केही सम्बन्धहरू बडो आत्मीय हुन्छन् । त्यस्तो सम्बन्ध कहिल्यै अन्त्य नहोस् भन्ने त लाग्छ । तर, मरणशील चोलामा यो लागू हुँदैन ।
पर्वत कुस्माकी मेघा केसी पनि आफ्नो कुकुरसँगै त्यस्तै आत्मीय सम्बन्धमा थिइन् । कालो र शरीरको केही भागमा खैरो रङ भएको कुकुर उनका लागि प्राणप्रिय थियो । उनले कुकुरलाई ‘काली’ नामले सम्बोधन गर्थिन् । माया गरेरभन्दा ‘कालु’ भन्थिन् । उनका लागि बडो प्यारो थियो, कालु ।
उनले यो कुकुरालाई सानैबाट हुर्काएकी थिइन् । सामाजिक सञ्जालमा राखेको केही वर्ष पुरानो फोटोमा काली धेरै सानो देखिन्छ भने मेघा पनि अहिलेको भन्दा भर्खरकी देखिन्छिन् । उनले चाडहरूमा कुकुरलाई टीका लगाइदिन्थिन् । र, सधैं आफ्नो साथमा राख्थिन् ।
तर, केही दिनअघि मात्रै कालीले प्राण त्याग गर्यो ।
उनी घरमा नभएको बखत कुकुरको मृत्यु भएको थियो । ११ वर्षदेखिसँगै रहेको कुकुरको मृत्युपछि मेघा मर्माहत भइन् । किनकि कुकुरलाई उनले आफ्नै छोरीसरह हुर्काएकी थिइन् । उनको परिवारले पनि पालेको ११ वर्षको अवधिभर कालुलाई कहिल्यै पनि दु:ख नदिएको, जे खान खोजेको, त्यो देखिएको, जहाँ जान मन लागेको त्यहाँ जान दिएको बताएका छन् ।
छोरी समान मानेको कुकुरको मृत्युपछि विधिवत् अन्त्येष्टि त गरिन् नै, उनी किरिया नै बसिन् ।
उनले कुकुरको आत्माको शान्तिका लागि सेतो कपडा लगाइन्, लागि दियो बालिन् र नुन बारिन् । परिवारकै सदस्यको मृत्युसरह शोक मनाइन् । उनले सुख दु:खको साहारा भएर साथ दिएकोमा उनले ‘काली’लाई धन्यवाद पनि दिएकी छिन्।
आज मङ्गलबारसम्ममा कुकुरको मृत्युको ३ दिनको कार्य पनि गरिसकेकी छिन् ।
यद्यपि नेपालको सन्दर्भमा कुकुरको मृत्युपछि परिवारका सदस्यले काज किरिया बसेको यो पहिलो घटना होइन । यसअघि तुलसीपुर, मानपुरका शशीधर पौडेलले समेत गत साउनमा ९ दिनसम्म किरिया बसेका थिए ।

प्रतिक्रिया 4