+
+
WC Series
लुम्बिनी लायन्स 2025
0/0
VS
चितवन राइनोज 2025
10/1 (1.3)
Shares
विचार :

जेनजी विद्रोहपछिको नेपाललाई न्युयोर्क र बिहार चुनावको सन्देश

‘नेपालको पुरानो राजनीतिक वर्ग ब्युँझनेछ ? वा उनीहरूलाई जेनजीपछिको राजनीतिक विद्रोहले बगाउनेछ ?’ यो प्रश्नको छिनोफानो आगामी चुनावले गर्नेछ। किनकि युवाले व्यवस्था परिवर्तन होइन, भइरहेको व्यवस्था इमानका साथ कार्यान्वयन गर्न माग गरिरहेका छन्।

डा. खिमलाल देवकोटा- डा. खिमलाल देवकोटा-
२०८२ मंसिर ४ गते १४:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • न्युयोर्क र बिहारको चुनावले देखाएको छ कि युवा मतदाताहरूले पुराना राजनीतिक नेताहरूलाई अस्वीकार गर्दै नयाँ परिवर्तनको माग गरिरहेका छन्।
  • नेपालको आगामी फागुन २१ को निर्वाचनमा 'खालि कुर्सी केन्द्रित' गठबन्धनको राजनीति निषेधित हुने र स्पष्ट एजेन्डा भएका नेताहरूको मात्र सफलता हुने अपेक्षा गरिएको छ।
  • सामाजिक सञ्जालको प्रभावले नेपालको राजनीतिमा डिजिटल प्लेटफर्ममार्फत विचार निर्माण र राजनीतिक प्रतिष्ठा निर्धारण गर्ने भूमिका बढेको छ।

जेनजी आन्दोलनपछिको नेपाली राजनीति, विशेषतः फागुन २१ को घोषित चुनावका सन्दर्भमा, एक प्रकारको आक्रामक भाष्य सिर्जना भएको छ। त्यो हो- आफूलाई लोकतन्त्रका स्वघोषित संरक्षक दाबी गर्नेहरू वास्तवमा शक्ति बाँडफाँड र सत्ताका सम्झौताहरूमा मात्र लिप्त देखिएका छन्। उनीहरू देश र जनताका अधिकारका लागि नभई आफ्नै स्वार्थका लागि लडेका हुन् भन्ने कुरा पुष्टि भइसकेको छ।

नयाँ पुस्ताको भाषामा भन्दा– ‘ती नेता होइनन्, बरु भावनात्मक भाषण गरेर पटक-पटक वाचा दोहोर्‍याउने खलनायकहरू हुन्। उनीहरूलाई लाग्छ कि आफ्ना जेलनेल, हिरासत वा क्रान्तिका बासी अनुभवले अब पनि जनतालाई भ्रमित गर्न सकिन्छ, तर नयाँ पुस्ताले कसैलाई पनि छोड्नेवाला छैन।’

यस्तै भाष्य सहित विकसित भएको परिवेश बीच नेपाल चुनावतर्फ अघि बढिरहेको छ। अर्कोतर्फ, यसको प्रति-भाष्यका रूपमा जबर्जस्ती स्थापित गर्न खोजिंदैछ – ‘जेनजी कुनै दल वा समूह होइन, यो त केवल एउटा उमेर समूह हो। यो समूह असंगठित छ, भिसाको प्रतीक्षामा रहेको छ, घरबाट आमाले पठाइदिएको पैसाले किनिदिएको बाइक चढेर हुलदंगामा मिसिएको छ। यिनीहरूले जे विध्वंस मच्चाउनु थियो मच्चाइसके, अब धेरै फुर्ती गर्न पर्दैन।’

अझ अघि बढेर यस्तो आरोप पनि लगाइँदैछ– ‘जेनजीका नाममा वितण्डा मच्चाउनेहरू फ्रि-तिब्बतदेखि राजावादी र देशी-विदेशी प्रतिक्रियावादीहरूसम्मले ध्वंसको आगोमा रोटी सेक्ने काम गरे।’

जेनजी आन्दोलनको आधार खडा गरिदिने दलहरू र जेनजीको भोटिङबाट बनेको सरकारलाई दलाई लामाको बधाई सन्देश आएको प्रसंग जोडेर माथिल्लो तर्कलाई पुष्टि गर्ने प्रयास गरिंदैछ।

यस प्रकारको आरोप-प्रत्यारोपको पृष्ठभूमिमा हामीले निर्वाचनको सामना गर्नुपर्नेछ। नेपालमा फागुन २१ को निर्वाचन घोषणा भएपश्चात् अमेरिकाको न्युयोर्क र भारतको बिहारमा निर्वाचन सम्पन्न भएका छन्। ती निर्वाचनले दिने सन्देश र नेपालमा पार्ने प्रभावका बारेमा चर्चा गर्नु नै यो लेखको मुख्य आशय हो।

बिहार र न्युयोर्क चुनावी प्रभाव

विश्लेषकहरूका दृष्टिमा, यदि नेपालको वृद्ध राजनीतिक अभिजात वर्गले– ‘भावनात्मक भाषण, दोहोर्‍याइरहने वाचा र क्रान्तिकारी विरासतका कथाहरूले नागरिकलाई सधैंभरि भ्रमित गर्न सकिन्छ’ भन्ने सोचिरहेको छ। भर्खरै सम्पन्न न्युयोर्क र बिहारका चुनावी नतिजाहरूले दिने सन्देशहरूमाथि भने सबैले एकपटक घोत्लिनुपर्नेछ।

यी दुई ठाउँहरू भूगोल, संस्कृति वा राजनीतिक प्रणालीमा धेरै भिन्न छन् तर पनि, तिनीहरूले दिएको सन्देशमा समानता छ। त्यो हो: एक क्रोधित युवा र विगतबाट आजित पुस्ता अब भोलिको भविष्य निर्धारण गर्ने जिम्मा फेरि उनै पुराना र हिजोका नेताहरूलाई दिन राजी छैन।

न्युयोर्क र बिहारको चुनावी सन्देशलाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ:

१.’नो भोट बैंक’

युवाहरू अब प्रतीकात्मक रूपमा कसैका पनि ‘पेड भोट बैंक’ होइनन्, बरु तिनीहरू राजनीतिमा आउँदै गरेको परिवर्तनका सुनामी हुन्। नवउदारवादी मुलुक अमेरिकाको मुख्य शहर न्युयोर्कमा युवा मतदाता, अल्पसंख्यक र परिवर्तनकारी जमातले ‘सोसल डेमोक्र्याट’ रुझानका उम्मेदवारलाई जिताउँदा परम्परावादी र ऐय्यासी राजनीतिक मठाधीशहरू पाखा लागे।

उता बिहारमा, पहिलो पटक मतदाताहरू र विदेशबाट फर्केका आप्रवासीहरूले जातीय चुनावी समीकरणलाई उल्ट्याइदिए।

नेपालका युवाहरू विगतको राजनीतिप्रति अझ बढी आक्रोशित, निराश र मोहभंग भएका छन् भन्ने कुरा भदौ २३ र २४ को घटनाक्रमले पुष्टि गरिसकेको छ। यो पुस्ता कामको खोजीका लागि सके राम्रो कमाइ हुने विकसित मुलुकमा, नसके खाडीमा पसिना बगाउन बाध्य छ। उनीहरूको जोश, जाँगर र सीप देशभित्रै उपयोग गर्ने वातावरण सिर्जना गर्न असफल हुनु पुरानो पुस्ताको राजनीतिक नेतृत्वको कमजोरी हो भन्ने उनीहरूको सिधा आरोप छ।

नेपालका युवाहरू विगतको राजनीतिप्रति अझ बढी आक्रोशित, निराश र मोहभंग भएका छन् भन्ने कुरा भदौ २३ र २४ को घटनाक्रमले पुष्टि गरिसकेको छ।

इन्टरनेट युगमा जन्मेका यी पुस्ता टिकटक, युट्युब, डिस्कर्ड र पोडकास्टहरूमा विश्वव्यापी राजनीतिक सामग्री प्राप्त गर्ने, सेयर गर्ने र उपभोग गर्ने पुस्ता हुन्। तिनीहरूसँग पुराना राजनीतिक ब्रान्डहरूप्रति (आफ्नै परिवारका सदस्य, बाबु-आमा वा दाइ लागेकै भए पनि) कुनै भावनात्मक लगाव छैन।

सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरू पुरानो नेतृत्वलाई निकृष्ट र ‘सिनेमाको भिलेन’ का रूपमा चित्रित गर्छन् र अरूलाई पनि त्यही चश्माबाट हेर्न दुरुत्साहन गर्छन्। यो पुस्ताको निष्कर्ष छ– पुराना नेताहरूको कर्मले आफ्नो पुस्ताको मान, अपेक्षा र मर्यादाको रक्षा सम्भव छैन; तिनीहरूका हातबाट भविष्य सुरक्षित छैन र तिनीहरूले युवालाई अवसर प्रदान गर्न सक्दैनन्।

बिहार चुनाव: एनडीए गडबन्धनलाई दुई तिहाई बढी सिट - नेपाल लाइभ :: नेपाल लाइभ  :: Nepal Live - Independent Digital Media

जब जीवन व्यवहारमा यी कुराको सम्बोधन हुँदैन, तब ‘लोकतन्त्र वा गणतन्त्र कसले ल्यायो’ वा ‘कुन आन्दोलनको नेतृत्व कसले गर्‍यो’ भन्ने तर्कहरूले कुनै अर्थ राख्दैन भन्ने उनीहरूको बुझाइ छ। यसको सोझो प्रभाव नेपालको राजनीति र चुनावमा पर्ने निश्चित छ।

२. संस्थापन विरोधी आन्दोलन

संस्थापन विरोधी भावना अब ‘लहर’ मात्र रहेन, यो एक आन्दोलन बनिसकेको छ। नेपालका परम्परागत राजनीतिक दलका नेताहरूले बालेन शाह, हर्क साम्पाङ र गोपाल हमाल जस्ता स्वतन्त्र उम्मेदवारहरूको उदय वा राष्ट्रिय स्वतन्त्र पार्टीको तीव्र वृद्धिलाई ‘अस्थायी भावनात्मक विस्फोट’ भनेर नजरअन्दाज गर्ने गम्भीर गल्ती गरे। वास्तवमा, यी नेपाली राजनीतिमा आउन लागेका आधारभूत परिवर्तनका प्रारम्भिक संकेतहरू थिए।

राजनीतिक अभिजात वर्गको अहंकार, दम्भ र घमण्ड, सिंहदरबारदेखि स्थानीय सरकारसम्म फैलिएको भ्रष्टाचार, कुर्सीप्रतिको अनन्त सौदाबाजी तथा जवाफदेहिताको पूर्ण अभावबाट जनता थाकेका छन्।

न्युयोर्कले रिपब्लिकन वा डेमोक्र्याट जोसुकै भए पनि संस्थापन पक्षको आत्मसन्तुष्टिलाई ‘सोसल डेमोक्र्याट’ को रोजाइ मार्फत दण्डित गर्‍यो। बिहारले वास्तविक मुद्दाहरूलाई बेवास्ता गरेकोमा परम्परागत राजनीतिक द्वारपालहरूलाई दण्डित गर्‍यो। नेपाल पनि मर्यादा, आशा वा स्थिरता प्रदान गर्न असफल भएको सम्पूर्ण राजनीतिक वृद्ध पुस्तालाई दण्डित गर्न उद्यत छ भन्ने कुरा बुझ्न जरूरी छ।

३. कुर्सी केन्द्रित गठबन्धन निषेध

तेस्रो र उत्तिकै शक्तिशाली पाठ यो हो कि– सिद्धान्त र एजेन्डा विनाको ‘खालि कुर्सी केन्द्रित’ गठबन्धनको राजनीति अब निषेधित छ। न्युयोर्क र बिहार दुवैले यो कुरा परिणामबाटै पुष्टि गरेर देखाइदिए।

राजनीतिक गठबन्धनहरू एक नाफाखोर उद्योग बनेका छन्, जहाँ मन्त्री वा मन्त्रालयहरू बेचिन्छन् र अवैध लेनदेन मार्फत नेतृत्व तथा विभिन्न पदहरू लिलामी गरिन्छन् भन्ने कुरा जेनजीको दिमागमा नराम्ररी गडेको छ।

नेपाल पनि मर्यादा, आशा वा स्थिरता प्रदान गर्न असफल भएको सम्पूर्ण राजनीतिक वृद्ध पुस्तालाई दण्डित गर्न उद्यत छ भन्ने कुरा बुझ्न जरूरी छ।

जेनजी आन्दोलनको जागरणले मतदाताहरू यस्ता चालबाजीभन्दा धेरै परिपक्व भइसकेका छन्। अब ‘राष्ट्रिय एकता’ को नाममा लुकेका बहुरंगी सत्ता साझेदारी वा कुर्सी बाँडफाँडका खेलहरूबाट कोही मनोरञ्जित हुनेवाला छैन।

स्पष्ट एजेन्डा, स्पष्ट प्रतिबद्धता र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्ने नेता नै उनीहरूको रोजाइ हो। उपभोगवाद, लेनदेन र अवसरवादमा निर्मित गठबन्धनहरू चुनावमा ‘सार्वजनिक निराशा’ का रूपमा पतन हुनेछन् भन्ने न्युयोर्क र बिहारको चुनावको स्पष्ट सन्देश हो।

४. विकाससँग जोडिएको पहिचान

पहिचानको राजनीति पनि नाटकीय रूपमा ओझेल पर्ने वा परिमार्जन सहितको रूपान्तरणबाट गुज्रिरहेको छ। न्युयोर्क र बिहारमा पहिचान महत्त्वपूर्ण रहँदारहँदै पनि, उदीयमान पुस्ताले विकाससँग पहिचानलाई जोड्न चाहेको छ। विकास, प्रगति र समृद्धि विनाको पहिचान खोक्रो हुन्छ भन्ने उनीहरूको सन्देश हो। नेपालले यो सन्देशलाई ग्रहण गर्नुपर्दछ।

जनजाति, मधेशी, दलित, महिला, सीमान्तकृत र अल्पसंख्यक युवाहरू अब प्रतीकात्मक प्रतिनिधित्व वा अस्थायी तुष्टीकरणबाट सन्तुष्ट छैनन्। तिनीहरू सम्मान, अवसरहरूमा पहुँच र दैनिक जीवनमा आउने वास्तविक सुधार सहितको प्रतिनिधित्व अपेक्षा गर्छन्।

जब पहिचानको राजनीतिले काम गर्न असफल हुन्छ, यो सशक्तीकरणको स्रोतको सट्टा अपमान बन्छ। नेपालका परम्परागत पहिचानका नेताहरूलाई अब नारा वा र्‍याई-र्‍याई गर्ने गीतले होइन, प्रगतिको माग गर्ने आफ्नै निर्वाचन क्षेत्रहरूद्वारा चुनौती दिइँदैछ।

५. सामाजिक सञ्जालको शक्ति

अर्को शक्तिशाली पाठ सामाजिक सञ्जालको प्रभाव हो। न्युयोर्क र बिहारमा पनि राजनीतिक प्रभाव माइक्रोफोनको तुलनामा स्मार्टफोन मार्फत छिटो फैलियो। डिजिटल सक्रियताले परम्परागत र्‍यालीहरूभन्दा प्रभावकारी र उत्कृष्ट सन्देशहरू सम्प्रेषण गर्‍यो।

यद्यपि, नेपालको राजनीति र त्यसमा पनि पुरानो पुस्ता अझै पुरातन विधिहरूमा टाँसिएको छ। घण्टौं लामा भाषण, प्रेस सम्मेलन र भाडामा ल्याइएका वा जबर्जस्ती उपस्थित गराइएका सहभागीहरूले भरिएका सभाहरूमा रमाउने प्रवृत्ति कायम छ।

फेसबुक, इन्स्टाग्राम वा टिकटक जस्ता सामाजिक सञ्जालले ‘रियल टाइम’ विचार निर्माण र सम्प्रेषण गर्छन्; युट्युब अन्तर्वार्ताहरूले राजनीतिक विश्वसनीयतालाई पुनः परिभाषित गर्छन् र रातारात राजनीतिक प्रतिष्ठालाई ध्वस्त पार्न सक्छन् भन्ने बुझ्न जरूरी छ।

तर; फेसबुक, इन्स्टाग्राम वा टिकटक जस्ता सामाजिक सञ्जालले ‘रियल टाइम’ विचार निर्माण र सम्प्रेषण गर्छन्; युट्युब अन्तर्वार्ताहरूले राजनीतिक विश्वसनीयतालाई पुनः परिभाषित गर्छन् र रातारात राजनीतिक प्रतिष्ठालाई ध्वस्त पार्न सक्छन् भन्ने बुझ्न जरूरी छ। राजनीतिक नेताको भाग्य अब पार्टीका पत्रपत्रिकाहरूले होइन, डिजिटल आँधीबेहरीबाट बच्न सक्ने क्षमताले निर्धारण गर्छ। चुनाव सडकमा होइन, स्मार्टफोन वा डिजिटल डिभाइसका पर्दामा लडिंदैछ र जितिंदैछ।

६. दागरहित उम्मेदवार

नेपालका राजनीतिक दलहरूका लागि अर्को चेतावनी भनेको दागरहित, कुनै काण्डमा नमुछिएको र स्वच्छ छवि भएका स्थानीय नेताहरूको उदय हो। न्युयोर्क र बिहार दुवैमा, निष्ठा भएका तर तुलनात्मक रूपमा अज्ञात व्यक्तित्वहरूले स्थापित राजनीतिक नेताहरूलाई पराजित गरे। नेपालमा यो लहर यसअघि नै देखिइसकेको छ।

स्वतन्त्र र दागरहित कुशल स्थानीय नेतृत्वहरूको विजयले यो पुष्टि गरिसकेको छ कि– उनीहरूको जित कुनै विचारधाराका कारणले होइन, बरु जनतासँगको सम्बन्ध वा जनताको ‘पर्सेप्सन’ का कारण प्राप्त विश्वासले भएको हो।

बिहारमा मोदी-नीतिश गठबन्धनको बलियो अनुमोदन, के हो मतदाताले दिएको सन्देश ? –  Online Khabar

सन्देश निर्दयी तर स्पष्ट छ– २० वर्षदेखि भाषणबाहेक केही नगर्ने राष्ट्रिय नेताभन्दा आफ्नो वडामा भ्रष्टाचार रोक्ने नेताले विश्वास जित्नेछ र चुनाव पनि जित्नेछ। सभा, र्‍याली र जुलुसले वंशवादलाई स्थापित गरे पनि जनतासँगको सम्बन्ध र जनसेवाले अब वंशवादलाई प्रतिस्थापन गर्दैछ।

७. आप्रवासी प्रभाव

विदेशमा रहेका नागरिकको मताधिकारका बारेमा चर्चा छ। फरक-फरक तथ्यांक भए पनि २० देखि ३० लाख मतदाता देश बाहिर छन्। तिनको मनोविज्ञान भिन्न छ। तिनलाई मतदानको अधिकार दिन सके राजनीतिको चित्र बदलिने निश्चित छ। मताधिकार नदिंदा पनि तिनको प्रभाव अनुमानयोग्य छ। तसर्थ, आप्रवासी र शहरी मतदाताहरूको बढ्दो प्रभावलाई नेपाली राजनीतिले बुझ्नुपर्छ।

बिहारमा आप्रवासी कामदार र युवा शहरवासीहरूले परम्परागत राजनीतिक विश्वासलाई अस्वीकार गरे। नेपालमा यसको प्रभाव झन् ठूलो छ। विदेशमा रहेका लाखौं युवाले राजनीतिलाई निराशा र अविश्वासको कारकका रूपमा हेर्छन्। उनीहरूले ‘विदेश जान बाध्य पार्ने कारण नै राजनीति हो’ भन्ने भाष्य बनाएका छन्। आफ्नै नेताका कारण विदेशिन बाध्य भएको त्यो आक्रोश र विद्रोह उनीहरू चुनावमा प्रयोग गर्न चाहन्छन्।

विश्व बैंकको तथ्यांक अनुसार कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान ३३ प्रतिशत हुनुले राष्ट्रिय अर्थतन्त्र धान्न यसको महत्त्व स्पष्ट पार्छ। तिनीहरूका परिवार यहाँ मतदान गर्छन् र तिनीहरूको सन्देश दैनिक सञ्चार मार्फत घर-घरमा पुग्छ।

ग्रामीण क्षेत्रबाट बसाइँ सरेका शहरियाहरू, जसमध्ये धेरैजसो बढ्दो महँगी, घरभाडा, बेरोजगारी र सार्वजनिक सेवामा हुने अन्यायबाट पीडित छन्। बेचैनीको यो संयोजनले नेपालको चुनावी परिणामलाई प्रभावित गर्नेछ।

महिलाहरूको भूमिका पनि सशक्त छ। न्युयोर्क र बिहारका महिलाहरूले स्वतन्त्र र साहसपूर्वक मतदान गरेर परिणाममा बदलाव ल्याए। नेपालमा पनि यही प्रवृत्ति बढ्दैछ। थुप्रै उपलब्धिका बाबजुद अझै पनि विभेद, महिला हिंसा र बलात्कारबाट महिलाहरू पीडित छन्; यसलाई उनीहरूले सामन्ती पितृसत्ताको प्रताडनाका रूपमा बुझेका छन्।

Zohran Mamdani leads general election poll for NYC mayor - POLITICO

उनीहरू व्यवहारमा मुक्ति चाहन्छन्, तर राजनीतिक नेतृत्व केवल नारामा रमेको छ, जसबाट उनीहरू वाक्क-दिक्क भइसकेका छन्। सार्थक समाधान, मर्यादा, सुरक्षा र आर्थिक अवसर उनीहरूको चाहना हो।

सम्मान र परिणाम नदिने, केवल वाचा गर्ने नेताहरूलाई अस्वीकार गर्न उनीहरू तयार छन्। नेपालको चुनाव अब ‘विगत’ र ‘भविष्य’ को बीचमा एक जनमतसंग्रहका रूपमा हुनेवाला छ।

अन्त्यमा

न्युयोर्कको प्रगतिशील रुझान र बिहारको विकास केन्द्रित विद्रोहले राजनीतिमा स्थापित ‘वरिष्ठ’ हरूको युग समाप्त भएको संकेत गर्छ। नेपाल त्यही रूपान्तरणको सँघारमा उभिएको छ। यो चुनाव विचारधारा, भूगोल र जातीयताका बीचमा हुनेछैन; यो अस्तित्व, महत्त्वाकांक्षा र युवा पुस्ताको दशाका बीचमा हुनेछ।

युवाहरूले अर्को दशक खेर फाल्न सक्दैनन् भन्ने निश्चित छ। महिलाहरू स्वतन्त्रतातर्फ हिंडिरहेका छन्, आप्रवासीहरू र विद्रोहका लागि तयार शहरी जनता राजनीतिक शक्तिलाई नयाँ आकार दिने डिजिटल प्लेटफर्महरूतर्फ डोरिएका छन्।

अबको चुनाव– ‘नेपालको पुरानो राजनीतिक वर्ग ब्युँझनेछ? वा उनीहरूलाई जेनजीपछिको राजनीतिक विद्रोहले बगाउनेछ?’ भन्ने छनोटको पनि चुनाव हुनेछ। किनभने यस पटक, युवाहरूले व्यवस्था परिवर्तनको माग गरिरहेका छैनन्, भइरहेको व्यवस्था इमानका साथ कार्यान्वयन गर्न माग गरिरहेका छन्। न्युयोर्क र बिहारको सन्देश यही हो, यसलाई आत्मसात् गर्न जरूरी छ।

लेखक
डा. खिमलाल देवकोटा-

अन्तरिम संविधान मस्यौदा समितिका सदस्य र संविधानसभा सदस्य समेत रहेका लेखक वरिष्ठ अधिवक्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?