+
+
Shares

२९ दिनमै एसईईको नतिजा, ४ प्रतिशत बढीले सुधार

सामुदायिक र निजीको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएन

यसवर्ष परीक्षा केन्द्रमा नै परीक्षण गर्दा धेरै विद्यार्थी उत्तीर्ण हुने आशंकासहित प्रश्नहरू पनि उठेको थियो । तर शिक्षकहरूले आफ्नो मर्यादामा रहेर नै उत्तरपुस्तिका परीक्षण गरेको नियन्त्रक टुकराज अधिकारीले बताए ।

दिनेश गौतम दिनेश गौतम
२०८३ वैशाख २८ गते २३:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा नतिजा २९ दिनमा सार्वजनिक गरेको छ र ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्।
  • यो वर्ष ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये ४८ हजार ३ सय ९२ विद्यार्थीले जीपीए ३.६० देखि ४.०० ल्याएका छन् र नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको छ।
  • बोर्डले असार १ देखि ९ गतेसम्म पुरक परीक्षा सञ्चालन गर्ने र १ जेठदेखि ७ गतेसम्म पुनर्योगको समय तोकेको छ।

२८ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २९ दिनमा सार्वजनिक गर्‍यो । सोमबार सार्वजनिक गरेको नतिजामा ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । यो नतिजा गत वर्षभन्दा ४.१७ प्रतिशतले बढेको हो ।

२०८१ मा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडड भएका थिए । यसवर्ष परीक्षामा सबैभन्दा बढी जीपीए (३.६० देखि ४.००) ल्याउने विद्यार्थीको संख्या ४८ हजार ३ सय ९२ छ । ४ लाख ३० हजार ६६७ विद्यार्थीमध्ये सबैभन्दा बढी ३.६० देखि ४.०० जीपीए ल्याउनेको छ ।

जीपीए ३.२० देखि ३.६० सम्म ल्याउने विद्यार्थीको संख्या ८० हजार ३७२ रहेको छ । २.८० देखि ३.२० सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९४ हजार २२२ रहेको छ । ५५ हजार ९७७ विद्यार्थीले यस वर्ष २.४० देखि २.८० जीपीए ल्याएका छन् । जीपीए २.०० देखि २.४० सम्म ल्याउने विद्यार्थीको संख्या ५ हजार १९० रहेका छन् । १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थीको संख्या ७ जना रहेको बोर्डले जनाएको छ ।

प्रदेश अनुसार, यो वर्ष वर्गीकृत विद्यार्थी कोशीमा ५० हजार ८९०, मधेशमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ छन् ।

सरकारले १ महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिए अनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ‘३० दिनभित्र नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको थियो । २९ दिनमै नतिजा प्रकाशित भएको छ,’ परीक्षा नियन्त्रक टुकराज अधिकारीले भने, ‘परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरेकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको हो ।’

विगतका वर्षहरूमा ३ महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो । विद्यार्थीलाई तनाव हुन नदिन सरकारले १ महिनामा नतिजा सार्वजनिक गर्न भनेको हो ।

बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ ।

त्यसैले यसवर्ष परीक्षा केन्द्रमा नै परीक्षण गर्दा धेरै विद्यार्थी उत्तीर्ण हुने आशंकासहित प्रश्नहरू पनि उठेको थियो । तर शिक्षकहरूले आफ्नो मर्यादामा रहेर नै उत्तरपुस्तिका परीक्षण गरेको नियन्त्रक अधिकारीले बताए । ‘परीक्षण राम्रो हुँदैन भन्ने आशंका थियो । तर नतिजाको आकडाले चिरेको छ । शिक्षक साथीहरूले इथिक्समा रहेर परीक्षण गर्नुभएको छ,’ उनले भने ।

नतिजा सुधार हुनुमा विद्यार्थी र शिक्षकको प्रयत्नले भएको बोर्डको निष्कर्ष छ । प्राध्यापक डा. विद्यानाथ कोइराला नतिजा सुधार हुनुमा तीन कारण देख्छन् ।

‘धेरै स्कुललले तीन महिना स्कुलमै राखेर पढाएको छ । खाने बस्ने व्यवस्था स्कुलमै थियो । दोस्रो परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका परीक्षण गरियो । तेस्रो विद्यार्थीलाई पहिला नै प्रश्नपत्रको मोडेल दिने चलन छ । यी तीन कारणले नतिजामा सुधार आएको देखिन्छ,’ प्रा.डा. कोइरालाले भने ।

प्राध्यापक डा. विद्यानाथ कोइराला ।

परीक्षामा १ लाख ४६ हजार ५०७ विद्यार्थी नन ग्रेडेड (अवर्गीकृत) भएका छन् । मधेश प्रदेशका ३१ हजार ७२५ विद्यार्थी नन् ग्रेडेड (अवर्गीकृत) भएका छन् । यो प्रदेशबाट ७६ हजार ३१७ विद्यार्थी सहभागी थिए ।

नतिजा अनुसार नन् ग्रेडेड भएका विद्यार्थी कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४ र गण्डकीमा ९ हजार ९४३ छन् । त्यस्तै, लुम्बिनीका २७ हजार ८९३, कर्णालीका १३ हजार २४१ र सुदूरपश्चिमका २० हजार ६३५ विद्यार्थी नन् ग्रेडेड भए ।

यी विद्यार्थीका लागि के गर्ने भनेर सरकारले सोच्नुपर्ने बताउँछन्, प्राध्यापक कोइराला । ‘अनुत्तीर्ण भएका विद्यार्थीलाई के गर्ने ? उनीहरूलाई गरीखाने कसरी बनाउने त्यसमा सोच्नुपर्छ,’ उनले भने ।

बोर्डले अनुत्तीर्ण भएका विद्यार्थीका लागि पुरक परीक्षाको पनि मिति तोकेको छ । असार १ देखि ९ गतेसम्मको लागि पुरक परीक्षाको समय तोकिएको छ ।

नतिजामा चित्त नबुझेमा पुनर्योेगको लागि पनि बोर्डले समय दिएको छ । १ जेठदेखि ७ गतेसम्मको लागि पुनर्योेगको सयम दिइएको छ । कसैको त्रुटि भएमा सच्याउने बोर्डले जनाएको छ ।

सोमबार सार्वजनिक नतिजामा सामुदायिक र निजी विद्यालयको उत्तीर्ण प्रतिशत सार्वजनिक गरिएको छैन । ‘आज नभ्याएर सार्वजनिक नगरिएको हो । भोलि गर्छौैं,’ नियन्त्रक अधिकारीले भने । ४ जीपीए ल्याउनेको संख्या पनि बोर्डले सार्वजनिक गरेको छैन ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?