+
+
WC Series
काठमान्डु गोर्खाज 2025
0/0
VS
सुदूरपश्चिम रोएल्स 2025
0/0
Shares

स्कुल भ्यानले सडक कुकुरलाई कुल्चिएर भागेपछि…

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०८२ मंसिर ३ गते १५:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको भ्यानले कागेश्वरी मनोहरा नगरपालिका-९ हात्तीडाँडामा सुतिरहेका चार सामुदायिक कुकुरलाई कुल्चेर भागेको छ।

घटना सोमबारको हो । कागेश्वरी मनोहरा नगरपालिका-९ हात्तीडाँडा, गोठाटार । बिहान ८ बज्नै लागेको थियो । तीब्र गतिमा आएको भ्यानले सडक छेउमा सुतिरहेका कुकुरहरूलाई जथाभावी कुल्चिएर भाग्यो । त्यसमध्ये एक कुकुर असह्य पीडाले छटपटाउँदाँ छटपटाउँदै मर्‍यो ।

उक्त भ्यान भक्तपुर ठिमीस्थित एमिनिटी इङ्लिस सेकेन्डरी स्कुलको थियो । सडक छेउमा सुतिरहेका निर्दोष कुकुरलाई नियतवस कुल्चिएर मारेको भन्दै पशुअधिकारकर्मीले चालकविरुद्ध कारबाहीका लागि उजुरी दिएका छन् । त्यहाँ चार वटा सामुदायिक कुकुरलाई एकसाथ कुल्चिएको थियो ।

स्कुलका विद्यार्थी बोकेको उक्त भ्यानले आफ्नो बाटो छाडेर सुतिरहेका सामुदायिक कुकुरलाई कुल्चिएको सिसिटिभी फुटेजमा देखिन्छ । जानीजानी कुकुरहरूलाई कुल्चिएर भागेको देखिने पशु अधिकारकर्मी सविना अपगाईं बताउँछिन् । ‘अघिल्लो दिन एक महिलालाई कुकुरले झम्टिएको रहेछ, त्यसैको बदला लिएको हुनुपर्छ’ उनी भन्छिन् ।

घटनापछि एसपीसीए नेपाल र साहारा एनिमल संस्थाले एमिनिटी स्कुलमा निवेदन दिएका थिए । स्कुल व्यवस्थापनले ‘चालक छैन’ भनी घटनाप्रति गैरजिम्मेवार व्यवहार देखाएको सविना बताउँछिन् ।

विद्यालयले आफूहरूलाई १५ हजार रुपैयाँको प्रस्ताव राख्दै चालकमाथि कुनै कारबाही नगर्न भनेको पनि उनको आरोप छ । ‘हामीले पैसा मागेको होइन, अपराधीलाई कानुनअनुसार सजाय मागेको हो’ सविना भन्छिन् ‘तर विद्यालयले न त चालकको पहिचान खुलाउन मानेको छ, न त्यसको कुनै जिम्मेवारी लिन नै ।’

पशु अधिकारकर्मीले उक्त चालकविरुद्ध काँडाघारी प्रहरी चौकीमा निवेदन दर्ता गराएका छन् ।

के हुन्छ सजाय ?

अधिवक्ता पदमबहादुर श्रेष्ठका अनुसार मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ मा पशुपंक्षीसम्बन्धी कसुरको व्यवस्था छ । संहिताको दफा २९० मा ‘कसैले कुनै पशुपंक्षीलाई कुटी, हिर्काइ वा बोक्न सक्ने क्षमताभन्दा बढी भारी बोकाइ तथा सामर्थ्यभन्दा बढी दौडाइ वा रोग, घाउ, खटिरा वा अन्य कुनै कारणबाट काम गर्न असमर्थ भएकालाई काममा लगाई वा हानिकारक वस्तु सेवन गराई वा अन्य कुनै प्रकारले यातना दिन वा आफूले पालेको पशुपंक्षी रोगी वा वृद्ध भएका कारणले सार्वजनिक रूपमा छाड्न वा अन्य कुनै किसिमबाट निर्दयी वा क्रुर व्यवहार गर्न नहुने’ उल्लेख छ ।

उक्त कसूर गर्ने वा गराउने व्यक्तिलाई ३ महिनासम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

संहिताको दफा २८९ मा त्यस्ता पशु मारेमा तीन वर्षसम्म कैदको व्यवस्था छ । अंगभंग गराएमा ६ महिनासम्म कैद हुन्छ । रोगी तथा वृद्ध पशुहरूलाई सार्वजनिक स्थानमा छाड्न नहुने र यस्तो कार्य गरेमा तीन महिना कैद र पाँच हजार जरिवानाको व्यवस्था छ ।

लेखक
सुमित्रा लुइटेल

अनलाइनखबरकी संवाददाता लुइटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?