+
+
WC Series
पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
कर्णाली याक्स 2025
0/0
Shares

कांग्रेसको सदस्य बन्न अब लचिलो प्रावधान

गत महाधिवेशनमा शतप्रतिशत क्रियाशील सदस्यता थप गरेको कांग्रेसले आगामी महाधिवेशनका लागि भने प्रतिशत संख्या नतोकी बढीभन्दा बढी नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

केशव सावद केशव सावद
२०८२ मंसिर १६ गते १७:३१
सदस्यता व्यवस्थापन समितिका सदस्यहरू : गगन थापा, योगेन्द्र चौधरी, सिता गुरुङ र प्रकाश स्नेही रसाइली ।

१६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सात तह (वडादेखि केन्द्रसम्म) मा विस्तारित कार्यसमितिहरूमा रहन पार्टीको क्रियाशील सदस्यता अनिवार्य मानिन्छ ।

क्रियाशील सदस्यहरूबाटै कांग्रेसले महाधिवेशन प्रतिनिधिहरू छनोट हुन्छन् । नेतृत्व चयनका निम्ति महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्छन् ।

कांग्रेसको यही क्रियाशील सदस्यता वितरणका कारण हरेक महाधिवेशनअघि आन्तरिक विवाद निम्तिँदै आएको छ । विशेषगरी १२ औं महाधिवेशनदेखि सुरु भएको क्रियाशील सदस्यता विवाद १५ औं महाधिवेशन नजिकिँदासम्म सुल्झिन सकेको छैन ।

क्रियाशील सदस्यता विवादमा संख्याका हिसाबले चारवटा महाधिवेशन तनावयुक्त भएको देखिए पनि कांग्रेसमा सतहमै देखिनेगरी यो विवाद चुलिएको डेढ दशकभन्दा बढी समय भइसकेको छ ।

वि.सं. २०६७ असोज पहिलो साता सम्पन्न महाधिवेशन अघि नै यो मामिला चर्किएको थियो । त्यतिखेर विवादकै कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता नै वितरण गर्न सकेको थिएन । महाधिवेशनमार्फत् नयाँ नेतृत्व चयनका लागि पुरानै क्रियाशील सदस्यलाई मताधिकार दिइएको थियो ।

तत्कालीन समयमा विवाद बढेपछि सभापतिमा निर्वाचित सुशील कोइरालालगायत नेताहरूले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका थिए । तर, उक्त विवादलाई थाती राखेर कांग्रेसले पछिल्ला महाधिवेशनअघि नयाँ क्रियाशील सदस्यहरूको संख्या बढाइरहेको छ ।

कांग्रेसले १४ औं महाधिवेशनमा सय प्रतिशत नयाँ क्रियाशील सदस्यता बढाउने निर्णय गरेको थियो । १३ औं महाधिवेशन हुँदा कांग्रेसमा चार लाख ९८ हजार ४७६ क्रियाशील सदस्य थिए ।

१४ औं महाधिवेशनमा शतप्रतिशत बढाउने क्रममा क्रियाशील सदस्यको संख्या आठ लाख ७० हजार ८८४ पुगेको थियो ।

गत महाधिवेशनमा शतप्रतिशत क्रियाशील सदस्यता थपेको कांग्रेसले आगामी महाधिवेशनका लागि भने प्रतिशत संख्या नतोकी बढीभन्दा बढी नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको क्रियाशील सदस्यता लिन चाहे विधानबमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रुपमा सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड सम्बन्धमा गरिएको निर्णयमा भनिएको छ, ‘कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट वञ्चित नगर्ने ।’

यसअघि विधानमा ‘कुनै पनि इच्छुक व्यक्तिले सदस्यता लिन पाउने’ लेखेको कांग्रेस नयाँ क्रियाशील सदस्यता वितरणमा भने व्यवहारत: लागू नगर्ने, नियन्त्रण गर्ने, प्रतिशत संख्या तोक्ने गर्दै आएको थियो । जसका कारण महाधिवेशन अघि कांग्रेसमा जहिल्यै नयाँ क्रियाशील सदस्यता वितरणमा विवाद सिर्जना हुँदै आएको थियो ।

कांग्रेस महामन्त्री थापा नयाँ क्रियाशील सदस्यताका लागि प्रतिशत संख्या नतोक्ने निर्णय पार्टीको परम्परा खण्डितका लागि निर्णायक हुने बताउँछन् ।

‘नेपाली कांग्रेसमा अब क्रियाशील सदस्यताको सन्दर्भमा हामीले संख्या तोकेनौं । उसले लामो समयदेखि कांग्रेसमा रहेको सदस्यता नियन्त्रण गर्ने, आफूअनुकूल बनाउने अभ्यास खण्डित गर्ने, तोड्ने कुरामा निर्णायक जस्तो हुन्छ,’ उनले भने ।

बैठकको निर्णयअनुसार प्रतिनिधिसभाको क्षेत्रलाई केन्द्रले १४ औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको सामान्यतया शतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम उपलब्ध गराउने भएको छ ।

‘यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकताअनुसार थप माग भएबमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने’ निर्णयमा भनिएको छ ।

नयाँ क्रियाशील सदस्यता वितरणमा कांग्रेसले वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेशी, खस आर्य, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गताको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिने पनि निर्णय गरेको छ ।

केन्द्रीय कार्यसमितिको निर्णयअनुसार नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिएर वितरण गर्नुपर्ने र समाजमा विभिन्न पेशागत वुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने छ ।

कांग्रेसले सदस्यहरूको संख्या वृद्धिका लागि निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न भएका व्यक्तिहरू, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तर्क्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक र अन्य रचनात्मक कार्यक्रममा सक्रियतापूर्वक सहभागी भएका र पार्टी वा भ्रातृ संगठनको माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रियलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक प्रबन्ध गर्ने भएको छ ।

राष्ट्रिय मान्यता प्राप्त अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रुपमा पार्टीको क्रियाशील सदस्यता उपलब्ध गराउने कांग्रेसको लक्ष्य छ ।

नयाँ क्रियाशील वितरणको कार्यतालिका

कांग्रेसले बढीभन्दा बढी व्यक्तिलाई नयाँ क्रियाशील सदस्यता वितरण गर्ने उद्देश्यका साथ कार्यतालिका नै बनाएको छ । केन्द्रीय कार्यसमिति बैठकबाट पारित भएको कार्यतालिकाअनुसार २० मंसिरभित्र केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण गरिने छ ।

प्रतिनिधिसभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधि २४ मंसिरसम्म निर्धारण गरिएको छ ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले ८ पुसभित्र नयाँ क्रियाशील सदस्यताको काम सम्पन्न गरिसक्नुपर्ने निर्णय कांग्रेसले गरेको छ ।

पारित कार्यतालिकाअनुसार एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरेर १० पुसभित्र केन्द्रमा पठाउने अवधि तोकिएको छ ।

यस्तै दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरेर ११ पुसभित्र जिल्ला र केन्द्रमा पठाउने अवधि तोकिएको छ ।

कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणका लागि जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरीउपर छानबिन गरी निर्णय गर्ने र निर्णयअनुसारको सूची प्रकाशित गरेर केन्द्रमा पठाउनेपर्ने अवधि १२ पुससम्म तोकेको छ ।

१४ पुसभित्र प्रारम्भिक छानबिन समितिले गरेको निर्णयउपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबनि समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरणसम्बन्धी परेका उजुरीउपर अन्तिम निर्णय गरी सदस्यताको नयाँ र नवीकरणको अनितम सूची तयार गरेर केन्द्रीय सभापति/कार्यवाकह सभापतिलाई बुझाउने अवधि निर्धारण भएको छ ।

केन्द्रीय कार्यालयले केन्द्रीय सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अन्तिम अवधि १४ पुस तोकिएको छ ।

दुई प्रकारका कांग्रेस सदस्य

कांग्रेसको विधानमा पार्टीभित्र दुई किसिमको सदस्यताको व्यवस्था छ । पहिलो – कांग्रेस सदस्य र दोस्रो– कांग्रेस क्रियाशील सदस्य । सामान्यतया कांग्रेसले १८ वर्ष पूरा भएको, पार्टीको आदर्श, उद्देश्य, नीति र विधानमा आस्था भएको र प्रचलित कानुनले राजनीतिक दलको सदस्य हुन अयोग्य नठहरिएकालाई पहिलो प्रकृतिको सदस्यता दिने गरेको छ ।

पहिलो प्रकृतिको सदस्यता अर्थात् ‘नेपाली कांग्रेसको सदस्य’ का रूपमा सदस्यता लिएको एक वर्ष भइसकेपछि क्रियाशील सदस्यता लिन योग्य मानिन्छ ।

कांग्रेस विधानको धारा ४ मा लेखिएको छ, ‘नेपाली कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि क्रियाशील सदस्यता प्राप्तिका लागि तोकिए बमोजिमको आवेदन फारम भरी आफ्नो सदस्यता भएको पार्टी वडा कार्यसमिति कार्यालयमार्फत् तोकिएबमोजिमको शुल्कसहित आवेदन गर्न सक्नेछ ।’

यसअघि विधानमा जेसुकै लेखे पनि कांग्रेसभित्रको गुट–उपगुटका कारण क्रियाशील सदस्य बन्न नपाएको गुनासो बढ्दै गएको थियो । अर्कातिर क्रियाशील सदस्य नै बन्न नदिने प्रवृत्ति देखिँदै आएको थियो ।

यस्तै, कांग्रेसमा क्रियाशील सदस्यता लिइसकेका सदस्यहरूको सदस्यता नवीकरणमा पनि विभन्न तहका कार्यसमितिहरूले ढिलाइ गर्ने प्रवृत्ति पनि देखिँदै आएको छ ।

कांग्रेसमा क्रियाशील सदस्यता कसरी नवीकरण हुन्छ ?

कांग्रेसको सदस्यता नवीकरण गर्न चाहने सदस्यले प्रत्येक वर्ष आफू सदस्य रहेको वडा कार्यसमितिमा नवीकरणका लागि तोकिए बमोजिमको आवेदन दिनुपर्ने र वडा कार्यसमितिले सदस्यता नवीकरण गर्ने विधानको धारा ६ मा ‘नेपाली कांग्रेसको सदस्यता नवीकरण गर्ने कार्यविधि’ अन्तर्गत व्यवस्था छ ।

कांग्रेसको विधानको धारा ७ (क) अनुसार क्रियाशील सदस्यले प्रत्येक वर्ष क्रियाशील सदस्यता नवीकरण गर्नुपर्छ । त्यसका लागि क्रियाशील सदस्यले वडा कार्यसमितिमा तोकिएबमोजिमको आवेदन दिनुपर्छ ।

क्रियाशील सदस्यता नवीकरण गर्न चाहने कांग्रेस कार्यकर्ताले नवीकरण गर्दा योग्यता पुगेको प्रमाणसहित आफैँ वडा कार्यसमितिको कार्यालयमा उपस्थित भएर आवेदन दिनुपर्ने विधानमा उल्लेख छ ।

वडा कार्यसमितिले योग्यता पुगेको क्रियाशील सदस्यको सदस्यता नवीकरण गर्न फारम प्राप्त भएको दुई हप्ताभित्र गाउँपालिका/नगरपालिका कार्यसमितिमा सिफारिस गरी पठाउनुपर्ने वैधानिक व्यवस्था छ ।

त्यसपछि गाउँपालिका/नगरपालिका कार्यसमितिले प्राप्त नवीकरणसम्बन्धी सबै आवेदनमा आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा, प्रदेशसभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले आफ्नो रायसहितको विवरण दुई हप्ताभित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्छ ।

जिल्ला कार्यसमितिले मातहत कार्यसमितिका सिफारिस र रायसमेतको आधारमा आवेदनमाथि बढीमा एक महिनाभित्र निर्णय गरेर आवेदक र मातहतका सिफारिस गर्ने सबै निकायलाई निर्णयको जानकारी गराउनुपर्ने कांग्रेसमा व्यवस्था छ ।

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रदेश सभा क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा पठाउने विधानमा भनिएको छ ।

विभिन्न तहका कार्यसमितिले राय व्यक्त गर्दा क्रियाशील सदस्यता नवीकरणका लागि विधानबमोजिम योग्यता पुगे/नपुगेको हेर्नुका साथै पछिल्लो स्थानीय तह, प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनमा आवेदकको भूमिका र अन्य जिम्मेवारी पूरा गरे/नगरेको समेत हेर्ने गर्छन् ।

जसका लागि आवश्यक परे विभिन्न तहका निर्वाचनका उम्मेदवारको राय पनि लिनसक्ने व्यवस्था कांग्रेसको विधानमा उल्लेख छ ।

क्रियाशील सदस्यताको कार्यविधि

कांग्रेस विधानको धारा ५ (क) अनुसार वडा कार्यसमितिले नियमित रूपमा क्रियाशील सदस्यता सिफारिस गरी गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउनुपर्छ ।

वडा कार्यसमितिले वडा कार्यसमितिको बैठक गरी वडा भित्रका क्रियाशील सदस्यसमेत आमन्त्रण गरेर क्रियाशील सदस्यता दिनुपर्ने व्यक्तिको नाम कार्यसमितिको बैठकबाट निर्णय गरी रायसाथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउँछ ।

वडा कार्यसमितिले नियमित रूपमा योग्यता पुगेका क्रियाशील सदस्यको नाम सिफारिस नगरे गाउँपालिका/नगरपालिका कार्यसमितिले आफू मातहतका वडा कार्यसमितिसँग क्रियाशील सदस्यता दिनुपर्ने कांग्रेसका सदस्यको नामावली माग्ने अधिकार विधानले दिएको छ ।

गाउँपालिका/नगरपालिका कार्यसमितिले नाम प्राप्त भएको दुई हप्ताभित्र बैठक गरी सिफारिश भएर आएका व्यक्ति विधानबमोजिम क्रियाशील सदस्यता पाउन योग्य भए वडा कार्यसमितिलाई क्रियाशील सदस्यताको फारम उपलब्ध गराउँछ ।

वडा कार्यसमितिले सम्बन्धित व्यक्तिलाई फारम प्राप्त भएको दुई हप्ताभित्र फारम भर्न लगाई सिफारिस साथ गाउँपालिका/नगरपालिका कार्यसमितिमा पठाउँछ ।

गाउँपालिका/नगरपालिका कार्यसमितिले बैठक गरी क्रियाशील सदस्यताका लागि प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिलाई विवरणको जानकारी गराई दुई हप्ताभित्र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नुपर्ने हुन्छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सिफारिस प्राप्त भएको बढीमा एक महिनाभित्र प्राप्त सिफारिसमा योग्यता पुगेका व्यक्तिलाई कार्यसमितिको बैठकबाट निर्णय गरी क्रियाशील सदस्यताको निर्णय गर्नुपर्ने विधानमा व्यवस्था छ ।

प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले सदस्यताको सम्पूर्ण विवरण राखी मातहतका निकायलाई राख्न लगाउने र जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिमा पठाउँछ ।

कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय भएको सदस्यलाई केन्द्रीय सभापति, प्रदेश सभापति र जिल्ला सभापतिको हस्ताक्षर भएको ‘नेपाली कांग्रेसको क्रियाशील सदस्यता’ को प्रमाण पत्र दिने गरिएको छ ।

लेखक
केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?