भारतमा जनावरमाथि हुने क्रूरताको अवस्था भयावह रहेको तथ्य सार्वजनिक भएको छ । नेसनल क्राइम रेकर्ड ब्यूरो (एनसीआरबी) ले सार्वजनिक गरेको ‘क्राइम इन इन्डिया २०२४’ प्रतिवेदन अनुसार जनावरमाथिको क्रूरता भयावह रहेको देखिएको हो ।
एनसीआरीबीले पहिलो पटक जनावर विरुद्ध हुने अपराधलाई छुट्टै सार्वजनिक गरेको हो ।
उक्त प्रतिवेदनअनुसार सन् २०२४ मा देशभर जनावरमाथि क्रूरता गरिएका कुल ९ हजार ३९ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न रहेको आरोपमा १० हजार ३१२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ९९.५ प्रतिशत अर्थात् १० हजार २५७ जना वयस्क पुरुष रहेका छन् ।
प्रतिवेदन अनुसार जनावरमाथि हुने अपराधको अनुसन्धानमा प्रहरीको सक्रियता सन्तोषजनक देखिएको छ । प्रहरीले ९६.७ प्रतिशत मुद्दामा अदालतमा आरोप पत्र (चार्जशिट) दायर गरिसकेको छ । तर, न्यायिक प्रक्रियामा भने ढिलाइ देखिएको प्रतिवेदनमा उल्लेख छ ।
अदालत पुगेका मुद्दामध्ये ८२.२ प्रतिशत अझै विचाराधीन छन् । केही मुद्दाहरू त १० वर्षभन्दा बढी समयदेखि फैसलाको पर्खाइमा रहेका छन् । यद्यपि, फैसला भएका मुद्दामध्ये ८०.५ प्रतिशतमा सजाय भएको छ भने महानगरहरूमा सजाय हुने दर ९३.३ प्रतिशतसम्म रहेको छ ।
त्यस्तै भारतमा क्रूरतासँगै जनावर चोरीका घटना पनि उल्लेख्य देखिएका छन् । उक्त वर्षभरि ८ हजार ६६० वटा जनावर चोरीका मुद्दा दर्ता भएका छन् । तिनको कुल बजार मूल्य करिब ४८ करोड ८० लाख भारु मूल्यांकन गरिएको छ । चोरी भएकामध्ये ४४.९ प्रतिशत जनावरहरू प्रहरीले फेला पार्न सफल भएको छ, जुन अन्य सम्पत्ति चोरीको तुलनामा राम्रो बरामद दर हो ।
अब भारतमा राष्ट्रिय स्तरमा तथ्यांक उपलब्ध हुनाले यस्ता मुद्दाहरूको प्रकृति बुझ्न र अपराध रोक्न सहजिकरण हुने बताइएको छ ।
प्रतिक्रिया 4