News Summary
Generated by OK AI. Editorially reviewed.- फ्योदोर दोस्तोएभ्स्कीको ‘क्राइम एण्ड पनिसमेन्ट’ उपन्यासमा रास्कोलनिकोभका सपनाहरू उनको मनोवैज्ञानिक विघटन र पुनर्जन्मका नक्सा हुन्।
- रास्कोलनिकोभका तीन मुख्य सपनाहरूमा घोडी पिटिएको सपना, सपनाभित्रको सपना र हैजाको सपना समावेश छन् जसले उनको अपराधबोध र मानसिक अवस्थालाई चित्रण गर्छन्।
- अर्काडी स्भिद्रिगाइलोभका सपनाहरूले उनको भ्रष्ट मनोवृत्ति र आत्महत्या तर्फको यात्रालाई देखाउँछन्, जसले उपन्यासको नैतिक र दार्शनिक सन्देशलाई सुदृढ बनाउँछन्।
फ्योदोर दोस्तोएभ्स्कीको ‘क्राइम एण्ड पनिसमेन्ट’ विश्व साहित्यको मानक साहित्य हो ।
यदि संसारको कोही प्रसिद्ध मनोवेत्ता होस् या दार्शनिक, ऊ दोस्तोएभ्स्कीको उपन्यासबाट अप्रभावित या अछुतो रहन असम्भवप्रायः नै हुन्छ । चाहे कार्ल युङ्ग हुन्, चाहे फ्रिद्रिख नित्से, चाहे आइन्स्टाइन हुन्स दोस्तोएभ्स्कीका आख्यानबाट सबैले मानव मनको जटिल, कुटिल सत्यताको साक्षात्कार गरेका छन् ।
‘क्राइम एण्ड पनिसमेन्ट’ रूसी साहित्य इतिहासको यस्तो घडीमा जन्मिन पुगेको थियो, जहाँ लियो टोल्सटोयको ‘वार एण्ड पिस’ र इवान तुर्गेनेभको ‘फादर्स एण्ड सन्स’ जस्ता कलाकृति जन्मिएका थिए ।
यी तीनवटै उपन्यासले रूसी साहित्यको सर्वोच्चता र अद्वितीयतालाई प्रदर्शन गरेका थिए ।
तर कुनै पनि साहित्य यस सीमासम्म प्रसिद्ध र लोकप्रिय भएपछि लोकमानसमा यसका गलत व्याख्या तथा उपव्याख्या हुन जाँदो रहेछ ।
यस लेखको पंक्तिकार स्वयम् आफूले गरेको गल्ती तथा सामाजिक सञ्जालमा यत्रतत्र बोधरहित येनकेन प्रकारेण उद्धरण संकलन तथा ती उद्धरणहरूको यथामति व्याख्याबाट सिर्जित दिग्भ्रमका गल्तीहरूबाट के सिक्ने अवसर पाइन्छ भने केही आख्यानहरू वैचारिक परिपक्वताको अभावमा पढिनु हुँदैन ।
उमेर र समयसँगै आफ्नो शरीरको ग्राह्य क्षमता अनुरूप यस्ता साहित्यको गहिराइको आस्वादन लिनुपर्दछ ।
यो लेख ‘क्राइम एण्ड पनिसमेन्ट’ का यस्ता ६ वटा स्वप्नमा केन्द्रित भएर गरिनेछ, जसको लोकमानसमा अत्यन्त अपव्याख्या गरिएको छ । ‘क्राइम एण्ड पनिसमेन्ट’ अध्ययन नगरेका पाठकहरूलाई भने यसपश्चात्का अंश नपढ्न अनुरोध छ।
फ्योदोर दोस्तोएभ्स्कीको ‘क्राइम एण्ड पनिसमेन्ट’ मा, रास्कोलनिकोभका सपनाहरू केवल सहायक कथानक मात्र होइनन्स ती उनको मनोवैज्ञानिक विघटन र पुनर्जन्मका ‘मनोविज्ञान-नक्सा’ हुन् ।
ती सपनाहरूले उनको सचेत तर्कसंगतता र अचेत नैतिकता बीच एउटा पुलको रूपमा कार्य गर्छन ।
रास्कोलनिकोभका तीन स्वप्न
१. घोडी पिटिएको सपना
यो सन्दर्भ उपन्यासको आरम्भिक चरणमा हत्या हुनुभन्दा केही समयअघि घट्छ। लामो हिंडाइपश्चात् झाडीमा सुतिरहेको बेला रास्कोलनिकोभले यो सपना देख्छ।
रास्कोलनिकोभले आफू फेरि बाल्यकालमा फर्किएको र बुबासँग हिंडिरहेको सपना देख्छ । उनीहरूले मिकोल्का नाम गरेको एउटा मातेको किसानले आफ्नो बूढो र कमजोर घोडीलाई मान्छेले भरिएको भारी गाडा तान्न लगाएको देख्छन् ।
जब घोडा अगाडि बढ्न सक्दैन, मिकोल्काले फलामको छडले हानेर त्यसलाई मृत्यु नहुन्जेलसम्म कुट्छ र भीड भने हाँसिरहन्छ । बालक रास्कोलनिकोभ रुँदै घोडीतर्फ दौडिन्छ र त्यसको रक्ताम्मे मुखमा म्वाइँ खान्छ ।
यस घटनामा रास्कोलनिकोभ यी दुवै पात्र हुन्- पहिलो त्यो बालक जो निर्दोष र दयाभावसम्पन्न छ र दोस्रो मिकोल्का त्यो क्रूर हत्यारा जो उनी बन्ने प्रयास गर्दैछन् ।
यसमा रास्कोलनिकोभको दोहोरो पहिचानको गहिरो चित्रण छ। यद्यपि यी दुई पात्रको उल्लेखनले रास्कोलनिकोभभित्रको ‘नेपोलियन’ सिद्धान्त र उसको अन्तर्निहित ‘क्रिश्चियन’ समानुभूति बीचको अन्तरयुद्धलाई चित्रण गर्छ ।
स्वप्नबाट ब्युँझिएपछि रास्कोलनिकोभ त्रसित हुन्छ र आफूमा हत्या गर्ने साहस वा क्षमता नभएको महसुस गर्छ। तैपनि अन्ततः उसले आफ्नो अवचेतन मनको यो स्पष्ट चेतावनीलाई बेवास्ता गरिदिन्छ।
२. सपनाभित्रको सपना
नेपोलियन सिद्धान्तप्रतिको अट्टहास यो घटना अलोना इभानोभ्ना (बन्धकी पसले) को हत्यापछि घट्छ। रास्कोलनिकोभको अपराधबोध शारीरिक ज्वरग्रस्तता र मानसिक विभ्रमको रूपमा प्रकट भएको हुन्छ ।
यस स्वप्नको विषयवस्तुमा रास्कोलनिकोभले आफू पुनः अपराधस्थलमा फर्केको सपना देख्छन्। उनले बूढी बन्धकी पसले कुनामा लुकिरहेको देख्छन् । उनले आफ्नो बन्चरोले उसको टाउकोमा प्रहार गर्छन्, तर यस पटक उनी मर्दिनन्।
बरु, उनी खित्का छोडेर हाँस्न थाल्छिन् ।
उनले बारम्बार प्रहार गरिरहँदा उसको हाँसो झन्-झन् ठूलो हुँदै जान्छ। अचानक, उनले महसुस गर्छन् कि पूरा कोठा मानिसहरूले भरिएको छ, जसले उनलाई हेरिरहेका छन् र उनको असफलतामा कानेखुसी गर्दै हाँसिरहेका छन् ।
वास्तवमा, रास्कोलनिकोभले आफूलाई स्वाभाविक अपराधबोधभन्दा माथि रहेको एक अतिमानवको रूपमा प्रमाणित गर्न हत्या गरेको थियो । यो सपनाले उसको त्यही अहम् भावनालाई गिज्याउँछ ।
पीडितको हाँसोले यो संकेत गर्छ कि उसले आफ्नो विवेकमाथिको उसको (पीडितको) प्रभावलाई मेटाउन सकेनन् बरु त्यसलाई अझ दृढ तुल्यायो।
त्यो भीडले रास्कोलनिकोभको आफू पक्राउ पर्ने भयलाई मात्र होइन, बरु आफू ‘नेपोलियन’ नभएर एक तुच्छ ‘जुम्रा’ को रूपमा परिचित भयलाई प्रतिनिधित्व गर्छ । यसबाट के दर्शिन जान्छ भने उसको अपराध अब चिरन्तन भएको छ ।
उसले त्यस अपराध कार्यलाई मेटाउन सक्दैनस बन्धकी पसले उनको प्रताडित मनको एक स्थायी हिस्सा बनेर जीवितै रहन्छिन् ।
यस सपनाको महत्त्वपूर्ण पक्ष के छ भने यसमा रास्कोलनिकोभ सपनाभित्र सपना देखिरहेको हुन्छ । उसलाई एक बखत आफू ब्युँझिसकेको जस्तो लाग्छ ।
ऊ बन्धकी पसलेको घरमा जान्छ र जब सपनाको डरलाग्दो रूप चरम सीमामा पुग्छ, तब मात्र उनी वास्तविकतामा चिसो पसिना छोड्दै ब्युँझिन्छन्। यो ‘झूटो ब्युँझाइ’ हो । रास्कोलनिकोभको मानस यस्तो अवस्थामा छ कि उनले वास्तविकता र सपना बीचको भिन्नता छुट्याउन सकिरहेका छैनन् ।
सपनामै सही, उसले आफ्नो अपराधको सजीव उपस्थितिलाई निमिट्यान्न पार्न चाहन्छ ।
यस सपनाको ठीक अगाडि, सडकमा एक जना अपरिचित व्यक्तिले रास्कोलनिकोभलाई हत्यारा भनेर सम्बोधन गर्छ । यस वास्तविक घटनाले नै यस सपनालाई जन्म र सक्रियता प्रदान गरेको हुन्छ । रास्कोलनिकोभभित्रको अपराधबोध कुनै न कुनै अवसर खोजेर प्रकट हुन चाहिरहेको हुन्छ ।
३. हैजाको सपना (ट्रिकिनारमहामारी)
यो स्वप्न उपन्यासको उपसंहारमा उल्लेखित छ जतिबेला रास्कोलनिकोभ साइबेरियाको जेलमा हुन्छ । इस्टरको सप्ताहको समयमा अस्पतालको वार्डमा बिरामी परेको बेला उसले यो सपना देख्छ ।
रास्कोलनिकोभले ‘ट्रिकिना’ भनिने सूक्ष्म जीवहरूका कारण फैलिएको विश्वव्यापी महामारीको सपना देख्छ । ती जीवहरूमा प्रबल बुद्धि र इच्छाशक्ति हुन्छ ।
जब तिनीहरूले मानिसलाई संक्रमित गर्छन्, संक्रमित व्यक्तिहरू आफूलाई मात्र ‘सत्य’ को एकमात्र ज्ञाता ठान्न थाल्छन् । सबैले आफूलाई मात्र सही ठान्छन्, जसको परिणामस्वरूप उनीहरू कानून, नैतिकता वा तर्कमा सहमत हुन सक्दैनन् ।
समाज पूर्ण अराजकतामा फस्छस मानिसहरू एकअर्कालाई विना अर्थ मार्न थाल्छन् र अन्त्यमा नयाँ मानवीय वंश सुरु गर्नका लागि केही सत्पात्र मात्र बाँकी रहन्छन् ।
यो रास्कोलनिकोभको पुरानो सिद्धान्तप्रति दोस्तोएभ्स्कीको अन्तिम र सशक्त प्रतिवाद हो । ‘ट्रिकिना’ ले कट्टर व्यक्तिवाद र बौद्धिक अहंकारको प्रतिनिधित्व गर्दछ ।
यदि सबैले आफूलाई ‘नेपोलियन’ अर्थात् अतिमानव मानेर स्वयंलाई नै सही र गलतको अन्तिम निर्णायकको रूपमा देख्न थाले भने त्यसको परिणति नायकहरूको प्रभुत्व हुने छैन, बरु समाजको, मानवताको पूर्ण विनाश हुनेछ ।
यो स्वप्न रास्कोलनिकोभको पुनर्जीवनको लागि उत्प्रेरक बन्छ। उसले अन्ततः आफूमा संक्रमित विचारधाराको भयानक रूप देख्छ । उसले महसुस गर्छ कि उसको बौद्धिक महामारीले उसलाई मानवताबाट अलग गरेको थियो ।
यस सपनाको लगत्तै, उसले आफ्नो अहम्को सबै आयामको अध्ययन गरिसक्छ । त्यसपश्चात् उसको जीवनका दिशाहरू सुस्पष्ट छन्, उसले आफ्नो जीवनलाई अर्थले पूर्णता प्रदान गर्नका लागि सोनिया र टेस्टामेन्टको पथ अपनाउनुपर्नेछ।
‘क्राइम एण्ड पनिसमेन्ट’ को संसारलाई अझ गहिराइमा बुझ्नका लागि अर्काडी स्भिद्रिगाइलोभका सपनाहरूलाई अध्ययन गर्नु पनि अपरिहार्य छ।
१. मुसाको सपना र पतन अर्ध-चेतनावस्थामा, स्भिद्रिगाइलोभले आफ्नो शरीरमाथि र ओछ्यानका लुगामुनि एउटा मुसा दगुरिरहेको महसुस गर्छन् । उनले त्यसलाई समात्ने प्रयास गर्छन्, तर त्यो उम्किएर भाग्छ ।
यसमा मुसाले उनको आफ्नै अस्तित्वको ‘फोहोरपना’ र बीभत्सतालाई प्रतिनिधित्व गर्छ । जसरी मुसाले मानिसको शरीरमा हिंड्दा घिन र छटपटी पैदा गर्छ, स्भिद्रिगाइलोभ पनि आफ्नै नीच इच्छा र आफ्ना पापहरूको ‘फोहोर’ प्रकृतिबाट अत्यन्तै घृणित छन् ।
२. आत्महत्या गरेकी किशोरी स्भिद्रिगाइलोभले फूलैफूलले भरिएको एउटा कोठाको सपना देख्छन्, जहाँ एउटा कफिन राखिएको छ । त्यसभित्र डुबेर आत्महत्या गरेकी एउटी १४ वर्षीया किशोरी छिन् ।
सपनाले यो संकेत गर्छ कि ती किशोरीले स्भिद्रिगाइलोभले उनीमाथि गरेको ‘अपराध’ उनको निर्दोषताको हननका कारण ज्यान फालेकी थिइन् । यो सपनाले स्भिद्रिगाइलोभका विगतका वास्तविक अपराधहरूलाई उजागर गर्छ ।
रास्कोलनिकोभले कुनै ‘सिद्धान्त’ का लागि हत्या गरेको थियो, तर स्भिद्रिगाइलोभका अपराधहरू भने शुद्ध वासना र कमजोरहरूको विनाशमा आधारित छन् । मृत बालिकाको शिरमा रहेको ‘गुलाफको माला’ र उनको भयानक मृत्यु बीचको भिन्नताले स्भिद्रिगाइलोभले नष्ट गरेको सुन्दरतालाई चित्रण गर्छ ।
३. पाँच वर्षीया बालिका उसले एउटा अँध्यारो गल्लीमा काँपिरहेकी पाँच वर्षीया बालिकालाई भेट्टाउँछ र उनको संरक्षण गर्नका लागि उनलाई आश्रय दिन्छ ।
तर, जब उसले ती बालिका सुतिरहेको देख्छ, उनको अनुहार परिवर्तन हुन थाल्छ। ती बालिकाको अनुहार बिक्रीमा रहेकी महिला (गणिका) को जस्तो देखिन थाल्छ र उनले एउटा भयानक र अपमानजनक हाँसो हाँस्न थाल्छिन् ।
यो उनको सपनाहरूमध्ये सबैभन्दा विचलित बनाउने सपना हो । यसले स्भिद्रिगाइलोभको दिमाग यति धेरै भ्रष्ट भइसकेको देखाउँछ कि उनले अब निर्दोषतालाई निर्दोषताको रूपमा देख्नै सक्दैनन् । उनले आफ्नो कामुकतालाई एउटा पाँच वर्षको बच्चामा समेत आरोपित गर्छन् ।
यसले यो संकेत गर्छ कि उनी अब सुधार वा मुक्तिको सीमाभन्दा बाहिर पुगिसकेका छन्स उनले कुनै पनि कुरालाई ‘शुद्ध’ देख्न सक्ने आफ्नो क्षमतालाई पूर्णतः नष्ट गरिसकेका छन् ।
स्भिद्रिगाइलोभले आत्महत्या गर्नु केही समयअघि शाश्वतको बारेमा आफ्नो धारणा व्यक्त गर्छन्, जुन रूसको अर्थोडक्स क्रिश्चियन मान्यताभन्दा बिल्कुलै फरक छ।
‘हामी सधैं शाश्वतलाई हाम्रो कल्पनाभन्दा बाहिरको कुनै विशाल र महान् कुराको रूपमा सोच्दछौं….तर के होला यदि त्यो सबै सोचाइकोसट्टा त्यहाँ एउटा साँघुरो कोठा मात्र भयो भने ? एउटा गाउँको फोहोर स्नान गृह, जसका हरेक
कुनाकाप्चामा माकुराका जालाहरू छन्, जस्तै शाश्वत भनेको पनि त्यति मात्रै हो भने ?’
यो ‘माकुराले भरिएको फोहोर कोठा’ वास्तवमा उनको आफ्नै भ्रष्ट मनको प्रतिबिम्ब हो । ऊ जहाँ गए पनि, जस्तै स्वच्छताको वैभव पाए पनि आफ्नो मानसिक अस्वच्छता र अनैतिकताबाट उम्कन सक्दैन भन्ने कुराको यो चरम स्वीकारोक्ति हो ।
रास्कोलनिकोभ र स्भिद्रिगाइलोभ बीचको गहिरो भिन्नता उनीहरूको अवचेतनको यात्राको अन्तिम गन्तव्यमा निहित छ।
जहाँ रास्कोलनिकोभका दुस्वप्नहरूले उसलाई अपराधबोधको आगोबाट गुजार्दै नैतिक पुनरुत्थानतर्फ लैजान्छन्स त्यहीं स्भिद्रिगाइलोभका सपनाहरूले शून्यवादद्वारा क्षय भएको आत्मालाई प्रतिबिम्बित गर्छन् जसले अब सौन्दर्य वा निर्दोषतालाई देख्नै सक्दैन ।
जहाँ रास्कोलनिकोभका सपनाहरूले उनलाई पीडाबाट पवित्रतातर्फ लैजान्छन्, स्भिद्रिगाइलोभका सपनाहरूले उनलाई ‘वासना’ बाट ‘विनाश’ तर्फ धकेल्छन् ।
यही कारणले गर्दा यो सपना देखेपछि स्भिद्रिगाइलोभले आत्महत्याको बाटो रोज्छन् ।
दोस्तोएभ्स्कीको प्रतिभा उनको अवचेतनको पकडमा प्रकट हुन्छस उनले यो बुझेका थिए कि एक मानिसले कुनै क्षण वा अवसरमा आफ्नो अपराधलाई जायज ठहर्याउन तर्कको प्रयोग गर्न सक्छ, तर लामो जीवनयात्रामा उसले आफ्नो अन्तस्करणलाई धोका दिन सक्दैन।
अन्ततः यी ६ वटा सपनाहरूले कट्टर व्यक्तिवादका खतराहरूका बारेमा एक भविष्यसूचक चेतावनीको रूपमा कार्य गर्छन् । ‘ट्रिकिना’ महामारीको अन्तिम स्वप्न मार्फत, दोस्तोएभ्स्कीले यस कथालाई एक हत्याको रहस्यबाट उठाएर आधुनिक विचारधाराको एक आलोचनामा पुर्याउँछन् ।
उनले यो संकेत गर्छन् कि जब हामीले हाम्रो नैतिक सत्यलाई गुमाउँछौं, तब समाज स्वतः अराजकता, पागलपनमा पतन हुन्छ ।
उपन्यासको बुनोटमा यी सपनाहरूलाई बुनेर, दोस्तोएभ्स्कीले यो सिद्ध गर्छन् कि मानव आत्मा कुनै पनि कानूनी संहितामा लेखिएका नियमहरूभन्दा धेरै प्राचीन, अटुट र निरपेक्ष नियमहरूद्वारा सञ्चालित हुन्छ ।
प्रतिक्रिया 4