+
+
Shares

यात्राअघि दही खुवाउने चलन अन्धविश्वास कि विज्ञान ?

डा. देवराज क्षेत्री डा. देवराज क्षेत्री
२०८३ वैशाख २९ गते १४:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आयुर्वेदका अनुसार दही उष्णवीर्य, रुचिकर, ग्राही, वातनाशक र पुष्टिवर्द्धक गुणले यात्रामा पाचन सुधार र रोगप्रतिरोधी क्षमता बढाउँछ।

हाम्रो नेपाली संस्कृतिमा यात्रा गर्नुअघि दही खुवाउने चलन निकै पुरानो र लोकप्रिय छ । यात्राअघि दही खुवाउँदा शुभ हुने, यात्रा सफल र कार्यसिद्धि हुने विश्वास छ । तर यसमा वैज्ञानिक कारणहरू पनि उत्तिकै बलिया छन् ।

आयुर्वेदका शास्त्रीय ग्रन्थ अनुसार दहीका गुणहरू

आयुर्वेद शास्त्रहरूमा दहीलाई ‘दधि’ भनिएको छ र यसका गुणहरूको विस्तृत वर्णन गरिएको छ । यात्राको सन्दर्भमा आयुर्वेदले दहीलाई किन महत्त्व दिन्छ भन्ने कुरा तलका बुँदाहरूबाट स्पष्ट हुन्छ:

१.उष्णवीर्य

धेरैलाई दही खाँदा शीतल हुन्छ भन्ने लाग्न सक्छ, तर आयुर्वेदका अनुसार दही वीर्य (पोटेन्सी) मा उष्ण (तातो) प्रकृतिको हुन्छ । यसले शरीरको जठराग्नि अर्थात पाचन अग्निलाई प्रदीप्त गर्छ, जसले यात्राको बेला हुन सक्ने अपचलाई रोक्छ।

२.रुचिकर

शास्त्रीय ग्रन्थहरूमा दहीलाई ‘रुच्य’ भनिएको छ । यसको अर्थ दहीले खानामा रुचि जगाउँछ र मुखको स्वादलाई सुधार्छ । यात्राको तनावले गर्दा कहिलेकाहीँ खाना खान मन लाग्दैन, यस्तो अवस्थामा दहीले भोक जगाउने काम गर्छ ।

३.ग्राही

दहीको एउटा मुख्य गुण ‘ग्राही’ हुनु हो । यसको अर्थ यसले आन्द्राबाट बढी पानी सोसेर दिसालाई बाँध्ने काम गर्छ । यात्राका क्रममा लाग्न सक्ने सामान्य पखाला वा पेटको गडबडी रोक्न यो गुण निकै उपयोगी हुन्छ ।

४.वातनाशक

यात्रा गर्दा शरीरमा ‘वात’ दोष बढ्ने सम्भावना हुन्छ । जसले गर्दा शरीर दुख्ने, ग्यास भरिने वा थकान हुने हुन्छ । दहीले वात दोषलाई शान्त पार्छ, जसले गर्दा यात्रा आरामदायक महसुस हुन्छ ।

५.पुष्टिवर्द्धक

आयुर्वेदका अनुसार दहीले शरीरका धातुहरूलाई पोषण दिन्छ र ओज अर्थात रोगप्रतिरोधि क्षमता बढाउँछ । यसले यात्राका लागि आवश्यक शारीरिक बल प्रदान गर्छ ।

आयुर्वेदमा दही र पानीको मिश्रणको अनुपातका आधारमा यसका विभिन्न स्वरूपहरू वर्णन गरिएका छन् । पानीको मात्रा र मन्थन (घुमाउने प्रक्रिया) अनुसार दहीको गुण परिवर्तन हुन्छ । यात्रा वा दैनिक जीवनका लागि कुन प्रकारको दही उपयुक्त हुन्छ भन्ने बुझ्न यो वर्गीकरण निकै उपयोगी छ ।

आयुर्वेदका अनुसार पानीको मात्रा र चलाउने विधि अनुसार दहीका मुख्य प्रकारहरू यस प्रकार छन्:

१. तक्र

यसलाई पाचनको अमृत मानिन्छ । आयुर्वेदमा भनिएको छ, “भोजनान्ते पिबेत् तक्रं” अर्थात् भोजनको अन्त्यमा तक्र (मोही) पिउनुपर्छ । १ भाग दहीमा १/४ भाग पानी मिलाएर तक्र बनाइन्छ । यो ‘लघु’ (पचाउन सजिलो) हुन्छ । यसले ग्रहणी, पाइल्स, र पेट फुल्ने समस्यामा औषधिको काम गर्छ । यात्रा गर्दा पेट भारी हुने समस्या छ भने ‘तक्र’ सबैभन्दा उत्तम हुन्छ।

२. घोल

दहीलाई मात्र फेटेर घोल बनाइन्छ । यो ‘वात’ र ‘पित्त’ नाशक हुन्छ । यो अलि बाक्लो हुन्छ र पचाउन समय लाग्छ।

३. छच्छिका

दहीमा प्रशस्त पानी मिसाएर तर हटाएर छच्छिका बनाइन्छ । यो निकै पातलो र पेय पदार्थको रूपमा लिइन्छ । यसले तत्काल ‘तर्पण’ दिन्छ । लामो पैदल यात्रा वा कडा परिश्रम गर्नुअघि यसको सेवनले शरीरमा पानीको कमी हुन दिँदैन ।

सावधानी

आयुर्वेदले दही खाँदा केही नियमहरू पालना गर्न सुझाव दिन्छ । रात्रीको समयमा आयुर्वेदले दहीको सेवन कम गर्न सुझाव दिएको छ । दहीलाई सधैं चिनी, मह, घिउ वा मुँगको दालसँग मिसाएर खानु उत्तम मानिन्छ । यात्राअघि दहीमा चिनी मिसाउने हाम्रो चलन रहेको छ ।

आधुनिक चिकित्सा विज्ञानले पनि दहीलाई एक ‘सुपरफूड’ को रूपमा स्वीकार गरेको छ । यसमा पाइने पोषक तत्व र प्रोबायोटिक्सका कारण यो स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिन्छ ।

आधुनिक चिकित्सा विज्ञान अनुसार दहीका गुणहरू यस्ता रहेका छन्:

१. प्रोबायोटिक्स र आन्द्राको स्वास्थ्य

दहीमा ‘लाइभ कल्चर’ हुन्छन्, जसलाई प्रोबायोटिक्स भनिन्छ । यी ब्याक्टेरियाले आन्द्रामा माइक्रोबायोमको सन्तुलन कायम राख्छन् । यसले ग्यास्ट्रिक, कब्जियत र पखाला जस्ता समस्याहरू कम गर्न मद्दत गर्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ ।

२. पोषक तत्वको भण्डार

दहीमा शरीरलाई आवश्यक पर्ने लगभग सबै पोषक तत्वहरू पाइन्छन् । यसमा पाइने क्याल्सियम र फस्फोरसले हड्डी र दाँतको मजबुतीका लागि उपयोगी हुन्छ । भिटामिन बी१२ र राइबोफ्लेभिन (बी२) जस्ता तत्त्वहरू मुटुको रोग र स्नायु प्रणालीको सुरक्षाका लागि उपयोगी हुन्छ र पोटासियम र म्याग्नेसियम जस्ता तत्त्वहरू रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ।

३. प्रोटिनको उच्च स्रोत

दहीमा पाइने प्रोटिन सजिलै पचाउन सकिने खालको हुन्छ । यसले मांसपेशीको मर्मत गर्न र पेटलाई लामो समयसम्म अघाएको महसुस गराउन मद्दत गर्छ, जसले तौल नियन्त्रणमा पनि सहयोग पुर्‍याउँछ ।

४. ल्याक्टोज इन्टोलरेन्समा उपयोगी

धेरै मानिसहरूलाई दूध पचाउन गाह्रो हुन्छ । तर दही बन्ने प्रक्रियामा ब्याक्टेरियाले दूधको ल्याक्टोजलाई ल्याक्टिक एसिडमा परिणत गरिदिने हुनाले, दूध पचाउन नसक्ने व्यक्तिहरूका लागि पनि दही एक सुरक्षित विकल्प हो ।

५. मानसिक स्वास्थ्य र ‘गट-ब्रेन एक्सिस’

भर्खरैका अनुसन्धानहरूले पेटको स्वास्थ्य र मानसिक स्वास्थ्यबीच गहिरो सम्बन्ध रहेको देखाएका छन् । दहीमा पाइने प्रोबायोटिक्सले तनाव र डिप्रेसनका लक्षणहरूलाई कम गर्न सहयोग पुर्‍याउने देखिएको छ।

(लेखक  डा. देवराज क्षेत्री दाङस्थित नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय आयुर्वेद विद्यापीठका  उपप्राध्यापक हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?