+
+
Shares

मानिससँगको सहयात्राले बदलियो कुकुरको मस्तिष्क, के भन्छ अध्ययन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १४:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्तु बन्ने क्रममा कुकुरको मस्तिष्कको आकार करिब ४६ प्रतिशतसम्म घटेको छ, तर यसलाई बुद्धिमत्ता घट्नुसँग जोड्न नमिल्ने वैज्ञानिकहरूले बताएका छन्।

मानिस र कुकुरबीचको सम्बन्ध हजारौं वर्ष पुरानो मानिन्छ ।

जंगली ब्वाँसोका सन्तान मानिने कुकुर आज मानिसको सबैभन्दा नजिकको साथीमध्ये एक बनिसकेको छ ।

घरको सुरक्षा, शिकार, पशुपालनदेखि भावनात्मक साथीसम्मका भूमिकामा कुकुरले आफूलाई ढाल्दै आएको छ । तर मानिससँग यति नजिकिँदै जाँदा कुकुरको शरीर र व्यवहारमा मात्र होइन, मस्तिष्कमै पनि ठूलो परिवर्तन आएको नयाँ अध्ययनले देखाएको छ ।

हालै रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित एक अध्ययनअनुसार पालतु बन्ने लामो प्रक्रियामा कुकुरको मस्तिष्कको आकार झन्डै ४६ प्रतिशतसम्म घटेको पाइएको छ ।

तर अनुसन्धानकर्ताहरूले यसलाई ‘बुद्धिमत्ता घट्नु’सँग भने सीधा रूपमा जोड्न नमिल्ने बताएका छन् ।

‘नियोलिथिक युग’ पछि देखिन थाल्यो ठूलो परिवर्तन

विज्ञानमा लामो समयदेखि एउटा प्रश्न उठ्दै आएको थियो । त्यो हो, मानिससँग बस्न थालेपछि कुकुरको सोच्ने क्षमता, व्यवहार र मस्तिष्कमा कस्तो परिवर्तन आयो ?

यही जिज्ञासाको उत्तर खोज्न फ्रान्सका वैज्ञानिकहरूले विस्तृत अनुसन्धान गरेका हुन् ।अनुसन्धान टोलीले आधुनिक कुकुर, डिङ्गो र ब्वाँसासहितको २०७ वटा खप्परको अध्ययन गरेको थियो । तीमध्ये २२ वटा प्रागैतिहासिक कालका नमुना थिए ।

अनुसन्धानकर्ताहरूले सीटी स्क्यानको प्रयोग गरेर खप्परभित्रको संरचनाको भर्चुअल प्रतिरूप तयार पारे, जसबाट मस्तिष्कको आकारबारे विश्वसनीय जानकारी प्राप्त भयो ।

अध्ययनअनुसार करिब १५ हजार वर्षअघि मानिसले कुकुरलाई पाल्तु बनाउन सुरु गरेका थिए । तर सुरुवाती चरणमा कुकुरको मस्तिष्क ब्वाँसोको जस्तै ठूलो थियो । वास्तविक परिवर्तन भने नियोलिथिक युगमा देखिन थालेको अनुसन्धानले देखाएको छ ।

नियोलिथिक युग त्यो समय थियो, जब मानिस घुमन्ते जीवन छोडेर स्थायी रूपमा खेतीपाती गर्न थालेका थिए । मानिसहरू गाउँ र बस्तीमा बस्न थालेपछि कुकुरहरूको भूमिका पनि बदलिन थाल्यो । पहिले शिकार र जंगली वातावरणमा जटिल निर्णय लिनुपर्ने कुकुरहरू बिस्तारै मानिसको वरिपरि बस्ने, बस्तीको सुरक्षा गर्ने र बाँकी खानेकुरामा निर्भर रहने अवस्थामा पुगे ।

अध्ययनकर्ताका अनुसार यही जीवनशैली परिवर्तनले कुकुरको मस्तिष्क संरचनामा असर पारेको हुन सक्छ । ‘घरपालुवा बनाइनुले मूर्ख बनाउँदैन, बरू मान्छेलाई बुझ्ने क्षमतामा निपुण बनाउँछ’ अध्ययनका प्रमुख लेखक थोमस चुची भन्छन्, ‘आजका कुकुरहरूले आफ्नो सम्पूर्ण बुद्धिमत्ता प्रयोग गर्ने अवसर सधैं पाउँदैनन् । तर उनीहरू अत्यन्त चलाख छन् । पाल्तु बनाएका कारण उनीहरूलाई मूर्ख बनाएको होइन, बरु मानिसलाई बुझ्ने र संवाद गर्ने क्षमतामा अझ निपुण बनाएको हो ।’

वैज्ञानिकहरूका अनुसार जंगली ब्वाँसोलाई बाँच्नका लागि शिकार खोज्न, जोखिम आँकलन गर्न र समूहमा जटिल रणनीति बनाउनुपर्ने हुन्थ्यो । तर मानिससँग बस्न थालेपछि कुकुरहरूको जीवन अपेक्षाकृत सुरक्षित भयो । उनीहरूलाई खाना खोज्न वा शिकार गर्न त्यति धेरै जटिल निर्णय लिनुपरेन ।

यसको सट्टा मानिसको व्यवहार बुझ्ने, संकेत चिन्न सक्ने र सामाजिक रूपमा घुलमिल हुन सक्ने गुण बढी महत्वपूर्ण बन्न थाले । यही कारण मानिसहरूले शान्त, आज्ञाकारी र सजिलै तालिम लिन सक्ने कुकुरलाई बढी प्राथमिकता दिए ।

क्रमशः यही कृत्रिम छनोटले कुकुरको स्वभाव र मस्तिष्क दुवैमा परिवर्तन ल्याएको अध्ययनले बताएको छ ।

मानिसको भावना बुझ्न सक्षम कुकुर

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूको बुद्धिमत्ता फरक दिशामा विकास भएको छ । आजको दिनमा तुलनात्मक रूपमा कुकुर मानिसको भावनात्मक संकेत बुझ्न, अनुहारको भाव चिन्न र आदेश पालना गर्न ब्वाँसोभन्दा धेरै सक्षम मानिन्छन् ।

धेरै अध्ययनले प्रमाणित गरिसकेको छ, कुकुरले मानिसको आँखाको संकेत, औंलाले देखाएको दिशा र आवाजको भावनात्मक उतारचढाव बुझ्न सक्छन् । पब्लिक लाइब्रेरी अफ साइन्समा प्रकाशित एक अध्ययनअनुसार केही अवस्थामा त उनीहरूले मानिसको तनाव र दुःखसमेत महसुस गर्न सक्ने पुष्टि गरेको छ ।

वैज्ञानिकहरूका अनुसार यो क्षमता जंगली जीवनभन्दा फरक प्रकारको ‘सामाजिक बुद्धिमत्ता’ हो । अनुसन्धान टोलीले अर्को रोचक कुरा पनि औंल्याएको छ । कुकुरमा देखिएको यस्तो मस्तिष्क परिवर्तन अन्य पाल्तु जनावरमा पनि आंशिक रूपमा देखिएको छ । गाई, भेडा र सुँगुरजस्ता जनावरमा पनि पाल्तुकरणपछि मस्तिष्कको आकार केही घटेको अध्ययनमा उल्लेख छ ।

यद्यपि, मस्तिष्क सानो हुनु र बुद्धिमत्ता घट्नुबीचको सम्बन्ध अझै पूर्णरूपमा स्पष्ट भइसकेको छैन । वैज्ञानिकहरू भन्छन्, ‘मस्तिष्कको आकारभन्दा पनि त्यसको संरचना, स्नायुहरुको जडान र व्यवहारिक क्षमता बढी महत्वपूर्ण हुनसक्छ ।

कुकुरहरू अहिले मान्छेको जीवनका अभिन्न हिस्सा बनिसकेका छन् । कसैका लागि उनीहरू सुरक्षाकर्मी हुन्, कसैका लागि साथी, त कसैका लागि भावनात्मक सहारा ।

विज्ञानले अहिले देखाइरहेको कुरा के हो भने मानिस र कुकुरबीचको हजारौं वर्ष लामो सहयात्राले दुवै प्रजातिलाई कुनै न कुनै रूपमा बदलिदिएको छ।

सायद यही कारण हो, आज कुकुर केवल पाल्तु जनावर मात्र होइन, मानिसको भावना बुझ्न सक्ने सबैभन्दा नजिकको जीवमध्ये एक बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?