आँखा झिम्क्याउन लाग्ने समयभन्दा पनि १ सय गुणा कम समयमा पूरै फिल्म वा ठूलो साइजको अनलाइन गेम डाउनलोड गर्न सकिन्छ भनेर के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? सायद हामीले अहिले प्रयोग गरिरहेको इन्टरनेटको स्पीड हेर्दा त्यस्तो दाबी स्वैरकल्पना जस्तो लाग्नसक्छ। तर बेलायतको एस्टन युनिभर्सिटी र जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरुले इन्टरनेट स्पीडमा यहीँ अद्भुत उपलब्धि हासिल गरेका छन्।
उनीहरूले ४ लाख ३० हजार गिगाबाइट प्रतिसेकेण्डको इन्टरनेट स्पीडमार्फत् अविश्वसनीय डेटा ट्रान्सफर गति हासिल गर्दै नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्।
यो इन्टरनेट गति यति फास्ट छ कि ८० गिगाबाइटको एउटा गेम केवल १ मिलिसेकेन्ड, अर्थात् एक सेकेन्डको एक हजारौँ भाग बराबरको समयमा डाउनलोड गर्न सकिन्छ। उल्लेखनीय कुरा के भने मानिसलाई आँखा झिम्क्याउन सामान्यतया १०० देखि ४०० मिलिसेकेन्ड समय लाग्छ।
नयाँ केबल नबिछाईन बढ्छ इन्टरनेटको गति
यस खोजको सबैभन्दा ठूलो विशेषता भनेको यसका लागि कुनै नयाँ वा विशेष प्रकारको केबल आवश्यक नपर्नु हो। वर्तमान समयमा विश्वभर इन्टरनेट सञ्चालनका लागि जमिनमुनि बिछाइएका ‘स्ट्यान्डर्ड अप्टिक फाइबर’ केबलहरू प्रयोग हुने गरेका छन् । पछिल्लो प्रविधिमा ती केबल परिवर्तन गर्नुका सट्टा डेटा ट्रान्सफरको तरिकामा सुधार गरिएको छ। उनीहरूले प्रकाश तरंगका ती हिस्साहरू प्रयोग गरेका छन् जसलाई पहिले काम नलाग्ने मानिँदै आएको थियो। यस प्रविधिबाट कम ब्यान्डविथमा पनि धेरै बढी डेटा पठाउन सकिने भएको छ।
तोडियो पहिलेको रेकर्ड
पछिल्लो कीर्तिमान इन्टरनेट गतिको विकास गर्ने वैज्ञानिकहरु उनै हुन् जसले यअसघि ४ सय २ टेराबाइट प्रतिसेकेण्डको गति हासिल गरेका थिए। त्यस्तै, जापानमा अर्को परीक्षणमा १ दशमलब ०२ पेटाबिट्सको इन्टरनेट गति प्राप्त गरिएको थियो । तर त्यो धेरै लामो दूरी ९१,८०८ किमी० का लागि मात्र थियो। त्यसैगरी नेदरल्याण्डका वैज्ञानिकहरूले केबलको प्रयोग नगरी हावामा प्रकाश किरणको माध्यमबाट ५ दशमलब ७ टेराबिटको गतिको पनि सफलतापूर्वक परीक्षण गरेका छन्। अहिले प्राप्त भएको ४३० टेराबाइट प्रतिसेकेण्डको गतिले यसअघिका सबै रेकर्ड भंग गरेको छ।
सेभेन जी अनुसन्धानका लागि महत्वपूर्ण
डेनमार्कमा आयोजित ५१औँ अप्टिकल कम्युनिकेशन सम्मेलनमा प्रस्तुत यस अनुसन्धानले हालको अप्टिकल फाइबर प्रविधिमा अझै ठूलो सम्भावना रहेको देखाएको छ। त्यसैले यसलाई भविष्यको वायरलेस प्रविधि तथा विशेषगरी सेभेन जीको अनुसन्धानका लागि महत्वपूर्ण मानिएको छ। तर वैज्ञानिकहरूका अनुसार यी सबै उपलब्धिहरू नियन्त्रित ल्याबको वातावरणमा प्राप्त भएका हुन्। त्यसैले यसलाई सस्तो, टिकाऊ र व्यापक स्तरमा प्रयोग हुने नेटवर्क प्रविधिमा परिणत गर्न अझै धेरै समय र मेहेनत आवश्यक पर्नेछ।
–एजेन्सी
प्रतिक्रिया 4