+
+
Shares
विश्वदीप लिङ्देनसँग वार्ता: :

‘ओली र बालेनसँग प्रधानमन्त्री बन्ने घोषणा छ, जनताका एजेण्डा छैनन्’

ओली देशको नजरमा, जनताको नजरमा असाध्यै दुब्लो पातलो भइसकेका छन् । उनको शक्ति एकदम कमजोर छ । उनी मसँग ०६४ सालमा प्रतिस्पर्धा गरिरहँदा गणतन्त्रको विरोधी थिए, संघीयताको विरोधी थिए, लोकतन्त्रको विरोधी थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ ३ गते १९:५२

झापा–५ मा चुनावको जब चर्चा चल्छ, धेरैले विश्वदीप लिङ्देन सम्झन्छन् । चुनाव आउँदा उनलाई सम्झनुको कारण हो– २०६४ सालको पहिलो संविधानसभा चुनावको नतिजा ।

जेनजी आन्दोलनबाट सत्तापलट भएको सहित गरेर चारपटक देशको प्रधानमन्त्री बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिङ्देनले २०६४ सालमा यही क्षेत्रबाट हराएका थिए । तर त्यस यताको चुनावमा ओली हारेका छैनन् । र, आठौंपटक पनि ओलीले यही क्षेत्रबाट उम्मेद्वारी दिदैछन् ।

ओलीविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन्द्र शाहले उम्मेदवारी दिने तयारीले फेरि झापा–५ राष्ट्रिय चर्चामा छ । तर अहिले नेपाली कांग्रेसमा रहेका लिङ्देन पनि उम्मेदवार बन्ने चाहनामा देखिन्छन् ।

यिनै चुनावी सन्दर्भमा अनलाइनखबरकर्मी हरि अधिकारीले उनै विश्वदीप लिङदेनसँग कुराकानी गरेका छन्, र लिङ्देन पनि ओलीसँग फेरि प्रतिस्पर्धा गर्ने चाहनामा छन् ।

गत भदौमा जेनजी विद्रोह भयो । यो विद्रोहलाई कसरी लिनुभएको छ ?

यो विद्रोह मूलत: मुख्य तीन दलका मुख्य नेताहरूको भ्रष्ट प्रवृत्तिको प्रतिरोध हो । जनताको प्रतिकार हो, प्रतिरोध हो ।

जेनजीको मुभमेन्टले भनेजस्तो परिवर्तन आएको देखियो ?

तीन मूल पार्टीका मूल नेताहरू सच्चिएको देखिएन । यो देशको निम्ति दुर्भाग्य हो । यो नेपाली जनताको दुर्भाग्य हो । जबसम्म मूल पार्टीका मूल नेताहरूलाई जनताले हटाउँदैनन्, तबसम्म देशमा शान्ति आउँदैन, समृद्धि पनि आउँदैन । देश अग्रगमनमा जाँदैन ।

आगामी चुनावले जेन्जी आन्दोलनको मर्म पूरा गर्न सक्ला ?

जनताले परिवर्तनको पक्षमै र असल इमान्दार नेतृत्वको पक्षमै मत जाहेर गर्छन् भन्ने मलाई विश्वास छ । नेताहरूले हामी जित्छौँ, जितिसकियो भनेर बोलिरहनुभएको छ । त्यो त मतदाताप्रतिको अपमान हो ।

मतदाताले मत कास्ट नगरेसम्म कसरी जित्नुहुन्छ ? यसको अर्थ कर्मचारीलाई प्रयोग गरेर, निर्वाचन आयोगलाई प्रयोग गरेर उहाँहरू आफ्नो जीतलाई निर्वाचन हुनुभन्दा अगाडि प्रभावित बनाउन चाहनु हुन्छ । यसले निर्वाचनलाई फेयर बनाउँदैन ।

सचेत मान्छेले, असल इमान्दार मान्छेले यस्तो शब्द बोल्दैन । उहाँहरूले भन्नुपर्थ्यो–  हामी जनताको माया प्राप्त गरेर, जनताको विश्वास प्राप्त गरेर चुनाव जित्ने बाटोमा जाँदैछौँ । जनताको माया प्राप्त भयो भने त उहाँहरूले चुनाव जित्न पनि सक्नुहुन्छ ।

चुनावै नलडीकन, उम्मेदवार दर्ता नगरीकन मेरो जीत कन्फर्म भन्छ भने त्यसले कसरी चुनाव लड्दैछ भन्नुस् त ? यस्तो भ्रष्ट माफिया तस्करका नाइकेहरूलाई दण्ड सजाय दिनको निम्ति, प्रतिरोध गर्नको निम्ति आगामी चुनावमा देशैभरिका सचेत जनताहरू तम्तयार अवस्थामा बसेका छन् ।

२०६४ को निर्वाचनमा तपाईले केपी ओलीलाई पराजित गर्नुभयो । त्यसपछि भएका इलेक्सनमा उम्मेदवार बन्नुभएन नि ?

म निश्चित मिसन बोकेर राजनीति गरेको मान्छे हो । भिजन बोकेर राजनीति गरेको मान्छे हो । ४६ सालको आन्दोलनपछि नेपालमा बहुदलीय व्यवस्था आयो । बहुदलीय व्यवस्थाले सोचेको जस्तो नेपाली जनतालाई सुशासन, समृद्धि दिन नसकेको कारण बीचमा आन्दोलनहरू भए । त्यो आन्दोलनमा हामी सबैजना सहभागी भयौं ।

त्यो आन्दोलनको उद्देश्य राजतन्त्रको अन्त्य गर्ने, गणतन्त्रको स्थापना गर्ने, संविधान लेख्ने, देशमा सुशासन स्थापित गर्ने, समृद्धि ल्याउने कुराहरू थियो । यही एजेन्डाहरू बोकेर जनताको बीचमा ०६४ सालमा जनताको बीचमा गएँ, चुनाव लडेँ। र जनताले जुन–जुन जिम्मेवारी दिएका थिए, त्यो कुराहरू मैले पूरा गरेर ०६९ सालमा जनताको बीचमा फर्किएँ । जनताको बीचमा फर्किएर जनतासँगै बसेको छु ।

तर नेपाली समाजमा के छ भने एकपटक सांसदमा उठेपछि त्यो नमरिन्जेल उठिरहनुपर्ने, एकपटक मन्त्री भएपछि जिन्दगीभर मन्त्री बन्ने, त्यो होइन । विश्वदीप लिङ्देनले सांसद भयो, जित्यो, काम गर्यो, आफ्नो जिम्मेवारीहरू पूरा गर्यो । उ ब्याक बसेर अब नयाँ मान्छेलाई पठाऔँ, म जस्तो ऊर्जा भएको मान्छेलाई, म जस्तै एउटा भिजन भएको, मिसन भएको मान्छेलाई पार्लियामेन्टमा पठाऔँ न भनेर पठाइयो ।

म पछाडि बसेर हेरिरहेको थिएँ, उसले राम्रो कार्य गर्छ कि गर्दैन, कर्म गर्छ कि गर्दैन भनेर । तपाईंहरूले देख्नुभयो— जताजतै नातावाद, कृपावाद, भ्रष्टाचार, व्यभिचार, सेटिङ, पार्टी पार्टी मिलेर जनता चुस्ने, देश चुस्ने, लुट्ने भयो ।

जनता क्रमिक रूपले विद्रोही हुँदै गए, आन्दोलित हुँदै गए । जनताको भावना बुझ्ने होइन, भ्रष्टको भावना बुझ्ने काम भयो नेताहरूबाट । ०७० साल पछाडि किसान, मजदुर, सुकुम्बासीको एजेन्डा बोक्नुपर्नेमा माफिया, तस्कर, भ्रष्टाचारीको मात्रै एजेन्डा बोक्न थाले। र जनता विद्रोहमा उत्रिए । त्यो विद्रोहमा उत्रिएको एउटा बिम्बको रूपमा जेन्जी विद्रोह भन्छु । त्यो एउटा बिम्ब हो ।

असल इमान्दार मान्छेहरूले गरेको आन्दोलन हो । आफ्नो अपराध ढाकछोप गर्नलाई, आफ्नो कमजोरी ढाकछोप गर्नलाई जेन्जी आन्दोलन विदेशीले गराएको कसले गराएको भनेर बोल्छन्, त्यो होइन । असल इमान्दार राम्रो मान्छेले गरेको यो आन्दोलन हो । त्यो आन्दोलनले केही फोहोरमैला बढारेर लगेको छ । अब फेरि बाँकी रहेको फोहोरमैला अबको आगामी आउने चुनावले बढारेर लानुपर्छ ।

त्यसकारण, ०६९ सालसम्म एउटा मैले जिम्मेवारी पूरा गरेँ, बीचमा पार्लियामेन्ट भन्दा बाहिर बसेर जनताको सेवा गरिरहेको छु । अब फेरि जनताले खोजिरहेका छन् विश्वदीप लिङ्देनलाई । समयले विश्वदीप लिङ्देनलाई खोज्दैछ । सुशासन, बेरोजगारीको अन्त्य, कुशासनको अन्त्य, संविधानको रक्षा, लोकतन्त्रको रक्षा, मानवअधिकारको रक्षा र विधिको शासनलाई स्थापित गर्न संसदमा जाऊ भने जस्तो लाग्छ ।

अब आउने चुनावमा तपाईंको उम्मेदवारी पर्छ कि पर्दैन ?

आगामी चुनावमा झापा क्षेत्र नम्बर ५ बाट जनताको आवाज र एजेन्डाको नेतृत्व गरेर चुनावमा लड्दैछु । र, मलाई विश्वास छ यहाँका मतदाताहरूले विगतमा पनि माया गर्नुभयो, भरोसा र विश्वास गर्नुभयो । उहाँको भरोसा र विश्वास निरन्तर रूपले मैले मेरो शिरमा राखेर काम गरेँ । आज आधा पेट खाएर हिँडेको छु, आज फाटेको कपडा लगाएर हिँडेको छु ।

हिजो तपाईंले हराएको केपी शर्मा ओली अहिले बलियो हुनुहुन्छ, सहज होला ?

शक्तिशाली होइन । उनी देशको नजरमा, जनताको नजरमा असाध्यै दुब्लो पातलो भइसकेका छन् । उनको शक्ति एकदम कमजोर छ । उनी मसँग ०६४ सालमा प्रतिस्पर्धा गरिरहँदा गणतन्त्रको विरोधी थिए, संघीयताको विरोधी थिए, लोकतन्त्रको विरोधी थिए । एउटा साम्यवाद स्थापना गर्ने, रुस र चाइनाको एजेन्डालाई नेपाली माटोमा स्थापना गर्ने बाटोमा थिए । हामी त नेपालकै माटोमा उम्रेको विचार र सिद्धान्तलाई स्थापित गर्ने बाटोमा लागिरहेका छौँ । मसँग उच्च नैतिकता छ, उच्च राजनीतिक बल छ । त्यसकारणले विश्वास छ झापा ५ का मतदाताहरूले एउटा असल, इमान्दार, निष्ठावान, जनताको शिर सधैँ उच्च राख्ने राम्रो मान्छेलाई मतदान दिएर जिताउँछन् ।

झापा–५ मा जनतासँग भिजेका एउटा युवा नेता बालेन शाहले पनि प्रतिस्पर्धा गर्छु भन्दै हुनुहुन्छ नि ?

बालेनजी एउटा देशको होनहार एउटा राम्रो छोरा हो । एउटा भिजन भएको, मिसन भएको राम्रो मित्र हुनुहुन्छ । उहाँ झापा ५ मै गएर विश्वदीप लिङ्देनजीसँग प्रतिस्पर्धा गर्छु भनेर चाहनुहुन्छ भने उहाँलाई हार्दिकतापूर्वक स्वागत गर्न चाहन्छु । उहाँलाई पनि राजनीतिको मैदानमा स्वागत गर्न चाहन्छु ।

तर जनताको नजरमा इमान्दार, निष्ठावान, निष्कलंकित, आजसम्म राजनीतिक कार्य गरिकन, सामाजिक कार्य गरिकन दाग नलागेको मान्छे देखिरहनुभएको छ, यही विश्वदीप लिङ्देन हो ।  मैले देशको निम्ति सबै चिज त्याग गरेको छु, जनताको निम्ति सबै त्याग गरेको छु । देशको समृद्धिको निम्ति, एउटा लोकतान्त्रिक व्यवस्थाको निम्ति मैले सबै चिज त्याग गरेको छु । अब जनताले मलाई माया नगर्नुपर्ने, मलाई मत नदिनुपर्ने त्यस्तो कुनै पनि कारण म देख्दिनँ ।

राजनीतिमा युवा सहभागिताको माग उठिरहेको अवस्था छ । त्यसको प्रतिनिधित्व गरेर बालेन यहाँ आउने पनि सुन्नु भएको होला नि ?

नेतृत्वमा ३० वर्षको मान्छे आउँछ कि ५० अथवा ८० वर्ष ।  भौतिक रूपले त्यो गौण कुरा हो । राजनीतिमा एजेन्डा प्रधान हुन्छ । ८५ वर्षको मान्छेले पनि युवाको एजेन्डा, देशको एजेन्डा, जनताको एजेन्डा बोकेर युवाहरूलाई प्रमोट गर्ने, समाजलाई हत्या–हिंसाबाट मुक्त गर्ने, देशलाई समृद्ध बनाउने एजेन्डा बोकेर आउँछ भने उमेरले फरक पार्दैन । राजनीतिमा समाज परिवर्तन गर्ने एजेन्डा प्रधान हुन्छ ।

बालेनजीले वृद्धको पनि एजेन्डा बोक्नुपर्यो । मैले त वृद्धको एजेन्डा पनि बोकेको छु, युवाको एजेन्डा पनि बोकेको छु, बच्चाको एजेन्डा पनि बोकेको छु । महिला दिदीबहिनी, दलित, मधेसी र मुस्लिमको एजेन्डा बोकेको छु । मैले हिन्दु, किराँत, मुस्लिम र क्रिस्चियन धर्म मान्नेको एजेन्डा पनि बोकेको छु । विश्वदीप लिङ्देन त सबैको एजेन्डा बोक्ने मान्छे हो । सबैको एजेन्डा बोक्ने मान्छेलाई जनताले साथ दिन्छन् ।

झापा ५ मा बालेन र केपी ओलीको नाम आइरहँदा जसले जिते पनि देशको प्रधानमन्त्री बन्ने घोषणा पनि गरिएको छ नि ?

चुनाव नजितिकन कसरी मान्छे प्रधानमन्त्री बन्छ ? चुनाव जितिन्छ कि जितिँदैन भन्ने कुरो जनताको बीचमा जान बाँकी छ । तपाईं नानी पाउनुभन्दा अगाडि कोक्रो बुन्नुभयो भने त्यो कोक्रोको साइज मिल्दैन । त्यो त देशलाई अपमान गर्ने, जनतालाई अपमान गर्ने, मतदातालाई अपमान गर्ने मान्छेहरू हुन् । मत दिनुहोस्, र जितिसकेपछि  प्रधानमन्त्री बन्छु, देश र जनताको सेवाको निम्ति समर्पित हुन्छु भनेर उहाँहरूले त्यो बोल्नुपर्ने हो । तर त्यो छैन ।

संसदीय व्यवस्थामा चुनाव नजित्ने मान्छे प्रधानमन्त्री बन्दैन । चुनाव जितेपछि व्यवस्थापिका संसदको बहुमत पाएर प्रधानमन्त्री बन्छ । चुनाव नजितिकन प्रधानमन्त्री हुन्छु भन्दै कुदिरहनुभएको छ । तर म जनताको माया पाएर, जनताको साथ पाएर आगामी निर्वाचनमा चुनाव जित्ने बाटोमा गइरहेको छु ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?