइसकेका छन् । 

उनीहरूले  गुण्डु सुरक्षाको नाममा पार्टीभित्र चलाइएको चन्दा अभियानको पनि विरोध गरेका छन् । यो चन्दा अभियान फैलिंदै देश-विदेशका श्रमिक-व्यवसायी नेपालीसम्म पुग्नेनै छ । एनजीओ-आईएनजीको विशाल नेटवर्क पनि पार्टीभित्र छँदैछ । 

आखिर यी सबै किन ? केका लागि ? 

भर्खरै सम्पन्न एमालेको केन्द्रीय समिति बैठकमा एक केन्द्रीय सदस्यले अध्यक्ष ओलीलाई सोधिरहेका थिए- कमरेड ! हिजो हामी पञ्चसँग लड्यौं, राजासँग लड्यौं, नवउपनिवेशी भारतसँग, साम्राज्यवादी भन्ने गरिएको अमेरिकासँग लड्यौं । उग्रवामपन्थी भनेर माओवादीसँग लड्यौं । अब लड्ने कोसँग हो ? यो भोलेन्टियर फोर्स (प्रतिकार समिति) को विरुद्ध लड्न ?’

एउटा प्रश्न यो पंक्तिकारलाई पनि थप्न मन लाग्यो- यो प्रतिकार समिति कोसँग लड्न हो कमरेड ओली, नाति–नातिनासँग कि उनीहरूको चेतनासँग ? 

लेखक
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?