News Summary
Generated by OK AI. Editorially reviewed.- भ्लादिमिर पुटिनले जोकलाई कूटनीतिक हतियारको रूपमा प्रयोग गर्दै रुसी राष्ट्रवाद र पश्चिमा राष्ट्रप्रतिको दृष्टिकोण प्रतिबिम्बित गरेका छन्।
- पुटिनले सन् २०१७ देखि २०२३ सम्म विभिन्न जोकमार्फत नाटो विस्तार, युरोपेली प्रतिबन्ध र रुसको सुरक्षा नीतिमा व्यङ्ग्य गरेका छन्।
- उनका जोकहरूले रुसी जनताको सहनशीलता र सरकारको एजेन्डा जनतासम्म प्रभावकारी रूपमा पुर्याउने माध्यमका रूपमा काम गरेका छन्।
१३ माघ, काठमाडौं । विश्व राजनीतिको आम बुझाइमा भ्लादिमिर पुटिनलाई एक कठोर, गम्भीर राष्ट्रपति र पूर्व-केजीवी एजेन्टको छविको रूपमा हेरिन्छ। तर यो बाहिरी कठोर व्यक्तित्वभित्र एक यस्तो पात्र लुकेको छ, जो आफ्ना विरोधीलाई सिधा शब्दले भन्दा पनि गहिरो व्यङ्ग्य र ‘ब्ल्याक ह्युमर’ मार्फत प्रहार गर्नमा माहिर छ ।
पुटिनका जोकहरू केवल मनोरञ्जनका लागि होइनन्; ती कूटनीतिक हतियार हुन् जसले रूसी राष्ट्रवाद, पश्चिमा राष्ट्रप्रतिको दृष्टिकोण र रुसको आन्तरिक शक्तिलाई प्रतिबिम्बित गर्छन् । रुसी संस्कृतिमा प्रचलित ‘एनेक्डोट’ को परम्परालाई पुटिनले आधुनिक भू-राजनीतिक मञ्चमा सफलतापूर्वक प्रयोग गर्दै आएका छन् ।
पुटिनले प्रायः अन्तर्राष्ट्रिय मञ्चहरूमा पश्चिमा देशहरूको नीतिको खोक्रोपना देखाउन जोकको सहारा लिने गर्छन् । सन् २०१७ को ‘रसियन इनर्जी वीक’ मा उनले सुनाएको इजरायली सिपाहीको जोक निकै चर्चित भयो ।
उक्त जोक यस प्रकारको थियो- एउटा इजरायली सिपाहीलाई उसको कमान्डरले सोध्छ, “यदि तिमीलाई एक्लै १० जना शत्रुले घेरे भने के गर्छौ?’ सिपाहीले भन्छ, ‘म मेसिन गनले सबैलाई उडाइदिन्छु ।’ कमान्डरले सोध्छ, “यदि मेसिन गन बिग्रियो भने?’ सिपाही भन्छ, ‘म पेस्तोल निकाल्छु।’ कमान्डर, “यदि पेस्तोल पनि जाम भयो भने ?’ सिपाही, ‘म चक्कुले लड्छु ।’ कमान्डरले फेरि सोध्छ, ‘यदि चक्कु पनि हरायो भने ?’ सिपाही दिक्क भएर भन्छ, ‘कमान्डर साब, यो सेनामा म मात्र एक्लै छु कि के हो? तपाईँ सधैँ शत्रुको पक्षबाट किन बोल्नुहुन्छ ?’
यो जोक सुनाउँदा रुसको अर्थतन्त्रमाथि पश्चिमा सञ्चारमाध्यमले कडा प्रश्न गरिरहेका थिए । पुटिनले यो जोक मार्फत प्रश्नकर्तालाई नै शत्रुको एजेन्ट भएको सङ्केत गर्दै रुसमाथि लगाइएका प्रतिबन्ध र नकारात्मक टिप्पणीहरू पूर्वाग्रही भएको बताएका थिए ।
त्यस्तै, सन् २०२३ मा नाटो को विस्तारलाई लिएर उनले अर्को कडा व्यङ्ग्य गरे: एउटा मान्छेले सोध्छ, ‘नाटो किन चाहियो?’ अर्कोले भन्छ, “रुसलाई आक्रमण गर्नबाट रोक्न।’ पहिलोले सोध्छ, “के रुसले आक्रमण गर्दैछ?” दोस्रोले भन्छ, ‘छैन।’ पहिलो, ‘अनि यो क्लब किन त?’ दोस्रो, ‘ताकि रुसले आक्रमण गर्यो भने उसलाई रोक्न सकियोस्!’ यसले नाटोलाई एक आधारहीन र काल्पनिक भयमा स्थापित भएको संस्थाको रूपमा चित्रण गर्यो।
सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछि युरोपले रुसी ग्यासमाथि प्रतिबन्ध लगायो। यसले युरोपमा ऊर्जा संकट निम्त्यायो। यसलाई पुटिनले एक काल्पनिक बाबु-छोराको संवादमार्फत व्यङ्ग्य गरे। उक्त जोक यस्तो छ- एउटा जर्मन छोराले सोध्छ, ‘बाबा, घरमा किन यति धेरै जाडो भएको?’ बुबा, ‘रुसले युक्रेनमा हमला गर्यो, त्यसैले हामीले प्रतिबन्ध लगायौँ।’ छोरा, ‘अनि हामी चाहिँ किन जाडोमा बसेको त?’
यो जोक मार्फत पुटिनले युरोपेली नेताहरूलाई आफ्नै नागरिकको हितविपरीत काम गरेको स्पष्ट पारिदिए। उनले देखाउन खोजे कि रुसमाथिको प्रतिबन्धले रुसलाई भन्दा बढी युरोपलाई नै चोट पुर्याइरहेको छ।
पुटिन आफैँ सुरक्षा निकायबाट आएकाले उनी रुसी कर्मचारीतन्त्रको जटिलतालाई राम्ररी बुझ्छन्। सन् २०१४ को वार्षिक पत्रकार सम्मेलनमा उनले एक अमेरिकी जासुसको कथा सुनाएका थिए। एउटा अमेरिकी जासुस केजीवी मुख्यालयमा आत्मसमर्पण गर्न जान्छ। उसलाई कोठापिच्छे फरक-फरक प्रश्न सोधिन्छ- ‘तिम्रो देश कुन हो?’, ‘हतियार छ कि छैन?’, ‘कुनै विशेष मिसन छ कि छैन?” अन्त्यमा कर्मचारीले भन्छ, ‘”यदि तिम्रो केही मिसन छ भने गएर पूरा गर, यहाँ आएर हाम्रो काममा बाधा नपुर्याऊ।” बाहिरबाट हेर्दा यो जोक रुसी प्रशासनिक ढिलासुस्तीमाथिको व्यङ्ग्य झैँ देखिन्छ, तर यसको अन्तर्यमा विदेशी जासुसहरूको अक्षमता रुसी कर्मचारीतन्त्रलाई समेत बोध भएको सन्देश दिइयो ।
रुसको सैन्य बजेट र हतियारको आधुनिकीकरणलाई लिएर उठ्ने प्रश्नहरूको जवाफमा उनले सन् २०१५ तिर एक सिपाही र उसको छोराको जोक सुनाएका थिए। जोकमा बुबाले छोरालाई सोध्छन्, ‘मैले यहाँ एउटा चक्कु राखेको थिएँ, कता गयो?’ छोराले भन्छ, ‘बुबा, मैले त्यो एउटा राम्रो घडीसँग साटेँ ।’ बुबाले भन्छन्, ‘छोरा, घडी त राम्रो छ। तर भोलि जब शत्रुले हाम्रो घरमा आक्रमण गर्छ र तिम्री आमालाई बेइज्जत गर्छ, तब तिमी के भन्छौ? अहिले मस्कोको समय बेलुकाको ७ बज्यो भन्छौ ?’ यसले रुसको सुरक्षा नीति स्पष्ट पार्छ- जतिसुकै आर्थिक कठिनाइ भए पनि रुसले आफ्नो सैन्य शक्तिमा कहिल्यै सम्झौता गर्ने छैन ।
पुटिन प्रायः सोभियत कालको अभाव र वर्तमानको तुलना गर्न ‘आशावादी’ र ‘निराशावादी’ को परिभाषा दिन्छन्। एउटा निराशावादीले भन्छ, ‘अब स्थिति यो भन्दा खराब हुनै सक्दैन ।’ तर एउटा आशावादीले भन्छ, ‘चिन्ता नगर, स्थिति यो भन्दा पनि नराम्रो पक्कै हुनेछ !’ यो रुसी जनताको सहनशीलता र कठिन समयमा पनि हाँस्न सक्ने क्षमताको प्रतीक हो ।
उनले पुराना सोभियत ठट्टाहरूलाई नयाँ पात्र (जस्तै ओबामा, नाटो वा जर्मन नेताहरू) सँग जोडेर सुनाउँछन्। यसले रुसी नागरिकहरूमा आफ्नो पुरानो गौरव र वर्तमानको शक्तिप्रति विश्वास जगाउँछ। उनले आफ्ना राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सिधै आलोचना गर्नुको सट्टा उनीहरूलाई ‘मूर्ख’ वा ‘अलमलिएको’ पात्रको रूपमा जोकमा प्रस्तुत गर्छन् । गम्भीर राजनीतिक मुद्दाहरूलाई ठट्टाको माध्यमबाट प्रस्तुत गर्दा ती सर्वसाधारणका लागि बुझ्न सजिलो हुन्छ र सरकारको एजेन्डा जनतासम्म प्रभावकारी रूपमा पुग्छ ।
भ्लादिमिर पुटिनका जोकहरू केवल शब्दका खेल मात्र होइनन्, ती रुसी भू-राजनीतिको ऐना हुन्। उनले हास्यलाई रक्षात्मक र आक्रामक दुवै ढङ्गले प्रयोग गर्छन् । अन्ततः, पुटिनका जोकहरूले विश्वलाई एउटा सन्देश दिन्छन्- ‘रुसलाई केवल युद्धको मैदानमा मात्र होइन, बुद्धिको मञ्चमा पनि हराउन कठिन छ ।’ उनी हास्यको पर्दा पछाडिबाट एक यस्तो शक्तिको नेतृत्व गर्छन्, जसले आफ्ना विरोधीहरूलाई नङ्ग्याउन ‘ह्युमर’ लाई हतियार बनाउँछ ।
प्रतिक्रिया 4