+
+
Shares

वाइफाई सिक्स प्रविधिमा आधारित ‘सिक्स-जी’ इन्टरनेट सेवा प्रदान गर्दै वर्ल्डलिंक

वर्ल्डलिंक सीईओ केशव नेपालले वाइफाई प्रविधिको नयाँ पुस्ता ‘वाइफाई सिक्स’ मा आधारित इन्टरनेट सेवा सञ्चालनमा ल्याएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १७ गते १३:३२
केशव नेपाल, सीईओ, वर्ल्डलिंक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वर्ल्डलिंकले वाइफाई सिक्स प्रविधिमा आधारित सिक्स-जी इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ।
  • सिक्स-जी सेवा ५ सय एमबीपीएसको मासिक १ हजार ३ सय ३४ रुपैयाँमा उपलब्ध छ र ४० प्रतिशत बढी कभरेज दिन्छ।
  • कम्पनीले नयाँ राउटर न्यून लागतमा उपलब्ध गराउने र एक वर्षभित्र २ लाख राउटर विस्तार गर्ने लक्ष्य राखेको छ।

१६ मंसिर, काठमाडौं । मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले ‘सिक्स-जी’ इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ ।

‘फाइभ-जी’ इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ल्डलिंकले वाइफाई सिक्समा आधारित प्रविधि ल्याएको हो ।

वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव नेपालले वाइफाई प्रविधिको नयाँ पुस्ता ‘वाइफाई सिक्स’ मा आधारित इन्टरनेट सेवा सञ्चालनमा ल्याएको बताए ।

कम्पनीले नयाँ सेवालाई ‘सिक्स-जी इन्टरनेट’ नाम दिएको छ । सिक्स-जी नाम मोबाइल नेटवर्कको ‘सिक्स-जी’ नभई वाइफाई सिक्स प्रविधिको सहज बुझाइका लागि गरिएको ‘मार्केटिङ टर्म’ हो ।

सिक्स-जी अहिलेभन्दा ४० प्रतिशत बढी कभरेज हुने, ७५ प्रतिशत कम ‘लेटेन्सी’, चार गुणा बढी फास्ट रहेको कम्पनीले जनाएको छ ।

सिक्स-जी सेवा ५ सय एमबीपीएसको मासिक १ हजार ३ सय ३४ रुपैयाँमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

यो सबै उपकरणमा छिटो गति, फराकिलो कभरेज र निर्वाध कार्यसम्पादनका लागि डिजाइन गरिएको वर्ल्डलिंक सीईओ नेपालको भनाइ छ । बलियो सिग्नल, कम ढिलाइ रहेको यो सेवाले दैनिक कार्य सहज र सरल हुने कम्पनीको अपेक्षा छ ।

नेपाली उपभोक्तामा टु-जी, फाइभ-जी जस्ता शब्दसँग घुलमिल भएको प्रविधिलाई सहज रूपमा बुझाउनका लागि नयाँ सेवालाई सिक्स-जी नाम दिइएको कम्पनीले जनाएको छ ।

‘यो वास्तविक सिक्स–जी मोबाइल सेवा होइन, वाइफाई सिक्स मेल खाने नाम भएकाले यसलाई बजारमै सजिलोसँग बुझाउन सिक्स-जी भनिएको हो,’ सीईओ नेपालले भने ।

वर्ल्डलिंकले सार्वजनिक गरेको यो सेवा ५ गिगाहर्ज फ्रिक्वेन्सीमै सञ्चालन हुन्छ । तर, वाइफाई सिक्स प्रविधिले एउटै राउटर मार्फत धेरै प्रयोगकर्ता एकै समयमा जडान हुँदा पनि गति नघट्ने र कभरेज पनि पहिलाभन्दा टाढासम्म पुग्ने कम्पनीको दाबी छ ।

‘अघिल्लो पुस्ताको राउटरमा सबै युजर एउटै बाटो प्रयोग गर्थे, अब भने प्रत्येक युजरलाई छुट्टै च्यानल दिन सक्ने क्षमता हुन्छ,’ उनले भने, ‘यसले भिड भएका घर वा अफिसमा ठूलो फरक पार्छ ।’

कम्पनीले सिक्स-जी सेवासँगै ४ सय, ५ सय र ६ सय एमबीपीएसका इन्टरनेट प्याकेज राखेको छ । पुराना ग्राहकले पनि आफ्नो सेवा सिक्स-जीमा अपग्रेड गर्न सक्नेछन् । त्यसका लागि प्याकेज परिवर्तन गर्नुपर्ने र नयाँ राउटर जडान गर्नुपर्ने छ ।

‘ग्राहकलाई महँगो राउटर किन्नु नपरोस् भनेर न्यून लागतमा नयाँ राउटर उपलब्ध गराइन्छ,’ नेपालले भने । उनका अनुसार कम्पनीले एक वर्षभित्र कम्तीमा २ लाख राउटर विस्तार गर्ने लक्ष्य राखेको छ ।

वाइफाई सिक्स ‘डब्लूएपी-३’ अग्रिम १९२ बिट्स सुरक्षा प्रोटोकलद्वारा सक्षम गरिएको कम्पनीले जनाएको छ । यसले वाइफाई नेटवर्कलाई घुसपैठ तथा पासपोर्ट ह्याक हुनबाट रोक्ने छ ।

यसमा प्रयोग हुने डब्लूएपी-३ सुरक्षा प्रणाली पुरानो डब्लूएपी-२ भन्दा सुरक्षित रहेको र पासवर्ड ह्याक हुन नदिने कम्पनीको दाबी छ । देशभरि करिब १० लाख ७५ हजार ग्राहक भएको वर्ल्डलिंकले ग्रामीण क्षेत्रमा समेत सेवा विस्तार गरिरहेको जनाएको छ ।

वाइफाई सिक्स विश्व बजारमा सात वर्षअघि नै लोकप्रिय भइसके पनि नेपालमा अहिलेमात्र डिभाइस सपोर्ट र उपभोक्ता आवश्यकता बढेकाले नयाँ सेवा ल्याइएको सीईओ नेपालको भनाइ छ ।

कम्पनीले आगामी दिनमा सेवा थप प्रभावकारी बनाउने लक्ष्य लिएको छ । तीव्र बजारमा प्रतिस्पर्धालाई सकारात्मक लिँदै वर्ल्डलिंक कसरी राम्रो दिन सकिन्छ भन्नेमा केन्द्रित छ ।

‘अब हामी गुणस्तरमै केन्द्रित भइरहेका छौं, नेपालमा जहाँसम्म फाइबर टु द होम जानुपर्ने हो, त्यो ठाउँसम्म पुगिसक्यो,’ उनले भने, ‘गाउँ-गाउँमा पुगेको छ, गाउँदेखि सदरमुकाम लगभग सबै पुगिसक्यो, त्यसकारण गुणस्तरमै बढी केन्द्रित हुन्छौं ।’

ग्रामीण क्षेत्रमा फाइबरभन्दा मोबाइल फिक्स्ड वायरलेस टेक्नोलोजी राम्रो हुने उनको भनाइ छ । सरकारले अनुमति दिएको खण्डमा यस्तो खालको प्रविधि विकास गर्न सकिने सीईओ नेपालको भनाइ छ ।

‘मोबाइलको फिक्स्ड वायरलेस गाउँका लागि ठिक हो, त्यो उत्कृष्ट प्रविधि हो,’ उनले भने, ‘टाढासम्म फाइबर तानेर साध्य हुँदैन,  फाइबरमा विभिन्न खालका समस्या आउँछ, त्यसले इन्टरनेट सेवा अवरुद्ध हुन्छ, त्यसका लागि वायरलेस सही प्रविधि हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?