News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्याण्ड्सले सडक कुकुर व्यवस्थापनका लागि कडा पशु कल्याण कानुन र जनचेतना कार्यक्रम लागू गरेको छ।
- कुकुरमाथि हिंसा, दुर्व्यवहार र बेवास्ता गर्नेलाई तीन वर्षसम्म जेल र जरिवाना हुने व्यवस्था छ।
‘यी भएभरका कुकुरलाई मारिदिए हुन्थ्यो है, फेरि कहिल्यै नजन्मने गरी ।’
हामी भक्तपुर सुडाल क्षेत्रमा घुम्दै थियौं । कतै कुकुरलाई साँघुरो खोरमा थुनिएको थियो, कतै खिया लागेको ठूला साङ्लोले बाँधिएको थियो । न चर्को घाम भन्न पाउने, न झरी भन्न पाउने । ती अबोध कुकुरहरूको जीवन कति कष्टकर होला ?
तिनीहरूको बिजोग हालत देखेर मन खिन्न भयो । र, मैले छोरीसँग भनेको थिएँ, ‘बरु यी कुकुरहरू धर्तीबाटै हटाइदिए हुन्थ्यो । कम्तीमा दुःख पाउने थिएनन् ।’
छोरीको जवाफ यस्तो थियो, ‘हुन्न पापा, यिनीहरू लिभिङ हिस्ट्री हुन् ।’
आदिम युगदेखि कसरी कुकुर र मान्छेबीच घनिष्ठता बढ्यो ? त्यसपछि कुकुरले कसरी मानव सभ्यताका लागि आफ्नो योगदान दिए ?
छोरीले बेलिबिस्तार लगाइन् । उनले के पनि भनिन् भने, ‘सडकका कुकुरलाई हटाउने वा मार्ने होइन । बरु व्यवस्थापन गर्ने हो ।’
कसरी त ? उदाहरण रहेछ, नेदरल्याण्ड्स ।
नेदरल्याण्ड्समा के गरियो ?
नेदरल्याण्ड्समा सडक कुकुरहरू छैनन् । यसको अर्थ त्यहाँ कुकुरहरू नष्ट गरिएका होइनन्, व्यवस्थापन गरिएको हो । सन् १८०० र १९०० को दशकमा त्यहाँ पनि सडक कुकुर ‘ठूलो समस्या’ मानिएको थियो । यो समस्याको कसरी हल गर्ने त ? यसको उपाय निकालिएको थियो, ‘ति सबै कुकुर मार्ने ।’ तर यो व्यवहारिक र वैज्ञानिक तरिका थिएन ।
अर्को उपाय अपनाइयो, घरमालिकले आफ्नो कुकुर छाड्न नहुने । हरक्षण डोरीले बाँधेर राख्नुपर्ने । ‘कुकुर कर’ पनि लगाइयो । तर, यसको उल्टो असर पर्यो । मान्छेहरूले कर तिर्न नपरोस् भनी पालेका कुकुरहरू सडकमा ल्याएर छाड्न थाले ।
२० औं शताब्दीको अन्त्यतिर नेदरल्याण्ड्सले यसको दिगो उपायको खोजी गर्यो । साथसाथै मानवतामुखी पनि । यसका लागि पशु हिंसाविरुद्ध कडा कानुन पारित गरियो । यदि पशुलाई बेवास्ता वा दुर्व्यवहार गरिएमा तीन वर्षसम्म जेल र जरिवाना हुने ।
तीन कदम, जसले सडक कुकुर व्यवस्थापन सम्भव भयो ।
एक
सरकारले डग ब्रिडर वा व्यवसायिक केनल क्लबबाट किनेको कुकुरमा उच्च कर लगायो । यसले गर्दा सडकका वा सेल्टरका कुकुरहरू अपनाउन (एडप्ट गर्न) प्रोत्साहित गर्यो ।
दुई
कुकुरलाईलाई खोप लगाउने, बन्ध्याकरण गर्ने कार्यक्रम सुरु गरियो, जसले कुकुरको संख्या नियन्त्रणमा सहयोग पुग्यो ।
तीन
कुकुरको उद्धँर र कल्याणका लागि विशेष ‘पेट पुलिस’ एकाई स्थापना गरियो । पशु क्रुरताको कडा कानुन बनाइयो । पशु कल्याण मापदण्डमा नेदरल्याण्ड्स अग्रणी मुलुक हो । त्यहाँ कुकुरलाई सताउनु, लखेट्नु, यातना दिनु, लामो समय बाँधेर राख्नु, खोरभित्र थुन्नु अपराध मानिन्छ । त्यति मात्र होइन, लामो समयसम्म एक्लै छाड्न, गाडीभित्र थुनेर राख्न पाइँदैन ।
एकातिर नेदरल्याण्डमा पशु कल्याणको कानुन कडा छ भने अर्कोतिर जनचेतना पनि उच्च छ । त्यहाँ सानै उमेरदेखि बालबालिकालाई पशुहरूको माया र सम्मान गर्न सिकाइन्छ । विद्यार्थीलाई कुकुरहरूको हेरचाहबारे पनि सिकाइन्छ ।
नेदरल्याण्ड्समा कुकुर व्यवस्थापनका लागि मुख्य रूपमा ‘जनवार कानुन’ मा आधारित छ, जसलाई २०११ म संशोधन गरी थप कडा बनाइएको थियो ।
नेदरल्याण्ड्सको कुकुर व्यवस्थापन कानुन मुख्य रूपमा ’जनावर कानुन’ (Animals Act १९९२) मा आधारित छ, जसलाई २०११ मा संशोधन गरी थप कडा बनाइएको थियो । यो कानुनले कुकुरहरूलाई ‘सहयोगी जनवार’को रूपमा वर्गीकरण गर्छ र उनीहरूको कल्याणलाई मानव अधिकारसँग जोड्छ ।
जिम्मेवार मालिक
नेदरल्याण्ड्समा मालिकले कुकुरको सम्पूर्ण विवरण दर्ता गराउनुपर्छ । ७ हप्ताभित्र माइक्रोचिप लगाउन अनिवार्य छ । यसले गर्दा कुकुरलाई मालिकले जथाभावी छाड्न, लखेट्न पाउँदैनन् । कसको कुकुर हो, कसरी पालिएको छ सबैकुरा थाहा हुन्छ । कुकुर हरायो भने पनि सजिलै फेला पार्न सकिन्छ ।
खोप र स्वास्थ्य
कुकुरलाई अनिवार्य र नियमित रूपमा रेबिजलगायत रोगविरुद्ध खोप लगाइदिनुपर्छ । वार्षिक रुपमा उनीहरूको स्वास्थ्य जाँच गरिदिनुपर्छ । सडक कुकुरको हकमा भने स्थानीय प्राधिकरणले निःशुल्क खोप शिविर सञ्चालन गर्छ ।
बन्ध्याकरण र प्रजनन नियन्त्रण
सडकका कुकुर तथा मान्छेले पालेका कुकुरलाई बन्ध्याकरण गर्न प्रोत्साहित गरिन्छ । साथै कुकुर प्रजनन गराएर बेचबिखन गर्ने व्यवसायलाई नियमन गरिएको छ । तिनीहरूले जथाभावी र अत्यधिक प्रजनन गराउन पाउँदैन । अवैध प्रजनन गरेमा एक वर्ष जेल सजाय दिइन्छ ।
हिंसा र क्रुरता प्रतिबन्ध
त्यहाँ कुकुरमाथि कुनै पनि प्रकारको शारीरिक वा मानसिक हिंसा प्रतिबन्धित छ । कुकुरलाई ‘भावनात्मक प्राणी’ मानेको छ र उनीहरूलाई दुःखी बनाउनुलाई अपराध ठान्छ । साङ्लाले बाँधेर राख्नु, अपुग खाना दिनु अपराध हो ।
कुकुर पालनपोषणको प्रथा
नेदरल्याण्ड्समा कुकुर पाल्नु एक सांस्कृतिक परम्परा हो । हरेक १०० घरमध्ये २० घरमा कुकुर पालिएका छन् । त्यहाँ कुकुरलाई परिवारको सदस्य जसरी पालनपोषण गर्नुपर्छ ।
१. एडप्ट गर्ने प्रक्रिया
नयाँ कुकुर पाल्नुअघि कुकुरको आनीबानी, खानपान, स्यहारसुसार आदिबारे तालिम लिनुपर्छ । कसरी कुकुरलाई स्वस्थ राख्ने, कसरी खुसी राख्ने, कसरी सामाजिक बनाउने ? यससका लागि मालिकले जिम्मेवारी लिनुपर्छ ।
२. दैनिक हेरचाह
कुकुरहरूलाई दैनिक १–२ घण्टा व्यायाम चाहिन्छ । नेदरल्याण्ड्सका शहरहरूमा ‘डग पार्कहरू’ छन्, जसमा कुकुरहरू स्वतन्त्र खेल्न सक्छन् । खाना ताजा र सन्तुलित हुनुपर्छ । प्रशोधित खानेकुरा कम प्रयोग हुन्छ । स्वास्थ्यका लागि वार्षिक भेटेरिनरी चेकअप अनिवार्य छ ।
३. सामाजिकीकरण र प्रशिक्षण
कुकुरहरूलाई अन्य जनावर र मानिसहरूसँग सामाजिक बनाइन्छ । ‘पप्पी ट्रेनिङ कोर्स’ लोकप्रिय छन्, जसमा कुकुरहरूलाई आज्ञाकारी बन्न सिकाइन्छ । शहरहरूमा ‘डग क्याफेहरू’ छन्, जहाँ मालिकहरूले कुकुरहरूसँग समय बिताउँछन् ।
४. विशेष आवश्यकता
वृद्ध वा विकलाङ्ग कुकुरहरूका लागि विशेष सुविधाहरू छन् । उदाहरणका लागि, ‘सिनियर डग होम’ मा बेवारिसे वृद्ध कुकुरहरूलाई हेरचाह गरिन्छ ।
नेदरल्याण्ड्समा कुकुर पालनपोषण पर्यावरण–अनुकूल छ । कुकुरहरूका लागि इको–फ्रेन्डली खेलौनाहरू प्रयोग हुन्छन् र प्लास्टिक ब्याग प्रतिबन्धित छ । यसले कुकुरहरूलाई स्वस्थ र खुसी राख्छ । ।
सडक वा सहरमा बेवारिसे कुकुरहरूको स्थिति
नेदरल्याण्ड्सका शहरहरूमा बेवारिसे कुकुर लगभग देखिँदैन । यसको कारण भनेको कुकुरप्रति त्यस समाजको सचेतना र सौहार्दपूर्ण व्यवहार हो । कुकुर पाल्नका लागि निर्वाह गर्नुपर्ने जिम्मेवारी । ब्रिडिङ वा व्यवसायिक कुकर उत्पादनलाई निरुत्साहित । र, कुकुरमाथि हुने क्रुरता वा कुनैपनि किसिमको हिंसामा कडा कानुनको प्रावधान ।
यी कुराहरूले नेदरल्याण्ड्समा सडक कुकुर व्यवस्थापन सहज र उदाहरणीय छ ।
प्रतिक्रिया 4