News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा सामुदायिक कुकुरका बच्चा तस्करी गर्ने घटना बढेको छ।
- पक्राउ परेकाहरूले भारतमा कुकुरका बच्चाको डिमान्ड रहेको र बेच्न लैजाँदै गरेको बताएका छन्।
- पशु अधिकारकर्मीहरूले मासुका लागि तस्करी हुने सम्भावना रहेको र कानुनी कारबाही आवश्यक भएको बताएका छन्।
काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा पछिल्लो समय सामुदायिक कुकुरका साना–साना बच्चाहरू रहस्यमय तस्करी गर्ने घटना अत्यधिक बढ्दो छ । सडकमा खेलिरहेका कुकुरका बच्चाहरू रातारात हराउने क्रमले कुकुरको बच्चाहरू कहाँ लगिँदै छ ? के का लागि लगिँदै छ ? भन्ने प्रश्न सिर्जना गर्छ ।
पहिलो घटना
गत हप्ता काठमाडौंको चौमतीस्थित टहरामा भाडामा बस्ने दुई भारतीय नागरिक १८ वर्षीय महमद गुड्डु र २८ वर्षीय महमद नासादलाई प्रहरीले पक्राउ गर्यो । उनीहरूले फलामे पिँजडामा जुटको बोराले छोपेर ३३ वटा सडक कुकुरका बच्चालाई थुपारेको फेला पर्यो । पक्राउ परेका दुवैले प्रारम्भिक बयानमा ‘भारतमा यी पप्पीहरूको ‘डिमान्ड’ रहेको र पाल्न वा बेच्न लैजाँदै गरेको’ दाबी गरे ।
दोस्रो घटना
चौमती घटना सेलाउन नपाउँदै बनेपा–धुलिखेल क्षेत्रमा अज्ञात व्यक्तिहरूले एउटा केजमा १०–१२ वटा कुकुरका बच्चा हालेर बोराले छोप्दै लगिरहेको भिडियो सामाजिक सञ्जालमा देखियो । यो घटनाले फेरि एक पटक ‘यी पप्पीहरू कहाँ लगिँदै छन् ?’ भन्ने प्रश्न उब्जाएको छ । यस्ता घटना अब काठमाडौं उपत्यकामा मात्र सीमित नभएर काठमाडौं नजिकका जिल्लामा पनि देखिन थालेको छ ।
पशु अधिकारकर्मीको शंका
पक्राउ परेकाहरूले दिएको ‘पाल्न वा बेच्न लैजाँदैछौं’ भन्ने जवाफलाई पशु अधिकारकर्मीहरू पूरै अस्वीकार गर्छन् । पशु अधिकारकर्मी बिना पन्त भन्छिन्, ‘इन्डियामा त आफ्नै सडक कुकुर व्यवस्थापन गर्न नसकेर सुप्रिम कोर्टसम्म पुगेको अवस्था छ । त्यहाँ लगेर बेच्ने भन्ने कुरा विश्वास लाग्दो छैन । बजारमा हल्ला छ, कतै यतै वा भारतको कुनै भागमा मासुका लागि त होइन ।’
नेपाली कुकुर राम्रा देखिन्छन् भनेर पाल्न लगिएको पनि हुन सक्छ भन्नेहरू छन्, तर जुन तरिकाले लुकाएर, पिँजडामा कोचेर लगिँदै थियो, त्यो कुनै राम्रो उद्देश्यका लागि थिएन भन्ने अनुमान गर्न सकिने पन्त बताउँछिन् ।
भारतमै सामुदायिक कुकुरको समस्या ठूलो छ । यही कारण पनि नेपालबाट यति कठिनसँग कुकुर लगिन्छ भन्ने नलाग्ने अर्का अधिकारकर्मी सुराजन श्रेष्ठ बताउँछन् । ‘एक त भारतमै सडक कुकुर समस्याको रूपमा छन् अझ लुकाएर, जुटको बोराले छोपेर लैजाँदा पाल्नका लागि थियो भन्ने विश्वास गर्न कठिन छ’ श्रेष्ठ भन्छन् ।
नेपालमा यसअघि पनि यस्तै शंकास्पद घटना देखिएका छन् । भारतीय उत्तर–पूर्वी क्षेत्र, विशेष गरी नागाल्याण्ड, मिजोरम, मणिपुरतिर कुकुरको मासु उपभोग हुने चलन छ । परिस्थितिजन्य प्रमाण हेर्दा मासुको अवैध कारोबारका लागि लैजाने सम्भावना बलियो देखिने सुराजनको दावी छ ।
पशु अधिकारकर्मी सुशीला सुब्बाको पनि यही मत छ । ‘यी बच्चालाई कुनै राम्रो उद्देश्यका लागि लगिएको होइन’ सुब्बा भन्छिन्, ‘यदि साँच्चै पाल्नकै लागि थियो भने लिगल तरिकाले, एक–दुई वा चार–पाँच वटा मात्र लगिन्थ्यो होला । जुटको बोराले छोपेर लुकिछिपी गर्नु पर्दैनथ्यो ।’
कतिपय समुदायमा चाडपर्वका बेला कुकुरको मासु खाने चलन रहेको उनी बताउँछिन् । ‘प्रमाण त अहिले हामीसँग छैन, तर राम्रो उद्देश्यका लागि लगिएको होइन भन्नेमा कुनै शंका छैन’ सुब्बा भन्छिन् ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार चौमती घटनामा पक्राउ परेका दुई जना मध्ये एक जना नाबालक भएको कारण सम्झाइ बुझाइ गरेर छोडिएको छ । अर्का व्यक्ति फौजदारी व्यवस्थाअनुसार ५ हजार जरिवाना तिरेर छुटेका छन् ।
नेपालको सीमा पार गर्नेबित्तिकै देखिने दृश्य हेर्दा नै कुकुरका बच्चा भारतमा पाल्न वा व्यक्तिगत प्रयोगका लागि लैजाने सम्भावना लगभग शून्य रहेको दोस्रो पशु अधिकारकर्मी बिना पन्त बताउँछिन् । ‘ब्रिडेड कुकुर छुट्टै खोजेर लगेको भए व्यावसायिक पेट ट्रेड भन्न सकिन्थ्यो, तर सडकका सामान्य पप्पीहरू समातेर लैजानु तस्करीकै संकेत हो’ उनी भन्छिन् ।
कानुनी पक्ष : यो तस्करी र क्रूरता दुवै हो
सामुदायिक कुकुर पनि समुदायकै एक महत्वपूर्ण अङ्ग भएकाले कसैले पनि स्वीकृतिबिना उठाएर कतै लैजान नपाउने वरिष्ठ अधिवक्ता पदम बहादुर श्रेष्ठ बताउँछन् । उनका अनुसार उपचार वा खोप लगाउनेजस्ता आधिकारिक कारणबाहेक कुकुरलाई उठाएर लैजान कानुनी रूपमा निषेध छ ।
‘उनीहरूलाई बास स्थानबाट हटाएर लैजानु नै ‘क्रूर व्यवहार’ मानिन्छ’ श्रेष्ठले भने, ‘जसमा कुटपिट मात्र होइन, बलपूर्वक समातेर अपरिचित स्थानमा लगेर राख्नु समेत पर्दछ ।’ यस्तो कार्य गरेको व्यक्तिलाई मुलुकी फौजदारी संहिता २०७४ अनुसार मुद्दा चल्न सक्ने उनले बताए ।
उनका अनुसार सामुदायिक कुकुरलाई नियन्त्रणविहीन रूपमा बोकेर लैजानु ‘जनावर तस्करी’ को परिभाषाभित्रै पर्छ । किनभने यो कुनै सरकारी अनुमति बिना गरिएको अवैध व्यापार हो । भैँसी वा गाईजस्तै, सामुदायिक कुकुर पनि विक्री–व्यवसायका लागि जबरजस्ती लैजान नपाइने वर्गमा पर्दछन् ।
तस्करी वा दुर्व्यवहार पुष्टि भएमा कानुनले तीन महिनासम्म कैद सजायको व्यवस्था गरेको छ । पशु कल्याण ऐन नआएसम्म अदालती कारबाही यही विद्यमान फौजदारी व्यवस्थाअनुसार नै हुने उनले बताए ।
पशु कल्याण ऐन अझै पारित नभएकाले अहिले यही कानुनबाट मात्र कारबाही भइरहेको छ । तर ५ हजार जरिवानाले तस्करहरूलाई निरुत्साहित नगर्ने अधिकारकर्मीहरूको भनाइ छ ।
पशु अधिकारकर्मीहरूले नेपाल प्रहरी, स्थानीय तह र सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई सचेत रहन आग्रह गरेका छन् । साथै, यस्तो गतिविधि देखेमा तत्काल प्रहरीलाई खबर गर्न सबैमा अपिल पनि गरेका छन्।
प्रतिक्रिया 4