News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले कार्तिक १४ गतेदेखि अहिलेसम्म २०८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ।
७ मंसिर, काठमाडौं । कार्तिक १४ गतेदेखि अहिलेसम्म काठमाडौं महानगरपालिकाले २०८३ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिसकेको छ । पशुकल्याणमा काम गर्ने विभिन्न ५ वटा संघसंस्थासँगको सहकार्यमा बन्ध्याकरणको काम भइरहेको हो ।
कृषि तथा पशुपंक्षी विभागका पशु चिकित्सक डा. पूजा खनालका अनुसार बन्ध्याकरण प्रक्रियाको महानगरपालिकाले अनुगमन गर्ने गरेको छ । ‘यस क्रममा अहिलेसम्म पशु पक्रने, बन्ध्याकरण गर्ने, त्यसपछि आराम गराउने र पूर्ववत् स्थानमा पुनःस्थापित गराउने प्रक्रियामा पशुकल्याणलाई ध्यान दिइएको पाएका छौँ’ खनालले भनिन् ‘प्रक्रियामा पशुहरूलाई कुनै पनि प्रकारको पीडा हुँदैन।’ कुकुरलाई बन्ध्याकरण गरिसकेपछि २४ घण्टा निगरानीमा राख्ने गरिएको उनले बताइन् ।
खनालका अनुसार काठमाडौँ पशु उपचार केन्द्र (क्याट सेन्टर) ले वडा नं. १६ मा ५६४ वटा र वडा नं. १५ मा ७८ वटा कुकुरको बन्ध्याकरण गरेको छ । त्यसैगरी एनिमल ट्रिटमेन्ट सेन्टर क्लिनिक (क्याट क्लिनिक) ले वडा नं. ११ मा ७४ वटा र वडा नं. २८ मा १० वटाको बन्ध्याकरण गरेको छ ।
मण्डला भेटिरिनरी अस्पतालले वडा न. ६ मा १७८ वटा, वडा नं. १० मा १५८ र वडा नं. ३२ मा ३४४ वटा कुकुरको बन्ध्याकरण गरेको छ ।
स्नेहाज केयरले वडा नं. १२ मा ६२ वटा, वडा नं. १३ मा १०१ वटा र वडा नं. १४ मा १५६ वटा तथा पशुपन्छीप्रति निर्दयता रोकावट समाज, नेपाल (एसपिसिए नेपाल) ले वडा नं १ मा ६२ वटा, वडा नं. ३ मा १३६ वटा र वडा नं. ४ मा १६० वटा गरी २ हजार ८३ कुकुरको बन्ध्याकरण गरिसकेका छन् ।
सामुदायिक कुकुरको बन्ध्याकरणका लागि छनोट भएका संघसंस्थालाई मिति २०८२ कार्तिक १३ गते सम्झौता गरी कार्तिक १४ गतेबाट नै कार्य गर्न महानगरले कार्यादेश दिएको हो ।
प्रतिक्रिया 4