 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँ महानगरपालिकाले ३२ वडामा सामुदायिक कुकुरको बन्ध्याकरणका लागि ५ वटा संघसंस्थासँग सम्झौता गरेको छ।
- पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ र थप बजेट स्वीकृत भए थप ४ हजार गरिने योजना छ।
- सम्झौता अनुसार संघसंस्थाले बन्ध्याकरण र खोप लगाइएका जनावरको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्नेछ।
१४ कार्तिक, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक कुकुर व्यवस्थापन, समुचित नियन्त्रण र सहजताका लागि बन्ध्याकरण र खोप अभियान सुरु गरेको छ । महानगरभित्रका ३२ वडामा रहेका सामुदायिक कुकुरहरूको बन्ध्याकरणका लागि ५ वटा संघसंस्थासँग सम्झौता भइसकेको छ ।
छनोट भएका ती संघसंस्थालाई विभिन्न वडा विभाजन गरी कार्यादेश दिइसकिएको महानगरले जानकारी दिएको छ । महानगरपालिकाले सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गर्दै मिति २०८२ असोज २२ सूचना जारी गरेको थियो ।
सोही अनुसार आवेदन दिएका संघसंस्थामध्ये ५ संस्था छनोट गरी जिम्मा दिइएको हो । विशेष गरी कुकुरको बन्ध्याकरणलाई प्राथमिकता दिइएको छ।
सम्झौता हस्ताक्षर कार्यक्रममा काठमाडौँ महानगरपालिका कृषि तथा पशुपंक्षी विभागका प्रमुख नुरनिधि न्यौपानेले ‘यो धर्ती कुकुरहरूको पनि हो’भन्दै महानगरले कुकुरहरूको अभिभावक बन्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले बन्ध्याकरण कार्य व्यवसायिक भावले नभई सेवा भावले गर्न आग्रह गर्दै सम्झौता अनुसार तोकिएका मापदण्ड पूरा गर्न निर्देशन दिए । न्यौपानेका अनुसार पहिलो चरणमा करिब १ करोड रुपैयाँको बजेटमा ४ हजार कुकुरको बन्ध्याकरण गरिनेछ । आगामी पौष महिनाको नगरसभाबाट थप बजेट स्वीकृत भएमा थप ४ हजार कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको छ ।
कृषि तथा पशुपंक्षी विभागकी पशु चिकित्सक डा. पूजा खनालका अनुसार, बन्ध्याकरणका लागि क्याट सेन्टरले वडा नम्बर ७, ९, १५, १६, १७, १९ र २० को जिम्मा पाएको छ । क्याट क्लिनिकले वडा नम्बर ११, २१, २२, २४, २८ र ३० र मण्डला भेटनरी हस्पिटलले वडा नम्बर ६, १०, २३, २५, ३१ र ३२ को जिम्मेवारी पाएका छन् ।
त्यसैगरी स्नेहाज केयर संस्थाले वडा नम्बर २, ८, १२, १३, १४ र २९ मा र एसपिसिए नेपालले वडा नम्बर १, ३, ४, ५, १८, २६ र २७ मा कुकुरको बन्ध्याकरण कार्य गर्नेछन् ।
सम्झौता अनुसार, संघसंस्थाले वडाका जनप्रतिनिधि वा कर्मचारीको रोहबरमा बन्ध्याकरण तथा खोप कार्य सञ्चालन गर्नुपर्नेछ । बन्ध्याकरण वा खोप लगाइएका कुकुर–बिरालोको विवरण र तस्बिर सहितको प्रतिवेदन महानगरमा पेश गर्नुपर्नेछ ।
बन्ध्याकरण पश्चात एयर नच लगाउने र भ्याक्सिनेसन पश्चात शरीरको देखिने भागमा हरियो रङ लगाएर पहिचान गर्ने व्यवस्था पनि गरिएको छ । बन्ध्याकरण गरिएका जनावरमा स्वास्थ्य समस्या देखिए वा नदेखिएको बारे तीन महिनासम्म निगरानी राख्ने जिम्मेवारी संघसंस्थाकै हुनेछ ।
यदि बन्ध्याकरण वा भ्याक्सिनेसन नगरी गरिएको दावी प्रमाणित भएमा सो संघसंस्थालाई प्रतिजनावर एक लाख रुपैयाँ जरिवाना तथा सम्झौता रद्द गरी संस्था दर्ता खारेजीका लागि पत्राचार गर्ने सम्मको शर्तको व्यवस्था गरिएको छ । सम्झौता २०८३ सालको असार २० सम्म कायम रहनेछ ।
यसअघि आर्थिक वर्ष २०८०/०८१ मा ५ हजार ५00 कुकुर र बिरालोको बन्ध्याकरण तथा १६ हजार जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो । त्यस्तै आर्थिक वर्ष २०८१/०८२ मा ६७० वटा बन्ध्याकरण र १६ हजार ५६९ जनावरमा रेबिजविरुद्धको खोप लगाइएको थियो ।
महानगरले वर्षेनी सामुदायिक कुकुर र बिरालोको स्वास्थ्य तथा नियन्त्रणका लागि यस्ता अभियान सञ्चालन गर्दै आएको छ, जसको उद्देश्य काठमाडौँलाई स्वस्थ, स्वच्छ र पशुप्रेमी शहरका रूपमा विकास गर्नु हो।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4