News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं चौमतीस्थित टहरामा फलामे खोरमा थुनिएका ३३ वटा कुकुरका बच्चा भेटिएपछि प्रहरीले उनीहरूलाई उद्धार गरी एसपिसिए नेपाल लगेको छ।
- पक्राउ परेका १८ वर्षीय महमद गुड्डु र २८ वर्षीय महमद नासादले कुकुरका बच्चा भारतमा बेच्न लैजाने दाबी गरेका छन् ।
कार्तिक २९ गते शनिबार साँझ । काठमाडौं चौमतीस्थित टहरामा फलामे खोरमा राखिएका कुकुरका ३३ वटा बच्चा भेटिए । ती बच्चाहरू कहाँ लैजाने तयारी थियो ? किन ? कसले ? यही प्रश्नले पूरा घटनाक्रमलाई रहस्यमय बनाउँछ ।
यो घटनाको सूचना पाएपछि पशु कल्याणकारी संस्था टिम संकल्पका अध्यक्ष इरफान खान घटनास्थल पुगेका थिए । त्यसपछि उनले पशु अधिकारकर्मीहरूसँग समन्वय गरेर प्रहरी वृत्त स्वयम्भूलाई खबर गरे । प्रहरीले तत्कालै उद्धार गरी कुकुरका बच्चाहरूलाई एसपिसिए नेपाल लगियो ।
साथै प्रहरीले सो कृत्यमा संलग्न १८ वर्षीय महमद गुड्डु र २८ वर्षीय महमद नासादलाई पक्राउ गर्यो । दुवैको स्थायी ठेगाना भारतको पटना हो । हाल भने चौमतीमै बस्दै आएका छन् । प्रहरीले उनीहरूलाई थुनामा राखेर अनुसन्धान गरिरहेका छन् ।
पक्राउ परेका उनीहरूले सो कुकुरको बच्चा भारतमा बेच्न लैजाने तयारी गरेको दाबी गरेका छन् । तर पशु अधिकारकर्मीहरू यो दाबीलाई विश्वास गर्दैनन् ।
रहस्यमयी कारोबार
पशु अधिकारकर्मी बिना पन्त भन्छिन् ‘फलामे खोरमा थुनिएका कुकुरका यी बच्चाहरु कुनै उन्नत जातका होइनन्, भारतमा त्यस्ता बच्चा बेच्ने कुरा आफैंमा शंकास्पद छ । किनभने भारतमा सडक कुकुर व्यवस्थापन अहिले चर्को मुद्धा बनेको छ ।’
नयाँ दिल्लीमा सार्वजनिक ठाउँबाट सडक कुकुर हटाउन सर्वोच्व अदालतले आदेश जारी गरेका छन् । जबकि प्रक्राउ परेका व्यक्तिहरुले भने ‘भारतमा कुकुरको डिमान्ड’ रहेको बताएका छन् ।
पशु अधिकारकर्मी सुराजन श्रेष्ठ भन्छन्, ‘भारतमै सडक कुकुर कहाँ राख्ने भनेर लफडा भइरहेको छ । त्यस्तो अवस्थामा नेपालबाट फलामे खोरमा थुनेर, त्यसमाथि जुटको बोराले लुकाएर लानुपर्ने अवस्था कसरी आइलाग्यो ?’ उनी यो कुरा विश्वासनीय नभएको बताउँछन् ।
अधिकारकर्मीहरुका अनुसार नेपालमा यसअघि पनि यस्तै शंकास्पद घटना देखिएको थियो । भारतको उत्तरपूर्व र खासगरी नागाल्यान्डतिर कुकुरलाई मासुका लागि लगिएको पाइएको उनीहरूको भनाइ छ । अहिले काठमाडौंमै मासुका लागि कुकुरको बच्चा ल्याइएको त होइन ? उनीहरूले आशंका गरेका छन् ।
यो राम्रो उद्देश्यका लागि होइन
सुशिला सुब्बा, पशु अधिकारकर्मी

यी कुकुरका बच्चालाई कुनै राम्रो उद्देश्यका लागि लगिएको होइन भन्ने स्पष्ट छ । भारतमा त उच्च अदालतको आदेशपछि सडक कुकुरको अवस्था जटिल छ । आफ्नै देशमा समस्या हुँदाहुँदै यहाँबाट ३३ वटा बच्चा लग्नुको अर्थ राम्रो हुन सक्दैन ।
यदि साँच्चै राम्रोसँग पाल्नकै लागि लगिएको भए वैधानिक तरिकाले, सबैसँग परामर्श गरेर, एक–दुई वा चार–पाँचवटा मात्र लगिन्थ्यो होला । जुटको बोराले छोपेर लुकाएर लैजानु पर्दैनथ्यो । यो त लुकिछिपी गरिएको काम हो ।
कतिपय समुदायमा कुकुरको मासु खाने चलन छ । खासगरी विशेष चाडपर्वमा कुकुरको मासु खाने गर्छन् । त्यसैका लागि यी बच्चाहरू राखिएको त होइन ? शंका गर्ने ठाउँ छ ।
प्रमाण त हामीसँग छैन, तर जसरी लुकाएर लगिएको छ, त्यो राम्रो उद्देश्यको लागि होइन भन्नेमा कुनै शंका छैन । यदि हामीले गहिरिएर अनुसन्धान र अनुगमन गर्यौँ भने सत्य पत्ता लाग्छ ।
अहिले उद्धार गरिएका कुकुरका बच्चाहरू सुरक्षित स्थानमा राखिएका छन् र तिनलाई राम्रो घर खोज्ने काम भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया 4