एप्पलले सार्वजनिक गरेको पछिल्लो आईफोन अपडेट आईओएस २६.५ सँगै एप्पल म्याप्समा केही महत्त्वपूर्ण नयाँ सुविधाहरू थपिएका छन्। यस अपडेटले प्रयोगकर्ताको खोजी अनुभवलाई सहज बनाउनुका साथै व्यावसायिक विज्ञापनका लागि पनि बाटो खोलेको छ।
‘सजेस्टेड प्लेसेस’ फिचर
एप्पल म्याप्सको सर्च बारमा ट्याप गर्नेबित्तिकै अब दुईवटा ‘सजेस्टेड प्लेसेस’ देखिनेछन्। यो फिचरले मुख्यतया दुईवटा कुराका आधारमा ठाउँहरू सिफारिस गर्छ- तपाईँको वरपर कुन ठाउँ ट्रेन्डिङमा छ र तपाईँले भर्खरै के कुरा सर्च गर्नुभएको थियो।
उदाहरणका लागि, यदि तपाईँ काठमाडौंमा हुनुहुन्छ भने यसले स्थानीय चर्चित ठाउँहरू देखाउँछ, तर यदि तपाईँले भर्खरै न्यूयोर्कको बारेमा सर्च गर्नुभएको छ भने यसले न्यूयोर्कका चर्चित स्थानहरू सिफारिस गर्न थाल्छ। यो सूची म्याप्स खोल्दापिच्छे नयाँ जानकारीका साथ अपडेट भइरहन्छ।
विज्ञापन सपोर्टको सुरुवात
आईओएस २६.५ अपडेटसँगै एप्पल म्याप्समा विज्ञापन देखाउन मिल्ने प्राविधिक पूर्वाधार तयार गरिएको छ। हाल अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूले म्याप्स खोल्दा एउटा ‘पप-अप’ सूचना देख्नेछन्, जसले भविष्यमा म्याप्समा विज्ञापन देखिन सक्ने जानकारी दिन्छ। यद्यपि, एप्पलले यी विज्ञापनहरू यसै वर्षको ‘समर’ देखि मात्र आधिकारिक रूपमा सुरु गर्ने बताएको छ।
गोपनीयता र सुरक्षा
विज्ञापनका बारेमा चिन्ता गर्ने प्रयोगकर्ताहरूका लागि एप्पलले स्पष्ट पारेको छ कि विज्ञापन सम्बन्धी जानकारीहरू प्रयोगकर्ताको ‘एप्पल एकाउन्ट’ सँग जोडिने छैनन्।
म्याप्सले देखाउने विज्ञापनहरू प्रयोगकर्ताको तत्कालको लोकेसन, सर्च गरिएका शब्दहरू वा म्यापमा हेरिरहेको क्षेत्रमा मात्र आधारित हुनेछन्।
धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले एप्पल म्याप्समा विज्ञापन सुरु भइसकेको दाबी गरे पनि हाललाई यो केवल भविष्यको रोलआउटका लागि गरिएको तयारी मात्र हो।
प्रतिक्रिया 4