News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री सुशीला कार्कीले युवाको भावना समयमै नबुझ्दा भदौ २३ र २४ को जेनजी विद्रोह भएको बताउनुभयो।
- प्रधानमन्त्री कार्कीले युवालाई खेलकुद, सामाजिक सेवा र रचनात्मक काममा डोर्याउनुपर्ने बताउनुभयो।
- हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहलाई युवामा परिभाषित गरेको छ, जसमा १ करोड २४ लाख जनसंख्या पर्दछ।
२८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यले युवाको भावना समयमै नबुझ्दा जेनजी विद्रोह भएको बताएकी छन् ।
युवा परिषद्को वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले युवाको भावना राज्यले नबुझ्दा युवापुस्तामा निराशा र बेचैनी बढेको बताइन् ।
उनले नयाँ युवा पुस्ताको भावना र आवश्यकता सम्बोधन गर्दै राज्यले नै रचनात्मक मार्गतर्फ अग्रसर गराउनुपर्नेमा जोड दिइन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित एक कार्यक्रममा युवा परिषद्का अध्यक्षका हैसियतले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले परिषद्का संरक्षक एवं प्रधानमन्त्री कार्कीलाई प्रतिवेदन हस्तान्तरण गरेका थिए ।
प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ । नत्र भदौ २३ र २४ को घटना किन हुन्थ्यो र ? युवामा यस्तो तागत हुन्छ, राज्यले सही वातावरण बनाउन सके मुलुक बन्छ । नत्र विचलन र विद्रोह जन्मिन्छ ।’
उनले युवालाई सही बाटोमा डोर्याउन खेलकुद, सामाजिक सेवा र रचनात्मक काम अग्रसर गराउनु पर्ने बताइन् ।
हालसालै बनेको युवा नीतिले १८ देखि ३५ वर्ष उमेर समूहको जनसंख्यालाई युवामा परिभाषित गरेको छ । यस समूहमा १ करोड २४ लाख जनसंख्या छ, जुन कूल जनसंख्याको ३० प्रतिशत हो ।
‘जनसंख्याको यति ठूलो हिस्सालाई नेतृत्व प्रदान गर्ने, बाटो देखाउने र सुगठित बनाउने काम युवा परिषद् र युवा मन्त्रालयले गर्न सक्छन्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसमा देशभरिका युवा आएर जोडिन सकुन् । यसै कारण हामीले बलियो मन्त्री पठाएका छौँ । यो फाइटिङ एज पनि हो । नेपाली युवा जहाँ पुग्छन्, जुन मञ्चमा उभिन्छन्, त्यहाँ हामी जित्नुपर्छ । यो भावनाका साथ अगाडि बढ्नुपर्छ ।’
प्रतिक्रिया 4