+
+
Shares

९ तरिका, जसले कमाउन मात्रै होइन, बचाउन पनि सिकाउँछ

प्रेम कुमार दनुवार प्रेम कुमार दनुवार
२०८२ माघ ५ गते १९:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धेरैले आम्दानीको १० देखि २० प्रतिशत अनिवार्य बचत गर्ने बानी बसाउन नसक्दा महिनाको अन्त्यमा पैसा सकिन्छ।
  • मासिक बजेट बनाउने र खर्च ट्र्याक गर्दा अनावश्यक खर्च घटेर बचत बढाउन सकिन्छ।
  • कम्तीमा ६ देखि १२ महिनाको खर्च बराबरको आपतकालीन कोष राख्नुपर्ने आवश्यक छ।

धेरैजसोको आम्दानी महिनाको अन्त्यमा सकिन्छ, बचत त शून्यमा पुग्छ । यस्तो किन हुन्छ ?किनकी, धेरैलाई थाहाछैन, पैसा बचत गर्ने सामान्य रणनीतिबारे ।

पैसा जोगाउनु र त्यसलाई सही ठाउँमा लगानी गरेर बढाउनु आजको समयमा हरेकका लागि अत्यावश्यक कुरा भएको छ । पैसा कमाउनु सीप हो भने यसलाई जोगाएर राख्नु पनि एउटा कला पनि हो । त्यसैले, केही सानातिना नियमित बानी र नियम पालना गर्न सके कमाएको पैसा बचाउन सकिन्छ । र, यसले आर्थिक अवस्था बदिन्छ ।

के गर्ने त ?

१. आम्दानीको १० देखि २० प्रतिशत अनिवार्य बचत गर्ने

धेरैको बानी पहिला खर्च गरेर बाँकी रहयो भने बल्ल बचत गर्ने भन्ने हुन्छ । यो गर्दा साथमा पैसा भएपछि अनावश्यक कुरामा समेत खर्च भई कतिबेला सकिन्छ पत्तै पाइँदैन । यदि तलब आएको वा आम्दानी भएकै दिन १० देखि २० प्रतिशत अलग्गै छुट्याउने बानी बसाल्न सकियो भने भविष्यमा पछुताउनु पर्ने छैन ।

सो रकम फिक्स्ड डिपोजिट, वा बचत खातामा राख्न सकिन्छ । यो नियमित भयो भने ५ वर्षमा ठूलो रकम जम्मा हुनसक्छ । यो सबैभन्दा आधारभूत र प्रभावकारी तरिका हो।

२. मासिक बजेट बनाउने र खर्च ट्र्याक गर्ने

हरेक महिना कति कमाउने, कति खर्च हुने भन्ने स्पष्ट बजेट बनाउन सकिन्छ । मोबाइल एप, मोबाइल वालेट वा मनी म्यानेजर नभए साधारण नोटबुकमा दैनिक खर्च लेख्न सकिन्छ ।

यसरी नोट गर्ने बानीले अनावश्यक खर्च जस्तै दैनिक बाहिर खाना, अनलाइन शपिङ, अनावश्यक सामान खरिदमा हुने खर्च घटाउन सकिन्छ । बजेटको हिसाबले अनियन्त्रित खर्च रोक्छ र बचत बढाउँछ । नेपालमा औसत परिवारको ४० प्रतिशत खर्च खानामा हुन्छ, त्यसलाई घरमै पकाएर घटाउन सकिन्छ । यो बानीले महिनामा १०–२० हजार बचत हुन सक्छ ।

३. आपतकालीन कोष

कम्तीमा ६ देखि १२ महिनाको खर्च बराबरको रकम सजिलै निकाल्न मिल्ने ठाउँमा राख्न सकिन्छ । यसो गर्दा जागिर गुम्दा, बिरामी पर्दा वा अचानक ठूलो खर्च आउँदा यो कोषले तनाव कम गर्छ । नेपालमा स्वास्थ्य खर्च महँगो छ, त्यसैले यो कोष अनिवार्य बनिसकेको छ । यो नहुँदा ऋणमा फस्ने जोखिम धेरै हुन्छ ।

४. अनावश्यक ऋणबाट टाढा रहने

क्रेडिट कार्ड, व्यक्तिगत कर्जा गरी दैनिक काममा आवश्यक नै नपर्ने महँगा फोन, ल्यापटप, गाडी किन्ने बानीले बचत सक्काउँछ । केवल घर÷शिक्षा जस्ता आवश्यक कुरामा मात्र कर्जा लिने र चाँडै तिर्ने योजना बनाउनु उपयुक्त हुन्छ । नेपालमा बैंककै ब्याजदर १०–१५ प्रतिशत सम्म छ । बाहिर लिँदा अझै धेरै पर्छ, जसले ऋणको खाडल ठूलो बनाउँछ । ऋणमुक्त जीवनले मानसिक शान्ति दिन्छ र बचतमा केन्द्रित गर्न सजिलो हुन्छ ।

५. सानो रकमबाट नियमित बचत सुरु गर्ने

महिनाको ५ हजार वा १० हजार भए पनि बचत सुरु गर्न सकिन्छ । सानो रकमले पनि समयसँगै ब्याजको पनि फाइदा दिन्छ । नेपालमा एसआइपी मार्फत म्युचुअल फन्डमा १ हजारबाट सुरु गर्न सकिन्छ । नियमितता नै सफलताको सुत्र हो ।

यसरी थोरै-थोरै जम्मा गर्दा कति नै बच्ला र भनेर बेवास्ता गरिन्छ तर सानोबाट सुरु गर्दा बानी बस्छ र दबाब कम हुन्छ । यो बानीले १० वर्षमा लाखौं बचत बनाउँछ ।

६. खर्च घटाउने स्मार्ट तरिका अपनाउने

बिजुली÷पानी बचत गर्ने, सस्तो इन्टरनेट प्याकेज लिने, घरमै खाना पकाउने, सेकेन्ड ह्यान्ड सामान किन्ने । नियमित लेबी तिर्ने गरी कुनै अनावश्यक संस्थाहरूमा संलग्न हुनुभएको छ भने त्यसबाट अलग हुनु पर्छ । यस्ता स–साना कुराले महिनामा ५–१५ हजार बचत हुन्छ ।

यसरी दैनिक खर्च ४० प्रतिशतले घटाउन सकिन्छ । अनलाइन शपिङमा डिस्काउन्ट हेर्ने, बजारमा तुलना गर्ने बानी बसाल्नुहोस् । यो तरिकाले जीवनस्तर नघटाई बचत बढ्छ।

७. वित्तीय ज्ञान बढाउने

वित्तीय ज्ञान दिने किताबहरू, युट्युबका कन्टेन्ट, नेपालमा शेयर, एसआइपी, एफडीबारे बुझ्दा पैसा फस्ने जोखिम कम हुन्छ । धेरैले ज्ञान नहुँदा घाटा बेहोर्छन् । साप्ताहिक १–२ घण्टा समय दिएर सिक्दा लगानीमा आत्मविश्वास बढ्छ । यो लगानीको सबैभन्दा ठूलो सम्पत्ति बन्नेछ ।

८. परिवारसँगै वित्तीय योजना बनाउने

श्रीमान÷श्रीमती, छोराछोरी सबैलाई बजेट, बचत र लक्ष्यको महत्व बुझाउन सकिन्छ । परिवारले साथ दिएमा खर्च नियन्त्रण सजिलो हुन्छ । नेपालमा धेरै परिवारमा एउटाले मात्र योजना बनाउँदा असफल हुन्छ । सँगै बचत गर्ने, लक्ष्य राख्ने गर्दा राम्रो हुन्छ । यस्तो सामूहिक प्रयासले सफलता छिटो आउँछ ।

९. कमाएको नाफालाई फेरि लगानी गर्ने

लगानीबाट आएको ब्याज÷नाफालाई फेरि लगानी गर्दा पैसा छिटो बढ्छ । उदाहरणका लागि १० प्रतिशत प्रतिफलले ७ वर्षमा दोब्बर हुन्छ । नेपालमा एफडी, एसआइपी र शेयरमा ज्ञान हुँदा यो जादुमयी तरिकाले काम गर्छ ।

धैर्य र निरन्तरता देखाई यसरी नियमित दोहोर्‍याउँदा भविष्यमा धनाढ्य बन्न सकिन्छ । यो पैसा जोगाउने अन्तिम र सबैभन्दा शक्तिशाली टिप बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?