+
+
Shares

ओली नेकपासँग नजिकिँदा सशंकित कांग्रेस

सात बुँदे सहमति गरी २०८१ असारबाट नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको थियो । जेनजी आन्दोलनपछि संघको सत्ता त ढल्यो, तर प्रदेशहरुमा सहकार्य जारी छ । पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने बेला भयो । यो बेला एमाले र नेकपाको संवाद बढेकाले कांग्रेस सशंकित छ ।

सइन्द्र राई लिलु डुम्रे सइन्द्र राई, लिलु डुम्रे
२०८३ वैशाख ३० गते २१:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सह–महामन्त्री उदयशमशेर राणा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए।
  • भेटमा संसद् छलेर ल्याइएका अध्यादेश, सरकारको नीति तथा कार्यक्रम र प्रदेश सरकारहरू हेरफेर गर्ने विषयमा छलफल भएको छ।
  • सात बुँदे सहमति अनुसार कांग्रेस र एमालेबीच प्रदेश सरकारहरूको नेतृत्व परिवर्तन गर्ने प्रक्रिया जारी छ।

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र सह–महामन्त्री उदयशमशेर राणा मंगलबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेका थिए ।

पित्तथैलीको शल्यक्रियापछि घरमै आराम गरिरहेका ओलीको स्वास्थ्य अवस्था बुझ्न भनिएपनि उनीहरू गुण्डु पुग्नुको कारण राजनीतिक छलफल थियो ।

‘स्वास्थ्य अवस्था बुझ्न भनेर उहाँहरु गुन्डु आउनुभएको हो । तर भेट भइसकेपछि राजनीतिक विषयहरुमा कुरा हुने नै भयो,’ ओली निकट एक नेता भन्छन् ।

संसद् छलेर ल्याइएका अध्यादेशहरू, सरकारको नीति तथा कार्यक्रम, प्रधानन्यायाधीश सिफारिस लगायत विषयमा छलफल भएको उनी बताउँछन् ।

उनका अनुसार राष्ट्रिय सभाबाट अध्यादेशहरू पारित हुन नदिन विपक्षीहरु जुटिरहेका सन्दर्भमा पनि कुराकानी भएको छ । तर, उच्च स्रोतका अनुसार कुराकानीको मुख्य एजेण्डा भने प्रदेश सरकारहरू हेरफेर गर्नेबारे थियो ।

‘सात बुँदे सहमति गरी २०८१ असारबाट नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य शुरु भएको थियो । जेनजी आन्दोलनपछि संघको सत्ता त ढल्यो, तर प्रदेशहरुमा सहकार्य जारी छ,’ एमालेका एक नेता भन्छन्, ‘पूर्व सहमति अनुसार प्रदेश सरकारहरुको आलोपालो गर्ने बेला भयो । यसै वरीपरी कुराकानी चलिरहेको छ ।’

कांग्रेस उपसभापति शर्माले ओलीलाई भेट्न जानुअघि यो कुरा भनिसकेका थिए । कांग्रेस कर्णालीका सभापति ललितजंग शाही, पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही लगायतसँग कुरा गर्ने क्रममा शर्माले प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे एमालेका अध्यक्षसँग कुरा गर्ने बताएका थिए ।

कर्णालीमा अहिले एमाले नेता यामलाल कँडेल मुख्यमन्त्री छन् ।

स्रोतका अनुसार ओलीसँग कुरा हुनुअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरूबीच केहीपटक कुराकानी भइसकेको छ । कांग्रेसबाट उपसभापति शर्मा र महामन्त्री प्रदीप पौडेल र एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पूर्वसहमतिबारे छलफल भएको छ ।

तर पूर्वसहमति बमोजिम मुख्यमन्त्रीहरू फेरिने प्रक्रिया सहज नदेखिएकै बुझाइका साथ शर्मा र राणा गुन्डु पुगेको कांग्रेसका एक नेता बताउँछन् ।

‘प्रदेश सरकार परिवर्तन गर्ने बारेमा दुई दलमा छलफल भइरहेको छ । तर टुंगोमा पुग्न सकिएको छैन,’ उनी भन्छन् ।

सशंकित कांग्रेस

स्रोतका अनुसार विशेष महाधिवेशनबाट फेरिएको कांग्रेस नेतृत्व पनि प्रदेश सरकारहरूमा एमालेसँगको सहयात्रालाई निरन्तरता दिने पक्षमै छन् । सात बुँदे बमोजिमको भागबण्डा जोगाउन सक्दा कांग्रेसलाई फाइदै रहेकाले पनि सभापति गगन थापा यो निष्कर्षमा रहेको अनुमान लगाउन सकिन्छ ।

अहिले सातमध्ये चार प्रदेशमा कांग्रेस नेतृत्वको सरकार छ । जनमत पार्टीले समर्थन फिर्ता लिएपनि मधेशमा कांग्रेस नेतृत्वको सरकार जोगिएको छ ।

बाँकी ६ प्रदेश मध्ये एमाले र कांग्रेसबीच बराबरको भागबण्डा रहेकाले कांग्रेस नेताहरुको सक्रियता बढेको बुझ्न सकिन्छ ।

यदि एमालेसँगको सहमति कायमै रहेमा अब कोशी, लुम्बिनी र कर्णालीमा कांग्रेस नेतृत्वको सरकार बन्नेछ भने बागमती, गण्डकी र सुदुरपश्चिममा एमालेको सरकार बन्नेछ ।

तर, पूर्वसहमतिबाट एमाले नेतृत्व पछि हट्न लागेको शंका कांग्रेस नेताहरूले गरेका छन् । सरकार परिवर्तनको माग लिएर गत साता गुन्डु आएका एमाले सूदुरपश्चिमका नेताहरुलाई सम्झाएर फर्काइएपछि कांग्रेस थप सशंकित देखिन्छ ।

प्रदेश संसदीय दलका नेताबाट राजेन्द्र रावललाई हटाउनुपर्ने र पूर्वसहमति अनुसार एमाले नेतृत्वको सरकार गठन गरिनुपर्ने माग लिएर नेताहरू गुन्डु आएका थिए । तर तत्काल यी दुवै माग पूरा नहुने सन्देशसहित नेताहरू सुदूरपश्चिम फर्किए ।

स्रोतका अनुसार कांग्रेससँग पूर्वसहमति बमोजिम प्रदेश सरकारहरू फेर्न ओलीले आनाकानी गर्नु र लगातार छलफलको आवश्यकता पर्नुमा वाम गठबन्धनको छलफल अगाडि बढ्नु हो ।

कांग्रेसका एक पदाधिकारी, एमाले दोहोरो भूमिकामा रहेको शंका आफूहरूले गरेको स्वीकार्छन् । ‘एमाले र नेकपा नजिकिएको महशुस गरेका छौं,’ उनी भन्छन्, ‘नेकपासँग संवाद भइरहेको एमाले नेताहरूबाट सशंकित पनि छौं।’

विशेषगरी नेकपाका तर्फबाट सार्वजनिक रुपमै भइरहेका निर्णय र वक्तव्यहरूबाट पनि कांग्रेस नेताहरू सशंकित देखिन्छन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले लगातार वाम एकताबारे मन्तव्य दिइरहेका छन् । १९ चैतदेखि १४ वैशाखसम्म चलेको नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकबाटै वाम एकताबारे निर्णय भएको थियो ।

यो बीचमा प्रचण्ड आफैले ओलीसँग टेलिफोन सम्वाद गरिरहेको र नेकपाका नेताहरूले गुन्डु पुगेर ओलीलाई भेटिरहेकोप्रति कांग्रेस सशंकित छ ।

गत २२ वैशाखमा नारायणकाजी श्रेष्ठले ओलीसँग सम्वाद गरेका थिए । एमालेका केही पदाधिकारीले त प्रचण्डसँग ओलीले पार्टी एकता गर्न लागेको भन्दै सार्वजनिक आपत्ति जनाएका छन् ।

ओली निकट एक नेता, नेकपाका नेताहरूसँग छलफल बाक्लिएको स्वीकार्छन् । ‘अहिले विपक्षीहरूबीच सहकार्यको खाँचो छ । कांग्रेससँग मात्र होइन, सबैसँग मिलेर जानुपर्छ भन्ने विकल्पमा छलफल भइरहेको छ,’ उनी भन्छन् । उनका अनुसार, कांग्रेस उपसभापति शर्मा सहितको नेताहरुसँग ओलीले यही कुरा राखेका छन् ।

वामपन्थी मिल्दाको समीकरण

नेताहरूको शंकाबीच एमाले र नेकपाबीच गठबन्धन अथवा एकता भए चार वटा प्रदेशमा सरकार बन्ने देखिन्छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा फेरि कम्युनिष्ट सरकार बन्नेछ ।

कोशीमा कांग्रेसको समर्थनमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री छन् । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेसँग ४०, कांग्रेससँग २९, नेकपासँग १७, राप्रपासँग ५ (भक्ति सिटौलाले राजीनामाले एक घटेको) र जसपासँग एक सिट छ ।

बहुमतका लागि ४७ जना प्रदेश सांसद आवश्यक पर्दछ । जुन संख्या एमाले र नेकपा मिल्दा सजिलै पुग्छ ।

मधेसमा कम्युनिस्ट मिल्दैमा सरकार फेरिने स्थिति छैन । कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णप्रसाद यादवलाई निरन्तरता दिनेगरी गत २७ वैशाखमा मात्र कांग्रेस सहित जसपा नेपाल, नेकपा र लोसपाले निर्णय गरिसकेका छन् ।

मधेशमा १०७ सदस्यीय प्रदेश सभा छ । चार सांसद रिक्त छन् । हाल कायम प्रदेश सांसद अनुसार मधेसमा सरकार बनाउन ५२ जना आवश्यक पर्दछ । मधेसमा एमालेसँग २२, कांग्रेससँग २२, जसपासँग १६, जनमतसँग १२, नेकपासँग १३, लोसपासँग ९ र राप्रपासँग एक जना सांसद छन् ।

बागमतीमा अहिले कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री छन् । ६ प्रदेश सांसद रिक्त छ । बागमतीको ११० सदस्यीय संसदमा कांग्रसँग ३६, एमालेसँग २५, नेकपासँग २३, राप्रपासँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ सांसद छन् । अर्थात कम्युनिष्ट मिल्दा पनि सरकार बनाउन आवश्यक ५३ सिट पुग्दैन ।

गण्डकीमा एमालेको समर्थनमा कांग्रेसबाट सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । गण्डकी प्रदेश सभामा कूल सिट संख्या ६० छ । कांग्रेस प्रदेश सांसद द्रोण कुँवरले राजीनामा दिएपनि स्वीकृत भएको छैन ।

मनाङ प्रदेशसभाबाट जितेका राजीव गुरुङ (दीपक मनाङ) लाई फौजदारी कसुरमा दोषी ठहर भएर उनको सांसद पद खारेज भएको छ ।

पहिलो दल रहेको कांग्रेसका २६, एमालेका २२, नेकपाका ८ र राप्रपाका २ सांसद छन् । बहुमतका लागि ३० सांसद आवश्यक पर्दछ । अर्थात कम्युनिष्ट मिल्दा सरकार बन्छ ।

लुम्बिनीमा पनि एमाले–कांग्रेस सत्ता सहकार्य छ । कांग्रेसको समर्थनमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री छन् ।

८७ सदस्यीय प्रदेश सभामा एमालेका २९, कांग्रेस २७, नेकपाका ७, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, लोसपाका २, जनमतका ३ र राजमोका १ सांसद छन् । प्रदेश सभामा चार पद रिक्त छ । ४२ जनाले प्रदेश सभामा बहुमत पुग्दछ । लुम्बिनीमा एमाले र नेकपा मिलेपनि सरकार बन्दैन ।

कर्णालीको कूल ४० प्रदेश सांसदमा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, र स्वतन्त्र २ छन् । २० जनाले बहुमत पुग्ने कर्णालीमा एमाले र नेकपा मिलेमा सहजै सरकार बन्छ । अहिले एमालेका यामलाल कँडेल यहाँ मुख्यमन्त्री छन् ।

सुदूरपश्चिममा एमाले र नेकपा बीच सहकार्य भए सजिलै सरकार बन्छ । ५२ सदस्यीय प्रदेश सभामा नेकपासँग २२, कांग्रेससँग १८, एमालेसँग १० र राप्रपाका १ सांसद छन् ।

लेखक
सइन्द्र राई

राई अनलाइनखबरका राजनीतिक ब्यूरो प्रमुख हुन् ।

लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?